कांग्रेसमा १७ नयाँ अनुहार, छुटेनन् नेताका नातेदार


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा तीन जना बाहेक सबै नयाँ अनुहार छन्, जसमा १७ जना संसदीय राजनीतिका लागि नौला छन्।
  • अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे दुई जना मात्र संसदीय अनुभव भएका नेता हुन्, जसले विभिन्न मन्त्री पदहरू सम्हालेका छन्।
  • कांग्रेसले महिला र पुरुष गरी २० सांसदको सूची निर्वाचन आयोगमा पेश गरेको छ, जसमा आदिवासी, खसआर्य, मधेशी, दलित र मुस्लिम समुदायका प्रतिनिधि छन्।

२ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट समानुपातिकतर्फका निर्वाचितमा तीन जनाबाहेक सबै अनुहार नयाँ छन् । कांग्रेसबाट निर्वाचितहरूमा रहेका १७ जना संसदीय राजनीतिका लागि नौलो अनुहारहरू हुन् । तीन जना भने यसअघि नै संसद्‌मा पुगिसकेका नेताहरू छन् ।

कांग्रेसले आइतबार १५ जना महिला र पाँच जना पुरुषको सूची निर्वाचन आयोगमा पेश गरेको थियो । जसमध्ये अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र चन्द्रकिशोर यादवमात्रै संसदीय अध्यासमा अभ्यस्त नेता हुन् ।

केसीको नाम खसआर्यतर्फ र आङ्देम्बेको नाम आदिवासी जनजातितर्फबाट निर्वाचित गरिएको हो ।

कांग्रेसका सहमहामन्त्री र प्रवक्ताको जिम्मेवारी सम्हाली सकेका केसी अहिले केन्द्रीय सदस्य छन् । उनी नेपाली राजनीतिका लागि चिरपरिचित नेता हुन् ।

नेता केसीले यसअघि नै स्वास्थ्यमन्त्री, शिक्षा र आवास तथा भौतिक योजनामन्त्री र सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

आदिवासी जनजातितर्फ सिफारिसमा परेका नेता आङदेम्बे पाँचथरबाट राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी कांग्रेसका लागि पूर्वी नेपालका प्रभावशाली नेता मानिन्छन् ।

निवर्तमान सहमहामन्त्री आङ्देम्बेले दोस्रो संविधनासभामा संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनी २०७४ को निर्वाचनमा पाँचथरबाट नेकपा एमाले नेता वसन्तकुमार नेम्वाङसँग १० हजार भन्दा बढी मतान्तरले पराजित भएका थिए ।

कांग्रेसले उनलाई २०७९ को निर्वाचनमा पनि पाँचथरबाट उम्मेदवार बनाएको थियो । तर, उक्त निर्वाचनमा पनि उनी चिरपरिचित प्रतिद्वन्द्वी नेम्वाङसँग मात्र ४६ मतले हारेका थिए ।

कांग्रेसले खसआर्यतर्फ समानुपातिक सांसदका लागि नाम सिफारिस गरेका अर्का नेता कालीबहादुर सहकारी संघीय संसद्का लागि नयाँ अनुहार हुन् ।

कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका सहकारी कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिमा उपसभापति छन् ।

नेता सहकारी २०७४ को प्रदेशसभा निर्वाचनमा कालिकोट १ (ख) बाट उम्मेदवार थिए । उक्त निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।

शाही १२ हजार १५३ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा सहकारीको पक्षमा नौ हजार ३४२ मत आएको थियो ।

कांग्रेसले आदिवासी जनजातितर्फ महिलाबाट गीताकुमारी सेन्दाङ्ग, रेनुका काउचा, गंगालक्ष्मी अवाल, गीता गुरुङको नाम सिफारिस गरेको छ । उनीहरू चारै जना संघीय संसद्का लागि ‘नयाँ’ हुन् ।

सेन्दाङ कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । ०४६–०४७ देखि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सक्रिय भएर उनले ताप्लेजुङमा राजनीति गरेकी थिइन् ।

नेविसंघ पछि नेपाल महिला संघमा आवद्ध भएर सदस्य, सचिव, उपाध्यक्ष हुँदै सेन्दाङले १० वर्षसम्म ताप्लेजुङमा जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गरिन् । २०७४ मा प्रदेशसभा निर्वाचनमा उनको नाम समानुपातिकको बन्दसूचीमा थियो ।

सेन्दाङको परिवार राजनीतिमै लागेको छ । उनका श्रीमान जितेन्द्रकुमार सेन्दाङ २०४८ मा ताप्लेजुङको जिल्ला विकास समिति सभापति थिए ।

अर्की नेतृ काउचा बाग्लुङको गलकोट नगरपालिकाकी पूर्व उपमेयर हुन् । उनी स्थानीय तह निर्वाचन २०७४ मा नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।

काउचाको नाम २०७९ को निर्वाचनमा पनि समानुपातिकतर्फ जनजाति क्लस्टरको नवौं स्थानमा थियो । सरस्वती क्याम्पसमा विद्यार्थी राजनीति गरेकी कांग्रेसकी महासमिति सदस्य हुन् । काउचा महिला संघ र जनजाति महासंघको केन्द्रीय सदस्य भइसकेकी छन् ।

यस्तै आदिवासी जनजातितर्फ महिलाबाट सिफारिसमा परेकी नेतृ गंगालक्ष्मी अवाल (भक्तपुर) कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य हुन् भने गीता गुरूङ (सोलुखुम्बु) विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी नेविसंघको केन्द्रीय सदस्य हुन् ।

खसआर्य क्लस्टरमा महिलातर्फ कांग्रेसले रुक्मिणीदेवी कोइराला, रिना उप्रेती, सीता थपलिया र सुशीला ढकाल आचार्यको नाम आयोग समक्ष सिफारिस गरेको छ । यिनीहरू पनि कांग्रेसबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने नौला अनुहारहरू हुन् ।

नेतृ रुक्मणिदेवी कोइराला मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ६ की बासिन्दा हुन् । उनी नेपाल महिला संघकी पूर्व केन्द्रीय उपसभापति पनि हुन् ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनसँगै २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले कोइरालाको नाम समानुपातिक सूचीमा नाम समावेश गरेको थियो । तर, उनको संसदीय यात्राले पूर्णता भने पाउन सकेको थिएन ।

नेतृ थपलिया कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य हुन् । उनी नेविसंघ हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी थिइन् । थपलिया नेविसंघकी पूर्वमहामन्त्री पनि हुन् ।

सुशीला ढकाल आचार्य पनि निवर्तमान केन्द्रीय सदस्य हुन् । उनको घर झापा हो ।

समानुपातिकतर्फ सिफारिसमा परेकी सोलुखुम्बुकी रीना उप्रेती पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति हुन् । उनका श्रीमान बलबहादुर केसी कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

नेता बलबहादुर केसी केसी २०४८ सालदेखिका सोलुखुम्बुबाट निर्वाचन लड्दै आएका थिए । यसपल्ट भने उनले टिकट पाएनन् ।

बलबहादुरले २०४८, २०५१, २०५६ र २०७० मा चुनाव जितेका थिए भने २०६४, २०७४ र २०७९ को चुनावमा हार बेहोर्नु परेको थियो ।

आदिवासी जनजाति क्लष्टरबाट पुरुषतर्फ भक्तपुरका नेता मदनकृष्ण श्रेष्ठको नाम सिफारिसमा परेको छ । यो क्लष्टरबाट महिलाको संख्या अपुग भएको अवस्थामा श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर प्राप्त गर्ने छिन् ।

नेता श्रेष्ठ १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको प्रथम नगरप्रमुख पनि हुन् । श्रेष्ठ नेपाल कोरिया मैत्री अस्पतालको संस्थापक अध्यक्षसमेत हुन् ।

थारु क्लस्टरबाट कांग्रेसबाट प्रमिलाकुमारी गच्छदार सिफारिसमा परेकी छन् । मोरङको विराटनगर महानगरपालिका–४ गच्छदार कांग्रेसको कोशी प्रदेश कार्यसमितिमा सहमहामन्त्री छन् ।

दलिततर्फ हरिनादेवी कामी, पवित्रा विक, मनमाया विश्वकर्माको नाम सिफारिस गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिका–१२ की बासिन्दा हरिना नेपाल तरूण दलकी केन्द्रीय सदस्य हुन् ।

यस्तै मकवानपुरकी पवित्रा र झापाकी मनमाया पार्टीको १४ औं महाधिवेशनका प्रतिनिधिहरू हुन् ।

मधेशी कोटामा पुरूषतर्फ पुरुषमा चन्द्रमोहन यादव र महिलामा निनुकुमारी कर्ण तथा रेखाकुमारी यादव निर्वाचित भएका छन् ।।

प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

उनको नाम यसअघि २०७९ को निर्वाचनमा पनि समानुपातिकको बन्दसूचीमा समावेश थियो । तर, पछि चन्द्रमोहनले वरियताताको उपयुक्त क्रम नमिलाएर आयोगमा पेस गरिएको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

महोत्तरीको गौशाला नगरपालिकामा पर्ने भरतपुरकी रेखाकुमारी भने प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् । उनी बुवा स्वर्गीय रामलगन यादव रामवरणका दाइ हुन् ।

मधेशी कलस्टरमा चन्द्रमोहन र रेखासँगै धनुषाकी निनुकुमारी कर्णको पनि नाम सिफारिस भएको छ । उनी कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको भान्जी हुन् ।

कांग्रेसबाट मुस्लिम कोटामा शाहजान खातुनको नाम सिफारिस भएको छ । उनी रौतहटको गौरकी बासिन्दा हुन् । शाहजानलाई कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा गौर नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको थियो ।





Source link

Leave a Comment