अन्तर्राष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो।
नेपालको आँखा स्वास्थ्य क्षेत्रमा पनि महिलाहरूले चिकित्सक, नर्स, नेत्र सहायक, स्वास्थ्य स्वयंसेविका, व्यवस्थापक तथा नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। दुर्गम गाउँदेखि सुविधासम्पन्न शहरसम्म, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, अन्धोपन न्यूनीकरण र समुदायमा सचेतना अभिवृद्धि गर्न महिलाहरू अग्रपङ्क्तिमा सक्रिय देखिन्छन्।
तर, सेवाप्रदायकको रूपमा मात्र होइन, सेवाग्राहीको रूपमा पनि महिलाहरू विशेष ध्यानको पात्र छन्। सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणले महिलाहरू समयमै उपचारबाट वञ्चित हुने जोखिममा रहन्छन्। यस सन्दर्भमा लैङ्गिक समावेशी नीति, महिलामैत्री सेवा वातावरण र नेतृत्व तहमा महिलाको सशक्त उपस्थिति अत्यन्त आवश्यक छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महिलाको योगदानकाे सम्मान गर्दै समान पहुँच र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पुनःस्मरण गराउने सन्देश दिन्छ।
नेपालमा अन्धोपन न्यूनीकरण र गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तारमा नेपाल नेत्रज्योति सङ्घको भूमिका ऐतिहासिक र अग्रणी रहँदै आएको छ। सङ्घले सञ्चालन गर्दै आएका आँखा अस्पताल, उपचार केन्द्र, समुदाय–आधारित कार्यक्रम तथा जनचेतनामूलक अभियानहरूमा महिलाहरूको सहभागिता उल्लेखनीय छ।
चिकित्सक, विभिन्न स्वास्थ्यकर्मी, नेत्र सहायकदेखि व्यवस्थापन तहसम्म महिलाहरूले नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै संस्थालाई दिगो र परिणाममुखी दिशामा अघि बढाइरहेका छन्। यसले संस्थागत विकाससँगै महिला सशक्तीकरणको सन्देश पनि सुदृढ बनाएको छ।
त्यसैगरी, सङ्घले समुदायमा महिला स्वयंसेविका र स्थानीय आमा समूहहरूसँग सहकार्य गर्दै आँखा परीक्षण शिविर, विद्यालय आँखा स्वास्थ्य कार्यक्रम तथा महिला–केन्द्रित सचेतना अभियान सञ्चालन गर्दै आएको छ। ग्रामीण तथा विपन्न वर्गका महिलालाई समयमै पहिचान र उपचारमा जोड्दै सेवा पहुँच बढाउने प्रयास सङ्घको प्राथमिकतामा रहेको छ। अन्तर्राष्ट्रिय महिलादिवसका सन्दर्भमा, नेपाल नेत्रज्योति सङ्घले आँखा स्वास्थ्य क्षेत्रमा महिलाको नेतृत्व, सहभागिता र समान अवसरलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमलाई अगाडि बढाएको छ।
नेपालमा विगत केही दशकमा अन्धोपनको दर उल्लेखनीय रूपमा घट्नुमा सरकारी तथा गैरसरकारी क्षेत्रको संयुक्त प्रयास महत्वपूर्ण रहेको छ। सन् १९८१ मा ०.८४ प्रतिशत रहेको नेपालको अन्धोपनको समस्या सन् २०२१ सम्ममा घटेर ०.२८ प्रतिशतमा झरेको छ।
विशेष गरी समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रम, समयमै मोतियाविन्दु शल्यक्रिया, विद्यालय आँखा परीक्षण तथा जनचेतना अभिवृद्धिका कारण अन्धोपन न्यूनीकरणमा सकारात्मक प्रगति भएको छ। यस अभियानमा महिलाहरूको सक्रिय सहभागिता–चाहे सेवाप्रदायकका रूपमा होस् वा समुदायमा सचेतना फैलाउने अगुवाका रूपमा–निर्णायक रहँदै आएको छ।
यस अभियानको नेतृत्वदायी संस्थाका रूपमा नेपाल नेत्रज्योति सङ्घले देशभर आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत लाखौँ नागरिकलाई सेवा प्रदान गर्दै अन्धोपन घटाउने राष्ट्रिय लक्ष्य साकार बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित नेपाल नेत्रज्योति सङ्घ ४८ वर्षदेखि अन्धोपन निवारणमा आँँखा स्वास्थ्य सेवाको माध्यमबाट विद्यमान अन्धोपनको समस्या न्यूनीकरण गर्ने अभियानमा क्रियाशील एक मुनाफारहित, गैरसरकारी विशुद्व सामाजिक संस्था हो।
विसं २०३५ साल चैत १३ गतेका दिन समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठिन समाजसेवीहरूको सामूहिक प्रयासबाट स्थापना भएको यस सङ्घले नेपाली जनतामा सुलभ, सस्तो र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्याउने दायित्व र निर्देशन प्राप्त भएअनुरूप नेपालको सबै क्षेत्र समेटने गरी २८ आँखा अस्पतालहरू, २२६ आँखा उपचार केन्द्रहरू तथा ४३ जिल्ला शाखाहरूका साथै हजारौँ समाजसेवी र करिब तीन हजार कर्मचारीमार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्त्वपूर्ण सहकार्य, निर्देशन तथा अन्तरराष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एवं निष्ठावान कर्मचारीहरुको उल्लेख्य साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँदेखि तराईका समथर भूमि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्रज्योति सङ्घले अग्रणी भूमिका खेल्दै आएको छ र नेपालभर आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तार हुँदै गए पनि महिला तथा पुरुषबीच सेवा पहुँचमा अझै पनि स्पष्ट असमानता देखिन्छ।
यस विशाल सञ्जालभित्र हाल करिब ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला कर्मचारी कार्यरत छन यसमा नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अपुग देखिन्छ जुन संख्या बढाउन आवश्यक छ।
विशेषगरी दुर्गम तथा सीमान्तकृत समुदायमा महिला तथा बालबालिकालाई प्राथमिकतामा राख्दै सेवा विस्तार गर्नु सङ्घको प्रमुख रणनीति रहेको छ। अन्तरराष्ट्रिय महिलादिवसका सन्दर्भमा, अन्धोपन न्यूनीकरणमा महिलाको योगदानकाे सम्मान गर्दै आगामी दिनमा अझ समावेशी र दिगो आँखा स्वास्थ्य सेवा प्रवाह गर्ने प्रतिबद्धता अझ सशक्त बन्दै गएको छ। साथै नेपालमा महिलामा आँखासम्बन्धी समस्या पुरुषको तुलनामा बढी रहेको हुँदा सो हुनुमा निम्न कारणहरु देखिएका छन् भने सोको न्यूनीकरणका लागि निम्न प्रयास गर्नुपर्ने देखिन्छ।
नेपालमा महिलामा आँखासम्बन्धी समस्या
नेपालमा आँखासम्बन्धी बिरामीहरूको तथ्याङ्क हेर्दा महिलाहरू पुरुषको तुलनामा बढी प्रभावित रहेको पाइन्छ। सन् २०२१ मा सम्पन्न गरिएको (आरएएबी)सर्वेक्षणले पुरुषको तुलनामा महिलामा अन्धोपनको दर उच्च रहेको देखाएको छ। ५० वर्षभन्दा माथिका महिलामा अन्धोपनको दर करिब १.३ प्रतिशत रहेको छ भने पुरुषमा यो दर करिब ०.९ प्रतिशत मात्र रहेको देखिएको छ।
आँखा स्वास्थ्यसम्बन्धी सेवाको पहुँचबारे अध्ययनहरूले लै असमानता स्पष्ट रूपमा देखिएको छ र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिवेदनहरू, विशेष गरी World Health Organization, International Agency for the Prevention of Blindness को विश्लेषणअनुसार, अन्धोपना तथा दृष्टिदोषको भार महिलामा पुरुषको तुलनामा बढी पाइन्छ।
तर, विडम्बनापूर्वक आँखा स्वास्थ्यसम्बन्धी सेवाको उपयोग दर भने महिलामा कम देखिन्छ। उपलव्ध तथ्यङ्कअनुसार करिब ८० प्रतिशत महिलाले मात्र आवश्यक आँखा सेवा लिएको पाइन्छ भने पुरुषमा यो दर करिब ८४ प्रतिशत रहेको देखिन्छ।
यसले आँखाको स्वास्थ्य सेवामा पहुँच, समयमै उपचार र सामाजिक–आर्थिक कारणले महिलाहरू अझै जोखिममा रहेको सङ्केत गर्दछ। नेपालमा अन्धोपनको प्रमुख कारण अझै मोतियाविन्दु नै रहेको छ, जुन समयमै शल्यक्रिया गरे पूर्ण रूपमा उपचार सम्भव हुने रोग हो। यसका पछाडि विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणहरू जिम्मेवार छन्।
महिलाले आँखाको सेवा कम पाउनुका प्रमुख कारणहरू:
-सामाजिक तथा पारिवारिक जिम्मेवारी (महिलाहरू घरायसी काम, बालबालिका हेरचाह तथा परिवार व्यवस्थापनमा बढी व्यस्त हुने भएकाले आफ्नै स्वास्थ्यलाई प्राथमिकता दिन नसक्नु।
– निर्णय गर्ने अधिकारको कमी (धेरै ठाउँमा महिलाले स्वास्थ्य सेवा लिन परिवारको अनुमति आवश्यक पर्ने अवस्था अझै कायम रहनु।
– आर्थिक निर्भरता स्वतन्त्र आम्दानी नहुँदा उपचार खर्च व्यवस्थापन गर्न कठिन हुनु।
– भौगोलिक पहुँचको समस्या (दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाका लागि आवश्यक स्थान पुग्न यातायात र सुरक्षाको चुनौती देखिनु।
-लैङ्गिक संवेदनशील सेवाको अभाव (कतिपय अवस्थामा महिला स्वास्थ्यकर्मीको अभाव वा सुरक्षित वातावरण नहुँदा महिलाहरू सेवा लिन हिच्किचाउनु।
-सचेतनाको अभाव (आँखाको रोग समयमै उपचार नगरे दृष्टि गुम्न सक्ने भन्ने कुराको जानकारी धेरै महिलासम्म पुग्न सकेको छैन।
महिलाले आँखाको स्वास्थ्य सुधार गर्न निम्न प्रयास आवश्यक देखिन्छ
-नेतृत्व तहमा महिलाको सहभागिता वृद्धि
– समुदायस्तरमा लक्षित सचेतना कार्यक्रम
-महिला मैत्री स्वास्थ्य सेवा वातावरण
-आर्थिक तथा पहुँच सहजीकरण
-महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय नेतृत्वको सक्रियता
-समुदायको समग्र विकासमा महिलाको भूमिका
महिलाको आँखाको स्वास्थ्य सुधार गर्नु भनेको केवल व्यक्तिगत स्वास्थ्य सुधार मात्र होइन यसले परिवारको आर्थिक अवस्था, बालबालिकाको शिक्षा र समुदायको समग्र विकाससँग प्रत्यक्ष सम्बन्ध राख्दछ जब घरकी महिलाले स्पष्ट देख्न सक्छिन् तब परिवारको समृद्धि र उज्ज्वल भविष्य निर्माणमा थप योगदान दिन सक्छिन् भन्ने कुरा सर्वविदितै छ।
नेपालमा अन्धोपन न्यूनीकरणतर्फ उल्लेखनीय प्रगति भए पनि लैङ्गिक असमानता पूर्ण रूपमा अन्त्य भएको छैन भन्ने तथ्य स्पष्ट छ। महिलाहरूलाई लक्षित, पहुँचयोग्य र लैङ्गिक संवेदनशील आँखा स्वास्थ्य सेवा विस्तार गर्नु आजको अपरिहार्य आवश्यकता हो।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा, आँखाको स्वास्थ्य अधिकार पनि आधारभूत मानव अधिकारकै हिस्सा हो भन्ने सन्देश सशक्त रूपमा स्थापित गर्न आवश्यक छ। महिला सशक्तीकरणसँगै स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्न सके मात्र ‘दृष्टियुक्त नेपाल’ निर्माणको लक्ष्य सार्थक हुनेछ।
(सविता केसी, रासस, लेखक केसी करिब ३५ वर्षदेखि नेपालको आँखा स्वास्थ्य क्षेत्रको प्रशासनिक उच्च पदमा कार्यरत छन्।)
प्रकाशित: २० फाल्गुन २०८२ १२:४८ बुधबार
