यसै वर्ष डाभोसमा आयोजित विश्वका प्रभावशाली व्यक्तिहरूको भेलामा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दिएको भाषण अहिले निकै चर्चित छ। उनले स्वर्गीय वास्लाभ हाभेलको एक महत्त्वपूर्ण अन्तर्दृष्टिलाई उद्धृत गर्दै भनेका छन्, ‘जतिबेला मानिसहरूले वैधता दिएका औपचारिक निकायहरूले तोकिएको भूमिका निभाउन छाड्छन्, त्यतिबेला ती संस्थाप्रति विश्वासको आधार ढल्छ।
स्वर्गीय नाटककार टोम स्टापार्डको ‘रक एन रोल’ नामक नाटक बिस वर्षअघि पहिलोपटक मञ्चन भइरहँदा क्याम्ब्रिजकी विद्यार्थीका हैसियतले मैले प्रागमा फिल्म अध्ययन गरिरहेकी थिएँ र त्यो मेरा लागि अत्यन्त रोमाञ्चक अनुभव थियो।
अहिलेको चेक गणतन्त्र र स्लोभाकिया रहेको चेकोस्लोभाकियामा साम्यवाद र पुँजीवादबिचको टकरावमाथि केन्द्रित उक्त कृतिले उच्च सिद्धान्त र बाँचिरहेको यथार्थबिचको मुठभेडलाई अत्यन्त गहिरो रूपमा प्रस्तुत गरेको थियो । उक्त घटनाको दुई दशकपछि डाभोसमा कार्नीले हालै दिएको भाषण त्यसको उत्तरकथाजस्तै थियो।
‘नियममा आधारित व्यवस्था रंगहीन हुँदै छन् र हामी रूपान्तरण होइन, चुडिने चरणमा छौं’ भनेर उनले स्पष्ट शब्दमा भनेका थिए।
त्यसो त बर्लिनको पर्खाल ढलेपछि करिब चार दशकसम्म पश्चिमा नीतिनिर्माताहरूले प्रचलित अन्तर्राष्ट्रिय व्यवस्था विस्तार हुँदै जाँदा संस्थाहरू, बजार र मान्यतागत ढाँचाले निश्चित देश र निकायको असीमित शक्तिलाई सीमित गर्दै जाने विश्वास गरेका थिए तर उक्त व्यवस्थाका प्रमुख प्रवक्तामध्ये एक मानिने कार्नीले अब त्यो धारणालाई परित्याग गरेका छन्।
कार्नीले उल्लेख गरेअनुसार अहिले ‘महाशक्तिहरू’ नियम र मूल्यहरूको नाटकसमेत त्यागेर आफ्नो शक्ति र स्वार्थको अवरोधविहीन खोजमा लागि परेका छन्। युद्धपछिको युगलाई परिभाषित गर्ने बहुपक्षीय संस्थाहरू खतरामा छन् र संयुक्त राष्ट्रसंघका महासचिवले हालै आफूले नेतृत्व गरेको संस्था निकट भविष्यमा आर्थिक पतनको जोखिममा रहेको स्वीकार गरेका छन्। दार्शनिक थुसिडिडेसको ‘बलियाले जे गर्न सक्छन् गर्छन्, कमजोरले जे सहनुपर्छ, सहन्छन्’ भन्ने तर्क फेरि भूराजनीतिक मुद्राजस्तो बनेर प्रचलनमा आउँदै छ।
पूर्व केन्द्रीय बैंकरसमेत रहेका कार्नीले क्यानडाको बैंक र बैंक अफ इङ्ल्यान्डको नेतृत्व गरेका थिए। उनको यो अर्थपूर्ण हस्तक्षेपले पश्चिमा विश्वको निर्विवाद प्रभुत्वको छोटो अवधिलाई एक प्रकारको समापन – चिह्नका रूपमा चित्रित गर्न सकिन्छ। यसलाई विशेषगरी फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’ अर्थात् ‘इन्ड अफ हिस्ट्री’ सम्बन्धी सिद्धान्तसँग सबैभन्दा बढी जोडेर हेर्न सकिन्छ। उनको यो हस्तक्षेपले पश्चिमी वर्चस्वको त्यो छोटो अवधिलाई समेट्ने पुस्तकको अन्तिम पाना जस्तो भूमिका खेलेको छ, जुन फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’ सिद्धान्तसँग सबैभन्दा बढी जोडिन्छ। लेखकबाट राष्ट्रपति बनेका चेक राष्ट्रपति हाभेलको निबन्ध ‘द पावर अफ द पावरलेस’ उद्धृत गर्दै कार्नीले शीतयुद्धकालीन विचार–संघर्षको एउटा प्रभावशाली अन्तर्दृष्टिलाई समेत पुनर्जीवित गरेका छन्।
हाभेललाई उद्धृत गर्दै डाभोसका श्रोतामाझ उनले भनेका थिए, ‘दशकौंदेखि हामी झुटभित्र बाँचिरहेका छौं र यस्तो व्यवस्थाअन्तर्गत शक्ति सत्यबाट होइन, सबैले त्यसलाई सत्यझैं व्यवहार गर्न तयार हुन सक्ने स्थितिबाट आउँछ।’
हुन पनि व्यवस्थाहरू केवल बल प्रयोगबाट मात्र टिक्दैनन्, ती सर्वसाधारण सहभागीहरूको अनुष्ठानिक अनुपालनबाट टिक्छन्। उदाहरणका लागि एउटा सागसब्जी पसलेले समस्या टार्न आफ्नो सटरमा विश्वका मजदुरहरू, एक होऔं’ लेखिएको पोस्टर टाँस्छ। अविश्वासलाई थामेर ऊ सुरक्षित विकल्प रोज्छ, सत्तासँग ठोक्किनुभन्दा पार्टीको लाइन पछ्याउँछ।
कार्नीको हाभेल सन्दर्भ कुनै रमाइलो ऐतिहासिक प्रसंग मात्र थिएन। उनले शीतयुद्धपछि हामीले एउटा झुटलाई अर्को झुटले प्रतिस्थापन गरेको तथ्य स्वीकार गर्न आग्रह गरे।
हुन पनि विश्वका मध्यम शक्तिहरू विशेषतः यस काल्पनिक उदार विश्व व्यवस्थामा सहभागी रहे। क्यानडा, जापान र पश्चिम युरोपका उन्नत अर्थतन्त्रहरूले व्यापार नियमहरूको असमान कार्यान्वयन र शक्तिशाली राष्ट्रहरूका लागि कानुनी अपवादहरू स्वीकार गर्दै सम्झौता गरेर सहकार्य रोजे, किनकि अनुपालनले स्थिरता किनिन्थ्यो।
‘हामीलाई थाहा थियो कि अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाको कथा आंशिक रूपमा गलत थियो,’ कार्नीले भने, ‘सबैभन्दा शक्तिशालीले अवसर पाएको अवस्थामा आफूलाई नै छुट दिन्छन् र अन्तर्राष्ट्रिय कानुन अभियुक्त वा पीडितको पहिचानअनुसार फरक कठोरतासाथ लागु हुन्छ।’
यिनै दोहोरो मापदण्डहरू औंल्याउँदै उनले ग्लोबल साउथले भन्दै आएको सत्यलाई समर्थन गरे।
कार्नीको भाषणले आर्थिक प्रणालीहरू कसरी टिकिरहेका छन् भन्ने वास्तविक आधारलाई पुनःस्मरण गराएको थियो, त्यो भनेको सहभागीहरूको स्वैच्छिक संलग्नता थियो। उनले पूर्ण रूपमा वाचा पूरा नगरेको नियममा आधारित व्यवस्थाप्रति अनावश्यक मोह त्याग्नसमेत आग्रह गरे तर उनले सहकार्यप्रति नै निन्दक बन्न नहुने चेतावनी पनि दिए।
शीतयुद्धकालीन पुँजीवाद र साम्यवादबिचको संघर्ष हतियारको मात्र नभई विश्वास – प्रणालीहरूबिचको पनि लडाइँ थियो। बिसौं शताब्दीमा प्रणालीहरू भौतिक लाभका लागि मात्र होइन, वैधताका लागि पनि प्रतिस्पर्धा गर्थे। उनीहरूलाई समग्र जनसंख्या, सरकार र अभिजात वर्गलाई यो व्यवस्था हितकारी छ भनेर विश्वास दिलाउन चुनौती थियो।
त्यसो त आजको प्रतिस्पर्धा पनि कम वैचारिक छैन, यद्यपि यो कम अभिव्यक्त छ। शक्तिशाली राष्ट्रहरूको वर्चस्ववादी दाबी, पारस्परिक निर्भरताको हतियारकरण र साझा मान्यताहरूको क्षयले यसअघिका निश्चितताहरू विघटित भएको पुष्टि गर्छ। त्यसैले बिसौं शताब्दीमा प्रणालीले भौतिक लाभ मात्र होइन, गुटहरूको पुनर्जन्म होइन, आत्मसन्तुष्टिको स्पष्ट अस्वीकार मागेका छन्। यो झुटमा चुपचाप सहभागी हुने सागसब्जी पसले नबन्ने आह्वान हो।
कार्नीको वक्तव्यले झुटलाई सत्यले, देखावटीपनलाई प्रामाणिकताले प्रतिस्थापन गर्ने चुनौती दिएको छ। ‘किल्ला’ र ‘पर्खाल’मा आधारित विश्व आर्थिक संरचनाको सट्टा उनले फरक मुद्दाका लागि फरक गठबन्धनमा आधारित संरचना निर्माण गर्ने प्रस्ताव गरेका छन्।
हाभेल र स्टपार्ड दुवैले बुझेझैं व्यवस्थाहरू सर्वप्रथम विश्वासको आधारक्षेत्रमै ढल्छन्। अन्ततः राजनीति नभई यही संस्कृतिले नै राजनीतिक जडतालाई कमजोर पार्छ। कार्नीले सम्झाएझैं सबै अत्याचारी व्यवस्थाहरूको साझा आधार साधारण मानिसहरूले निजी रूपमा झुटो ठान्ने निकायहरूमा भाग लिनु हो। त्यसैबाट तिनको नाजुकता पनि उत्पन्न भई मुखरित हुँदै जान्छ। जतिबेला एउटा व्यक्तिले पनि अभिनय गर्न छोड्छ, भ्रम चिरिन थाल्छ।
कार्नीले ‘इतिहासको अन्त्य’को अन्त्य भएको घोषणा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पाइला राखेका छन्। मेरा लागि यो फेरि २० वर्षअघिको प्रागकै झल्कोजस्तै हो – के सान्त्वनादायी कल्पनाको अन्त्य नै वास्तविक मुक्तिको सुरुवात हुन सक्छ?
– हल्दार क्याम्ब्रिज विश्वविद्यालयका सहप्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)
प्रकाशित: १७ फाल्गुन २०८२ ०७:५३ आइतबार
