इरानसँग जारी युद्धले तेल तथा इन्धन निर्यात प्रभावित, अमेरिकामा बढ्यो पेट्रोल र डिजेलको मूल्य 



प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार

इरानसँग जारी युद्धले तेल तथा इन्धन निर्यात प्रभावित, अमेरिकामा बढ्यो पेट्रोल र डिजेलको मूल्य 

अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण तेल तथा इन्धन निर्यात प्रभावित भएपछि अमेरिकामा पेट्रोल र डिजेलको मूल्य बढेको छ। यसले नोभेम्बरमा हुने मध्यावधि चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीमाथि राजनीतिक दबाब बढ्न सक्ने विश्लेषण गरिएको छ।

यस सातामात्रै इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलरभन्दा माथि पुगेको छ, जुन पछिल्ला केही वर्षयताकै उच्च स्तर हो। बढ्दो मूल्यले पहिले नै मुद्रास्फीतिको दबाबमा रहेका उपभोक्तालाई पेट्रोल पम्पमा थप आर्थिक भार परेको छ।

राष्ट्रपति ट्रम्पले बिहीबार रोययटर्ससँगको अन्तर्वार्तामा बढ्दो पेट्रोल मूल्यबारे प्रतिक्रिया दिँदै “यदि बढ्छ भने बढ्छ” भन्दै यस विषयलाई सामान्य रूपमा लिएको बताएका थिए ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ऊर्जा मूल्य घटाउने र अमेरिकामा तेल तथा ग्यास उत्खननलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। तर। भन्सार शुल्कजस्ता नीतिगत परिवर्तन र भूराजनीतिक तनावका कारण उनको कार्यकालमा ऊर्जा बजारमा अस्थिरता देखिएको विश्लेषण गरिएको छ।

मोटर चालकहरूको संस्था अमेरिकी अटोमोबाइल एशोसिएसन (एएए)का अनुसार शुक्रबारसम्म अमेरिकामा नियमित पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रति ग्यालोन ३.३२ डलर पुगेको छ, जुन एक साताअघिको तुलनामा ११ प्रतिशत बढी हो। यो सेप्टेम्बर २०२४ यताकै उच्च स्तर हो।

त्यस्तै, डिजेलको औसत मूल्य प्रति ग्यालोन ४.३३ डलर पुगेको छ, जुन एक साताअघिको तुलनामा १५ प्रतिशतले बढेर नोभेम्बर २०२३ यताकै उच्च स्तरमा पुगेको छ।

अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक भए पनि विश्वकै सबैभन्दा ठूलो उपभोक्ता भएकाले दैनिक रूपमा ठूलो परिमाणमा तेल आयात पनि गर्ने देश हो।





Source link

Leave a Comment