हाम्रो देशमा रङको पर्व होली अर्थात् फागुपूर्णिमा मनाइँदै छ । काठमाडौं उपत्यकामा सोमबार मनाइयो भने तराई–मधेशमा मंगलबार (आज) उल्लासपूर्वक यो पर्व मनाइँदै छ । यस अवसरमा वर्षमा एकदिन भने पनि मानिस रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्ष भुल्ने कोशिश गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखविरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ हामीले ख्याल गरेका छौं । हरिया, राता, नीला, वैजनी, पहेंलामात्रै होइन, हामीले उल्लेख गर्ने रङभन्दा धेरै रङ भेटिन्छन् प्रकृतिमा । यसको अर्थ, रङ हाम्रो जीवनसँग सीधै जोडिएको हुन्छ । जीवनको रङ र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको छ, जसले हरेक रङमार्फत प्रकृति र प्रेमको अभिव्यक्ति दिन्छन् ।
मानव शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रङसँग छ, त्यसरी नै होलीमा खेलिने रङले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन् । रातो रङ प्रेम, शक्ति र साहसको प्रतीक हो ।
त्यस्तै, सेतो पवित्रताको, हरियो प्रकृति र आत्मीयताको, पहेंलो वैद्धिकता र सादगीपनाको, नीलो शान्तिको प्रतीक, सुन्तला रङले रचनात्मक शक्तिको, वैजनी होस र ध्यानको प्रतीकको रूपमा अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रङहरूको प्रभाव सँगसँगै रहन्छ । संसार बाहिर जे देखिन्छ, त्यसलाई हामी भौतिक रङलाई हामी फूलसँग कल्पना गर्न सक्छौं । यसलाई आँखाले हेरेर आनन्द लिन्छौं, तर त्यसको सुगन्धले हामीलाई एक सेकेन्ड भने पनि आँखा चिम्लिन बाध्य बनाउँछ, भित्री रङ अनुभूति दिलाउँछ किनकि गहिराइ या भित्र हुन्छ– सुगन्ध । त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो ।
बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले रोक्न सक्छ र ? त्यसको साथसाथ भित्री आनन्द केमा छ त्यसप्रति पनि ध्यान दिन सकेमात्र जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ । त्यसो हुँदा खुसी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के कस्ता रङहरू आवश्यक छन् ? त्यो थाहा पाउनुपर्छ ।
प्रेम, करुणा, मित्रता, धन्यवाद र शान्तिका रङबिना जीवन आनन्दित र सफल नभएको हामीले वरवर महसुस गर्दै आएका कुरा हुन् । हामी मानिस भएकै कारण हृदय अर्थात् भावनाको तलमा हुने गर्छौं । जुन हृदयको तलमा हुने एकमात्र उपाय हो नकारात्मकतालाई बेवास्ता गर्ने, जसरी अन्धकारलाई हटाउन दीप जलाउनुपर्छ । त्यसैगरी नकारात्मकतालाई हटाउन सकारात्मक भाव विकास हुनुपर्छ । जहाँ सकारात्मक भाव छ त्यहाँ प्रेम छ । त्यही प्रेमरूपी रङले आफ्नो र अरूको पनि जीवन
रंग्याउन सक्नुपर्छ ।
काठमाडांै बसन्तपुरमा विधीपूर्वक चीर ठड्याएपछि होलीपर्व औपचारिक सुरुवात हुन्छ । हनुमानढोकाको गद्दी बैठकमा तीनतले चीर ठड्याइन्छ, असत्यमाथि सत्यको जीत भएको सुचकका रूपमा यो चीर राखिने र पछि टुँडीखेलमा चीरलाई विसर्जन गर्ने चलन रहेको छ । जलेको चीरको खरानीलाई शुभ कुराका रूपमा जो कोहीले घर लैजाने गर्दछन् ।
त्रेतायुगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैं भष्म भएको दिनका रूपमा होली पर्व पदार्पण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार वर्णन अनि उत्पति पनि होली अनि प्रह्लाद घटनाक्रमसँग समबन्धित छ । नारदपुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि यसै दिन बालक कृष्णले बध गरेको उल्लेख गरिएको छ, यसरी पुतना बधपछि गोपालवासीले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि इतिहासले बयान गरेको छ ।
नीलो रङले मानवता र धैर्यता दर्शाउछ भने पहेंलो रङ भगवान् श्रीकृष्णको प्रिय रङ हो । शौभाग्यको सूचक रातो रङ प्रयोग पनि आज व्यापक गरिन्छ, अनुहार अनि शरीरभर लागेका रङहरू धुँदा हातैभर हुने गर्दछ । बगेका पानीका धारा, इनार तथा पोखरीका डिल यस दिन रंगीन हुने गर्दछन् । जुन शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाँउदै रातभर विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि छ । यसै दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ, उपत्यकालगायत ठाउँमा यसैदिन अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा आज बिदा दिइन्छ ।
नेपाली समाजमा फागु विशेष महत्व बोकेको चाड हो । हरेक वसन्त ऋतुु आगमन साथै वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरित रङ, लोला आदि प्रयोग नगरी दौतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भजनकीर्तनका साथै नाचगान गरी विभिन्न किसिमका रङले एकापसमा मिलेर अबिर दल्दै आमोदप्रमोद गर्दै हाँसखेल ठट्टा गरेर मनाउनु पर्वको मर्यादित गरिमा मान्न सकिन्छ ।
बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले पो रोक्न सक्छ र ? त्यसको साथसाथ भित्री आनन्द केमा छ त्यसप्रति पनि ध्यान दिन सकेमात्र जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ । त्यसो हुँदा खुसी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के कस्ता रङहरू आवश्यक छन् ? त्यो थाहा पाउनुपर्छ ।
यस पर्वलाई अनुशासित रूपमा मनाउने परम्पराको मानसिकता जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन्, त्यस्तैगरी राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बढो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । यसमा खासगरी युवायुवती बढो जाँगरसाथ सहभागी हुन्छन् र रमाउँछन् ।
फागुपूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त ? यो प्रश्न खोतल्ने हो भने विभिन्न धार्मिक कथा भेटिन्छन्, जसका कारण होली पर्व चलेको छ । प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए, बाबु पापिस्ट राक्षस भए पनि छोरा प्रह्लाद भने विष्णुभक्त थिए । बाबुले छोरालाई विभिन्न कोशिश गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको ‘डेग’ नचलेपछि बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रह्लादलाई आगोमा हालेर मार्न लगाए । तर, प्रह्लादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन । सोही खुसियालीमा होली पर्व चलेको किंवदन्ती छ ।
फागुपूर्णिमाको एक साताअगाडिदेखि नै आफ्ना कार्यालय, स्कूल, क्याम्पस, बाटो हिँड्ने आदि व्यातिmलाई जथाभावी रंग्याइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन । त्यस्तै, किसिमको सामान्य घटनाले उग्ररूप लिइ जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । रङ उत्सवको खुसियालीपूर्ण चाड नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्ण रूपमा मनाउनु मुर्खता हो ।
विभिन्न किसिमका रसायन मिसाइएको रङ, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्नेजस्ता निन्दित एवं घृणित कार्य हुन्छ । साथै, यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भांग, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रङका पुरिया राखि मोटरसाइकलमा चढी सार्वजनिक स्थलमा पुग्दछन् । देशका सहरका युवा र विदेशी पर्यटकलाई समेत रङले विरूप पारिदिन्छन् । होलीका नाममा यस्ता किसिमका उच्शृंखल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको चाहना दिनप्रतिदिन खस्कँदो छ । तर, विडम्बना हाम्रा यावत महान् र महामानव बनाउने यावत् कार्य हिजोआज आएर फेसन र मनोरञ्जनमा परिणत हुँदै छन् ।
प्राचीनकालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागु वा होली पनि विशेष महत्वको चाड हो । फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एकापसमा अबिर दलादल गर्ने र मीठामीठा पकवान खाने चलन छ । वर्षमा एकचोटी आउने चाड सभ्य तरीकाले कसैको इच्छाविपरित रङ नलगाएर आफूआफूमा मात्र खेल्यौ भनेमात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल–भारतलगायत विश्वभर रमाइलो गरी मनाउने गरेका छन् ।
विश्वको एकमात्र हिन्दू राष्ट्र नेपालको आफ्नै संस्कृति र भेषभूषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभर कुनै न कुनै पर्व पर्ने गर्दछ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिक रूपले निरोगी हुनु हो । जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि सुरु भयो । त्यसअनुरुप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन । यो पर्व नेपाल र भारतलगायत विश्वका अरु हिन्दू धर्मावलम्वीले अति नै रमाइलो गरी मनाउने चाड हो ।
धर्म मान्ने र पर्व मनाउनेक्रममा खासगरी हाम्रो मुलुकमा मानिसले विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्वको खुसियाली मनाउनेक्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्ति हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुका साथै सरकारले पनि कडाभन्दा कडा कानूनी प्रक्रिया पु-याई दरिलोकदम चाल्नुपर्दछ । यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृति अन्त्य हुन जाने विश्वास लिन सकिन्छ ।
(लेखकको यो निजी विचार हो)
(Visited 10 times, 1 visits today)
