२० फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको शब्दमा बिहीबार ‘आकस्मिक रुपमा हुन लागेको निर्वाचन हो ।’
जेनजी आन्दोलनको पृष्ठभूमिको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई उनी सत्ता परिवर्तनसँग जोडेर हेर्छन् । ‘पुरानो सत्ताबाट नयाँ सत्ताले सरकार गठन गरेर घोषणा भएको यो निर्वाचनमा सुरक्षाको संशय शुरूदेखि नै थियो’ फागुन १७ गते निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
गत भदौको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पार्यो । २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । कार्की नेतृत्वको सरकारलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ‘नयाँ सत्ताले गठन गरेको सरकार’ भनेका हुन् ।
बिहीबारको निर्वाचनपछि जनताले चयन गरेको सरकार बन्ने छ । गत २७ भदौमा अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेका हुन् । यसलाई निर्वाचन आयोगले ‘संवैधानिक दायित्व’ भनेको छ ।
स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहको आयोगले जनाएको छ । यसका निम्ति आवश्यक सबै तयारी पूरा भएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा विशेष अपिल जारी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भनेका छन्, ‘निर्वाचन केवल आफ्ना प्रतिनिधि छानेर सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो ।’
उनका नजरमा निर्वाचन नागरिकले आफ्ना प्रतिनिधि छानेर सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने कानुन निर्माण र राज्य सञ्चालन प्रक्रियामा प्रत्यक्ष संलग्न हुने अवसर हो । यो प्रक्रियाको पूर्णताले मतदानमार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने छन् ।
भयरहित निर्वाचन
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
३ हजार ६८० वटा अति संवेदनशील मतदान केन्द्र छन् । मदतान केन्द्रलाई ४ हजार ४४२ वटा संवेदनशील मतदान केन्द्र र २ हजार ८४५ सामान्य मतदान केन्द्र भनेर वर्गीकरण गरिएको छ ।
१४३ अस्थायी मतदानस्थल तय गरिएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन् ।
निर्वाचन आयोगको विश्लेषणअनुसार सुरक्षा व्यवस्था चुस्त छ । विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ । जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्री घेराको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारेको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा भएको बताए । सुरक्षा योजनाअनुसार संवेदनशीलताको आधारमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको समेत पहिचान भएको छैन । विगतमा रहने गरेको यस्तो समस्या यसपटक छैन ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार ‘निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्वको पहिचान हालसम्म भएको छैन र सुरक्षाको सम्पूर्ण जिम्मा सरकारले लिएको छ ।’ यसआधारमा आयोगले भनेको छ, ‘यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातामा निर्वाचन आयोग हार्दिक अपिल गर्दछ ।’
उत्साही मतदाता
पछिल्लो एक हप्तामा करिब आठ लाखले काठमाडौं उपत्यका छाडे । मतदाताहरू कति उत्साहित छन् भन्ने यसले पनि देखाउँछ ।
यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।
यसमध्ये जेनजी आन्दोलनपछि थपिएका मतदाता नै झण्डै १० लाख छन् ।
गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या १ करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो । तर, त्यसमा धेरै नयाँ मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो ।
९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो । उक्त अवधिमा झण्डै दश लाख मतदाता थपिएका हुन् ।
थपिएका मतदाता सक्रिय र उत्साही छ । नयाँ मतदाता र युवाहरूको प्रवेशले मतदान प्रतिशत बढ्ने र बदर मत समेत घट्ने अनुमान गरिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । मतदाताले प्रत्यक्षतर्फ उम्मेदवार स्वयमलाई मत दिनुपर्छ भने समानुपातिक तर्फ सम्बन्धित दललाई मत दिनुपर्छ ।
प्रत्यक्ष तर्फ ३ हजार ४०६ उम्मेदवार छन् । जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य छन् ।
समानुपातिकतर्फ ३ हजार १३५ जना उम्मेदवार छन् । जसमध्ये १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । दुवै तर्फबाट निर्वाचित हुने २७५ सिट लागि ६ हजार ५४१ उम्मेदवार छन् ।
उल्लेख्य युवा उम्मेदवार, स्वतन्त्र धेरै
नेपाली राजनीतिमा लामो समयदेखि पुस्तान्तरणको बहस चल्दै आएको छ । यसपटकको चुनावमा उम्मेदवारमा युवाको संख्या विगतको तुलनामा बढी छ ।
प्रत्यक्ष तर्फ ४० वर्षसम्मका उम्मेदवार ३१ प्रतिशत छन् । सबै भन्दा धेरै ४० वर्षसम्मका युवालाई उम्मेदवार बनाउने दल हो– रास्वपा । यो पार्टीले प्रत्यक्ष तर्फ १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ७० जना उम्मेदवार ४० वर्षसम्मका छन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट ३८ जना उम्मेदवार ४० वर्षसम्मका छन् । साम्पाङ २०७९ को स्थानीय चुनावमा स्वतन्त्र रुपमा चुनाव जितेर धरानको मेयर भएका थिए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका ३० जना उम्मेदवार ४० वर्षसम्मका छन् । रास्वपा र श्रम संस्कृति दुवै दल नयाँ भएकाले युवाले अवसर दिनेमा जोड दिएका छन् ।
एमालेका तर्फबाट प्रत्यक्षतर्फ १६४ क्षेत्रमा उम्मेदवार छन् । यसमध्ये १३ जना उम्मेदवार ४० वर्ष भन्दा कम उमेरका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट १६४ क्षेत्रमा उम्मेदवार छन् । यसमध्ये २० जना ४० वर्ष मुनिका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट ३३ जना ४० वर्ष मुनिका उम्मेदवार रहेका छन् ।
उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । ४० वर्ष वा ४० वर्ष भन्दा कम उमेरका कुल उम्मेदवारको संख्या एक हजार ८२ छ । यसमा स्वतन्त्र उम्मेदवारको संख्या मात्रै ५७१ छ । यो ६१.७८ प्रतिशत हो ।
निर्वाचनको तीन सन्देश
समाजशास्त्री सम्राट शर्मा यो निर्वाचनलाई तीन वटा कोणबाट विश्लेषण गर्छन् ।
पहिलो : वैधानिक मार्गबाट असन्तोषको सम्बोधन । जेनजी आन्दोलनलाई वैधानिकता दिने र उनीहरूको आकांक्षा अनुसार समाजलाई रुपान्तरण गर्ने उदेश्यका साथ हुन लागेका निर्वाचन भएकाले आफैँमा यो अरु चुनाव भन्दा यो पृथक र विशेष रहेको उनी बताउँछन् । शर्मा भन्छन्, ‘जस्तो सुकै असन्तोष पनि जनमतबाट अगाडि बढ्न सक्दछ भन्ने बलियो उदाहरण पनि विश्वसामू नेपालले प्रस्तुत गरेको छ ।’
दोस्रो : विवेकी मतदाता । शर्माका नजरमा यसपटक मतदाताहरू कसलाई भोट दिने हो खुलेर भनिरहेका छन् । यो मतदतामा आएको चेतनाको प्रमाण हो । उनी भन्छन्, ‘शतप्रतिशत मतदाताहरू आफैँ विवेक प्रयोग गरेर मतदान गर्न सक्ने भए भन्दिँन तर, मतदान किन गर्ने ? मैले खोजेको समाज कस्तो हो ? भनेर निर्णय लिन सक्ने मतदाताको संख्या बढेको छ ।’
तेस्रो : गठबन्धन संस्कृतिको अन्त्य । पछिल्ला निर्वाचनहरूमा ठूला पार्टीहरू नै गठबन्धनमा थिए । २०७४ मा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । झण्डै दुई तिहाई बहुमत ल्याए । पछि उनीहरू एक भए । तर उनीहरूको एकता टिकेन र भंग भयो ।
२०७९ को चुनावमा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन थियो । अर्कोतिर एमाले र राप्रपा लगायतका दलले निश्चित क्षेत्रमा गठबन्धन गरेका थिए ।
समाजशास्त्री शर्मा भन्छन्, ‘वैचारिक हिसाबमा परस्पर विरोधी दलहरू चुनावी गठबन्धनमा रहँदा मतदाता अलमलमा थिए । यसपटक त्यस्तो छैन । दलहरू एक्ला एक्लै चुनावी मैदानमा छन् । यस्तोमा मतदाताले दलहरूको नीति र व्यवहार हेरेर मतदान गर्ने सुविधा पाएका छन् । यो अर्को उदाहरणीय र सकारात्मक पक्ष हो ।’
शर्माका नजरमा मतदाताले गर्ने निर्णयसँग उसको हुकाई, सामाजिक सम्बन्ध, आर्थिक हैसियत आदि विषय महत्वपूर्ण हुन्छन् । विगतमा दलहरूले गठबन्धन गर्दा मतदाताले प्राकृतिक रुपमा निर्णय गर्ने अवसर समेत पाएका थिएनन् ।
‘यसपटक मतदाताले उम्मेदवार र दल हेरेर कसलाई मत दिने भन्ने निर्णय लिने प्राकृति वातावरण प्राप्त गरेका छन्, ‘उनी थप्छन्, ‘यो पटक मतदाताले के चाहिरहेको हो? कस्तो वैचारिक धार रुचाएको हो सो स्वतन्त्रतापूर्वक प्रस्तुत गर्ने वातावरण बनेको छ ।’
