नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका पूर्ववर्ती सदस्य रामहरि खतिवडा प्रभावशाली युवा नेता मानिन्छन्। अघिल्लो पटक प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका बेला निजामती कर्मचारी विधेयकबाट ‘कुलिङ अफ पिरियड’मा भएको हेराफेरीले ठुलो विवादसमेत ल्याएको थियो।
यसअघि २०७९ को निर्वाचनमा ओखलढुंगाबाट उनी निर्वाचित भएका थिए। अहिले उनको जिल्लाबाट पाँच मत कम ल्याएर कांग्रेस उम्मेदवारले पराजय भोग्नुपरेको छ। मुलुकमा यही फागुन २१ मा सम्पन्न निर्वाचन परिणाम, राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता र विगतमा ठुला भनिएका दल कांग्रेस, एमालेलगायतको विफलतामा उनले नागरिक फ्रन्टलाइनको बुधबारको शृंखलामा प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गरेका थिए। प्रस्तुत छ – खतिवडाका विचारको सम्पादित अंश।
निर्वाचनमा प्राप्त मत परिणामलाई कसरी लिनुभएको छ?
अप्रत्याशित, कल्पनाभन्दा बाहिरको अवस्थाजस्तो अनुभूति गरेका छौं। २०४८ सालदेखि २०८० सालसम्म निरन्तर जितेका कांग्रेस–एमालेका रूपमा चिनिएका क्षेत्रहरू सबै ध्वस्त भएका छन्। मधेसवादी दलका नाउमा उदाएका पार्टीहरू पनि ध्वस्त भएका छन्। यस पटक जनताले साँच्चै गोप्य रूपमै मतदान गरे। कहिलेकाहीं आवाज निक्लिने काम अर्को हुने, ठुलो आवाज निक्लिने मत अन्तै जाने प्रचलन हुन्थ्यो। धेरै ठुला आमसभा भएको पनि देखिएन। आमसभामा केवल बालेन्द्र (राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह), रवि (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने) र अलिकति हाम्रै सभापति (नेपाली कांग्रेसका सभापति गगनकुमार थापा)का फोटा देखियो। सदरमुकाम र आमसभामा कुनै पार्टीले आफ्ना सभापति/अध्यक्षको फोटो राखेर कार्यक्रम गर्न सक्ने अवस्था देखिनँ।
‘कांग्रेस परिवर्तन भयो अब देश बदल्छौं’ भनियो। कांग्रेस बदलिएको हो कि होइन म त्यतातिर जान चाहन्न। हामी तिनै साथीहरू थियौं। हिजो पार्टीमा महामन्त्री रहेकाहरू सभापति र उपसभापति हुनुभएको थियो। केन्द्रीय समितिमै रहेका साथीहरू महामन्त्री हुनुभएको छ। गुरुजी (नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे) त प्रदेशमा पराजित हुनुभएको थियो। पछि आएर महामन्त्री हुनुभयो। जति सहमहामन्त्रीहरू हुनुहुन्थ्यो, उहाँहरू पनि केन्द्रीय समितिमा हुनुहुन्थ्यो। यो दायित्व हामी सबैको थियो। म पनि त्यही समितिभित्रै थिएँ। कांग्रेस बदलियोभन्दा पनि कांग्रेसको नेतृत्व बदलिएको भनेको भए अझ सकारात्मक सन्देश जान्थ्यो जस्तो लाग्छ। तर जनता कहाँ छ भनेर हामी आफैंले पनि मूल्यांकन गर्न सकेनछौं।
कुनै पनि दलले जनता आफूहरूसँग रुष्ट छन् भन्ने महसुस नै गरेका रहेनछन्?
गाउँठाउँमा सर्वसाधारणसँग भेट्दा त्यसको रेस्पोन्स त सबैलाई थाहा हुन्छ। हामीसँग कति खुसी र कति दुःखी छन् भन्ने कुरा सत्तामा बसिसकेपछि हाम्रा नेताहरू सबैलाई असहमति भयो । हामीले भुईं मान्छेलाई बिस्र्यौं। जनताको भावना के छ र कसरी काम गर्नुपर्छ भन्ने कसैले पनि अनुभूति गरेनौं
प्रधानमन्त्रीका सल्लाहकार, राष्ट्रपतिका सल्लाहकार, उपराष्ट्रपतिका सल्लाहकारको संख्या सात सय जना भन्दा बढी हुँदा रहेछन्। कानुनी सल्लाहकार कानुनमन्त्री र महान्यायाधिवक्ता नै हो, अर्कै मान्छे किन चाहियो? गाडीलगायतका सुविधामा मात्रै झन्डै वार्षिक १५ देखि २० अर्ब रुपैयाँ खर्च हुँदो रहेछ। गाउँपालिकाको अध्यक्ष, वडाध्यक्षदेखि प्रदेशका मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशका सभामुख र प्रधानमन्त्री कार्यालयमा मात्रै ४६ जना सल्लाहकार राख्ने पद्धति रहेछ। दोहन त्यसरी भइरहेको थियो। त्यही रकम हामीले स्थानीय तहमा लगेर १२/१५ करोडको राम्रो हस्पिटल दिन सकेको भए सकारात्मक सन्देश जान्थ्यो। हामी आफू परिवर्तन भएनौं केवल नारा मात्र परिवर्तन ग¥यौं। त्यसको परिणाम पनि ठुला पार्टीहरूसँग मान्छे रुष्ट भए।
प्रदेशमा एउटा मुख्यमन्त्री र चार जनाभन्दा मन्त्री राख्नु आवश्यक छैन। स्थानीय तहमा वडामा केन्द्रित बजेट लानुपर्ने व्यवस्था हो। हामी के गर्छौं – नेताको जहाँ जहाँ ससुराली जाने ठाउँ छ, त्यतैतिर पुल, बाटो बनाउन जान्छौं। पब्लिकसँग सरोकार राख्दैनौं। यावत कारणले जनतामा असन्तुष्टि थियो। त्यसलाई हामीले समयमा बुझ्न सकेनौं। त्यसैको परिणाम पनि हो। हामीले पनि ठुला पार्टीका नेताहरूले कार्यकर्तासँग गर्ने व्यवहार पनि ठिक थिएन। पहिला परिवार, अनि कार्यकर्ता जनतासँग त हामीले वास्तै गरेनौं।
तपाईंले पार्टी भित्रका कमजोरी जसरी भन्नुभयो। यस आधारमा त कल्पनाभन्दा बाहिरको नभई निर्वाचनको नतिजा त ठिकै रहेछ नि?
यति नै लज्जाजनक हुन्छ भन्ने थिएन। कांग्रेसले कमसेकम ६० देखि ७० सिट ल्याउँछ भन्ने पूर्वअनुमान थियो।
कांग्रेसको नेतृत्व परिवर्तन नभएको भए बढी आउँथ्यो?
म त्यतातिर धेरै प्रवेश गरिनँ। चुनाव भइसक्यो। नेतृत्वमा बस्ने साथीहरूलाई पनि अपमान होला। बितिसकेको कुरा म धेरै कोट्याउन चाहन्नँ। तर एउटा काम गर्न सकिन्थ्यो। पुरानो वा नयाँ नेतृत्वभन्दा पनि सबैलाई समेटेर तेरो मेरो नभनीकन पुराना पुस्ताले पनि ‘स्याबास’ कांग्रेस भन्ने र नयाँ पुस्ताले पनि ‘क्याबात’ कांग्रेस भन्ने वातावरण बनाएको भए अझ बढी हुन्थ्यो।
यसको समीक्षा त हुन्छ होला? कस्तो समीक्षा गर्नुहुन्छ? विरोध वा सान्त्वना? के भन्नुहुन्छ नेतृत्वलाई?
फेरि एउटाले अर्कोको आलोचना गर्ने, एउटाले अर्कोलाई सक्ने मौका खोज्ने, टिकट नपाउनेले टिकट पाएकालाई सक्ने, पाउनेले नपाउनेलाई अपमान गर्ने वा अहिलेको संस्थापनलाई अरूले गाली गर्ने पद्धतिले हामी अझै सुध्रेका हुँदैनौं। बृहत् रूपमा छलफल गर्नुपर्छ। सबैलाई एकताको सन्देश दिनुपर्छ। एकापसका मनमुटावलाई अन्त्य गर्नुपर्छ र जनताबिच जानुपर्छ। यसका लागि अब सबैसँग सल्लाह गरेर केन्द्रीय कार्यसमितिको बैठक बस्ला। शीर्ष नेतृत्व, पुराना साथीहरू पनि होलान्। हिजो दुःख गरेको, राजनीतिमा त्याग गरेका, तपस्या गरेका होलान्। गल्ती कमजोरी सबैका हुन सक्छन्। मानवीय त्रुटिहरू हुन सक्छन्। मानवीय त्रुटिलाई मानवीय त्रुटिका रूपमा लिएर नयाँ किसिमले जाने वातावरण सिर्जना भए सकारात्मक नै होला।
यसपालिको कांग्रेसको यो परिणाम रास्वपालाई भोट बढी दिएर हो कि कांग्रेसभित्रकै आन्तरिक कलहका कारण हो?
कांग्रेसभित्रको अन्तरकलहले पनि गर्यो भन्ने कसैलाई होला तर कोही ३०/४०/५० हजारले चुनाव हारेको छ। त्यो अन्तरकलह मात्रको परिणाम होइन।
तपाईंको क्षेत्रमा त कांग्रेसका उम्मेदवार कुमार लुइँटेल पाँच भोटको मतान्तरले मात्रै पराजित हुनुभयो?
एकदम दुःखद नै भयो। मैले सघाइनँ भन्ने कति मान्छेलाई लाग्छ पनि होला। त्यो मान्छेको स्वभाव पनि हो। तर एउटा कुरा म इमानदारीसाथ सुरुदेखि ‘रुख हेरौं, मुख नहेरौं’ भनेर हिँडेको हुँ। म ओखलढुंगा मात्र होइन, सबै ठाउँ गएँ। म केन्द्रीय कार्यसमितिको सदस्य भएका नाताले चुनावमा साथीहरूलाई सहयोग गर्नु मेरो दायित्व र कर्तव्य पनि हो। यही काठमाडौं चारमा ओखलढुंगाका धेरै साथीहरू बस्थे, यहाँ प्रचार गरेर हिँडेँ। जिताउन इमानदारीपूर्वक लागियो। कतिपय कमजोरीहरू पनि हुन्छन्। ओखलढुंगाको मेरै गाउँपालिकाको वडा नम्बर सातको एउटा बुथमा मान्छेहरूले मतदान नै गरेनन्। त्यहाँ हामीसँग धेरै पहिलादेखि मान्छेहरू रुष्ट थिए। तर एउटा संस्कृति जहाँ पनि जहिले पनि के छ भने जिते आफैंले जितेँ भन्ने, हारे अरूले हरायो भन्ने। नेपाली कांग्रेसमा मात्र होइन, अरू पार्टीमा पनि यो होला। तर इमानदारीपूर्वक सबै साथीहरूले ओखलढुंगामा पार्टीलाई सघाएका छन्। केही छिटपुट कसैले गर्यो भन्ने थाहा छैन। कांग्रेस हारोस् भनेर लाग्ने कोही थिएन।
रास्वपालाई यसरी मतको आउँछ भन्ने तपाईंहरूलाई हेक्का थिएन?
रास्वपालाई नै हेक्का थिएन। उसलाई पनि थाहा थिएन। बालेनजी धेरै बोलेको त मैले देखिनँ। अरू कसैले पनि हामी एक सय कटाउँछौं, ९० कटाउँछौं मात्रै भनेको सुनिन्थ्यो। एक सय २५ आउँछ, कुन नेताले भन्या थियो? रास्वपाको कुनै पनि नेताले भनेका थिएनन्। समानुपातिकमा पनि यसरी ओइरिएर आउँछ भन्ने उहाँहरूमा थिएन।
कांग्रेसमा चाहिँ बरु सय पार भन्ने नारा थियो।
त्यो सभापतिजीले भन्नुभएको थियो। गगन सरकार सय पार भन्ने नाराहरू आएका थिए।
सभापतिजी नै पराजित हुँदा कांग्रेसलाई के प्रभाव परेको छ?
दुःख लागेको छ। यस्तो संसद्मा उहाँजतिको मान्छे आवश्यक थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै उहाँ एउटा आशाको मान्छे नै हुनुहुन्थ्यो। गगनजी जित्नुपथ्र्यो। हामीलाई अति विश्वास पनि थियो। काठमाडौं छोडेर सर्लाही जानुभयो। त्यो पहिला पनि कांग्रेसको किल्लाकै रूपमा स्थापित भएको थियो। गगनजी जस्तो व्यक्तित्व गएपछि समस्या हुँदैन भनियो। कसैले आँकलन गर्न सकेन। बालेनका नाउले तराई यसरी बढारिएला भन्ने कसैको आँकलन नै भएन। यद्यपि मधेस प्रदेशको रौतहटबाट आफताबजीको छोरा (मो. फिरदोस आलम) जित्नुभएको छ। शून्य हुन दिनुभएन। उहाँलाई धन्यवाद र बधाई पनि छ। सम्पूर्ण जितेका साथीहरूलाई बधाई छँदै छ।
चुनावको ठ्याक्कै अगाडि कांग्रेसको विशेष महाधिवेशन भएको थियो। त्यो समय ठिक भएन कि भन्ने महसुस भएको छ?
विशेष महाधिवेशनबारे मेरो आफ्नै तर्क थियो। अब भइसकेको कुरा म धेरै गर्न चाहन्न। चुनावअगाडि गराउँदा त्यसको परावर्तन त्यति राम्रो हुँदैन कि भन्ने थियो। एक रिपोर्टअनुसार सबैभन्दा बढी अर्को पार्टीमा गएर चुनाव जित्नमा मधेस प्रदेशमा १९ जना मान्छेहरू कांग्रेसबाट गएका रहेछन्। नेपालगन्जमा एमाले छोडेका एक जनाले मात्रै जित्नुभयो। पार्टीभित्र अधिवेशन गरेर त्यसले सिट पाएन, वडामा जितेन भने देख्लास्, चाख्लास् भनेर उसको काम कांग्रेसै हराउने मात्र हुन्थ्यो। त्यसैले यसलाई अलिकति बुझेर गरेको भए पनि हुन्थ्यो। अब विशेष महाधिवेशनको तयारी भनेर साथीहरूले गरिहाल्नुभयो। हामीले त यसलाई अझ यसलाई नीति महाधिवेशन गरौंजस्तो कति राम्रो नीति ल्याएका छौं।
मैले केन्द्रीय समितिमा प्रस्ताव पनि राखेको थिएँ। एकचोटि समानुपातिकमा सांसद भएको व्यक्ति दोस्रो पटक हुन नपाउने त्यो पारित गरेको थियो कांग्रेसले। पतिपत्नी एकैचोटी संसद्मा नल्याउने भन्ने थियो। दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकता दिने कुरा ल्याएका थियौं। हामीले ल्याएको समावेशी र समानुपातिक पद्धति त पहिला शेरबहादुर (नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा) कै नेतृत्वमा आएको हो। सदनमा हामीले कति राम्रो गर्यौं। आमाका नामबाट नागरिकता दिने विधेयक ल्यायौं। निजी क्षेत्रमा अख्तियारलाई जान नपाउने काम गर्यौं। भ्रष्टाचारको मुद्दामा हदम्याद नलाग्ने काम गर्यौं। असाध्यै सकरात्मक र नीति निर्माणसम्बन्धी कुरामा पनि हामीले विधेयक ल्याएका छौं। केही राम्रा काम पनि संसद्मा भएका थिए, त्यो जनताबिच पुर्याउन सकेनौं। प्रचार गर्न पनि सकेनौं। जनताले नपत्याइदिएको हो कि, हामीले प्रचार गर्न सकेनौं।
नेतृत्व परिवर्तन नभएको भए झन् कांग्रेस शून्य नै हुन्थ्यो भन्ने कुरा आइरहेका छन् नि?
कांग्रेसमा एउटा टिकट शेरबहादुरलाई दिँदा केही बिग्रिँदैनथ्यो। उहाँले उठ्न खोज्नुभएको हो भन्ने मलाई जानकारी भएन। नेतृत्वलाई थाहा होला। कतिपय ठाउँमा गुट हेर्नुहुँदैनथ्यो हामीले। अहिले पनि म सबैलाई अनुरोध गर्छु। मैले भनेको थिएँ – परिश्रमीलाई ठाउँ दिऊँ परिकर्मीलाई होइन। नेताको वरिपरि दुई/तीन प्रकारका मान्छे हुन्छन् – एउटा कान भर्ने, अर्को काम गर्ने । अनि हामीले कस्तो रोज्यौं, नीतिका मान्छे रोज्नेमा नेताका रोज्यौं। नेताका छोडेर नाताका रोज्यौं। दाता पनि रोज्यौं। हुन त यस्तो यसपटक भएन पनि भन्ने आयो।
यो त पार्टीमा छलफल/समीक्षा हुन्छ होला नि?
हुन्छ। सबै पार्टीमा हुनुपर्छ।
सभापति गगन थापाले राजीनामा गर्ने भन्ने पनि चर्चा सुनिन्छ। गर्नुपर्छ?
अहिले गगन थापाले राजीनामा गर्ने/नगर्ने बारेमा प्रवेश गर्न चाहन्न। विशेष महाधिवेशन भनेको छ। अब पूरा महाधिवेशन आउँदो हो। त्यसपछि के हुन्छ? अहिले योबारे म धेरै प्रवेश गर्दिनँ। केन्द्रीय समितिको बैठकमा साथीहरूले त्यहीं राख्नुहोला। त्यहीं छलफल गर्छौं भन्ने सुनेका छौं। अब छलफल होला। म अहिले केन्द्रीय समितिमा छैन।
कांग्रेसका अधिकांश पदाधिकारीहरू संसद्बाहिर हुने देखिएको छ। दलको नेता नै बनाउन पनि समस्या हुन्छ होला। को हुनसक्छ?
दलको नेता त के समस्या होला र! प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य हुनुपर्छ भनेका छौं। दलको नेता त समानुपातिकबाट आएकोलाई पनि बनाउँदा हुन्छ, फरक पर्दैन। पुरानो अलिकति काम गरेको बुझेको हुनुपर्छ। संसदीय राजनीति बुझेको, अहिलेको अवस्थामा पार्टीका कुरा पनि सशक्त रूपमा राख्न सक्ने ‘वाचडग’ हुनुपर्छ। संसद छोड्नुहुँदैन। प्रत्येक दिन हेरेर बस्नुपर्छ। कहिलेकाहीं सभामुखकै गल्ती हुनसक्छ। कहिलेकाहीं उपसभामुखको, कहिले मन्त्रीहरूको प्रत्येक कुरामा गढेर जनताका पक्षमा आवाज निकाल्न सक्ने हुनुपर्छ। त्यो खालको नेतृत्व अब नयाँ साथीहरू पनि तयार हुँदै आउलान्। मेरो पार्टीको मात्रै भन्दिनँ, संसद्मा आएका मान्छेहरू ‘ए केटा हो, त्यो के अरे, के छ नि, के छ’ भन्ने तालका सबै म मात्रै हुँ, मुलुक केही होइन भन्ने खालको सोचाइको विकासले संसद्को रौनकता अन्तर्राष्ट्रिय स्तरको कायम हुन्छ कि हुँदैन?
तपाईं नै सांसदमा रहँदा खास खास पार्टीका नेताहरूको बन्धकै थियो नि संसद्। त्यो तपाईंलाई पनि महसुस हुन्छ र?
संसद्मा नेताहरू उपस्थित नहुने। म दौरा, सुरुवाल, कोट नलाई कहिल्यै संसद्मा छिरिनँ। नियमित संसद् जान्थेँ। उपस्थित नभएको केवल एक दिन थियो होला। जनताले पठाएको त्यसैका लागि हो। कतिपय नेताहरूको त्यो कारण पनि बन्यो। नेताहरू उपस्थित नहुने १०÷१५ दिनमा आएर कोही बोल्ने, अनि हिँड्ने। नियमित रूपमा त्यहाँ के भइरहेको छ नेतृत्व तहलाई जानकारी नै भएन। ढुसुढुसु निदाउने पनि थिए। कतिपय सांसदहरू हाजिर गरेर टाप कस्ने। अनि बेलुका कोरम नपुग्ने। सत्ता पक्षमा भएर उठाउँदा अप्ठ्यारो पनि लाग्ने। यी यावत मुद्दा हुन्थे। यसलाई माननीय सदस्यहरूले बुझ्नुहुन्छ भन्ने लागेको छ।
चुनाव गराउन आउनुभएकी प्रधानमन्त्री सुशीला कार्कीको काम कस्तो लाग्यो?
निर्वाचन सम्पन्न गराउन सबैको भूमिका रह्यो। प्रधानमन्त्रीको पनि रह्यो। प्रधानमन्त्रीको टिमको पनि रह्यो। राष्ट्रपतिको पनि रह्यो। नेपाली सेना, प्रहरीको पनि रह्यो। सम्पूर्ण मतदाता र सम्पूर्ण पार्टीहरूको पनि रह्यो। पार्टीहरूले निहुँ खोजेर मात्रै गरेको भए पनि सम्भव थिएन। त्यसैले म सबैलाई धन्यवाद दिन चाहन्छु। उहाँ (प्रधानमन्त्री) ले आफ्नो भूमिका निर्वाह गर्नुभयो।
फागुन २१ गते भनेर राष्ट्रपतिले शपथ ग्रहण गराउनुअगाडि नै उहाँलाई मिति तोक्नुभएको थियो। बिचमा चुनाव हुन्छ कि हुँदैन भन्ने संशय थियो। एउटा सुखद कुरा के भयो भने धेरै चुनावमा दोहोराएर चुनाव गर्नुपर्थ्याे कहीं कहीं। यस पटक एक ठाउँ पनि त्यो भएन। द्वन्द्व हुने, मान्छेहरू हताहत हुने अवस्था सिर्जना हुन्थ्यो। त्यो पनि देखिएन। शान्तिपूर्वकै भयो। त्यसका लागि सबैलाई धन्यवाद!
निर्वाचनमा अब बिस्तारै परिपक्व हुँदै गएको देखियो?
हामीले आफ्नो कुरा गर्नुको सट्टा अरूको विरोध गर्ने पद्धति थियो। त्यो कमी भएको पाएँ। त्यो पनि व्यक्तिगत चरित्रका कुरा समेत निकाल्ने, चरित्र हत्या गर्ने कुराहरू हुन्थे। यो कम भएको पाएँ। वास्तवमा यो अन्त्य पनि हुनुपर्छ। आफ्ना अजेन्डामा कुरा गर्ने हो। अरूको आलोचना गर्ने, अरूको बदनाम गर्ने, अरूका कुरा गर्ने पद्धति अन्त्य गर्नुपर्छ। प्रजातन्त्र भनेको त यस्तो पो हुनुपर्दो रहेछ भन्ने उदाहरण बन्न सकोस् भन्ने हाम्रो पनि चाहना छ।
यसपालिको सांसदबाट विगतमा जस्तो नयाँ नयाँ सरकार बनाइरहने छैन। रास्वपाको एकलौटी सरकार बन्छ तर कांग्रेस, एमाले, नेकपाजस्ता पुराना दलहरू कसरी अगाडि बढ्छन्? कांग्रेसले तीसँग कसरी सहकार्य गर्छ? कि गर्दैन?
जसले गरे पनि हामी राम्रा कुराको सकारात्मक रूपमा समर्थन गर्छौं। तर दुई तिहाइको नाममा मुलुकको हितविपरीत जबरजस्ती केही गर्न थालियो भने त्यसको विरोधमा जान्छौं। पहिलेजस्तो सहकार्य, सिद्धान्त, आदर्श, मूल्यमान्यता नमिले पनि सत्ताका लागि हुने सहकार्य पद्धतिको अन्त्य हुनुपर्छ। त्यो ठिक पनि भएको छ। पाँच वर्ष पूरा उहाँहरूलाई काम गर्न दिनुपर्छ। राम्रा कामको हामी पनि प्रचार गरिदिन्छौं। नराम्रा कामको प्रतिफल पाँच वर्षपछि भइहान्छ। जनताकै बिचमा जाने हो। संसदीय राजनीतिको सबैभन्दा सुन्दर पक्ष त्यही हो।
नेपाल अलि संवेदनशील अवस्थामा छ। आर्थिक रूपमा पनि अब अहिले मध्यपूर्वमा भएका घटनाहरूले पनि हामीले धेरै गर्नुपर्छ। बुझ्नुपर्ने जरुरी देखेको छु। हामी झन्डै २७ खर्ब बढी ऋणमा छौं। यहाँ नयाँ ठुला उद्योग खुलेका छैनन्। रोजगारीका अवसरहरू छैनन्। अहिले कराउन सजिलो भएको छ – फलानाले गर्दा भएन, डिस्कानाले गर्दा भएन। विदेशीहरूले धेरै ठुलो सहयोग गर्ने अवस्था छैन। अहिलेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) भन्छौं, त्यो चाइनाले बनाइदिएपछाडि नेपालमा ठुला पूर्वाधारका कामहरू कुनै पनि देशले सहयोग गरेको देखिँदैन। अमेरिकाले पनि यो एमसिसीपछाडि ठुलो सहयोग गरेको देखिँदैन। हामी आफैं आर्थिक रूपमा निर्भर हुनुपर्छ।
जलस्रोतको विकास गरेर विद्युत् विदेश निर्यात गर्न सके आर्थिक स्रोत बन्ला। नभए खाडी मुलुकबाट आउने रेमिटेन्स, त्यहाँ भएका मान्छेहरू नै सुरक्षित भएनन् र स्वदेश फर्कनु परे यहाँ अवसर दिन नसके थप आर्थिक रूपमा कमजोर हुने अवस्था सिर्जना हँुदैछ। हिजोका दिनमा हामी दुई/तीन वटा कुराले पूर्वाधार निर्माण क्षेत्रमा क्षेत्रमा पछाडि परेका छौं। भूकम्पका कारण हामीले ठुलो क्षति बेहोर्नुपर्यो। त्यसपछि नाकाबन्दीले बेहोर्नुपर्यो। भूकम्प र नाकाबन्दीपछाडि विपद् बाढी पहिरोका कारणले ठुलो क्षति भयो। अहिले त झन् सिंहदरबारदेखि संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयहरू जलेका छन्। खर्बौंको क्षति भएको छ, त्यो पनि पुनर्निर्माण गर्नुपर्ने होला।
भूराजनीतिक हिसाबले यदाकदा नेपालमा अहिले युक्रेनको चर्चा हुन थालेको छ। त्यसमा कुनै खास व्यक्ति वा नेता विशेषलाई जोड्ने गरिन्छ। त्यस्तो खतरा देख्नुहुन्छ?
कसैलाई पनि अविश्वास गर्न चाहन्न। तर नेपालका नेता अरूबाट परिचालित हुने पद्धतिको विकास भए नेपालको राष्ट्रियता सधैं खतरामा पर्छ। यो अवस्था सिर्जना नहोस् भन्नेमा हामी छौं। एउटै समयमा सबै नेताका घर, कार्यालय, गाउँपालिका र नगरपालिकाहरू ध्वस्त भएका छन्। केही मान्छे मात्रै बच्ने। भदौ २४ गतेकै घटना हेर्नुस्– त्यस दिन कुनै पनि पेट्रोल पम्पहरू खुलेका छैनन् तर पेट्रोल बमहरू प्रहार गरिएको छ। पूर्वयोजना थियो वा त्यो कसरी भयो? एकचोटि एउटा आगो लिएर झोस्यौं भने पनि घर जल्दैन। तर एकैचोटि लाएपछि आगो हरहरती बढ्ने अवस्था सिर्जना भएको छ। यावत् कुरा छन्। सबैलाई अविश्वास गरेर पनि केही हुँदैन। नेपालीले नेपालीलाई अविश्वास गर्ने, गाली गर्ने, एउटाले अर्कोलाई पार्टीभित्र पनि अन्य साथीभित्र पनि यो पद्धति अन्त्य गरेर मुलुक निर्माण गर्न दिलबाटै लाग्यो होला। ध्वस्त बनाउन खोजेको छ भने त के लाग्यो र?
त्यस्तो अवस्थामा कांग्रेसको भूमिका कस्तो रहन्छ?
राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिक अखण्डताका लागि नेपाली कांग्रेस हिजोका दिनमा पनि नेपाली जनता र नेपालको पक्षमा थियो। अहिले पनि हामी त्यसबारे कोहीसँग सम्झौता गर्दैनौं। हामी संगठित भएर त्यसविरुद्ध प्रस्तुत हुन्छौं। नेपाली कांग्रेस सारा नेपालीलाई संगठित बनाएर त्यसविरुद्ध एक भएर अन्य साथीहरूलाई पनि साथ लिएर अगाडि बढ्छौं।
रास्वपासँग त कांग्रेसको पहिले पनि त्यति राम्रो सम्बन्ध देखिँदैनथ्यो। आउने दिनमा केही सुधार हुन्छ कि?
सम्बन्ध भनेको मुद्दाअनुसार हुन्छ। कुनै बेला माओवादी र कांग्रेसको राम्रो सम्बन्ध थियो। कुनै बेला राप्रपा र कांग्रेसको राम्रो सम्बन्ध थियो। कुनै बेला राप्रपा माओवादीसहितको सरकारमा गएन? हिजोका दिनमा रास्वपा नै माओवादीसहितको सरकारमा गएन? कुनै पार्टी बचे? त्यसैले यो परिस्थितिले गर्ने सम्बन्धको निर्माण हो। अघि नै भनेँ, प्रजातान्त्रिक मूल्य र मान्यता, संस्कार र संस्कृतिलाई आघात नपर्ने गरी राम्रा काम भयो भने हामी कोहीसँग अछुतको व्यवहार गर्दैनौं।
संसदमा प्रमुख प्रतिपक्ष कांग्रेसको भूमिका कस्तो रहन्छ?
रचनात्मक रहन्छ। राम्रो कुराको समर्थन छ, गलत कुराको संसद्भित्रैबाट पनि विरोध गर्छ। बाहिरबाट पनि विरोध गर्छ। कतिपय संविधान संशोधनकै कुरा आउलान्। जस्तो व्यक्तिगत रूपमा प्रदेशकै कुरामा – प्रदेश अलि महँगो भयो भन्ने अहिले सबैलाई लागेको छ। यसको मतलब प्रदेश खारेजै होस् भन्ने होइन। हिजोका दिनमा रास्वपाले प्रदेश चाहिँदैन भनेकै हो। अब अहिले कसरी प्रस्तुत हुनुहुन्छ? प्रदेश खारेजीलाई मूल मुद्दा बनाएर प्रदेशमा उम्मेदवार पनि नउठाएको हो नि रास्वपाले।
विशेष गरी स्थानीय तहमा पूर्वाधारको विकासदेखि सम्पूर्ण ध्यान दिनुपर्ने वडामा हो। तल्लो स्तरमा पहिलो प्राथमिकता दिएर प्रदेश जिल्ला समन्वयजस्तै मात्रै भयो भने पनि हुन्छ। नभए जिल्ला समन्वयको अहिले के काम छ र? केन्द्रबाट पैसा प्रदेशलाई पठाइदिनुपर्ने। प्रदेशका मन्त्री, माननीय त्यहाँका सबै सल्लाहकार सभामुख, उपसभामुखलाई पुगेपछि स्थानीय तहमा जाने। यो बोझिलो भयो कि भन्ने छ। यसलाई अलिकता घटाउनुपर्छ। यसको मतलब प्रदेशलाई केही नदिने होइन।
रास्वपाले प्रत्यक्ष कार्यकारी बनाउनुपर्छ भन्ने अजेन्डा अगाडि सरेको छ। यसमा कांग्रेसको कुरा के छ?
त्यो सम्भव छैन। प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्रीको पक्षमा नेपाली कांग्रेस छैन। संसदीय व्यवस्थालाई नै दरो गर्नुपर्छ। संसदीय व्यवस्था खराब होइन, केही व्यक्ति खराब होलान्। यति राम्रो पद्धति छ। जनताले आफ्ना निर्वाचित प्रतिनिधिहरू चुन्छन्। निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री चुन्छ। प्रधानमन्त्रीले राम्रो काम गरेन भने अविश्वासको प्रस्ताव लगाएर प्रधानमन्त्री हटाउने अधिकार छ। यो व्यवस्थालाई नै दरो बनाउनुपर्छ। अहिले कार्यकारी भनेर एउटा व्यक्तिले नै सबै कुरा ठिक पार्छ भन्ने पक्षमा हो भने त राजा नै ठिक थियो। कार्यकारी हुँदा एउटै व्यक्तिले चलाउँथ्यो नि। त्यसैले कार्यकारीको पक्षमा कांग्रेस जाँदैन।
सुरुमै जहाँ पायो त्यहीं हात हाल्नेतिर लाग्नुभयो भने त्यसको प्रतिफल सकारात्मक हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले नेपालको भूराजनीति, अर्थनीति, नेपाली जनताको मनस्थिति, हिमाल, पहाड, तराई, जाति जनजाति, वर्ग, धर्म, सम्प्रदायलाई बुझेर राजनीति गर्नुपर्छ। कसैको म मात्रै सबै कुरा हुँ भन्ने घमन्ड जागे त्यो टिक्दैन। हामीले राजादेखि पञ्चायत, कांग्रेस, माओवादी र एमाले सबैलाई देखेकै छौं। अहंले पुर्याउने भनेको क्षति नै हो। विनम्रताले पुर्याउने भनेको फाइदा हो। विनम्रतासाथ जनताका मागतिर केन्द्रित बनौं। सबै ठाउँमा हात हाल्न खोज्यो भने फेरि नेपाल न हो। प्रचण्डजी २०६४ सालमा एकैचोटि नेपाली सेना सक्छु भन्दा आफैं ६ महिना टिक्नुभएन। यी कुरा पनि बुझ्न आवश्यक छ। हिजोको उदाहरणलाई पनि हेरेर राजनीति गरे फाइदा होला।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको जितलाई कसरी हेर्नुभएको छ?
प्रचण्डजीसँग मैले संगत गरेको छु। २०७० मा पनि उहाँसँग अलिअलि संगत गर्यौं। यो दुई वर्षमा त राज्य व्यवस्थामा पनि सबै काम मैले गरेँ, उहाँ सदस्य, म सभापति भएर। असाध्यै लचिलो मान्छे लाग्छ मलाई। नरम पनि। जहाँ पनि पुगिहाल्ने। एक छिनमा परिवर्तन गरौं त यो भनेपछि गरिहाल्ने। यो गरौं भनेपछि लागिहाल्ने। उहाँले आफ्नो आधार इलाका बुझ्नुभएको थियो।
रुकुम र रोल्पा अहिले पनि माओवादीको आधार इलाका हो। अहिले पनि दुइटै सिट उहाँहरूले जित्नुभयो। पूर्वी र पश्चिम रोल्पामा पनि वर्षमान पुनजीले जित्नुभयो। केही ठाउँ अहिले पनि पुरानो माओवादीको प्रभाव भएका ठाउँहरू छन्। उहाँ पनि सुरक्षित ठानेरै जानुभयो। अहिलेसम्म चुनाव लडेर नहारेको एउटा शेरबहादुर देउवा हुनुहुन्थ्यो। उहाँ यसपटक चुनाव नै उठ्नुभएन। प्रचण्डजी पनि चुनाव उठेर कीर्तिपुरमा त हार्नुभएको हो । त्यति बेला दुइटा क्षेत्रमा लड्न पाइन्थ्यो, अर्को क्षेत्रबाट संसद्मा छिर्नुभयो। यसपालि उहाँले आफूलाई सन्तुलित गरेर संसद्मा उपस्थित जनाउनुभएको छ। परिपक्व राजनीति गर्नुहोस् भन्ने मेरो शुभकामना हो।
नेपाल मजदुर किसान पार्टी र जनमोर्चाजस्ता दलहरू कसैले पनि एक सिटसमेत जितेनन्। समग्रमा वामपन्थीहरूको भोट र सिटहरू पनि घट्यो। यो तथ्यले भविष्यमा नेपालमा वामपन्थी राजनीतिको ओरालो सुरु भएको मान्न सकिन्छ?
आजको अवस्था हेर्दा पाँच वर्षअगाडि भारतमा यस्तै सुरुवात भएको थियो। नेपालमा पनि अहिले त्यस्तै भयो। वामपन्थमध्ये सबैभन्दा दरो शक्ति भनेको हिजोका दिनमा दुइटै पार्टी मिल्दा झन्डै दुईतिहाइ नजिकै थिए। २०७४ मा त भएकै हुन्। दुई तिहाइ नजिक भएको शक्ति १७४ ठाउँमा जित्नुभएको थियो। केही समयमै लडेर फुट्न पुग्यो। त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय सबैको चलखेल पनि होला। हात पनि होला। अनि उहाँहरूको पनि बुद्धि त्यसै गरी भएको होला। अहिले पनि संसारमा वामपन्थीहरू पछाडि परिराखेको बेला नेपालमा निर्वाचन पद्धतिबाट कसरी वामपन्थीहरू पहिलो पार्टी भए भनेर अन्तर्राष्ट्रिय रूपमा पनि कोही लागे–खेलेजस्तो लाग्यो।
तपाईंले भनेजस्तै अबको राजनीतिमा वामपन्थीहरू एकीकृत नै भएर जाँदा पनि पहिलो पार्टी बन्ने अवस्था छैन। जनताले धेरै विश्वास गरेका छैनन्। राजनीति त हेरे नि। वामपन्थीहरूको एउटा भनाइ थियो – पहिला पञ्चहरूले धेरै भ्रष्टाचार गर्थे, त्यसपछि कांग्रेसहरूले गरे। त्योभन्दा बढी एमालेले गरे। त्योभन्दा बढी माओवादीले गरे। झन् खराब रहेछ भन्ने जनतामा आइराखेको थियो। जाँदा जनवादका कुरा गर्ने, आउँदा धनवाद भएर आउने प्रवृत्तिको विकास भयो। त्यसले गर्दा अब भोलिका दिनमा वामपन्थी शक्तिहरू नेपालमा फेरि तत्कालै पहिलो पार्टी अथवा एकदम ठुलो शक्ति भएर उदाउने सम्भावना छैन।
प्रकाशित: ३० फाल्गुन २०८२ ०८:४५ शनिबार
