१८ वटा निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा शनिबार बेलुकीसम्म १२ वटा निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । तीमध्ये नौवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित हासिँल गरेका छन् । दुइवटा हिमाली जिल्लामा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । एउटा निर्वाचन क्षेत्रमा भने स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका छन् ।
परिणाम आउन बाँकी रहेका क्षेत्रमध्ये पनि अधिकांशमा रास्वपाकै उम्मेद्वारको अग्रता कायम छ । परिणाम आउन बाँकी ६ मध्ये एउटामा एमाले र अरु पाँचवटामा रास्वपका उम्मेदवारले अग्रता कायम गरेका छन । शनिबार बेलुकीसम्मको परिणाम अनुसार बागलुङका दुईवटै क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।
पर्वतको एउटा सहित कास्कीका तीनवटै क्षेत्रमा रास्वपाले जितेको छ । स्याङजाको एउटा, तनहुँको एउटा क्षेत्रमा रास्वपाले जितेको छ । लम्जुङको एउटा क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ । स्याङजा र तनहुँका एक–एक क्षेत्रको परिणाम आउन बाँकी छ ।
हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने कांग्रेसले जीत हासिल गरेको छ । म्याग्दीमा भने स्वतन्त्रबाट उम्मेदवारी दिएका महावीर पुनले जित हासिल गरेका छन । नवलपुर र गोरखाका २÷२ सहित तनहुँ–२ मा रास्वपाका उम्मेदवारको अग्रता छ । स्याङजा २ मा भने एमालेको अग्रता छ ।
कास्की
कास्कीमा तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले वर्चस्व कायम गरेको छ । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खड्कराज पौडेल (गनेस) विजयी भएका छन् । पौडेलले ३९ हजार ८ सय ८३ मत पाएका छन् । पौडेलका निकटतम प्रतिश्पर्धी कांग्रेसका तीलकबहादुर रानाभाटले ११ हजार २ सय १४ मत पाएका छन् । त्यसैगरि एमालेका वैनबहादुर क्षत्री अधिकारीले १० हजार ४ सय २९ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङले जम्मा २ हजार ४ सय ७९ मत पाएका छन् ।
कास्की –२ मा रास्वपाकै उत्तमप्रसाद पौडेल विजयी भएका छन् । नेकपा एमालेको किल्ला रहेको यहाँ पौडेल प्रतिस्पर्धी नेकपा एमालेका रश्मी आचार्यलाई २४ हजार ४ सय १८ मतान्तले पछि पार्दै विजयी भएका हुन् । कुल ५२ हजार ५ सय १९ मत खसेकोमा १ बिजयी रास्वपा पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका आचार्यले ७ हजार ४९३ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो हुँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङ १ हजार ६ सय ४३ मत प्राप्त गरेर चौथो, नेपाली कम्युनिष्ट पार्टी नेकपाका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत ल्याएर पाचौं भए । तत्कालीन नेकपा माओवादीको देशैभर लहर चल्दा र कास्कीका अन्य क्षेत्र जित्दासमेत यो क्षेत्रमा एमाले बिजयी भएको थियो । त्यसपश्चात २०७०, २०७४ र त्यसपछिको उपचुनाव तथा २०७९ को चुनावमासमेत जितेको एमालेको गढ यसपटक रास्वपाले भत्काउन सफल भएको छ । विजयी पौडेल पूर्व पत्रकार हुन् ।
कास्की ३ मा रास्वपाकै बिना गुरुङ निर्वाचित भईन । गुरुङले ३७ हजार ७ सय ५० मत पाएकी छिन् । रास्वपाकी गुरुङका निकटतम प्रतिश्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत पाएका छन । त्यही क्षेत्रमा एमालेका दामोदर पौडेल वैरागीले ७ हजार ९ सय ६ मत पाएका छन् । त्यस्तै नेकपाका गोपाल गिरीले १ हजार ४ सय ५६ मत पाएका छन् ।
लमजुङ
लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन् । पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन् ।
दोस्रो पटकको प्रयासमा बिजयी भएका उनले अघिल्लो पटकको पराजयको बदलासमेत लिएका छन् । उनी २०७९ को निर्वाचनमा गुरुङसँगै पराजित भएका थिए । शनिबार सम्पन्न मतगणनामा केसीले गुरुङलाई १७ हजार २२ मतले पछि पारे । बिजयी केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी गुरुङले १६ हजार ८ सय ७६ मत प्राप्त गरे । त्यस्तै, कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत प्राप्त गर्दा नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत प्राप्त गरे ।
बागलुङ
प्रतिनिधि सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा रास्वपाले क्लिन स्वीप गरेको छ । बागलुङ–१ बाट सुशील खड्का र २ नम्बर क्षेत्रबाट सोम शर्मा विजयी भएका छन् । बागलुङ क्षेत्र नम्बर १ मा खड्काले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतान्तरले पछि पारेर जित हाँसिल गरे ।
निर्वाचनमा विजयी खड्काले २० हजार ९२७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी श्रीसले ११ हजार ९४४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हिराबहादुर केसीले ८ हजार ६४० मत ल्याएका छन्। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीको विरासत जोगाउने जिम्मा सहित चुनावी मैदानमा उत्रिएका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५ सय २१ मत ल्याएका छन ्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण विक्रम आचार्यले ५२३ र श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४ मत पाएका छन् ।
बागलुङ–१ मा उम्मेदवार भएका अन्य पाँच जनाले भने तीन अंकमा मत पुर्याउन सकेनन्। बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सोम शर्माले नेपाली काँग्रेसका टेकराज पौडेललाई पराजित गरेका छन् । उनले निकटतम प्रतिस्पर्धी पौडेललाई ७७९ मतले पछि पार्दै जित हाँसिल गरेका हुन् । शर्मा विजयी भएका शर्माले १२ हजार ६४७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका पौडेलले ११ हजार ८६८ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाएका छन् । नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले ७ हजार ८६४ र श्रम संस्कृति पार्टीका हर्कबहादुर पुनले ५६४ मत ल्याएका छन् ।
तनहुँ
तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापती डा.स्वर्णिम वाग्ले बिजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणनामा वाग्ले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८ सय ९ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरे ।
यहाँ नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३ सय ९३ मत प्राप्त गरे । वाग्लेको संसदीय यात्रामा यो दोस्रो जित हो । यसअघि २०७९ सालको निर्वाचनपछि भएको उपनिर्वाचनमा उनी पहिलो पटक संसदमा निर्वाचित भएका थिए । दोस्रो पटक संसद छिर्ने योजनासहित मैदानमा उत्रिदा उनी दवाबमा रहेको र हार्ने सम्भावना रहेको भनेर हल्ला फैलाइएको थियो ।
स्याङजा
स्याङ्जा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.धनञ्जय रेग्मी निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भरतराज ढकाललाई १० हजार २ सय १४ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । एक स्वतन्त्रसहित ११ उम्मेदवारलाई पछि पार्दैै बिजयी भएका डा.रेग्मीले २९ हजार ७१ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी ढकालले १८ हजार ८ सय ५७ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका मिनप्रसाद गुरुङले १६ हजार ८ सय ४ मत, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५ सय ५२ मत प्राप्त गरे ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा.रेग्मी पुतलीबजार नगरपालिका–५ निवासी हुन् । पेशाले भूवैज्ञानिक तथा हिमनदी विज्ञ उनले जापानको होकाइदो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भायरोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ विषयमा विद्यावारिधि गरेका छन् ।
पर्वत
पर्वतमा पनि रास्वपाले नै बाजी मारेको छ । पर्वतमा रास्वपाका सागर भुषाल निर्वाचित भएक छन् । निर्वाचन पिच्छे सांसद फेर्ने अवसर पाउँदै आएको पर्वतमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सागर भुषाल निर्वाचित भएका छन् । कहिले कांग्रेस र त कहिले एमालेलाई जिताउँदै आएको पर्वतले यसपटक रास्वपा उम्मेदवार भुषाललाई फराकिलो मतान्तरसहित बिजयी गराएको हो । २०७४ सालको चुनावमा कांग्रेसका अर्जुन जोशीलाई जिताएको पर्वतले २०७९ सालको चुनावमा पदम गिरीलाई जिताएको थियो ।
तर यसपटक १० हजार ६ सय ७ मतान्तरसहित भुषाल निर्वाचित भए । बिजयी भुषालले २६ हजार ५ सय ६१ मत प्राप्त गरे भने उनका निकटम प्रतिष्पर्धी कांग्रेसका अर्जुनप्रसाद जोशीले १५ हजार ९ सय ५४ मत प्राप्त गरे । त्यस्तै, पूर्वमन्त्री तथा नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ तथा नेपाली कम्युनिष्ट पार्टीका मनहरी तिमिल्सिनाले ४ हजार ५ सय ५६ मत प्राप्त गरे ।
मनाङ
हिमाली जिल्ला मनाङमा कांग्रेसले जित हासिल गरेको छ । मनाङमा कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन । योपटक समेत गरेर गुरुङको संसदमा तेश्रो सहभागिता हो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २ हजार ४ सय १५ मत पाएका छन् । उनका प्रतिश्पर्धी नेकपाकी यशोदा गुरुङले ४ सय ५४ मत मात्र पाएकी छिन् । तेश्रो भएको मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घलेले जम्मा ९ मत पाएका छन । जिल्लामा ७ हजार मतदाता रहेकोमा २९ सय २३ मत खसेको थियो ।
विजयी भएका गुरुङको संसदमा तेश्रोपटकको सहभागिता हो । उनले यसअघि २०७० को संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए । त्यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए। योपटक समेत गरेर उनको संसदमा तेश्रो सहभागिता हो ।
मुस्ताङ
हिमाली जिल्ला मुस्ताङबाट कांग्रेसका युवा नेता योगेश गौचन थकाली निर्वाचित भएका छन ्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीको जितसँगै कांग्रेसले विजयी खाता खोलेको थियो । ३२ वर्षिय युवा नेता गौचनको यो समेत संघीय संसदमा दोश्रो यात्रा हो । यसअघि २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा पनि विजय भएका थिए ।
थकालीका प्रतिश्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ पाएका छन् । तेश्रो स्थानमा रहेको रास्वपाका अधितीय चन्द्र थकालीले भने ७ सय ५९ मत मात्र पाएका थिए । ११ हजार ३ सय २८ जना मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ८८ मत खसेको थियो । अघिल्लो पटकको निर्वाचनमा विजयी हुँदै गर्दा संसदमा पुग्ने उनी सबैभन्दा कान्छो सदस्य थिए ।
म्याग्दी
म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुनले जित हासिल गरेका छन । दलीय राजनीति भन्दा बाहिरबाट चुनावी मैदानमा होमिएका पुनले सबैगरि २२ हजार ८ सय ५० मत ल्याएर जित हासिल गरेका हुन । उनका निकटतम प्रतिश्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ र कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८ सय ८४ मत ल्याएका थिए ।
सुशीला कार्की नेतृत्वमा मन्त्रीमण्डलमा शिक्षा मन्त्री हुँदा केही विधेयक ल्याउन चाहेको तर नपाएपछि सरकारमा रहिरहन नचाहेर उनी बाहिरिएका थिए । त्यो बेला ल्याउन खोजेका विधेयकलाई नै अघि बढाउनका लागि संसदमा आवाज उठाउने भनेर उनी चुनावी मैदानमा हानिएका थिए ।
प्रकाशित: २३ फाल्गुन २०८२ १८:२३ शनिबार
