विवाह मण्डप सजिएको छ, बेहुला-बेहुली एकअर्कालाई वरमाला लगाइरहेका छन्। वरमालामा झुण्डिएको छन् घण्टीहरू । जब माला लगाइन्छ, छेउकै कसैले त्यो घण्टी बजाइदिन्छन्। पृष्ठभूमिमा घन्किरहेको हुन्छ एउटा लोकभाकाको चुनावी गीत–
पहिले दोसर पार्टीके देहलख हा भोट,
अब घण्टी आगइल, मत कर चोट…
नयाँ घण्टी से देश सुधरी, पूरनका से का भइल!
काम विवाहको भइरहेको छ, तर माहोल भने पूरै ‘घण्टीमय’ छ। यो कुनै एउटा मण्डपको मात्र दृश्य होइन; यसपटक तराई-मधेसका अधिकांश गाउँबस्ती, उत्सव र जमघटहरूको यस्तै गीत बजे, यही विषय चर्चामा रहे ।
यही माहोलका बीच पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले करिब ५० हजारको फराकिलो मतान्तरले पराजित गरे। झण्डै दुई तिहाइ बहुमतसहित रास्वपा विजयी भयो । चुनावी इतिहासमै सर्वाधिक मत ल्याएर बालेन र रास्वपाले निकालेको यो नतिजा जति ऐतिहासिक छ, उनको यो ‘अर्गानिक’ र सांगीतिक प्रचार शैली त्योभन्दा कैयौं गुणा रोचक छ।
विगतका चुनावका अनुभवहरूले बताएका छन् कि लामा-लामा सम्बोधन र भाषण बिना चुनाव प्रचार असम्भव जस्तै थियो। तर, यसपटकको चुनावमा भने कम बोलेर नै बालेनले नागरिकहरूको मन जित्न सफल भए। उनको जितको पृष्ठभूमिमा कुनै लामो र भड्किलो भाषण थिएन, बरु एउटा अनौठो र मौलिक प्रचार शैली थियो।
बालेनले धनुषाको जनकपुरधाममा दिएको ९ मिनेटको मैथिली भाषण नै उनको सबैभन्दा छोटो भाषण हो। तर यो संक्षिप्त भाषण यति लोकप्रिय भयो कि यसका धेरैजसो उद्धरणहरू विभिन्न प्रकारका गीतहरूमा समेटिए। यी गीतमार्फत बालेनका अभिव्यक्तिहरू लोकप्रिय बन्न पुगे।
उक्त भाषणलाई स्थानीय डिजेहरूले ‘रिमिक्स’ गरेर तयार पारेका चुनावी गीतहरू मधेसका गाउँ-गाउँका पार्टी, उत्सव र र्यालीहरूमा घन्किन थाले, जसले बालेनलाई सामाजिक सञ्जालमा नबोलीकनै घर-घरको साझा नेता बनाइदियो। यसै साङ्गीतिक र भाषिक लहरले उनलाई ‘मिथिलाका लाल’ को छवि दिलाउँदै मधेसमा रास्वपाको पक्षमा ‘क्लिन स्वीप’ गर्न मद्दत पुर्यायो।
बालेन शाहले निर्वाचनअघि रास्वपामा आबद्ध भएर प्रधानमन्त्रीको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरेका थिए। उनले आफ्नो चुनावी अभियानको सुरुवात काठमाडौंबाट नभई मधेसको मुटु जनकपुरबाट गरे। ५ माघ २०८२ मा जनकपुरमा आयोजित विशाल र्यालीमा उनले मेयर पदबाट राजीनामा दिएपछिको पहिलो औपचारिक राजनीतिक सम्बोधन गरेका थिए।
सम्बोधनको सुरुवातमै उनले ‘सर्वप्रथम, माता जानकीके प्रणाम’ भन्दै शुद्ध मैथिली भाषामा बोल्न थालेपछि उपस्थित जनसागरमा उत्साहको लहर छाएको थियो। ९ मिनेट १७ सेकेन्ड लामो त्यो पूर्ण मैथिली भाषण क्षणभरमै भाइरल बन्यो।
भाषणका क्रममा बालेनले मधेसको गौरवशाली इतिहास, विभिन्न आन्दोलन र सहिदहरूको योगदानको खुलेर प्रशंसा गरे। उनले मतदातालाई अपिल गर्दै भने, ‘भोट मात्र मधेसी छोरो प्रधानमन्त्री बन्न लागेको हो भनेर नदिनुस्। भोट सही व्यक्ति र सही सरकार बनाउन दिनुस्। घन्टी छापमा भोट दिनुस्, सही दिन आउँछ।’
उनले जनकपुरको पर्यटकीय सम्भावनालाई उजागर गर्दै जानकीको जन्मभूमिलाई विश्वकै उत्कृष्ट ‘वेडिङ डेस्टिनेसन’ बनाउन सकिने र नेपालीहरू विवाहका लागि विदेश जाने चलन रोक्न सकिने ठोस योजना प्रस्तुत गरे। उनको र्यापर पृष्ठभूमिका कारण भाषण अत्यन्तै सीधा, भावनात्मक र सांस्कृतिक रूपमा जोडिएको थियो, जसले गर्दा भीडबाट ‘बालेन सरकार! घन्टी छाप!’ को नारा गुञ्जियो।
संघीयताको दृष्टिमा मधेसले सधैं काठमाडौंको शासकहरूलाई शंकाको दृष्टिले हेर्नेगर्छ । यसका पछाडि केही वस्तुगत आधारहरू पनि छन् । बालेनले यही आशंका मेट्न भने, ‘काठमाडौं अधिकार माग्न होइन, पशुपतिनाथको दर्शन गर्न जाने हो ।’
त्यो ९ मिनेटको भाषण सामाजिक सञ्जालमा अपलोड भएपछि भाइरल बन्न पुग्यो। रोचक पक्ष त के छ भने, बालेन आफैँले यस विषयमा कुनै पोस्ट गरेनन्। तर, मधेसका स्थानीय डिजेहरू, विशेषगरी मिथिलाञ्चल डिजिटल मिडिया र डिजे कृष्ण (मिथलेश्वर बजार) ले उक्त भाषणका क्लिपहरूलाई समेटेर ‘बालेन सरकार’ नामक चुनावी गीत तयार पारे।
बालेनको पुरानो र्यापर छविले गर्दा साङ्गीतिक प्रचारलाई थप ऊर्जा मिल्यो। सन् २०१० को दशकमा भ्रष्टाचारविरुद्ध र्याप गाउने युवाको आवाज अहिले मधेसको युवा पुस्ताको ‘एन्थम’ मा बदलिएको थियो।
१६ माघ २०८२ मा डीजे कृष्ण मिथिलेश्वर बजार युट्युब च्यानलले प्रिमियर गरेको ‘बालेन शाह घन्टी छाप’ गीतमा बालेनले जनकपुरमा दिएका भाषणका उद्धरणहरू धेरै प्रयोग गरिएको छ। ‘भोटमात्र मधेसी छोरो प्रधानमन्त्री बन्न लागेको हो भनेर नदिनुस्। भोट सही व्यक्ति र सही सरकार बनाउन दिनुस्’ भन्ने बालेनको यो उक्ति गीतमा धेरै प्रयोग भएको छ।
जनकपुरको सोही कार्यक्रममै सम्बोधन गर्ने क्रममा रास्वपा सभापति रवि लामिछानेले आफ्नी स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको कुरा साझा गरेका थिए।
लामिछानेले भनेका थिए, ‘मैले आमाको तस्बिरमा हेरेर भनेँ- आमा, बालेनले देश बनाउँछ। बालेनले हाम्रो सपना पूरा गर्छ।’

रविको यस उक्तिलाई पनि डीजे कृष्णले सङ्गीत भरेको उक्त गीतमा समावेश गरिएको छ। उक्त गीतले ५ लाख ३३ हजारभन्दा बढी भ्यूज बटुलेको छ। डीजे कृष्ण मिथिलेश्वर बजार युट्युब च्यानलले यस्तै बालेन र रास्वपा समर्थन लक्षित अन्य डीजे गीतहरू पनि बनाएको छ र ती गीतहरूमा हजारौँ भ्यूज छन्। चुनावभन्दा केही दिन अघि मात्र पनि उक्त च्यानलमा ‘बालेन शाह – पिएम अफ नेपाल’ नामका गीतहरू सार्वजनिक भएका थिए।
त्यस्तै गरी, चुनाव लक्षित यस्ता डीजे सङ्गीतहरूमा ‘अबकी बार बालेन सरकार’ वाक्य धेरै प्रयोग भएका छन्। ‘गायत्री म्युजिक’ ले १५ फागुन २०८२ मा अपलोड गरेको डीजे गीतको शीर्षक नै ‘अबकी बार बालेन सरकार’ रहेको छ। बालेनलाई मतदान गर्न आग्रह गरेर बनाइएको यस गीतमा पुराना राजनीतिक दलहरूले मधेसको समस्यालाई उपेक्षा गरेको रोष पनि पोखिएको छ।
विश्वास भट्टराई युट्युब च्यानलले रास्वपालाई चुनावमा विजयी गराउन अनुरोध सहित ‘अबकी बार घन्टी सरकार’ नामको भोजपुरी गीत अपलोड गरेका थिए। यो गीत उनले विशेष गरी पर्सा, बारा, रौतहट र सर्लाही जस्ता भोजपुरी भाषी जिल्लाहरूका जनताका लागि समर्पित गरेका थिए।
तराई आज पनि अविकास, प्रदूषण, भ्रष्टाचार, विकासमा ढिलाइ, अशिक्षा र कमजोर स्वास्थ्य सेवाजस्ता गम्भीर समस्याले ग्रसित भएकाले तराईलाई अब खाली चुनावी नारामा सीमित नगराउन रास्वपा उम्मेदवारलाई भोट दिन उनले गीतमार्फत आग्रह गरेका थिए।
हेर्दाहेर्दै ती डिजे गीतहरू मधेसका विवाह, व्रतबन्ध, छठ पूजा र चुनावी सभाहरूमा घन्किन थाले । युवाहरू ती गीतमा झुमेर नाच्न थाले। फेसबुक र टिकटकमा ‘पूरा नेपाल बालेनको मैथिली धुनमा नाचिरहेको छ’ भन्ने टिप्पणीहरूले भरिए।
बिहारको मैथिली समुदायले समेत सांस्कृतिक निकटताका कारण यी गीतहरू व्यापक सेयर गरे। बालेनको पुरानो र्यापर छविले गर्दा यो साङ्गीतिक प्रचारलाई थप ऊर्जा मिल्यो। सन् २०१० को दशकमा भ्रष्टाचार विरुद्ध र्याप गाउने युवाको आवाज अहिले मधेसको युवा पुस्ताको ‘एन्थम’ मा बदलिएको थियो।

यो प्रचार शैलीको सबैभन्दा सबल पक्ष यसको ‘अर्गानिक’ स्वरूप थियो। रास्वपा वा बालेनको आधिकारिक टिमले यी गीतहरूलाई प्रवर्द्धन गरेनन्। बालेनको मौनताले गर्दा यो अभियान जनता आफैँले चलाएको जस्तो देखियो, जसले उनको छविलाई एक ‘ग्रासरुट’ नेताका रूपमा स्थापित गर्यो।
परम्परागत दलहरूले फेसबुक विज्ञापन र इन्फ्लुएन्सरहरूमा खर्च गरिरहँदा, बालेनको सन्देश भने सहज रुपमा घर-घरमा पुग्यो। एक स्थानीय डिजेका अनुसार, बालेनको भाषणको प्रभाव यति गहिरो थियो कि युवाहरूले आफैँ ती गीत बजाउन माग गर्थे।
निर्वाचनको नतिजाले यो रणनीति कति सफल भयो भन्ने कुरा स्पष्ट पारेको छ। मधेस प्रदेशका ८ जिल्लामध्ये ६ जिल्लाहरूमा रास्वपाले क्लिन स्वीप नै गरेको छ। जनकपुर, वीरगन्ज र विराटनगर जस्ता ठूला सहरहरूमा रास्वपाले भारी मतले अग्रता लियो।
झापा-५ बाट निर्वाचन लडे पनि बालेनले मधेसभरि जुन लहर सिर्जना गरे, त्यसले पहिचानको राजनीतिलाई नयाँ मोड दियो। उनले मधेसी मूलको नेता प्रधानमन्त्रीको उम्मेदवार हुनु मात्र ठूलो कुरा नभई, सही एजेन्डा र इमानदार नेतृत्व प्रमुख भएको सन्देश दिए।
उनले भाषणमा ‘काठमाडौँ जान नपर्ने गरी प्रदेश सरकारलाई बलियो बनाउनुपर्ने’ भनेर दिएको सन्देशले मधेसका परिपक्व मतदाताको मन पनि जित्न सफल भयो।
रास्वपाको विजयपश्चात् पनि बालेनलाई बधाई दिँदै धेरै डिजे गीतहरू बन्न सुरु गरेका छन्। रास्वपाको विजयलाई नेपाली नागरिकको जित भएको सन्देश प्रवाह गर्दै डीजे गीतहरू बन्न थालेका छन् भने कतिपय एआईद्वारा सृजित र्यापहरूमा पुराना शक्तिहरूको गढ ढालेकोमा धन्यवाद पनि दिएका छन्।
बालेनको पृष्ठभूमि हेर्दा यो सफलता आकस्मिक लाग्दैन। सन् १९९० मा काठमाडौँको नरदेवीमा जन्मिए पनि उनको पारिवारिक जरो मधेसको महोत्तरीसँग जोडिएको छ। आर्किटेक्चर पढेका र र्यापर बनेका बालेनले २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर काठमाडौँको मेयर जितेका थिए।
मेयरका रूपमा उनले गरेका पूर्वाधार विकास र भ्रष्टाचार विरोधी कामले उनलाई ‘युथ आइकन’ बनाइसकेको थियो। मधेससँगको उनको कमजोर सम्बन्धलाई यही ९ मिनेटको मैथिली भाषणले पूर्ण रूपमा जोडिदियो।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार, मधेस प्रदेशमा यसपटक मतदाताको उत्साहजनक सहभागिता रहेको छ र धेरै क्षेत्रमा रास्वपाको मत हिस्सा ४० प्रतिशतभन्दा बढी देखिएको छ। बालेनको भाषणमा सहिदप्रतिको सम्मान, किसानका समस्या र सङ्घीयताको व्यावहारिक कार्यान्वयनका कुराहरूले मधेसी जनमानसलाई गहिरोसँग छोएको थियो ।
