कात्तिक १३ गते शुक्रबारको सम्भावित मौसमी अवस्था । स्रोत : नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- बंगालको खाडीको चक्रवात ‘अर्नब’को असरले आज देशभर हल्कादेखि मध्यम वर्षा र केही ठाउँमा भारी वर्षा हुने मौसमविदले बताएका छन् ।
- मौसमविद विभूति पोखरेलले ‘अर्नब’ कमजोर भए पनि वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् ।
- सरकारले सुरक्षा अंगलाई हाई अलर्टमा राखेर जोखिम जिल्लामा सूचना, पूर्वतयारी र आवश्यक प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको छ ।
१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।
पानी पार्ने प्रणालीले शुक्रबार कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।
यसको असर शनिबारदेखि क्रमश: कमजोर बन्दै जाने पूर्वानुमान छ ।
यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध गरेको छ ।
उच्च सतर्कतामा सरकार
‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै थप सजग हुन भनिएकाे छ ।
विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबार बसेको बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ ।
महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएर गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत भएको छ । गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण विहीबारदेखि नै नेपालभर बादल लागेको थियो ।
मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद पोखरेलका अनुसार अहिलेको प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ ।
वर्षा र हिमपातका कारण अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ । जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई भनेको छ ।
यातायात व्यवसायीहरुलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र गाडी चलाउने/नचलाउने निर्णय गर्न भनिएको छ ।
यस्तो छ कात्तिक १३ गतेदेखि १६ गतेसम्मको मौसम पूर्वानुमान
२०८३ कात्तिक १३ गते (शुक्रबार)
दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका अधिकांश स्थान र बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
राति: देशभर अधिकांश बादल लाग्नेछ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कात्तिक १४ गते (शनिबार)
दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
राति: देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
२०८३ कात्तिक १५ गते (आइतबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कात्तिक १६ गते (सोमबार)
देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्कासम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।