१६ फागुन, बुटवल । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट झण्डै १४ हजार मत पाएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेसँगै रुपन्देही–१ को चुनावी माहोलमा परिवर्तन आएको छ ।
एक हप्ताअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भैरहवा आएर गत चुनावमा १३ हजार ९ सय ६२ मत ल्याएका धनिरामलाई पार्टी प्रवेश गराएसँगै यो क्षेत्रको चुनावी प्रतिस्पर्धामा नयाँ तरंग थपिएको हो ।
रुपन्देही १ थारु समुदायको उल्लेख्य जनसंख्या भएको क्षेत्र हो । यो क्षेत्रमा राप्रपाबाट स्वर्गीय दीपक बोहराका कान्छा छोरा आईटी उद्यमी प्रज्ज्वल बोहरा उम्मेदवार छन् ।
नेकपा एमालेबाट पूर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट देवदहका पूर्व मेयर हिराबहादुर खत्री, नेकपाबाट संविधान सभा सदस्य तथा पूर्व मन्त्री घनश्याम यादव, रास्वपाबाट पार्टी महामन्त्री सुनिल लम्साल उम्मेदवार छन् । प्रतिनिधि सभा सदस्यमा सबै उम्मेदवार नयाँ अनुहार हुन् ।
यो क्षेत्रमा विगतको मत र पार्टीहरुको संगठनात्मक आधार हेर्दा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नै मुख्य प्रतिस्पर्धी हुन् । यो क्षेत्रमा नेकपा र २०७९ मा स्थापना भएको रास्वपा लगायतका दलहरुको संगठनात्मक अवस्था तुलनात्मक रुपमा कमजोर छ । तर रास्वपाका उम्मेदवारलाई देशव्यापी देखिएको लहरले उत्साहित बनाएको छ ।
यो क्षेत्रमा राप्रपाका स्वर्गीय नेता दीपक बोहराले पञ्चायतकालदेखि बस्ती बसाल्नेदेखि सडक, विद्युत, सिंचाइ लगायत क्षेत्रमा गरेका कामले यहाँ राप्रपाको बलियो प्रभाव छ । यहाँका मतदाताले बोहराको योगदानलाई अहिले पनि बिर्सेका छैनन् ।
गत स्थानीय चुनावमा यो क्षेत्रको रोहिणी गाउँपालिकाका ७ वटा वडामध्ये ४ वडाध्यक्ष र पालिका उपाध्यक्ष जितेर कार्यपालिकामा राप्रपा बहुमत छ भने देवदहका वडा नम्बर ११ को अध्यक्ष पनि राप्रपाले जितेको छ ।
बुबाको विरासत धान्ने प्रयासमा प्रज्ज्वल
यस्तै प्रदेश सभा सदस्य पनि जितेकाले यहाँ राप्रपाको प्रभाव राम्रो छ । राप्रपाले यो क्षेत्रमा नयाँ अनुहारका रुपमा सूचना प्रविधि (आईटी) उद्यमी प्रज्ज्वल बोहरालाई उम्मेदवार बनाएसँगै मतदाताको ध्यान तानेका छन् ।
बुवाको विरासत, पार्टी संगठनको बल र हालै मात्र अघिल्लो चुनावको चौथो स्थानमा करिब १४ हजार मत पाएको उम्मेदवार पार्टी प्रवेशले राप्रपा र प्रज्ज्वल उत्साहित छन् ।
‘मैले गत चुनावमा पाएको मतको कम्तीमा आधा मत यसपटक राप्रपाले पाउँछ, म त्यही ढंगले आफ्नो समुदायमा खटेको छु,’ धनिराम भन्छन्, ‘यो चुनाव देश र देशको राष्ट्रियता, धर्म संस्कृति जोगाउने चुनाव पनि हो ।’
रोहिणी–३ धकधईका रवि चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी राप्रपामा प्रवेशले राप्रपाको पक्षमा माहोल बढेको दाबी गरे । ‘धनिराम यता आएपछि थारु समुदायको मत बाँडिन्छ, उनको प्रवेशले माहोल तातेको छ,’ उनले भने ।
देवदह–५ की डिलमाया गुरूङले विगतमा दीपक बोहराले गरेका काम सम्झिंदै त्यसको गुन चुनावमा तिर्ने बताइन् ।
२०५६ सालको निर्वाचनमा राप्रपाका दीपक बोहरा र कांग्रेसका दुर्योधन चौधरीबीच तीव्र प्रतिस्पर्धाका बीच मत परिणाममा विवाद भएपछि अदालतमा मुद्दा पर्दा दीपक बोहराले जितेको फैसला आएको थियो तर त्यति बेला संसद बिघटन भइसकेकाले बोहराले काम गर्न भने पाएनन् ।
‘दीपक बोहरालाई त्यति बेला प्रहरी प्रमुखको कारणले धाँधली गरेर हराइएको थियो, पछि अदालतले पुन: मतगणना गर्दा बोहराले जितेको पुष्टि गरेको थियो,’ देवदहका माधव रिमाल भन्छन्, ‘त्यो बेला उहाँले काम गर्न नपाएको बदलामा यसपटक उनका छोरा प्रज्ज्वललाई अवसर दिनुपर्छ भन्ने कतिपयको मत छ ।’
राप्रपा उम्मेदवार प्रज्ज्वलले रुपन्देही क्षेत्र नम्बर १ र ३ मा पहिल्यैदेखि बलियो शक्ति भएको अवस्थामा थारु समुदायमा चर्चित धनिराम चौधरीको प्रवेशले आफूले चुनाव जित्ने आशा बलियो बनेको बताए । ‘जेन जी आन्दोलनले उठाएको सुशासनको मुद्दा हाम्रो पार्टीले पहिल्यैदेखि उठाएको थियो, म जेनजी युवाहरुकै प्रतिनिधिका रुपमा नयाँ अनुहार पनि हुँ,’ प्रज्ज्वलले भने, ‘धनिरामजीको समेत आगमनले भोट बढ्छ भन्नेमा विश्वस्त छु ।’
रुपन्देही १ कै बासिन्दा राप्रपा सहमहामन्त्री ताहिर अली भाटले धनिराम चौधरीको प्रवेशपछि अरु दलका युवाको संख्या पनि राप्रपामा जोडिएकाले आफूहरु बलियो भएको दाबी गरे ।
रास्वपाभित्रको असन्तुष्टिको फाइदा उठाउने दाउमा राप्रपा
टिकटको विषयलाई लिएर रास्वपाभित्र देखिएको असन्तुष्टिको फाइदा यही चुनावमा उठाउने दाउमा छ राप्रपा । स्थानीय नेताको आग्रहमै उम्मेदवार बन्न अमेरिकाबाट आएका र तल्लो निकायबाट सिफारिस समेत भएका डा. श्री कुंवरले पार्टीको भनाइ र गराइमा आकाश जमिनको फरक पाइएको, प्राइमरी चुनावका नाममा रकम असुल्ने तर प्रकृयामा नजाने गरेको, प्रवासी नेपालीलाई १० प्रतिशत टिकट दिने भनेर ढाँटिएको लगायतका कारण देखाउँदै रास्वपा परित्याग गरिसकेका छन् ।
समानुपातिक उम्मेदवार पाउने भएपछि एमाले छाडेकी श्रद्धा कुंवरका बुबा गुमानसिंह कुंवर छोरीको पक्षमा मत नमागी एमालेको पक्षमा खुलेर लागेका छन् ।
गत निर्वाचनमा उम्मेदवार भएर १४ हजार १ सय ४५ मत प्राप्त गरेका नरेशबहादुर पछाई यसपटक पनि टिकटको आकांक्षी थिए । तर उनले टिकट पाएनन् । र, बरु सुनिल लम्साललाई टिकट दिइयो । यसले गर्दा केही असन्तुष्टि देखिएको स्थानीय बताउँछन् ।
रास्वपा उम्मेदवार लम्साल काठमाडौं महानगरपालिकाबाट विदेश भ्रमण जाँदा देखिएको ५२ लाख रुपैयाँ बेरुजूको विषयलाई अन्य दलहरुले चुनावी मसलाको रुपमा प्रयोग गरिरहेका छन् ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले भने लुम्बिनीमा रुपन्देही १ र ३ तथा नवलपरासी पश्चिम २ नम्बर क्षेत्र जित्ने पार्टीले प्रक्षेपण गरेको बताए ।
राप्रपाले बलियो प्रतिस्पर्धीका रुपमा आफूले जित्ने दाबी गरिरहँदा रास्वपासहित कांग्रेस र एमालेका उम्मेदवारले पनि प्रतिस्पर्धामा आफू नै अगाडि रहेको दाबी गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ तथा ओमसतिया गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५ र ६ पर्छन् ।
समानुपातिकतर्फ २०७९ को चुनावमा यस क्षेत्रबाट कांग्रेसले १९ हजार १ सय २५, एमालेले १५ हजार ७ सय २४, राप्रपाले ११ हजार २ सय ४३, रास्वपाले १५ हजार ८ सय र माओवादी केन्द्रले ३ हजार ७३ मत प्राप्त गरेका थिए ।
यस्तो छ गत चुनावको समानुपातिक मत
माओवादी पृष्ठभूमिका एमाले उम्मेदवार दधिराम न्यौपाने २०७४ सालमा रुपन्देही क्षेत्र १ को ‘ख’बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमाले र माओवादीको एकीकृत पार्टी नेकपाबाट २०७४ मा निर्वाचन जितेका उनी प्रदेशसभा निर्वाचन २०७९ मा लडे पनि कांग्रेसका (कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार) अब्दुल रज्जाकसँग पराजित भएका थिए ।
यसैगरी नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हिराबहादुर खत्री देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हुन् । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचन जितेका थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि सोही गठबन्धनबाट उम्मेदवार बनेका खत्रीलाई एमालेका ध्रुवप्रसाद खरेलले झिनो मतअन्तरले पराजित गरेका थिए ।
त्यसैगरी नेकपाका उम्मेदवार घनश्याम यादव अहिर २०६४ सालको संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सभासद हुन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाको गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले जितेका थिए ।
यादवले २४ हजार ८ सय ८२ मत प्राप्त गर्दा नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले २१ हजार ३ सय १८ मत प्राप्त गरेका थिए । रास्वपाका नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १४५ मत पाएका थिए ।
नागरिक उन्मुक्ति पार्टीले १३ हजार ९ सय ६२ र जनमत पार्टीले ५ हजार १ सय ६९ मत प्राप्त गरेका थिए ।
१ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा २० स्वतन्त्रसहित ३१ जना उम्मेदवार छन् । ४५ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र छन् ।
