प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार

काठमाडौंमा रहेको एयरपोर्ट
संघीय संसद्को चुनाव नजिकिँदै गर्दा फेब्रुअरी महिनामा हवाई मार्गबाट १ लाख ४८ हजार ६२३ नेपाली नेपाल भित्रिएका छन्। यो संख्या गत वर्ष २०२५ को फेब्रुअरीको १ लाख १५ हजार ५८४ भन्दा २८ प्रतिशतले बढी हो भने २०२४ को फेब्रुअरीको १ लाख ११ हजार ८०८ को तुलनामा पनि उल्लेख्य वृद्धि भएको अध्यागमन विभागले जनाएको छ।
मार्च ५ मा हुने प्रतिनिधिसभा निर्वाचनका कारण विदेशबाट फर्किने नेपालीको संख्यामा यति ठूलो वृद्धि भएको देखिन्छ। २०२५ को फेब्रुअरीमा २०२४ को तुलनामा जम्मा ३ प्रतिशत मात्र बृद्धि भएको थियो, तर यस वर्षको २८ प्रतिशत वृद्धिले प्रवासी नेपालीहरूले मताधिकार प्रयोग गर्ने र राजनीतिक परिवर्तनमा सहभागी हुने चासो बढाएको संकेत गरेको छ। यद्यपि, लाखौं नेपाली चुनावमा आउन नसकेपछि मतबाट वञ्चित हुनेछन्।
विदेशमा रहेका नेपालीहरूलाई प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने सुविधा दिने अपेक्षा गरिए पनि यो कार्यान्वयन हुन सकेन। वर्षौंदेखि विदेशबाटै मतदानको अधिकार माग्दै आएका प्रवासीहरूका लागि विसं २०२४ सालको राष्ट्रिय पञ्चायत निर्वाचन (स्नातक क्षेत्र) र २०३७ सालको जनमतसंग्रहमा विदेशस्थित नेपाली नियोगहरूबाट मतदान भएको इतिहास छ।
निर्वाचन आयोगको आकलानुसार भारतबाहेक ४० लाख मतदान उमेरका नेपाली विदेशमा छन्, जसमध्ये २५ लाख वैदेशिक रोजगारीमा र बाँकी अध्ययन वा अन्य कारणले विदेशमा छन्।
भारतमा २० देखि ५० लाख नेपाली छन् भने युनाइटेड अरब इमिरेट्समा ७ लाख, साउदी अरेबियामा ३ लाख ८४ हजार, कतारमा ३ लाख ५७ हजार, मलेसियामा ३ लाख ५० हजार, कुवेतमा १ लाख ८५ हजार, जापानमा १ लाख ६० हजार, दक्षिण कोरियामा ७५ हजार, अमेरिकामा ३ लाख, बेलायतमा १ लाख ५० हजार, अस्ट्रेलियामा २ लाख, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, युरोपेली देशहरूमा १ लाख र अफ्रिकी मुलुकहरूमा ३१ हजार ५०० नेपाली रहेको तथ्यांक छ। खाडी तथा मध्यपूर्वमा मात्र १७ लाखभन्दा बढी नेपाली छन्।
निर्वाचन आयोगले यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेको विवरण सार्वजनिक गरेको छ । तर उनीहरुमध्ये कतिजना विदेशमा छन् भन्ने यकिन तथ्यांक छैन ।