प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

इरानले मध्यपूर्वमा गरेको आक्रमणको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या थपिँदै गएको छ। यसरी पक्राउ पर्नेहरूमा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा ४५ जना र बहराइनमा ६ जना रहेका छन्।
पछिल्लो पटक, बहराइनमा इरानले गरेको आक्रमणको भिडियो सामाजिक सञ्जालमा साझा गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो। देशको गृह मन्त्रालयका अनुसार, ती व्यक्तिहरूमाथि इरानको कारबाहीको प्रशंसा गरेको र गलत सूचना फैलाएको आरोप लगाइएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ— ती भिडियोहरू उनीहरूको सामाजिक सञ्जाल खातामार्फत प्रसारित गरिएको र त्यसले जनमत भ्रमित पार्न, नागरिक तथा बासिन्दाबीच डर फैलाउनुका साथै सार्वजनिक सुरक्षा र व्यवस्थामा असर पार्न सक्ने देखिएको छ।
यसअघि, यूएईमा पनि इरानी आक्रमणसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा कम्तीमा ४५ जनालाई पक्राउ गरिएको थियो। सङ्घीय राजधानी अबुधाबीको प्रहरीले विभिन्न देशका नागरिक रहेका ती ४५ जनालाई इरानी आक्रमणका दृश्यहरू खिचेर सामाजिक सञ्जालमा राखेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
यूएईका अधिकारीहरूले “जनमत उक्साउने र अफवाह फैलाउने” गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन्। यसैबीच, अबुधाबीस्थित बेलायती दूतावासले पनि सामाजिक सञ्जालमार्फत चेतावनी जारी गर्दै इरानी आक्रमण भएको स्थान वा सैन्य तथा संवेदनशील क्षेत्रमा फोटो वा भिडियो खिच्दा कानुनी कारबाही हुन सक्ने जोखिम रहेको बताएको छ।
दुबईमा एक ६० वर्षीय बेलायती नागरिकमाथि पनि सहरमाथि उडिरहेको इरानी मिसाइलको भिडियो खिचेको आरोपमा साइबर अपराधसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको छ। यद्यपि, उक्त घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यस घटनाले यूएईलाई विश्वव्यापी व्यापार केन्द्र र खुला वातावरण भएको देशका रूपमा प्रस्तुत गरिए तापनि, खाडी क्षेत्रका देशहरूमा सामाजिक सञ्जालको प्रयोगमा पश्चिमी देशहरूको तुलनामा कडा प्रतिबन्धहरू हुने कुरा पुनः स्मरण गराएको छ।