News Summary
Generated by OK AI. Editorially reviewed.
- २१ फागुन , २०८२ को निर्वाचनले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीको राजनीतिक संरचनामा ठूलो उलटफेर ल्याएको छ।
- निर्वाचनमा नेपाली कांग्रेसले विगतमा जितेको ५७ प्रतिशत सिट गुमाएको छ भने एमालेले ६८ प्रतिशत र नेकपाले ६० प्रतिशत सिट गुमाएको छ।
- नयाँ सरकारलाई भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न चुनौती थपिएको छ ।
जनता आगो हुन्, ज्वालामुखी बनी उम्लन्छन्। जनता पानी हुन्, प्रलय ल्याउँछन्। एक काँटी सलाईले डढेलोको बीउ रोप्छ। आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ। इतिहास भन्छ, जब-जब शासकीय दम्भ र स्वेच्छाचारिताले सीमा नाघ्छ, जनअधिकारको ग्यारेन्टी चाहिरहेका नागरिकमाथि जङ्गी बुट बज्रिन थाल्छ, निश्चित छ- ‘सुनामी’ आउँछ। सुनामी विध्वंसक हुन्छ। सुनामी बम, गोला-बारुदभन्दा विस्फोटक हुन्छ। तानाशाहलाई घोक्रेठ्याक लगाएर सडकमा पछार्ने सुनामी सूक्ष्म चेतनाबाट आरम्भ हुन्छ।
समुद्रमा जलसुनामी आएजस्तै राष्ट्र-राज्यमा जनसुनामी आइरहन्छ। जुन देशको शासकले मुलुकलाई बिर्ता ठान्दै ब्रह्मलुट मच्चाउन सुरु गर्छ, आफूलाई मालिक र जनतालाई दास सम्झिन्छ, त्यस देशमा जनसुनामी अवश्य आउँछ। सुनामीको दर्शन साम्यवादी दर्शनभन्दा समतावादी हुन्छ। सुनामी जब आउँछ राजा-रङ्क, कालो-गोरो, ठूलो-सानो, धनी-गरिब, मालिक-दास, अग्लो-होचो सबैलाई एकसाथ लैजान्छ। सुनामीको दर्शन बुझ्न सक्ने, सुनामीले कोरेको मार्गचित्रमा पाइला चाल्न सक्ने नायक नै युग-महारथी बन्न सक्छ।
सुनामीको जड दशकौँदेखि धर्तीको गर्भमा दमित असन्तोष हो। सुनामी स्वेच्छाचारी शासकविरुद्ध नागरिक बगावतको लाक्षणिक अभिव्यक्ति हो। नेपालमा यतिखेर धेरैको मुखबाट सुनामी शब्द सुनिने गरेको छ। उनीहरू भन्छन्, ‘सुनामी आयो! कुडाकर्कट बगायो!’ हुन पनि नेपालमा २१ फागुन २०८२ मा सुनामी आएकै हो। पुराना दल र दम्भी नेतृत्वलाई हायलकायल बनाएकै हो।
फागुन २१ को सुनामीको सर्जक भदौ अन्तिम हप्ताको भ्रष्टाचारविरोधी युवा विद्रोह थियो। कवि गोपालप्रसाद रिमाल लिखित गीत छ- ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ।’ फागुन २१ को सुनामी कवि गोपालप्रसाद रिमालको गीतजस्तै हुन पुग्यो, जसले स्थापित राजनीतिक मान्यता र संरचनामा जबर्जस्त उलटपुलट ल्याइदियो।
यसले प्रजातन्त्रको निर्विकल्प शहंशाह दाबी गर्ने नेपाली कांग्रेसको जगमा नौ रेक्टर स्केलको भूकम्पले झैँ धक्का दियो। कम्युनिस्ट पार्टीको मुख्य भँगालो अनि जनताको बहुदलीय जनवादको मसिहा ठान्ने एमालेलाई हल न चलको अवस्थामा पुर्याइदियो। सशस्त्र सङ्घर्षपछि सिंह बनेर प्रकट भएका प्रचण्डलाई बिरालोको नियति भोग्न बाध्य बनाइदियो।
फागुन २१ को निर्वाचन त्यस्तो सुनामी साबित भयो, जसले कांग्रेस र कम्युनिस्टको स्वप्न-महललाई खण्डहरमा परिणत गरिदियो। यसको पूर्वाभास केही समयपहिले नै भइसकेको थियो। तर विडम्बना, मिडिया बजारमा राजनीतिक विश्लेषकको दर्ज्यानी चिह्न लगाएर बसेका थुप्रैले ठीक-ठीक अनुमान लगाउन सकेनन्! ‘निर्वाचनमा गगन थापाले नेतृत्व गरेको विद्रोही कांग्रेसले सानदार परिणाम ल्याउँछ। कांग्रेस ठूलो पार्टी बन्छ। गगन थापा पराजित हुने कल्पनासम्म पनि गर्न सकिँदैन’, दर्ज्यानी चिह्न धारकहरू त्यसै भन्थे।
परन्तु, दर्ज्यानी चिह्न धारकहरूले माने पनि नमाने पनि सुनामी सुनामी नै थियो। सुनामीले गगनलाई चिनेन। कांग्रेस पार्टीको नेतृत्वको लगाम पचास वर्षे युवाको हातमा रहेको देखेन।
निर्वाचन परिणामले रास्वपालाई सही अर्थको ‘ल्यान्डस्लाइड भिक्ट्री’ दिलायो। ‘ल्यान्डस्लाइड भिक्ट्री’ र दुईधारे तरबार उस्तै-उस्तै हुन्। भारी जनमत नराम्रो होइन, तर जति भारी जनमत, त्यति धेरै जनअपेक्षा। रवि-बालेनहरूलाई यतिबेला भारी जनअनुसार काम गर्नुपर्ने चुनौती थपिएको छ। उनीहरू प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने स्थानमा बसाइँ सरेका छन्
सुनामीलाई कांग्रेसको नेतृत्व कति वर्षको छ? पार्टीको लगाम देउवाको हातमा छ कि गगनको? भन्ने जस्ता सवालसँग बाल मतलब थिएन। सुनामीले कांग्रेसलाई मक्किएको पुरानो रुखका रूपमा मात्र देख्यो। यो विशेष महाधिवेशनको सन्देश जनस्तरमा राम्ररी नपुग्नुको परिणाम पनि थिएन। गगनले नेतृत्व सम्हालेको तीन महिनापछि निर्वाचन भएको भए पनि नतिजा लगभग यस्तै आउँथ्यो।
दर्ज्यानी चिह्न धारकहरूले एकस्वरले उठाएको अर्को कुरा के भने, ‘फलानो नेता चुनाव जित्न फलानो ठाउँमा पुग्यो।’ यो निम्छरो तर्क हो। यथार्थ यही हो कि, प्रत्येक उम्मेदवार ल्याकतले भ्याएसम्म सुरक्षित क्षेत्रमा गएर चुनाव लड्छ। निर्वाचनमा हरेक उम्मेदवार विजयी हुन चाहन्छ। पराजित हुन कसैले चुनाव लड्दैन।
यहाँनेर एक टेलिभिजन च्यानलले मतदान सकिएको केही समयपछि प्रस्तुत गरेको मतसर्वेक्षणको चर्चा गर्नु पनि सान्दर्भिक नै हुनेछ। सर्वेक्षणमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट, रास्वपाले ४४ सिट, एमालेले २८ र नेकपाले १८ सिट जित्ने आकलन गरिएको थियो। तर, सर्वेक्षण प्रस्तुत गरेको १२ घण्टा नबित्दै चुनावी ट्रेन्ड ‘के सोचेँ मैले, के भयो अहिले’ भनेजस्तो देखिन थाल्यो। अन्तिम परिणामसम्म पुग्दा निर्वाचन जित्ने अनुमान गरिएका धेरै चर्चित उम्मेदवारले पराजय व्यहोरे।
फागुन २१ को सुनामीले सबैभन्दा घातक निशाना एमालेलाई बनाउँदै थियो। उसले इतिहासमै कमजोर नतिजा ल्याउने निश्चितप्रायः थियो। तर यो स्वीकार गर्न दर्ज्यानी चिह्न धारक धेरैलाई गाह्रो परेको देखिन्थ्यो। एमालेले यो निर्वाचनमा २०७९ मा पाएको सिटको ६८ प्रतिशत गुमायो। सुनामीको दोस्रो निशानामा परेको दलको नाम हो वर्तमान नेकपा। उसले २०७९ को तुलनामा ६० प्रतिशत सिटको नोक्सानी व्यहोर्यो। नेपाली कांग्रेसले निर्वाचनमा विगतमा जितेको ५७ प्रतिशत सिट गुमायो। २०७९ को निर्वाचनमा कांग्रेसले ८९, एमालेले ७८, माओवादी केन्द्रले ३२ र नेकपा समाजवादीले १० सिट जितेका थिए। माओवादी केन्द्रलाई बत्तिसे भनिन्थ्यो यसअघि। यसपटक एमालेलाई बत्तिसे हुने सौभाग्यसमेत मिलेन!
निर्वाचन परिणामले रास्वपालाई सही अर्थको ‘ल्यान्डस्लाइड भिक्ट्री’ दिलायो। ‘ल्यान्डस्लाइड भिक्ट्री’ र दुईधारे तरबार उस्तै-उस्तै हुन्। भारी जनमत नराम्रो होइन, तर जति भारी जनमत, त्यति धेरै जनअपेक्षा। रवि-बालेनहरूलाई यतिबेला भारी जनअनुसार काम गर्नुपर्ने चुनौती थपिएको छ। उनीहरू प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने स्थानमा बसाइँ सरेका छन्।
चेस खेलमा घोडाले राजालाई चलमलाउन नसक्ने गरी चेकमेट दिएजस्तै बालेन्द्र शाहले घमण्डी शासकलाई ठाउँको ठाउँ मात दिए यो पालि। यो उनको असाधारण चेकमेट थियो। बालेन्द्रको असाधारण चेकमेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा तरङ्ग ल्यायो। चेकमेटपछि बालेन्द्र ‘किङ’को स्थानमा उक्लेका छन्। अब उनी जवाफदेहिता र उत्तरदायित्वबाट उम्कन पाउनेछैनन्। बालेन्द्र शाहप्रति सिकायत पनि छ जनताको।
जनता पोखरीको जमेको पानी होइनन्। समृद्धिको उन्मुक्त महासागर छुने रहरमा जनताले एक जमानामा राजाको जयजयकार गरे। कुनै बेला नेपाली कांग्रेस जिन्दावाद ! भन्दै गगनभेदी नारा लगाए। इन्कलाब जिन्दावाद ! भन्दै एमाले अनि माओवादीतिर फर्केर दर्बिलो मुठ्ठी पनि उठाए। अहिले तिनै जनता रास्वपाको नीलो झन्डा उठाउन पुगेका छन्। यो क्रम समृद्धिको उन्मुक्त महासागर नभेटेसम्म जारी रहन्छ
उनीहरू भन्छन्, ‘बालेन्द्र झोक्की स्वभावका छन्। आत्मकेन्द्रित छन्। अति महत्त्वाकांक्षी जस्ता पनि लाग्छन्। आमनागरिकसँग घुलमिल हुँदैनन्! उनको स्वभाव हेर्दा रविसँग द्वन्द्व पर्ने निश्चित जस्तै छ! आदि-आदि।’ बालेनले आशङ्काको उक्त तुवाँलोलाई कामद्वारा चिर्नुपर्ने भएको छ। उनले राज्य सञ्चालनको क्रममा सन्तुलित नीति अख्तियार गर्नु पनि उत्तिकै जरुरी छ। राजा महेन्द्रसँगको सन्तुलन गुमाउँदा बीपी कोइरालाको दुई तिहाइको सरकार १५ महिनामै अपदस्थ भएको तथ्य बालेन्द्रले हेक्का राख्न सक्नुपर्दछ।
फागुन २१ नआउँदासम्म चुनाव हुँदै हुँदैन, चुनाव भयो भने राजनीतिबाट संन्यास लिन्छु भन्नेसम्मका तर्क गर्थे एकथरी। चुनावविरोधी मनोवैज्ञानिक युद्ध लड्नमा ठूला ज्योतिषदेखि मै हुँ भन्ने राजनीतिक पण्डितहरू प्रयोग भए। तर चुनाव भएरै छाड्यो।
हाम्रोमा यस्तो किन हुन्छ? किन हामी सकारात्मकभन्दा नकारात्मक कुरा बढी गर्छौं? नकारात्मक कुरामा ज्यादा भरोसा राख्छौं? निराशाको खेती गर्नु नेपालीहरूको स्वभाव बनिसकेको हो र? हामीमा पर्खिने धैर्य छँदै छैन भन्दा हुन्छ। तुरुन्तैको तुरुन्तै परिवर्तन चाहिन्छ हामीलाई। थोरै तलवितल होस् मात्र, मुर्दावाद! र देश छोड्! भन्दै नारा लगाउन सुरु गर्छौं!
एकथरी मानिसहरू प्रधानमन्त्रीको नियुक्ति नहुँदै ‘लुसिफर’ले यो गर्छ, त्यो गर्छ; लुसिफर विदेशी दलाल हो; लुसिफर प्रधानमन्त्री भयो भने नेपालमा विदेशी सेनाले मार्चपास गर्छ भन्दै निराशाको खेती गर्न थालिसकेका छन्। हामीले सरकार बनेको चार-पाँच महिनासम्म उसको काम हेर्नुपर्छ। सरकारको गतिविधि सचेतपूर्वक नियाल्नुपर्छ। बाटो बिराउने सङ्केत देखापरे खबरदारी त्यसपछि गर्ने हो।
मार्क्सवाद भन्छ- कुनै पनि वस्तुको सिर्जना र विनाशको कारण ऊ स्वयं हो, बाह्य परिस्थितिले त्यसमा बल पुर्याउने मात्र हो। त्यसमानेमा २०६४ र २०७४ पछिको संसद्मा दुई तिहाइ हाराहारी उपस्थिति जनाउने एमाले-माओवादी केन्द्र र एकपटक दुई तिहाइ अनि पटक-पटक स्पष्ट बहुमतसहित प्रतिनिधिसभामा पुगेको नेपाली कांग्रेसको दुर्दशाको कारण पनि उनीहरू स्वयम् हुन्। रास्वपाका नेताहरूमा कांग्रेस, कम्युनिस्टहरूको दुर्दशाबाट शिक्षा लिएर जिम्मेवार ढङ्गले सरकार सञ्चालन गर्नुपर्ने च्यालेन्ज थपिएको छ।
भ्रष्टाचार नियन्त्रण वा सुशासन अबको सरकारको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहनेछ। कर तिर्दा अवैध रकम बुझाउनुपर्ने, घर-जग्गा पास गर्दा घुस बुझाउनुपर्ने, ठेक्कापट्टामा घुस, मालसामान आयात-निर्यातमा घुस, सरकारी नियुक्ति वा राजकीय सम्मान प्राप्त गर्न घुस, यो टेबुलबाट त्यो टेबुलमा फाइल सार्न घुस, सवारी लाइसेन्समा घुस, अदालतमा मुद्दा लड्दा घुस, गाडी लिएर सडकमा निस्कँदा ट्राफिक प्रहरीलाई घुस, विदेश उड्न लाग्दा इमिग्रेसनमा घुस! घुस नबुझाई काम हुने ठाउँ भेरी लाइट बालेर खोज्नुपर्ने स्थिति छ। घुस्याहाहरूको सडकदेखि सत्तासम्मको पिरामिड आकारको सञ्जाल छ।
अवैध असुलीको रकम माथि-सबैभन्दा माथिसम्म पुग्छ। जनताको खुन-पसिना लत्पतिएको रकम सबैभन्दा माथिल्लो कोटरीसम्म पुगेपछि ‘तैँ चुप, मै चुप’। कारबाही कसले गर्ने? उल्लेखित तथ्यहरूलाई मध्यनजर गरी मैले गत साल प्रकाशित चौथो उपन्यास ‘९६ गड्डी’ मा यथास्थिति कायम रहे देशमा ढिलोचाँडो सुनामी आउने सङ्केत गरेको थिएँ। किन्तु उपन्यासले स्वप्निल उडानमा मस्त ‘मारफेल’ (क्रान्तिकारी पृष्ठभूमिबाट माथि उठेका ठूला पुराना दलका हठी शीर्षस्थ नेता) र उनका भक्तहरूको चिरनिद्रा हरण गर्न सकेन।
जनता कसैका होइनन्, सबैका हुन्। समृद्धिको उन्मुक्त महासागर छुने आशामा गड्गडाउँदै बगेको नदीजस्तै हुन् जनता। जनता पोखरीको जमेको पानी होइनन्। समृद्धिको उन्मुक्त महासागर छुने रहरमा जनताले एक जमानामा राजाको जयजयकार गरे। कुनै बेला नेपाली कांग्रेस जिन्दावाद ! भन्दै गगनभेदी नारा लगाए। इन्कलाब जिन्दावाद ! भन्दै एमाले अनि माओवादीतिर फर्केर दर्बिलो मुठ्ठी पनि उठाए। अहिले तिनै जनता रास्वपाको नीलो झन्डा उठाउन पुगेका छन्। यो क्रम समृद्धिको उन्मुक्त महासागर नभेटेसम्म जारी रहन्छ। समृद्धिको उन्मुक्त महासागर नछोएसम्म जनता यसरी नै गड्गडाउँदै अघि बढिरहनेछन्।
नेपाली जनतामा चन्द्रधरातलमा बसाइँ सर्ने खालको महत्त्वाकाङ्क्षा छैन। नेपाली जनताको इच्छा-कामना साना छन्, तर महत्त्वका छन्। नेपाली जनताको महत्त्वाकाङ्क्षा भनौं या हासिल गर्न चाहेको स्थायी मुकाम हो- महँगी नियन्त्रण, कालोबजारीको अन्त्य, सार्वजनिक यातायातमा सुबिस्ताले हिँड्न पाउने अवस्थाको सिर्जना, स्कुल-महाविद्यालयमा निःशुल्क शिक्षा, अस्पतालमा निःशुल्क उपचार, घुसरहित सार्वजनिक प्रशासन, रोजगारीको ग्यारेन्टी, आदि-इत्यादि। बालेन्द्र शाहले जनतालाई उल्लेखित स्थायी मुकाममा पुर्याउने गरी काम गर्नु जरुरी छ।
भनाइ छ- जाडोमा तातो दिने पनि आगो, आजीवन प्रेमले पालेको प्यारो देहलाई चितामा भष्म गराउने पनि आगो! जुन आगोले सेक्छ, त्यही आगोले डढाउँछ। त्यसअर्थमा, सत्तामा बसेर राजा लुई चौधौँले जसरी ‘आई एम द स्टेट’ भन्दै सर्वेसर्वा ठान्न लागियो भने, न्याय र सुशासनको माग गर्ने जनताको छातीमा जङ्गी बुट बजार्न थालियो भने, जनता आखिर जनता हुन्, कुनै पनि समय सुनामी बनेर उर्लन सक्छन्।
सुनामी एकपटक आएपछि फेरि नआउने भन्ने हुँदैन। सुनामी विध्वंसक हुन्छ। सुनामी विस्फोटक हुन्छ। शासन-सत्ताले जनविश्वास गुमाउने हर्कत गरेका दिन सुनामी फेरि आउँछ!
