प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार

फोटो:एपी/रासस
‘स्ट्रेट अफ होर्मुज’ को सुरक्षाका लागि सैन्य जहाज पठाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको आग्रहलाई युरोपेली संघ (ईयू) ले अस्वीकार गरेको छ।
युरोपेली संघका सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले स्ट्रेट अफ होर्मुजको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरे तापनि तत्कालका लागि उक्त क्षेत्रमा आफ्नो नौसैनिक अभियान विस्तार नगर्ने निर्णय गरेका हुन्।
इरानले महत्त्वपूर्ण समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुज बन्द गरेपछि राष्ट्रपति ट्रम्पले युरोपेली सहयोगी राष्ट्रहरूलाई यस मार्गको सुरक्षाका लागि सहयोग गर्न अपिल गरेका थिए।
ब्रसेल्समा भएको बैठकपछि ईयूकी प्रमुख कूटनीतिज्ञ काजा कालासले पत्रकारहरूसँग कुरा गर्दै युरोप अन्त्य नभएको युद्धमा संलग्न हुन इच्छुक नभएको स्पष्ट पारिन्।
उनका अनुसार रेड सी (लाल सागर) क्षेत्रमा सञ्चालन भइरहेको ईयूको नौसैनिक अभियान “अपरेसन अस्पिडेस” ले समुद्री मार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। उनले थपिन्, “यो युरोपको युद्ध होइन, तर युरोपका हितहरू भने यससँग प्रत्यक्ष रूपमा जोडिएका छन्।”
यसैबीच, ईयूका ऊर्जा मन्त्रीहरूले पनि ब्रसेल्समा छुट्टै बैठक बसी मध्यपूर्वको द्वन्द्वका कारण बढिरहेको ऊर्जा सङ्कटबारे छलफल गरेका थिए। यसअघि राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गको सुरक्षाका लागि सहयोग नगरे नेटो को भविष्य सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए।
सैन्य विश्लेषकहरूका अनुसार, अहिले इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ ले उक्त जलमार्गमा प्रभावकारी नियन्त्रण कायम गरेको छ। उनीहरूसँग तटीय मिसाइल, ड्रोन, सशस्त्र तीव्र गतिका डुङ्गा, समुद्री ड्रोन तथा समुद्री ‘माइन्स’ जस्ता विभिन्न सैन्य साधनहरू रहेको बताइएको छ।
बेलायतका पूर्व रक्षा प्रमुख जनरल निक कार्टरका अनुसार, यस्तो अवस्थामा तेल ट्याङ्करलाई सुरक्षा दिँदै जलमार्ग पार गराउनु पश्चिमी देशहरूका लागि चुनौतीपूर्ण हुन सक्छ।
विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनले सहयोगी देशहरूलाई बारम्बार दबाब दिँदा पश्चिमी गठबन्धनभित्रको एकता कमजोर हुँदै गएको सङ्केत देखिएको छ।