काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा कस्तो छ तयारी ?



१९ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन आउन दुई दिन मात्र बाँकी रहँदा काठमाडौंलगायत देशभरका क्षेत्रमा बुथ निर्माणको काम सुरु भएको छ । कतिपय स्थानमा निर्वाचन सामग्री पुग्दैछ भने सामग्री पुगेका स्थानमा तयारी सुरु भइसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ । यही विषयमा केन्द्रित भएर हामीले काठमाडौं जिल्लाका सबै निर्वाचन क्षेत्रको तयारीबारे सम्बन्धित मुख्य निर्वाचन अधिकृतसँग कुराकानी गरेका छौं ।

कस्तो छ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको तयारी ?

काठमाडौं–१

काठमाडौं क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत चुरामान खड्काका अनुसार, बुथ (मतदान केन्द्र) निर्माणको काम सुरु भइसकेको छ । केही क्षेत्रमा आजै वा भोलिसम्म सकिने गरी काम अघि बढेको छ । अधिकांश क्षेत्रमा मतदान केन्द्रमा भने बुथ निर्माणको काम भोलि हुनेछ ।

मंगलबार सर्वदलीय बैठक (जसमा उम्मेदवार, दलहरू र सरोकारवालाहरूको सहभागितामा) बसेर बुथ निर्माणको काम थालिन्छ । यसको लागि काठमाडौंकै केही ठाउँमा सामग्री पुगिसकेको छ । केहीमा मतपत्र लगायतका सामग्री लैजाने क्रम जारी छ ।

काठमाडौं–१ मा २२ स्थानमा ५७ मतदान केन्द्र छन् । यस बाहेक ४ अस्थायी मतदान केन्द्र पनि छन् । यी अस्थायी केन्द्रहरू समानुपातिक मतदानका लागि मात्र हुन् ।

काठमाडौं–१ मा कूल मतदाता करिब ४८ हजार ४८९ जना छन्, जसमा महिला २५ हजार २५२ र पुरुष २३ हजार २३७ जना छन् ।

मतदानका लागि अपाङ्गता भएका, ज्येष्ठ नागरिक, अल्पसंख्यक मतदातालाई लाइनमा नबस्ने व्यवस्था हुनेछ । अपाङ्गमैत्री मतदान कक्ष (सम्भव भएसम्म) बनाइने छ । खानेपानी, अन्य सहजताका लागि वडाध्यक्षहरूले समन्वय गरिरहेका छन् ।

सुरक्षित मतगणनास्थलको लागि पनि तयारी तीव्र छ । निर्वाचन आयोगले भनेअनुसार नै सुरक्षित तरिकाले मतगणनास्थलमा मतपेटिका प्राप्त भएलगत्तै गणना सुरु हुनेछ ।

काठमाडौं–१ को हकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वरमै मतगणना हुनेछ । सीसीटीभी, उज्यालो स्पेस, इन्टरनेट लगायतको व्यवस्था गणनास्थलमा हुनेछ । जति सक्दो छिटो दुई दिन भित्र निर्वाचन परिणाम निकाल्ने तयारी काठमाडौं–१ को छ ।

काठमाडौं–२

काठमाडौं क्षेत्र नम्बर २ की मुख्य निर्वाचन अधिकृत शान्ति न्यौपानेका अनुसार, यस क्षेत्रमा पनि प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार बिहान मात्र बिहान ११ बजे मतदान र मतगणना व्यवस्थापनबारे सर्वदलीय बैठक सम्पन्न भइसकेको छ ।

करिब ६० प्रतिशत मतदान अधिकृतले सामग्री बुझिसकेका छन् । टाढाका ठाउँहरूबाट आएका मतदान अधिकृतले मतपत्रसहित सबै सामग्री आज नै लगिसकेको अवस्था छ भने नजिकका ठाउँमा भने आज आवश्यक सामग्री मात्र लिएर भोलि मतपत्र लैजाने तयारी छ ।

यो क्षेत्रमा ४० वटा मतदानस्थलमा १०० वटा मतदान केन्द्र छन् । बुथ निर्माणको काम आजबाट सुरु भई भोलि बेलुकासम्म सबै सकिन्छ ।

यस क्षेत्रमा मतदाता संख्या ८८ हजार ७०८ रहेको छ, जसमा पुरुष ४५ हजार ३१५ र महिला ४३ हजार ३९३ मतदाता रहेका छन् । अपाङ्गता र अल्पसंख्यकका लागि सकेसम्म छुट्टै व्यवस्था गरिने भए पनि सबै केन्द्र अपाङ्गमैत्री छैनन् । केही ग्रामीण भेगमा समस्या छ । यद्यपि, सम्बन्धित मतदाता मतदान केन्द्रमा पुगेपछि लाइनमा नबस्ने गरी मतदान गराइने सुविधा भने रहेको छ ।

काठमाडौं–२ मा गणनास्थल अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको कागेश्वरी मनोहराकै नगरपालिकाको सभा हलमा हुनेछ । निर्वाचन आयोग (केन्द्र) ले भने बमोजिम सबै सुरक्षा व्यवस्थाको तयारी त्यहाँ गर्ने तयारी छ ।

मतगणनाको हकमा सबै मतपेटिका आएपछि करिब दुई दिन भित्रै सार्वजनिक गरिसक्ने तयारी काठमाडौं–२ को छ ।

काठमाडौं–३

काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार, सबै मतदान केन्द्रमा कर्मचारीहरू खटाइसकिएको छ र मतपत्र, मतपेटिका लगायतका सामग्रीहरू पठाउने क्रम जारी छ । केही (२–४ वटा) बुझ्न बाँकी छन्, ती पनि आजै सकिने छ ।

भोलि मतदान अधिकृतहरूले बुथ निर्माण गर्ने छन् । धेरै मतदान केन्द्रमा आज नै सर्वदलीय बैठकहरू भइसकेका छन् ।

यस क्षेत्रमा २९ वटा मतदानस्थलमा ७२ वटा मतदान केन्द्र छन् । यहाँ कूल ६४ हजार ४७९ जना मतदाता छन्, जसमा पुरुष ३१ हजार ५५६ र महिला ३२ हजार ९२३ मतदाता रहेका छन् ।

अपाङ्गता भएका मतदाताका लागि चामुण्डा स्कुलमा केन्द्र तोकिएको छ । त्यहाँ जम्मा ४ जना मात्र यस्ता मतदाता छन् । अन्य केन्द्रहरूमा पनि पुगेपछि लाइनमा नबस्ने गरी व्यवस्था मिलाइन्छ ।

काठमाडौं–३ को कार्यालय गोकर्णेश्वर नगरपालिका–४ को वडा कार्यालयमा रहे पनि मतगणनाको लागि भने उक्त स्थानमा सम्भव छैन । त्यसैले चामुण्डा स्कुलमा नै मतगणनाको व्यवस्था हुनेछ । वडा नम्बर ४ को कार्यालयलाई भोलि बेलुकी स्कुल भित्र सिफ्ट गरिन्छ ।

यसरी सबै मतपेटिका हातमा परेपछि कुनै अवरोध नभए मोटामोटी २ दिन भित्र निर्वाचन परिणाम निकाल्ने तयारी काठमाडौं–३ को छ ।

काठमाडौं–४

काठमाडौं–४ की निर्वाचत अधिकृत कृष्णा भण्डारीका अनुसार, यस क्षेत्रको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । मतदाता केन्द्रहरूमा निर्वाचन सामग्री लैजाने क्रम आजैबाट सुरु भएको छ भने मतपत्र भने भोलि मात्र सम्बन्धित केन्द्रमा पठाइने छ ।

अपांगता भएका व्यक्तिको हकमा सम्बन्धित मतदान अधिकृतसँग समन्वय गरेर आवश्यक सहजीकरण गरिने छ ।

यो क्षेत्रमा ३३ मतदानस्थलमा ८८ मतदान केन्द्र छन् । ७६ हजार १४१ मतदाता रहेको यस क्षेत्रमा ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष मतदाता रहेका छन् ।

मतगणनाको लागि निर्वाचन अयोगले भनेअनुसार सबै सुरक्षा व्यवस्था मिलाएरस्थलको व्यवस्थापन गर्ने तयारी छ । काठमाडौं–४ को निर्वाचन अधिकृतको कार्यालय रहेको जेष्ठ नागरिक समाज भवन, चपलीमै मतगणना हुनेछ । यो बुढानीलकण्ठ नगरपालिका–२ मा पर्छ ।

काठमाडौं–५

निर्वाचन अधिकृत, श्रद्धा रिजालका अनुसार, काठमाडौं क्षेत्र नम्बर ५ को हकमा मतपेटिका र अन्य सामग्री सबै गइसकेको छ । मतदानस्थलमा सबै सामग्री पुगेर आवश्यक काम सुरु भइसकेको छ । मतपत्र भने सुरक्षाका कारण भोलि मात्र सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइने तयारी छ ।

यो क्षेत्रमा ३१ मतदानस्थलमा ९० मतदाना केन्द्र छन् । कुल ७८ हजार ११४ मतदाता रहेको यो क्षेत्रमा पुरुष मतदाता ३७ हजार २७८ रहेका छन् भने ४० हजार ८३२ महिला मतदाता छन् । अन्य मतदाता ४ जना छन् ।

काठमाडौं–६

काठमाडौं क्षेत्र नम्बर ६ की निर्वाचन अधिकृत चपला पोखरेलका अनुसार, यो क्षेत्रमा सबै तयारी अन्तिम चरणमा पुगिसकेको छ । आज मतदान केन्द्रहरूमा मतदान सामग्री पठाइएको छ । मतपत्र भने सुरक्षाका कारण भोलि मात्र पठाइने छ । यद्यपि, चार जना मतदान अधिकृतले भने आज नै आफ्नै रिस्कमा मतपत्र लगिसकेको अवस्था छ ।

सबैतिर सर्वदलीय बैठक बसेर बुथ निर्माणको काम पनि सुरु भइसकेको छ । केहीले बुथ नै बनाइसके पनि केहीले भोलि दिनभरमा सक्ने गरी तयारी गरिएको छ । अपांगता भएका र असहाय मतदाताको हकमा सम्बन्धित मतदानस्थलका कर्मचारीले समन्वय गरेर सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

मतगणना भने यस क्षेत्रको निर्वाचन कार्यालय रहेको भवन (तारकेश्वर नगरपालिका) धर्मस्थलीमै गर्ने निर्णय मंगलबार मात्र गरिएको हो । सोहीअनुसार मगगणनास्थल निर्माण थालिएको छ ।

यो क्षेत्रमा ३२ मतदानस्थलमा ७९ मतदान केन्द्र रहेका छन् । जम्मा ६७ हजार ७५९ मतदाता रहेको यो क्षेत्रमा ३२ हजार ८०२ पुरुष र ३४ हजार ९५६ महिला मतदाता छन् ।

काठमाडौं–७

काठमाडौ क्षेत्र नम्बर ७ की निर्वाचन अधिकृत सविता शर्माका अनुसार, आज मतदान समग्री बाँड्ने काम चलिरहेको छ । मतपत्र भने सुरक्षाका कारण भोलि मात्र मतदान अधिकृतलाई जिम्मा लगाइने छ ।

२९ मतदानस्थलका ७८ मतदान केन्द्रमा सर्वदलीय बैठक बोलाएर बुथ निर्माणको काम सुरु भएको छ भने केहीमा सकिइसकेको छ ।

निर्वाचनपछि मतगणनाको लागि गणनास्थल पनि निर्वाचन आयोगले भनेअनुसार सुरक्षा प्रबन्ध गरेर तयारी गरिएको छ । मतगणनास्थल काठमाडौं महानगरपालिका–१६ मा रहेको बहुउद्देश्यीय मार्सल आर्टस केन्द्र खुसिबु बालाजुमा रहेको छ ।

मतदान केन्द्र भने सबै अपांगमैत्री छैनन् । अपांगमैत्री नभएका मतदात केन्द्रमा अपांगता भएका व्यक्तिलाई कर्मचारीले आवश्यक समन्वय गरेर सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं–७ को निर्वाचन कार्यालयको अनुमानअनुसार, कुनै अवरोध नभए २१ फागुन बेलुका १० बजे भित्र (ढिलोमा) मतपेटिक गणनास्थलसम्म ल्याइने छ । र, सोही रातबाट मतगणना थालेर छिटो नतिजा दिने तयारी भएको छ ।

काठमाडौं–८

काठमाडौं क्षेत्र नम्बर ८ की निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, यस क्षेत्रमा अधिकांश मतदान अधिकृतले निर्वाचन सामग्री लगिसकेको अवस्था छ । कतिपयले बुथ नै बनाइसकेको भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएका छन् । अधिकांशले सर्वदलीय बैठक पनि राखिसकेका छन् ।

करिब ३५ जना मतदान अधिकृतले आफैंले जिम्मा लिएर मतपत्र लगिसकेको अवस्था छ भने अन्यको हकमा भोलि मतपत्र पठाइने छ । यस क्षेत्रमा हरेक बुथ भरसक अपांगमैत्री बनाउने प्रयास रहे पनि यदि त्यस्तो नभएको हकमा सम्बन्धित केन्द्रका कर्मचारीले आवश्यक समन्वय गर्नेछन् ।

२३ मतदानस्थल रहेको यस क्षेत्रमा ६५ मतदान केन्द्र छन् । कूल मतदाता ५७ हजार ८११ रहेको यस क्षेत्रमा महिला मतदाता २९ हजार ८९८ र पुरुष मतदाता २७ हजार ९१३ रहेका छन् ।

मतदान सकिएपछि अवरोध नभएको हकमा २४ घण्टा भित्रै नतिजा दिने तयारी काठमाडौं–८ को छ । यसको लागि मतगणनास्थल भने हाल कार्यालय रहेको नागार्जुन नगरपालिका भवनको छेउमै टाँसिएको जनउद्धार माध्यमिक विद्यालयमा रहनेछ ।

मतगणनास्थल निर्वाचन आयोगले भनेअनुसार सुरक्षा व्यवस्था मिलाएर तयारी गरिसकिएको छ । निर्वाचन अधिकृतको कार्यालय भोलि बेलुकी सो स्कुलमा सार्ने गरी मतगणनास्थलको तयारी सम्पन्न भइसकेको छ ।

काठमाडौं–९

काठमाडौं क्षेत्र नम्बर ९ की निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार, यो क्षेत्र अब मतदानको दिनको पर्खाइमा छ । हालसम्म सबै मतदान केन्द्रमा मतपत्रसहितका सामग्री पठाइसकिएको छ । अधिकांश ठाउँमा सर्वदलीय बैठक बसेर बुथ निर्माणको काम पनि थालिएको छ । भोलि दिउँसोसम्ममा सबै काम सकिने छ ।

बुथहरू सकेसम्म अपांगमैत्री बनाइने छ । यदि त्यस्तो नभएको हकमा सम्बन्धित केन्द्रका कर्मचारीले आवश्यक समन्वय गर्ने व्यवस्था पनि गरिएको छ । मतगणनास्थलको पनि तयारी करिब सकिइसकेको छ । यसको गणनास्थल हाल कार्यालय रहेको चन्द्रागिरि नगरपालिकाको नगरपालिका भवन, बलम्बुमा रहेको छ ।

काठमाडौं–९ मा ३४ मतदानस्थलमा ९० मतदान केन्द्र छन् । यहाँ जम्मा ७८ हजार ४९५ मतदाता रहेकोमा ४० हजार २७८ महिला मतदाता छन् भने ३८ हजार २१७ पुरुष छन् ।

काठमाडौं–१०

निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार काठमाडौं क्षेत्र नम्बर १० का मतदान केन्द्रमा भोलि मात्र बुथ निर्माणको काम सुरु हुनेछ । हालसम्म सबै मतदान केन्द्रमा सर्वदलीय बैठक भने बसिसकेको छ । मतदान अधिकृतहरूले पनि निर्वाचन सामग्री लिएर गइसकेका छन् । मतपत्र भने सुरक्षालाई मध्यनजर गर्दै भोलि मात्र सम्बन्धित मतदानस्थलमा पठाइने तयारी यो क्षेत्रमा छ ।

मत गणनास्थलको तयारी सकिइसकेको छ । निर्वाचन आयोगले निर्देशन गरेबमोजिम त्रिवि स्मृति भवनमा मतगणनास्थल बनाइएको छ । हाल निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान किर्तिपुर नगरपालिका–२ को भवन भने साँघुरो भएकाले त्रिवि परिसरमा मतगणना गर्नुपरेको हो । मतपेटिका हातमा पर्नासाथ गणनाका लागि आफूहरू तयारीमा रहेको शर्माको दाबी छ ।

यो क्षेत्रमा ४७ मतदानस्थलमा ९८ मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा कूल ८३ हजार ३०१ मतदाता छन् । जसमा ४० हजार ५८३ पुरुष र ४२ हजार ७१६ महिला मतदाता छन् ।





Source link

Leave a Comment