प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

मध्यपूर्वमा जारी युद्धका बीच छिमेकी देशहरूलाई निशाना नबनाउन हमासले इरानलाई आग्रह गरेको छ। शनिबार जारी एक विज्ञप्तिमा हमासले इरानलाई इजरायल र अमेरिकाविरुद्ध आफ्नो रक्षा गर्ने अधिकार रहेको पनि दोहोर्याएको छ।
हमासले फेब्रुअरी २८ देखि मध्यपूर्वमा जारी युद्ध तुरुन्त रोक्न अन्तर्राष्ट्रिय समुदायलाई पनि पहल गर्न आग्रह गरेको छ। “अन्तर्राष्ट्रिय कानुन र मान्यताअनुसार इरानलाई उपलब्ध सबै माध्यमबाट आक्रमणको प्रतिकार गर्ने अधिकार छ,” हमासको वक्तव्यमा भनिएको छ, “तर, इरानका दाजुभाइहरूले छिमेकी देशहरूलाई निशाना बनाउनबाट जोगिनुपर्छ।”
गाजामा इजरायलसँग लामो समयसम्म युद्ध लडेको हमासले यसअघि इरानका सर्वोच्च नेता अली खामेनीको हत्या भएको घटनालाई “घोर अपराध” भन्दै निन्दा गरेको थियो। हमासका अनुसार खामेनीले प्यालेस्टिनी आन्दोलनलाई राजनीतिक, कूटनीतिक र सैन्य सहयोग प्रदान गरेका थिए।
खामेनीको मृत्यु पछि उनका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको छ। अमेरिकी रक्षामन्त्री पिट हेग्सेथका अनुसार उनी घाइते भएका छन् भने गम्भीर रूपमा विकृत भएको आशंका गरिएको छ।
त्यस्तै, हमासको नेतृत्वले कतार, टर्की र इराकलगायतका देशहरूसँग पनि सम्पर्क गरेर इरानमाथि भइरहेको अमेरिकी र ‘जायोनिस्ट’ आक्रमण रोक्न पहल गर्न आग्रह गरेको जनाएको छ।
यसैबीच इरानले अमेरिका र इजरायलको सैन्य शक्तिको सामना गर्दै मिसाइल र ड्रोन आक्रमणमार्फत प्रतिकार जारी राखेको बताइएको छ। कतारले शनिबार राजधानी दोहातर्फ लक्षित दुईवटा मिसाइल अवरोध गरेको जनाएको छ।
युद्धको पृष्ठभूमिमा लेबनानको सशस्त्र समूह हिजबुल्लाह पनि द्वन्द्वमा सक्रिय भएको छ। खामेनीको हत्या पछि युद्धमा प्रवेश गरेको हिज्बुल्लाहले इजरायलतर्फ सयौँ रकेट प्रहार गरेको बताइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म झन्डै ८०० जनाको मृत्यु भएको छ। इरानमा भने १,२०० भन्दा बढी मानिस मारिएको सरकारी अधिकारीहरूले बताएका छन्।
यसैबीच, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेयता कम्तीमा १३ जना अमेरिकी सैनिक पनि मारिएका छन्।