‘बालेन भ्रष्टाचारविरोधी नेता हुन् भन्ने भाष्यले यो लहर उत्पन्न भयो’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रास्वपाले प्रत्यक्षतर्फ १०० भन्दा बढी सिटमा अग्रता लिइरहेको छ र प्रारम्भिक रुझानले दुई तिहाइ बहुमतको सम्भावना देखाएको छ।
  • विश्लेषक तुलानारायण साहले मधेशमा बालेन शाहको भ्रष्टाचारविरोधी छवि र सामाजिक पृष्ठभूमिले ठूलो लहर सिर्जना गरेको बताउनुभयो।
  • एमाले र कांग्रेसले कमजोर प्रदर्शन गरिरहेका छन् भने नेकपा मधेशमा सीमित प्रभावमा छ र कांग्रेस दोस्रो पार्टी बन्ने सम्भावना छ।

रास्वपाले प्रत्यक्षतर्फ १०० भन्दा बढी सिटमा अग्रता लिइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी एक दर्जन सिटमा अग्रता लिन संघर्षरत देखिन्छन् ।

निर्वाचनको प्रारम्भिक रुझानबारे विश्लेषक तुलानारायण साहसँग अनलाइनखबरकर्मी बसन्त बस्नेतले गरेको अन्तर्वार्ताः

यसपालिको आम चुनावमा रास्वपाप्रति ठूलो लहर देखिन्छ । तपाईंले चुनावलाई मसिनो गरी विश्लेषण गर्दै आउनुभएको छ, देशैभरिको यो ऊर्जालाई कसरी बुझ्ने ?

यो रास्वपाको पक्षमा वा रास्वपाभन्दा पनि घन्टीको पक्षमा भन्दा उचित होला । किनभने पार्टीको नाम भन्नु र चुनाव चिह्न घन्टी भन्नुमा फरक छ ।

ग्रामीण भेगमा कुराकानी गर्दा धेरै मतदातालाई पार्टीको नाम थाहा छैन । म अहिले सप्तरीको एउटा गाउँबाट बोल्दै छु । यहाँ मैले चार दिनदेखि सयौँ मानिससँग कुराकानी गरेँ । घन्टी र बालेन- यी दुई कुरा नै यस निर्वाचनको प्रतीक बनेका छन् र त्यसले अभूतपूर्व लहर ल्याएको छ । यसलाई मापन गर्नु गम्भीर विश्लेषणको विषय हो ।

यस्तो लहर के-के कारणले आयो होला ? अहिले तपाईंको प्रश्नको जवाफ दिँदा म यसलाई अभूतपूर्व लहरकै रूपमा देख्दै छु । चार दिन अगाडि सप्तरी टेक्नेबित्तिकै मैले काठमाडौँबाट जे-जति अनुमान गरेको थिएँ, त्योभन्दा बढी पाएँ ।

खासगरी मधेशबाट नै यो बढ्ता लहर सिर्जना भइसक्यो भन्ने मेरो बुझाइ हो । अन्यत्र त छँदै छ ?

अहिले बिहान म यहाँ गाउँमा बसेर अनलाइनबाट मतगणनाको सूची हेर्दै छु । अन्यतिर पनि त्यस्तै लहर देखिन्छ । चार दिनदेखि मैले जुन बुझ्ने प्रयास गरेको छु, यहाँको लहर अरू ठाउँभन्दा अलि कडा छ ।

त्यो कडा लहर घन्टीको पक्षमा किन छ भने, धेरैजसो आम मतदाता, मजदुर र किसान वर्गले दुइटा कुरा एकैसाथ जोडेको मैले देखेको छु । एउटा त, बालेन शाह प्रधानमन्त्री बन्दै छन् र उनी मधेशी हुन् भन्ने कुरा उहाँहरूको कानमा पुगेको छ । त्यसमा उहाँहरूले भित्रैदेखि एउटा बेग्लै किसिमको आनन्द अनुभूति गरेको मैले पाएँ ।

अलिकति गहिरिएर बुझ्न खोज्दा उहाँहरू बालेनले भ्रष्टाचार रोक्छन् भन्छन् । बालेनको बिम्ब यहाँ भ्रष्टाचार नगर्ने नेताको रूपमा बनेको छ । मानिसहरूलाई भ्रष्टाचारले कहाँनेर छोयो त भनेर मैले दर्जनौँ मानिसहरूसँग बुझ्ने प्रयास गरेँ । ग्रामीण भेगका मानिसहरू जब पालिकामा जग्गाको कर तिर्न वा सिफारिस लिन जान्छन्, त्यहाँ उहाँहरूले पछिल्लो समय आफू शोषणमा परेको महसुस गर्नुभएको रहेछ ।

यी दुई-तीनवटा कुराहरू बुझ्दा, बालेन शाहलाई मधेशीका रूपमा बुझेर थप आनन्दित हुनु एउटा पाटो हो, तर त्यो मूल कुरा होइन । त्योभन्दा गहिरो कुरा- बालेन शाह भ्रष्टाचारविरोधी नेता हुन्, उनले भ्रष्टाचार गर्दैनन् र यहाँ भएका पुराना नेताहरू सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य आम मानिसको मनमा बसेको मैले पाएँ । मलाई लाग्छ, त्यसकारण नै यो बलियो लहर उत्पन्न भएको हो । बालेनले जुन घन्टी बजाएर ‘रोड सो’ गरे, त्यो घन्टी मानिसहरूको दिमागमा बसेको जस्तो मलाई लाग्छ ।

कांग्रेस, एमाले लगायत त्यहाँका कतिपय क्षेत्रीय मधेशवादी पार्टीहरूको अवस्था चाहिँ किन यति धेरै रक्षात्मक बन्न पुगेको जस्तो देखिन्छ ?

यसमा के छ भने, जेन जी विद्रोह हुँदा यसको केन्द्रबिन्दु काठमाडौँ र अन्य शहरी भूभाग थिए । जुन प्रश्न कांग्रेस-एमालेको सरकारमाथि उठेको थियो, त्यही प्रश्न मधेशमा रहेका मधेशवादी दलहरूमाथि पनि उठेको हो ।

त्यो प्रश्न भनेको के हो भने, तपाईंहरू जितेर जानुहुन्छ, सिन्डिकेट बनाउनुहुन्छ, गठबन्धन गर्नुहुन्छ र राज्यको साधन-स्रोत दोहन गरी आफू अनुकूल दुरुपयोग गर्नुहुन्छ । जुन प्रश्न काठमाडौंमा केपी ओली र शेरबहादुर देउवाप्रति (वा ओली, देउवा र प्रचण्डप्रति) उठेको थियो, जेनजी विद्रोह हुँदा ठ्याक्कै त्यही प्रश्न गाउँगाउँमा त्यहाँका सत्ताधारी दलहरूमाथि पनि उठ्यो । कांग्रेस, एमाले, कतिपय ठाउँमा माओवादी, जसपा, जनमत- यिनीहरू पनि त्यही सत्ताधारीकै पक्ष र लाइनमा उभिएका दलहरू हुन् ।

त्यो हिसाबले मानिसहरूले पार्टी र नेताहरूलाई यही हिसाबले सूचीकरण गरे । त्यसैले यसपटकको मतदानको मनोविज्ञान प्रतिक्रियात्मक हो जस्तो मलाई लाग्छ । त्यो भनेको पहिलाका नेताहरूले धेरै भ्रष्टाचार र अनियमितता गरे, जनजीवनमा कुनै खास परिवर्तन ल्याउन सकेनन् । तर यो नयाँ परिवर्तनकामी शक्ति (बालेनवाला शक्ति) ले परिवर्तन ल्याउँछ भन्ने आम मानिसको बुझाइ म देखिरहेको छु । यसबारे मैले विस्तृतमा कुरा गरेको छु, जुन लेख्नुपर्ने विषय हो । अहिले छोटकरीमा भन्नुपर्दा, मान्छेले कसरी बालेनलाई आफ्नो बिम्ब मानेर नेता मान्दै छन् भन्ने कुरा गम्भीर विश्लेषणको विषय हो ।

पहाड, मधेश, शहर र गाउँका मतदाता, युवादेखि वृद्धवृद्धा, महिला-पुरुष, शिक्षितदेखि निरक्षरसम्म सबैतिर कसरी एउटै बुझाइ (सल्लाह) मिल्न गयो ?

किनभने सबैतिर भ्रष्टाचार एकनासले भएको छ र पर्फमेन्स (काम) गर्न नसकेको अवस्था पनि सबैतिर उस्तै हो ।

मानिसमा जागरुकता बढेको छ । के ठिक, के बेठिक र के जायज, के नाजायज भनेर मूल्याङ्कन गर्ने क्षमता आम मानिसमा बढेको छ । यो सूचना प्रविधिको कारण होस् वा ज्ञान वृद्धिको कारणले । सबैतिर एकनासले भ्रष्टाचारविरुद्ध जनमत बनेको हुनाले घन्टीको पक्षमा एकनासको लहर देखिन्छ, किनभने घन्टीले भ्रष्टाचारको विरोध गरिरहेको छ ।

मधेशमा अलिकति विशेष लहर छ । अरू ठाउँमा लहरले १० मा ८ अङ्क पाउँछ भने मधेशमा ९ पाएको छ । त्यो चाहिँ बालेनको सामाजिक पृष्ठभूमिका कारणले गर्दा हो । आम मानिसको मनमा आफ्नोपन महसुस भएको र बेग्लै खालको आनन्दित भएको मैले पाएको छु ।

बालेनको आइडेन्टिटी (पहिचान) का कारणले यो चुनावमा राप्रपा जस्तो शक्ति अथवा हर्क साम्पाङ र कुलमान घिसिङ जस्तो शक्तिलाई कस्तो देख्नुभएको छ? अहिलेसम्मको रुझान हेर्दा के लाग्छ ?

राप्रपा धेरै पुरानो शक्ति हो भने कुलमान घिसिङ र हर्क साम्पाङजीको पार्टी धेरै नयाँ हो । यी तीन वटालाई एकै ठाउँमा राखेर विश्लेषण गर्नुभन्दा पनि म ग्रामीण भेगका मानिसहरूसँग (दशैंयता र ‘जेनजी’ विद्रोहयता) निरन्तर सम्पर्कमा छु । फोनमा पनि कुराकानी गर्दा मानिसहरूले कुलमान घिसिङ, हर्क साम्पाङ र बालेनलाई धेरै मानेमा राम्रो नेताको रूपमा हेर्दा रहेछन् ।

अहिले कुलमान र हर्क साम्पाङजीको पार्टीले चुनाव जित्नु वा नजित्नु एउटा पाटो भयो । जस्तो, बालेनजीको पक्षमा देखिएको जितको लहर उहाँहरूको हकमा देखिन्न । तर ग्रामीण भेगका मानिसहरूले उहाँहरूलाई काम गर्ने नेता, भ्रष्टाचार नगर्ने नेता र पर्फर्म गर्न सक्ने नेता’ का रूपमा एउटा बिम्ब बनाएको मैले पाएको छु ।

यसको उदाहरण पनि छ । जस्तो, म जहाँ छु (सप्तरीको पूर्वी गाउँमा), त्यहाँ पाँच वर्षदेखि एउटा बाटो ठेकेदारले अलपत्र पारेर राखेको थियो । त्यसले गर्दा वर्षायाममा आवतजावतमा निकै दुःख झेल्नुपरेको थियो । कुलमानजी (ऊर्जामन्त्री) आएपछि त्यो ठेक्का तोडेर अर्को ठेकेदारलाई दिएपछि अहिले त्यो बाटो कालोपत्रे हुने क्रममा छ ।

अब यहाँका मानिसहरू के भन्छन् भने- यो सबै कुलमानले गर्दा भएको त हो नि ! चिनजान छैन, आफ्नो सामाजिक पृष्ठभूमिको मानिस होइनन् र पार्टीका मानिस पनि होइनन् । तर सबैले कुलमानजी आएर त यस्तो भएको हो भन्छन् ।

यो हर्क साम्पाङको बारेमा पनि लागु हुन्छ । बालेनजीको बारेमा त मलाई के लाग्छ भने, काठमाडौंमा बालेनजीले सार्वजनिक स्कुलहरूमा (१०+२ मा) जुन एकदम स्वच्छ र निष्पक्ष छात्रवृत्ति दिनुभयो, यहाँका हरेक गाउँको बच्चा त्यसमा परेको छ । त्यो परिवार नै उहाँको प्रचारक जस्तो भएको मैले देखेको छु ।

‘यत्रा मेयर छन्, खै त कसैले केही गरेनन् ! बालेनले त दियो, मोबाइलमै रिजल्ट आयो । हेर्नु त कति फेयर मान्छे छ!’ भनेर मानिसहरूले भन्छन् । यो मान्छे न धेरै बोलिकन, न धेरै हिँडिकन, न ठूलो पार्टीको भएर पनि यति लोकप्रिय किन भयो? हरेक ग्रामीण मानिसको मुखमुखमा किन बसेको छ? भनेर मैले उहाँको ‘फेनोमेना’ बुझ्ने प्रयास गरेँ । उहाँको बिम्ब नै ‘भ्रष्टाचार नगर्ने, कसैसँग नडराउने र एकदम निष्पक्ष काम गर्ने नेताको रूपमा ग्रामीण भेगका मानिसहरूमा परेको छ ।

अघिल्लो चुनावमा सिके राउतको पर्फमेन्स मधेशमा एकदमै राम्रो थियो । यसपालि अलिकति किन देखिन सकेको छैन ?

एकदमै राम्रो होइन । अहिले जुन लहर देशभरि बालेनको पक्षमा छ, गत निर्वाचनमा सिके राउतले छोटो समयमै सप्तरी र सिरहामा त्यस्तै खालको वेभ सिर्जना गर्न सक्नुभएको थियो । उहाँ चुनाव जित्नुहोला वा नजित्नुहोला, त्यो एउटा पक्ष हो । तर उहाँको सान्दर्भिकता म अहिले पनि मधेशको राजनीतिमा देख्दै छु ।

मधेशमा अरू ठाउँभन्दा अलिकति फरक के छ भने, जस्तो मध्यपहाडी भूभाग (जहाँ खस-आर्य समुदायको परम्परागत बसोबास र आदिवासी-जनजातिसँगको विशिष्ट बसोबास छ), त्यहाँ समाज र राजनीतिबीचको शक्ति सम्बन्ध हरेक दशक बदलिँदै छ । पञ्चायत वा राणाकालमा जो मुखिया वा जमिन्दार हुन्थे, त्यो बिस्तारै कांग्रेस–एमालेको सरकारमा (२०४६ र २०६२/६३ पछि) बदलिए ।

पहाडमा समाज र राजनीतिबीचको सम्बन्ध निरन्तर फेरिँदो छ र नयाँ किसिमले सन्तुलित हुँदै छ । तर मधेशमा त्यो स्थिर छ । मधेशमा नेताहरूले पार्टीगत राजनीतिमा आफ्नो ‘पोजिसन’ कायम राखेको हुनाले समाज र राजनीतिबीचको सम्बन्ध जुन रूपमा फेरिनुपर्ने हो, त्यो फेरिएन ।

त्यो नफेरिएपछि के भयो भने, पहिला एउटा जातीय समूहको नियन्त्रणमा यहाँको राजनीति थियो । २०६३ पछि यहाँको राजनीति यादव र वैश्य समुदायको नियन्त्रणमा आयो । सिके राउतले चाहिँ राजनीतिलाई त्योभन्दा पनि तल (भुइँ तहमा) लैजाने प्रयास गरेका हुन् । त्यसकारण सिके राउतको सान्दर्भिकता म मधेशको राजनीतिमा देख्दै छु ।

यसपटक चुनाव जित्ने-नजित्ने फरक कुरा हो । अघि नै मैले भनिसकेँ, जुन प्रश्न काठमाडौंमा ओली, देउवा र प्रचण्डमाथि उठ्यो, त्यो प्रश्न मधेशमा उपेन्द्र यादव र सिके राउतमाथि पनि उठेको हुनाले लहरमा उहाँहरू जित्न पनि सक्नुहुन्छ, नजित्न पनि सक्नुहुन्छ । तर गत निर्वाचनमा उहाँले पनि एउटा वेभ सिर्जना गर्नुभएको थियो, यसपटक त्यो वेभ रहेन । विभिन्न कारणले यसपटक बालेन र घन्टीको वेभ आएको छ ।

राप्रपाको बारेमा छोटोमा भन्नुहुन्छ कि ?

राप्रपा सबैभन्दा एन्टी करेन्ट पार्टी भयो । एउटा त राजतन्त्र मान्ने र सङ्घीयता खारेज गर्ने पार्टी । त्यसमाथि राष्ट्रिय रूपमा देशभरि सङ्गठन कमजोर भएको र चमत्कारी नेतृत्व नभएको हुनाले मान्छेले पत्याउन गाह्रो माने । सबै हिसाबले राप्रपाले प्रतिकूलता बेहोरेको छ ।

राप्रपापछि यसपटकको निर्वाचनमा सबैभन्दा बढी प्रतिकूलता बेहोरेको पार्टी एमाले हो । एमालेसँग पुरानो सङ्गठनको अस्थिपञ्जरबाहेक यसपटकको निर्वाचनमा देखाउनुपर्ने केही पनि थिएन । न नयाँ अनुहार थियो, न कुनै एजेन्डा थियो, न पार्टी पुनर्संरचना भएको थियो । जेनजी मुभमेन्टबारे पनि त्यो पार्टीको नकारात्मक धारणा थियो । यी कुनै पनि पक्ष एमालेको अनुकूल नभएको हुनाले, पुरानो पार्टी सङ्गठनको जहाँ-जहाँ अस्थिपञ्जर बाँकी छ, त्यसैको भरमा मात्र भोट आउँदै छ ।

त्यसको तुलनामा नेपाली कांग्रेस अलि राम्रो अवस्थामा पुगेको देख्दै छु । यद्यपि, लहरमा त कांग्रेस धेरै पछाडि देखिन्छ, तर एमाले र कांग्रेसको तुलना गर्दा कांग्रेस केही अगाडि छ ।

हाम्रा कुराहरू करिब सकिएका छन् । मलाई नेकपाको बारेमा थोरै जान्ने इच्छा थियो ?

नेकपा मधेशमा पहिला पनि कुनै ठूलो शक्ति होइन । यसपटकको सकारात्मक पक्ष के देखिएको छ भने, देशको मध्य र पूर्वतिर जाँदा घन्टीको एकदम बलियो लहर छ । त्यतातिर धेरै बल नगरेर नेकपाले पश्चिम पहाड र सुदूरपश्चिमतिर अलिकति फोकस गरेको हुनाले तुलनात्मक रूपमा उसको क्षति त हुन्छ, तर जोगिन सक्छ जस्तो मलाई लाग्छ । यसपटक उहाँहरूको रणनीति अलिकति फरक देखियो ।

भनेपछि पहिलो पार्टी रास्वपा नै हुने भयो । के दुई तिहाइको आसपासमा पुग्छ रास्वपा ?

अहिलेको ट्रेन्ड हेर्दा स्पष्ट बहुमत त आइगयो, त्यो त हुने नै भयो । अब दुई तिहाइ पुग्छ कि भन्ने कुरा अहिलेको प्रारम्भिक रुझान हेर्दा अनुमान गर्नु अस्वाभाविक होइन ।
दोस्रो पार्टी कांग्रेस हुन्छ? तेस्रोमा को हुन्छ?

मेरो हिसाबले दोस्रो पार्टी कांग्रेस हुनुपर्ने हो । तेस्रोमा एमाले नै हुन्छ जस्तो मलाई लाग्छ । त्यस पछाडि चौथो स्थानमा नेकपा हुन्छ । मलाई लाग्छ, यी चारबाहेक अरू राष्ट्रिय पार्टी पनि सायद नहोलान् कि जस्तो देखिन्छ ।





Source link

Leave a Comment