साँढे ६ दशकको ९ निर्वाचनको सन्देश : RajdhaniDaily.com



काठमाडौं । फागुन नेपालका निर्वाचन इतिहासमा विसं २०१५ देखि २०८२ सम्मका ९ निर्वाचनमा परिवर्तन पक्षधरलाई स्पष्ट बहुमत दिने गरेको, दलका अन्तरकलहले विभाजन र विचलन ल्याएको इतिहास दोहोरिएको छ । जेनजी आन्दोलनपछिको निर्वाचनमा पनि परिवर्तन पक्षधरलाई भारी अभिमतसहित अनुमोदन गरेसँगै ‘विगतका इतिहास दोहोरिने हो कि ?’ भन्ने चिन्तासँगै इतिहास नदोहोरिनेगरी काम गर्न खबरदारी सुरु भएको छ ।

परिवर्तन पक्षधरलाई बहुमतको अनुमोदन, अन्तरकलहले दल विभाजन र विचलन

विगतका निर्वाचनमा प्राप्त जनमत सम्बन्धित दलकै आन्तरिक किचलोका कारण कमजोर हुँदै विभाजन र विसर्जन बाटोमा लागेको विषयलाई लिएर ‘रास्वपामा पनि शंका र जनअपेक्षा बोक्ने दलको विभाजन देशको दुर्भाग्य भएकाले संकट नआओस्’ भन्ने कामना गर्ने बढिरहेका छन् ।

२०१५ सालको पहिलो आमनिर्वाचनदेखिकै नतिजा हेर्ने हो भने निर्वाचनअघिको क्रान्ति वा राजनीतिक परिवर्तन स्वीकार्ने वा नेतृत्व गर्नेले बहुमत ल्याएको पाइन्छ भने समयक्रममा आन्तरिक कलहले जनमत गुमाएको देखिएको छ । २००७ सालको राजनीतिक परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेसले त्यसपछिको निर्वाचनमा दुईतिहाइ नै ल्यायो । कांग्रेसले २०१५ सालको निर्वाचनमा संसद्को कुल सदस्य संख्याको दुईतिहाइ पाएको थियो । १०९ सिटमा कांग्रेसले ७४ सिट जितेको थियो । खसेको मतको ३८ प्रतिशत पाएको कांग्रेसभित्रकै आन्तरिक कलह बढेको मौका छोपेर १ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायत घोषणा गरेका थिए ।

बहुदलीय व्यवस्था आएपछिको निर्वाचनमा पनि तत्कालीन आन्दोलनको नेतृत्वकर्ता नेपाली कांग्रेस र बाममोर्चाको नेतृत्वदायी दल नेकपा एमालेलाई जनताले मतमार्फत अनुमोदन गरेका थिए । नेपाली कांग्रेसले ३७.७५ प्रतिशत मत ल्याएको थियो भने अर्को ठूलो दल भएको नेकपा एमालेले २८ प्रतिशत मत पाएको थियो । कम्युनिस्ट पार्टीको जनमत ३३ प्रतिशत थियो । २०४८ मा २०५ सदस्यीय संसद्मा कांग्रेसले एकल बहुमत जुट्नेगरी ११० सिट जितेको थियो । तर, आन्तरिक कलहका कारण कांग्रेसले आफ्नै सरकार ढाल्ने र मध्यावधि घोषणा गर्ने काम ग¥यो । अन्ततः २०५१ सालमा मध्यमवधि निर्वाचन भयो ।

२०४६ सालको राजनीतिक परिवर्तनको दोस्रो हिस्सेदार मानिएको नेकपा एमालेलाई नेपाली मतदाताले २०५१ सालमा ठूलो दल बनाए । बहुदलीय व्यवस्थामै ‘अफाप’ भन्ने भाष्य निर्माण भएको अवस्थामा कम्युनिस्टलाई ठूलो दल बनाएर नेपाली मतदाताले ‘रिस्क’ मोलेका थिए । तत्कालीन शासकविरुद्ध २००७ र २०४७ सालमा ‘रिस्क’ मोलेका नेपालीले २०५१ मै अर्को ‘रिस्क’ मोले– कम्युनिस्ट पार्टीलाई पहिलो दल बनाएर । तर, यो पनि लामो समय टिकेन र २०५४ सालमा नेकपा एमाले विभाजित भयो ।

एमालेले ८८ र कांग्रेसले ८३ सिट ल्याएको २०५१ को निर्वाचन तत्कालीन समय नेपाली राजनीतिको ‘प्याराडायम सिफ्ट’ मानियो । तत्कालीन नेकपा एमालेको विभाजनका कारण २०५६ सालको आमनिर्वाचनमा कांग्रेसले २०४८ सालको साख फर्कायो । कांग्रेसले २०५ मा १११ सिट जितेर ५४ प्रतिशत जनमत आफूसँग भएको प्रमाणित ग¥यो तर यसपछि कांग्रेसमा भएको विभाजन र अन्तरद्वन्द्वले प्रजातन्त्र नै जोखिममा पर्ने अवस्था आयो ।

राजाको सक्रिय शासनदेखि विद्रोही माओवादी जनयुद्ध उत्कर्षमा पुग्नसमेत निर्वाचनबाट बहुमत पाएको पार्र्टीभित्रको विभाजन कारक बन्यो । नेकपा माओवादी नेतृत्वको सशस्त्र द्वन्द्वपछि भएको २०६४ सालमा नेकपा माओवादीलाई मतदाताले बहुमत दिए । जोखिम उठाउँदै राजतन्त्र उन्मुलनमा साथ दिएका नेपालीले जनयुद्ध र १९ दिने जनआन्दोलनपछि नेकपा माओवादीलाई ठूलो दल बनाए । समानुपातिक प्रणालीका कारण संसद्मा बहुमत नपुगे पनि प्रत्यक्षतर्फ २४० सिटमा १२० सिट नेकपा माओवादीले जित्यो ।

कुल मतमा पनि ३१ प्रतिशत ल्याएर माओवादी पहिलो भयो । प्रत्यक्षमा बहुमत र समग्रमा पहिलो पार्टी भएको नेकपा माओवादी आन्तरिक कलहकै कारण कार्यकाल पूरा नगरी केही समयको अन्तरालमै विभाजित भयो । विभाजनपछि भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पहिलोबाट एकैपटक तेस्रो स्थानमा पुग्यो । १५४ प्रतिशत गिरावट झेलेको नेकपा माओवादीले पार्टीको नामसमेत फेर्नेदेखि अस्तित्वका लागि पार्टी एकताका उपायदेखि अनेकखाले सम्झौता झेल्नुपर्ने दिन सुरु भयो ।

त्यसयता २०८२ भदौमा भएको जेनजी विद्रोहले विद्रोह पक्षधर दल अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुईतिहाइ मत दिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपाले दुईतिहाइ पाएको यो परिणाम ऐतिहासिक र जनताको लामो समयदेखिको अपेक्षा र आशाको प्रतीक बनेको छ ।

परिवर्तन नेतृत्व गर्ने, त्यसको जिम्मेवारी तथा नेतृत्व लिने दललाई ‘रिस्क’ मोलेर अनुमोदन गरे पनि आन्तरिक कलहका कारण जनताका ‘सपना खेर नजाऊन्’ भन्दै राजनीतिज्ञले रास्वपालाई ‘बाचापत्र’अनुसारका काम र निर्वाचनताका प्रस्तावित प्रधानमन्त्री बालेन्द्रद्र शाह नेतृत्वमा ‘चामत्कारिक काम’को अपेक्षा गरेका छन् । कांग्रेस, एमाले, नेकपा र राप्रपालाई गत २१ फागुनको निर्वाचनले अस्तित्व नै मेटिनेगरीभन्दा गहिरो समीक्षा र सच्चिने अवसर दिएको बुझाइ राजनीतिशास्त्रका ज्ञाताको छ ।

कठिनाइमा कम्युनिस्ट
नेपाली राजनीतिमा ‘प्याराडायम सिफ्ट’ भएको निर्वाचन इतिहासकै सबैभन्दा कठिन क्षण भएको स्वयं कम्युनिस्ट पार्टीकै नेता बताउँछन् । माक्र्सवादी अध्येता तथा नेपाल कम्युनिस्ट पार्टी संयुक्तका नेता घनश्याम भुसाल बामपन्थ नै इतिहासको कठिन मोेडमा भएको बताउँछन् । आफूहरूकै गतिविधिका कारण यो अवस्था व्यहोर्नुपरेको आत्मसमीक्षा गरेका भुसालले नेतृत्वले आत्मसमीक्षा र आत्मालोचना गर्दै मिल्नुको विकल्प नभएको प्रस्ट पारे ।

कम्युनिस्ट पार्टी पछिल्लो ८ वर्षमा इतिहासमा अत्यन्तै तीव्र गतिमा ओरालो लागे । २०४८ सालदेखि थोरैमात्र तलमाथि हुने गरेको नेकपा एमालेको मत २०७९ र २०८२ मा क्रमशः ओरालो लाग्यो । २०७४ सालको निर्वाचनमा ३२.२५ प्रतिशत मत पाएको एमालेले २०७९ मा २६.९४ (२८ लाख ४५ हजर ६४१ मत) मा झ¥यो भने २१ फागुनको निर्वाचनमा १३.४३ प्रतिशतमा आइपुग्यो । वैकल्पिक राजनीतिक अभियान चलाएर उदाएको रास्वपाले ४७.८४ प्रतिशत मत ल्याएर इतिहासकै सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको परिचय बनायो ।

बामपन्थी पार्टीमा दोस्रो शक्तिका रूपमा सँगसँगै यात्रा गरिरहेको नेपाली कम्युनिस्ट पार्टीले पनि पछिल्लो ८ वर्षमा निकै विचलन व्यहोर्नु परेको छ । २०७४ सालको निर्वाचनमा १३.६५ प्रतिशत मत ल्याएको नेकपा मााओवादीले २०७९ मा ११.१३ मत ल्यायो । २०७४ सालमा बाम एकताको नाममा नेकपा एमाले र नेकपा माओवादी मिलेर ४७ प्रतिशत हाराहारी जनमत हासिल गरेका कम्युनिस्टले त्यसयता निकै कष्टकर समय व्यहोर्नुपरेको छ । २०७४ बाट ओरालो लागेर २०७९ हुँदै २०८२ मा अत्यन्तै कमजोर नतिजा आएको हो ।

प्रतिपक्षमा समेत नदेखिनेगरी थन्किएका कम्युनिस्ट पार्टीलाई प्रतिपक्षीको हैसियतमा ल्याउनसमेत नेतृत्वले आत्मसमीक्षा र त्याग गर्न जरुरी भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल बताउँछन् । मतपरिणाम सार्वजनिक भएपछि ‘आश्चर्यचकित भएको’ बताउँदै खनालले राजधानीसँग भने, ‘कम्युनिस्ट इतिहासमै सबैभन्दा बढी जनविश्वास ल्याउने अवस्थामा पुगेको आन्दोलन नेतृत्वको दम्भ र घमण्डका कारण रसातल पुग्ने खतरा देखियो ।’ देशी–विदेशी प्रतिक्रियावादी शक्तिले समेत कम्युनिस्टलाई उठ्नै नसक्नेगरी घेराबन्दी र आक्रमण गरेको बताउँदै खनालले ‘इतिहासको समीक्षा गर्दै एकताबद्ध भएर उठ्नुको विकल्प नभएको’ प्रस्ट पारे ।

नेकपा माओवादी नेतृत्वमा सुरु जनयुद्ध र नेकपा एमालेलगायत दलले गरेको १९ दिने जनआन्दोलनको परिणामस्वरुप गणतन्त्र आएपछिको २८ चैत २०६४ को पहिलो संविधानसभा निर्वाचन कम्युनिस्टका लागि सबैभन्दा स्वर्णिम अवसर थियो । २०६४ सालको चुनावमा कम्युनिस्ट पार्टीले ५५.८ प्रतिशत मत पाएका थिए ।

पहिलोपटक चुनावमा भाग लिएको माओवादीले ३१ लाख ४४ हजार २०४ अर्थात् २९.२८ प्रतिशत मत पाएर सबैभन्दा ठूलो दल बनेको थियो । तेस्रो शक्ति बनेको एमालेले २२ लाख २९ हजार ६४ अर्थात् २१.६३ प्रतिशत मत पाएको थियो । अझ नेकपा मालेले पाएको १ लाख ६८ हजार १९६ अर्थात् १.६३ प्रतिशत, जनमोर्चाले १ लाख ३६ हजार ८४६ अर्थात् १.३३ प्रतिशत, राष्ट्रिय जनमोर्चाले ९३ हजार ५७८ अर्थात् ०.९१ प्रतिशत, नेकपा संयुक्तले ३९ हजार १०० अर्थात् ०.३८ प्रतिशत र नेमकिपाले ६५ हजार ९०८ अर्थात् ०.६४ प्रतिशत थियो ।

तर, गणतन्त्रपछिको शक्तिशाली सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन तेस्रो दल नेकपा एमालेले थापेको राजनीतिक धरापमा परेर ढल्यो । त्यसयता कम्युनिस्ट पार्टी मित्रताभन्दा बढी दुश्मनसरह बने । २०७४ सालमा बाम गठबन्धनका नाममा मिलेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्तस्वरुप नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि दुईतिहाइ हाराहारी जनमत पाएको थियो । वाम गठबन्धन भएको २०७४ सालको चुनावमा भने कम्युनिस्टले समानुपातिकतर्फ ४८.५८ प्रतिशत मत पाएका थिए ।

एमालेले ३१ लाख ७३ हजार ४९४ अर्थात् ३३.२५ प्रतिशत र माओवादीले १३ लाख ३ हजार ७२१ अर्थात् १३.६६ पाएका थिए । टुटफुट र विभाजन संस्कृतिबाट हुर्किएका कम्युनिस्ट पार्टी एकताबद्ध हुँदा जनताले भारी विश्वाससाथ कम्युनिस्ट एकता अनुमोदन गरिदिए । तर, आन्तरिक मतभेदका कारण यो एकता दुई वर्षभन्दा बढी टिकेन । यसको परिणामले ल्याएको निरासा कम्युनिस्ट आन्दोलनको पतनको एउटा कारक बन्यो । ‘२०७४ को जनमत जोगाएर लैजान नसक्नु नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक भूल हो,’ पूर्वप्रधानमन्त्री तथा वरिष्ठ वामपन्थी नेता झलनाथ खनाल भन्छन्, ‘पाँचवर्षे स्थिर सरकार र समाजवादी कार्यक्रम कार्यान्वयन जनादेशविपरीत प्रधानमन्त्री प्रतिनिधिसभा विघटन, त्यसपछिका क्रियाकलापले वैदेशिक हस्तक्षेप वृद्धि र समाजवादी आन्दोलनमाथिको प्रहार बढेको छ ।’

२०७४ सालको चुनावमा बाम एकतासँगै पाँच कम्युनिस्ट पार्टीले भाग लिएकोमा २०७९ मा १० पुगेको थियो । २०८२ को निर्वाचनमा कम्युनिस्ट पार्टी एक्लाएक्लै जाँदा धेरैले त लज्जास्पद मत पाएका छन् भने ठूला मानिएका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले संगठित सदस्यको परिवारको मतसमेत जोगाउन सकेनन् । यस संकटको घडीबाट ‘कम्युनिस्ट पार्टी उठ्न सक्छन् कि सक्दैनन् ?’ भन्नेमा अन्तरपार्टी समीक्षा र शुभेच्छुकका सद् भाव राजनीतिक वृत्तमा चासोसाथ हेरिँदै छ ।

The post साँढे ६ दशकको ९ निर्वाचनको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment