मध्यपूर्वमा अशान्तिः नेपाली पर्यटन बजारमा मार पर्ने व्यावसायीको चिन्ता


सन् २०२५ मा नेपाल भित्रिएका ११ लाख ५८ हजार विदेशी पर्यटकमध्ये १९ प्रतिशत (२ लाख २१ हजार) पर्यटक यूरोपियन मुलका थिए। मध्यपूर्वका मुलुकबाट मात्र भित्रिएका पर्यटकको संख्या झन्डै २ प्रतिशत (२० हजार ५ सय) थियो। त्यस्तै २०२५ मै नेपाल भित्रिने अमेरिकी पर्यटकको संख्या पनि झन्डै १२ प्रतिशत (१ लाख ३५ हजार बढी) थियो।  

पर्यटन व्यावसायीका अनुसार नेपाल भित्रिने धेरै विदेशी पर्यटक मध्ये अधिकांश (छिमेकी मुलुक बाहेक) ले मध्यपूर्वकै आकाश प्रयोग गर्छन्। अमेरिकी, यूरोपियन सहित मध्यपूर्वकै मुलुकका पाहुनाले नेपालसम्म आउजाउका क्रममा प्रयोग गर्ने मध्यपूर्वी मुलुकको आकाशमा अहिले हवाई उडान ठप्प छ। मध्यपूर्वी क्षेत्रमा विकसित तनावले अहिले त्यस क्षेत्रमा हवाई उडान अवरुद्ध छ। त्यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने भन्दै यहाँका पर्यटन व्यावसायीले चिन्ता जनाएका छन्।  

व्यावसायीका अनुसार नेपाल आउजाउका क्रममा अधिकांश अमेरिकी, यूरोपियन मुलका पर्यटकले मध्यपूर्वकै आकाश प्रयोग गर्ने अहिले त्यहाँ हवाई उडान अवरुद्ध भएकै कारण पर्यटक आउजाउमा असर पर्ने देखिएको छ। संयुक्त अबर इमिरेट्स, साउदी अरेबिया, कतार, दुबई हुँदै अधिकांश अमेरिकाी र यूरोपियन मुलका पर्यटक नेपाल आउजाउ गर्ने ती पाहुनालाई ल्याउने र लैजाने गरेका विभिन्न हवाई उडान अवरुद्ध हुँदा सिजनको पर्यटक आगमन प्रभावित हुने चिन्ता व्यावसायीको छ।  

‘पर्यटन क्षेत्रमा मुख्य सिजन सुरु भएको छ। मार्चदेखि मे सम्मको समयलाई नेपालको पर्यटन क्षेत्रमा दोश्रो मुख्य सिजन मानिन्छ। सिजन सुरु हुनै लाग्दा पाहुना आउने बाटोमा उडान अवरुद्ध छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यावसायी सोम थापा भन्छन, ‘सिजनको मुखमा नेपालको पर्यटन क्षेत्रले युद्धको मार खेप्नुपरेको छ। अन्तर्राष्ट्रिय गन्तव्यमा भएको युद्धको असर नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिएको छ।’ मध्यपूर्वी मुलुकमा उत्पन्न अशान्तिको प्रभाव नेपालसम्मको हवाई सञ्जालमा परिसकेकोले पर्यटक आउने सम्भावना कम हुने उनले बताए। 

‘कतिपय मुलुकका त विमानस्थल नै बन्द छन। नेपालमा आएका जहाज यही रोकिएका छन्। यात्रुहरु विमानस्थलमै अलपत्र छन। ट्रान्जिटमा रोकिएका यात्रुलाई गन्तव्य पुग्नमा सकस छ,’ उनले भने, ‘यस्तो अवस्थामा पाहुना आउने सम्भावना छैन। पर्यटक भित्रिने मुख्य सिजन भएपनि नेपालले यो पटक मार खेप्ने पक्का छ।’

मध्यपूर्वका मुलुक भएर आउने विदेशी धेरै हुने र उनीहरु अन्य बाटोबाट आउँदा नेपाल दोश्रो गन्तव्य मात्र बन्न सक्ने पनि उनले बताए। ‘अन्यत्रबाट हवाई मार्ग  नै नभएको भन्ने होईन। तर, हवाई सञ्जाल धेरैतिरको बिग्रेको छ। अरु गन्तव्य हुँदै आएमा पनि उनीहरु अन्यत्र डाइभर्ट पनि हुनसक्छन,’ थापाले भने, ‘घुमफिर अत्यावश्यक पनि होईन, त्यसैले सहज यात्रा नहुने अवस्थामा पाहुना घरबाहिर ननिस्कन पनि सक्छन।’  

साउदी, दुवई, कतार, कुवेत लगायतका मुलुकलाई काठमाडौंसँग जोड्ने हवाई उडान अहिले ठप्प जस्तै भएकोले यात्रा पूर्ण रुपमा रोकिँदा त्यसको प्रभाव घुम्न आउने तयारीमा रहेका पाहुनालाई परेको उनले बताए।  ‘अहिलेसम्म बुकिङ रद्द भएको थिएन। अब धमाधम बुकिङ रद्द हुने पक्का छ,’ उनले भने, ‘किनकी यो बेला पदयात्राका लागि आउने पाहुना थिए। उनीहरु चाहेर पनि आउने अवस्था रहन्न।’

व्यावसायीका अनुसार अघिल्लो सिजन नेपालमा जेनजी आन्दोलनका कारण मारमा परेको थियो।  यतिबेला चुनावका कारण नेपाल भित्रिने विदेशी पाहुनाको संख्या आफैमा प्रभावित भएको थियो। तर, अहिले मध्यपूर्वका मुलुकमा उत्पन्न द्वन्द्वको असरका कारण थप प्रभावित हुने उनले बताए।

‘हामीले यो सिजनबाट केही आशा गरेका थियौ।  अघिल्लो सिजन जेनजी आन्दोलनले कम्तिमा एकमहिना प्रभावित भएको थियो। यो बेला चुनावले पनि केही असर पारेको थियो। तर, चुनाव भन्दा पनि द्वन्द्वका कारण पाहुनाको यात्रा नै बिथोलिएको छ,’ उनले भने, ‘सिजनको मुखयमा पर्यटक भित्रिने मुख्य बाटोमै समस्या निम्तिएको छ।  विभिन्न रुटमा हवाई यात्रा नै अवरुद्ध छ। ’

नेपालसम्मकै हवाई सञ्जाल प्रभावित भएकोले पाहुना आउने सम्भावना कम रहेको उनले बताए। उनका अनुसार मध्यपूर्वका मुलुकहरु पर्यटकमैत्री थिए। त्यसले गर्दा पर्यटकले त्यही रुटलाई प्रयोग गर्दथे। चीन, सिंगापुर, मलेशिया, भारत हुँदै पर्यटक आएमा नेपाल दोश्रो गन्तव्य पनि हुन सक्ने भएकोले पाहुना आउने सम्भावना कम रहेको थापाले बताए।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने पनि सिजनको पर्यटक आगमनलाई अहिलेको द्वन्द्वको असर पर्ने पक्का रहेको बताउँछन। उनका अनुसार नेपालमा मुख्य रुपमा मध्यपूर्वका मुलुकबाट धेरैजसो उडान हुन्छन।  कतार, जजिरा, फ्लाई दुवई लगायतका एयरलाईन्सले नेपालमा धेरैवटा उडान राखेका छन्।  

मध्यपूर्वी मुलुक द्वन्द्वको चपेटामा पर्दा अमेरिकी र यूरोपियन मुलका पाहुना मुख्य रुपमा प्रभावित हुने उनले बताए।  ‘मध्यपूर्वकै मुलुकबाट पनि पर्यटक आउँछन। त्यसबाहेक मध्यपूर्वको आकाश प्रयोग गरेर आउने यूरोपिन र अमेरिकी पर्यटकहरु बढी हुन्छन,’ लामिछानेले भने, ‘नेपालमा भित्रिने पर्यटकको मुख्य सिजन सुरु भएकै बेलामा अहिले अप्ठेरो अवस्था आएको छ।’ यूरोपियन र मध्यपूर्वी मुलुकका पाहुनाले मात्र नभई अधिकांश अमेरिकी पर्यटकले पनि मध्यपूर्वकै आकाश प्रयोग गरेरै नेपाल आउने भएकोले सबैतिरका पाहुनालाई यात्रामा झन्झट र अनिश्चय थपिएको उनले बताए।  

‘नेपाललाई अमेरिका र यूरोप जोड्ने मुख्य हवाई मार्ग मध्यपूर्वको आकाश हो। नेपालको अमेरिका र यूरोपसम्म जोड्ने बाटो अहिले अवरुद्ध छ। हवाई यात्रा ठप्प छ। कतिपय विमानस्थल बन्द नै भएका छन। यात्रु यात्राकै क्रममै रोकिएका छन। यस्तो अवस्थामा घुमघामका लागि पाहुना आउने सम्भावना निकै नै कम हुन्छ,’ उनले भने।  

नेपालको पर्यटन क्षेत्रमा मार्चदेखि मे सम्म दोश्रो महत्वपूर्ण सिजन हो। यस्तै समस्या सन् २०२० मा कोरोनाको असर परेको थियो।  पाँचवर्ष पछि अहिले त्यही अवस्था सिर्जना भएको लामिछानेले बताए। ‘परम्परागत रुपमा रहेको नेपालको पर्यटन बजारका पाहुना अहिले आउने अवस्था छैन। अमेरिकी र यूरोपियन मुलका पर्यटक उच्च खर्च गर्ने क्षमता हुन्छन। ती पर्यटक आउने बाटो करिब करिब बन्द भएको छ,’ उनले भने, ‘यसले खर्चिला पर्यटकको अभाव बढाउनेछ।’

अहिले टर्किस एयरलाइन्सले एउटा मात्र उडान हुँदा आउने पर्यटकको संख्या निकै नै कम हुने उनले बताए।  ‘यूरोपियन र अमेरिकीको संख्या घट्ने पक्का देखिन्छ। मध्यपूर्वकै मुलुकका पाहुना पनि आउँथे, ती पनि आउन पाउँदैनन,’ उनले भने, ‘त्यसैले नेपालले अब पर्यटक भित्रयाउनका लागि पूर्वि क्षेत्रमा प्रवर्द्धन गर्नुपर्छ। भारत र चीनलाई प्राथमिकता दिएर पाहुना भित्र्याउन सघाएको खण्डमा नेपालको पर्यटन बजार जोगिनेछ।’ यूरोपियन र अमेरिकीलाई पूर्वि रुट प्रयोग गरेर आउन मिलेपनि त्यो सहज नहुन सक्ने उनले बताए।  

लामिछानेका अनुसार मध्यपूर्वका मुलुकमा निम्तिएको अशान्तिका कारण हवाई इन्धनको मुख्य समेत बढ्ने देखिएको छ। ‘इन्धनको भाउ बढ्नसक्ने भएकोले हवाई भाडा पनि बढ्ने सम्भावना छ।  मध्यपूर्वको अवरोधका कारण समस्या बढ्दैछ।  तेलको भाउ बढ्ने हुँदा हवाई भाडा पनि वृद्धि हुँदा यात्रा महंगो पर्न सक्छ,’ उनले भने, ‘हवाई भाडा महंगो परेमा यात्रा अझै प्रभावित हुन सक्छ।’ चुनावका कारण नेपालमा आउने पाहुनाको संख्यामा केही कम भएको अवस्थामा अहिले युद्धको प्रभाव झनै परेको उनले बताए।  

प्रकाशित: १८ फाल्गुन २०८२ १६:२७ सोमबार





Source link

Leave a Comment