चन्द्रग्रहणको सामाजिक-राजनीतिक चर्चा


छैटौं शताब्दीका विश्वप्रसिद्ध महान् खगोल–ज्योतिषाचार्य वराह मिहिरले आफ्नो वास्तविक वैज्ञानिक मत प्रस्तुत गर्दै बृहत् संहितामा भन्नुहुन्छ – चन्द्रग्रहणको मुख्य कारण पृथ्वीको छाया हो। अर्थात्, जब चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ, तब चन्द्रग्रहण लागेको देखिन्छ। त्यसैगरी सूर्यग्रहणमा चन्द्रमा सूर्यको विम्बमा प्रवेश गर्छ। यही कारण चन्द्रग्रहणको स्पर्श पश्चिम र सूर्यग्रहणको स्पर्श पूर्व दिशाबाट हुँदैन।

यो वर्ष कस्तो रहन सक्ला भनेर नागरिकमा प्रकाशित मेरा लेखहरूमा साउनको ‘मिथुनमा बृहस्पतिको उदय र ग्रहगोचर’, ‘अधिकमास र अधिपति शुक्रको अशुभ उदय’, ‘शुक्रको उदयास्त र राजनीतिक–सामाजिक प्रभाव’, ‘संवत्सर वर्ष २०८२ र अधिकारी ग्रहका शुभाशुभ संकेत’मा पनि उल्लेख गरिएको थियो।

त्यसैगरी संहिता ज्योतिषअनुसार वर्षको विषयमा बुझ्नुपर्ने भदौ र फागुनमा देखिने चन्द्रग्रहण, बुधको उदय, मीनको शनिलगायत अरू पनि धेरै कुराहरू बाँकी छन् भनेर उल्लेख गरेको थिएँ। ग्रहणको प्रधान कारण पृथ्वीमा ठुलो परिवर्तन हो भनी ग्रन्थहरूमा उल्लेख छन्। व्यक्तिगतभन्दा सामाजिक एवं भूमण्डलीय फलादेशमा ग्रहणको प्रभाव महत्त्वपूर्ण मानिन्छ।

पञ्चाङ्गहरूमा आज फागुन १९ गते पूर्णिमा, मंगलबार साँझ १८ः०३ मा सुरु भएर बेलुका १९ः०२ मा समाप्त हुनेगरी अग्नितत्त्वीय राशि सिंह तथा पूर्वाफाल्गुनी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण देखिने छ। यो ग्रहण दिउँसो ३ः१५ बजे स्पर्श भई खग्रास भए पनि काठमाडौंबाट चन्द्रोदयपछि खण्डग्रास मात्र देखिने छ। आजको यो ग्रहण उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया, अस्ट्रेलिया तथा युरोप र अन्टार्कटिकाका केही भागहरूमा देखिने बुझिन्छ।

यो ग्रहण पाँच पर्वमध्ये याम्य नामक पर्वमा पर्छ र ग्रसित हुने चन्द्रमालाई मंगल, बुध र शुक्रले पूर्ण दृष्टिले हेरिरहेका देखिन्छन्। ग्रहण लाग्ने दिनको दिनमान र रात्रिमानलाई ७ भाग गर्दा दिनको सप्तम भागमा प्रारम्भ र रात्रिको पहिलो सप्तम भागमा यो ग्रहणको मोक्ष अर्थात् अन्त हुन्छ।

त्यसैगरी यस वर्ष गएको भदौ २२ गते आइतबार राति कुम्भ राशिमा खग्रास चन्द्रग्रहण देखिएको थियो। त्यो ग्रहण रात्रिमानको तृतीय सप्तम भागमा आरम्भ, चतुर्थ सप्तम भागमा मध्य तथा पञ्चम भागमा मोक्ष भएको थियो।

पर्वअनुसार ग्रहणको शुभ–अशुभ फल

याम्य पर्वमा ग्रहण हुँदा अत्यन्तै कम वर्षा हुन्छ, दुर्भिक्ष, भोकमरी तथा बाली नाश हुने सम्भावना हुन्छ। भदौको ग्रहण आग्नेय पर्वमा परेको थियो, जसको फल बालीको राम्रो अवस्था रहने, मानिसहरू निरोगी हुने र सामान्य वर्षा हुने भनिएको थियो।

ग्रहण प्रारम्भ तथा अन्तको समयफल

आकाशलाई सात बराबर भागमा विभाजन गरी, सूर्य वा चन्द्रमाको ग्रहण वा मोक्ष (ग्रहण समाप्ति) कुन आकाश–भागमा पर्छ भन्ने आधारमा फल बताइएको छ। सातौं भागमा ग्रहण सुरु भएकाले चोर, डाँकु, गुप्त रूपमा काम गर्ने तस्कर वा लुकेर काम गर्ने अपराधीहरूलाई कष्ट हुन्छ। प्रथम खण्डमा ग्रहणको अन्त भएकाले वनवासी जातिहरूलाई शुभ हुन्छ, अथवा माछा मार्ने, डोको बोक्ने, मछुवारा आदिलाई राम्रो हुन्छ र सबै प्रकारका धार्मिक क्रियाकलापमा उत्पन्न हुने विघ्नको निवारण हुन्छ। यस्तो ग्रहण हुँदा आगोसम्बन्धी पेसाबाट जीविका चलाउनेहरू, यज्ञ गर्ने व्यक्ति, आश्रमवासी, ब्राह्मण तथा गुणीजनहरूलाई पनि शुभ हुन्छ।

भदौको विचार गर्दा तेस्रो भागमा ग्रहण सुरु भएकाले शिल्पी, हस्तकला गर्ने कारिगरहरू, दलित वर्ग, म्लेच्छ जाति (अत्यन्त निच कर्म गर्नेहरू) तथा मन्त्रीहरूलाई पीडा हुने तथा चौथो भागमा ग्रहणको मध्य परेको हुनाले मध्यदेशका राजा तथा मध्यदेशलाई हानि हुन्छ भनिएको थियो।

त्यसैगरी पाँचौं भागमा ग्रहणको अन्त भएकाले घाँस खाने पशुहरू, मन्त्रीहरू, राजपरिवारका सदस्यहरू तथा वैश्य वर्गलाई शुभ हुने भनेर उल्लेख गरिएको थियो। उपर्युक्त फल ग्रहण सुरु र समाप्त हुने समयसँग सम्बन्धित हो।

अयनबाट ग्रहणफल

चन्द्रमा हरेक महिनामा दुई अयनमा हुन्छ । अतः मकरबाट मिथुनसम्मको राशिमा गोचर भएको चन्द्रमा उत्तरायणमा र कर्कटबाट धनुसम्मको गोचरकालमा दक्षिणायनमा हुन्छ। यो फागुनको ग्रहण सिंहमा भएकाले दक्षिणायन परेको छ र भदौको कुम्भ भएकाले उत्तरायणमा परेको छ। दक्षिणायनमा ग्रहण पर्दा वैश्य वर्ग, व्यापारी वर्ग तथा निम्न वर्गका लागि अहितकर (हितनाशक) हुन्छ। भदौमा चन्द्रमा उत्तरायणमा ग्रस्त भएकाले उच्च जाति तथा राजा यानी शासकहरूका लागि कष्टकारक हुने भनिएको थियो। ग्रहणादि संहितातत्त्वको फल त्यस वर्गलाई धेरै प्राप्त हुन्छ, जसको कुशल वा कष्ट सामान्य जनको कष्ट वा कुशलताको कारण बन्छ।

राशिअनुसार ग्रहणफल

सिंह राशिमा स्थित सूर्य वा चन्द्रमा ग्रहण भएमा वनवासी जातिहरू, गण (समूह, पार्टी वा दल), सत्त्वप्रधान तथा दबंग स्वभावका व्यक्तिहरू, राजासरह जीवनयापन गर्ने मानिसहरू तथा जंगलसम्बन्धी कार्य गर्ने व्यक्तिहरूलाई कष्ट हुन्छ।

भदौमा कुम्भ राशिमा ग्रहण भएमा उच्च पर्वतीय क्षेत्रका बासिन्दाहरू, पश्चिमी प्रदेशका मानिसहरू, भारी बोकेर जीविका चलाउने मजदुर तथा कुलीहरू, तस्करहरू, आभीर प्रदेश र दरद प्रदेशका बासिन्दाहरू, प्रधान तथा मुख्य पदाधिकारीहरू, सिंहपुर प्रदेश र बर्वर (सीमान्त) प्रदेशका मानिसहरूलाई कष्ट हुने भनिएको थियो।

ग्रहणकालमा चन्द्रमाथि ग्रहदृष्टि फल

यो ग्रहणमा ग्रसित हुने चन्द्रमालाई मंगल, बुध र शुक्रले पूर्ण दृष्टिले हेरिरहेका देखिन्छन्। ग्रहणको समयमा चन्द्रमाथि बुधको दृष्टि परेमा घिउ, मह, तेल आदिको अभाव हुन्छ तथा शासकहरूलाई हानि एवं कष्ट हुन्छ। अर्थात् शासकहरूबिच आपसी द्वेष बढ्छ र ती वस्तुहरूको बजारमा कमी हुन्छ। मंगलको दृष्टि हुँदा युद्धको भय, आगलागी तथा तस्करहरूको डर हुन्छ। शुक्रको दृष्टि परेमा अन्नबाली नष्ट हुन्छ र विभिन्न प्रकारका क्लेश उत्पन्न हुन्छन्। भदौको ग्रहणमा बुधको र अशुभतामा कमी गराउने गुरुको पूर्ण दृष्टि परेको थियो।

महिनानुसार ग्रहणफल

फागुन महिनामा पर्ने ग्रहणले वंग, अश्मक, अवन्ती तथा मेकल पर्वत प्रदेशका मानिसहरूलाई कष्ट दिन्छ। यसले नर्तक, अभिनेता, नाटककार, गीत–संगीतका कलाकार, उत्तम स्त्रीहरू, धनुर्धारी (सैनिक), दस्तकार (कारिगर), क्षत्रिय तथा तपस्वीहरूलाई पनि पीडा दिन्छ। भाद्रपद महिनामा ग्रहण हुँदा कलिंग, वंग, मगध, सौराष्ट्र, सुवीर देश, दरद प्रदेश तथा अश्मक प्रदेशका मानिसहरूलाई कष्ट हुन्छ। साथै स्त्रीहरूको गर्भमा हानि (गर्भनाश) हुन सक्छ तर अन्नको अभाव भने प्रायः हुँदैन, अर्थात् सुभिक्ष रहन्छ।

व्यक्ति विशेषलाई पर्न सक्ने संक्षिप्त प्रभाव

सबै राशिका व्यक्तिलाई पर्न सक्ने प्रभावको कुरा गर्नुपर्दा मिथुन, मीन, तुला र वृश्चिक राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः ३, ६, ११ र १० राशिमा स्थित ग्रहण भएकाले सुखदायी हुन्छ। मेष, कुम्भ र धनु राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः २, ५, ७ र ९ राशिमा स्थित ग्रहण भएकाले मध्यम फलदायी हुन्छ। सिंह, वृष, मकर र कन्या राशि भएका व्यक्तिलाई जन्म राशिदेखि क्रमशः १, ४, ८ र १२ राशिमा स्थित ग्रहण भएकाले अनिष्ट फल दिन सक्ने मानिन्छ।

नागरिकका लेखहरूअनुसार अहिले विश्वमा १९ वर्षको अन्तरालमा २०८० साउनदेखि २०८३ वैशाख अन्तिमसम्म शुक्र स्वामी मानिने साउन अधिकमासको प्रभाव चलिरहेको छ। यसअघि यस्तो हुँदा २०६२/६३ जनआन्दोलनद्वारा नेपालमा राजतन्त्रको समाप्ति भई ठुलो परिवर्तन भएको थियो। यस वर्षभरि शनि–गुरु परस्पर केन्द्र तथा द्विस्वभाव राशिमा भ्रमण गरेको प्रभाव पनि जुधिरहेको अवस्था छ।

तत्काल शनिको घरमा राहु हुँदा (विश्वमा) युद्धको भय रहने, रोग हुने र वस्तुहरूको भाउ महँगो हुने मानिन्छ। लगभग अझै दुई वर्ष शनिको घरमा राहुको भ्रमण हुनेछ। लगभग ३० वर्षको अन्तरालमा यो महिनाको अन्तिम सप्ताहमा मीन राशिमा शनि अस्त हुने फलमा वर्षाको कमी तथा शासकहरू आफ्नो धर्मबाट विमुख हुन्छन् र दुःख दिने खालका हुन्छन्, मानिसहरू पीडाले ग्रस्त हुन्छन् र शासकहरूबिच युद्ध हुन्छ भनिएको छ।

२०८१ चैत १६ गते शनि मीन राशिमा प्रवेश गरेको थियो। यसअघि धनुमा शनि हुँदा विश्वमा कोरोना महामारीको प्रारम्भ भएको थियो।



Source link

Leave a Comment