कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक, कांग्रेस र एमालेलाई रास्वपा र नेकपाको कडा चुनौती


सुदूरपश्चिम प्रदेशमा कैलाली सवै भन्दाबढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा निर्वाचन नजिकिएसँगै प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।  

याहाँका मतदाताले तीन वर्ष अघि (वि.स.२०७९) कै निर्वाचनमा आफ्नो मत बदल्दा सोचेभन्दा फरक नतिजा आएको थियो । पुराना ठूला दललाई आश्चर्यमा पार्दै तत्कालिन नयाँ दल नगारिक उन्मुक्ती पार्टीले ३ वटा निर्वाचन क्षेत्रमा जित हात पारेको थियो । यस पटकको निर्वाचनमा कैलालीको नतिजा के होला भनेर निकै चासोको साथ हेरिएको छ । नेपाली कांग्रेसले बिरासत जोगाउन तथा नेकपा (एमाले) र नेकपाले आफ्नो विरासत फर्काउन मिहिनेत गरिरहेका छन् भने नयाँ दलले आफ्नो बर्जस्व जमाउन गरिरहेको रस्साकस्सीले चुनाव रोचक र पेचिलो बन्दै गएको छ ।  

यो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी चोइटिएको छ । रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ती पार्टी नेकपामा समाहित भएको छ भने संरक्षक रेशम चौधरीले नागरिक उन्मुक्ती नेपाल गठन गरेका छन् । चौधरीको पार्टी चुनावी गठबन्धन गरेर मैदानमा छ ।  

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र रास्वपा गरी चार दलबीच ५ वटा निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा रहेको आकलन गरिएको छ । कैलाली निर्वाचन क्षेत्र २ मा नागरिक उन्मुक्ती पार्टी नेपाल पनि बलियो प्रतिस्पर्धीको रुपमा देखिएको स्थानिय मतदाता बताउँछन् । ५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, रास्वपा, नेकपा र नागरिक उन्मुक्ति नेपालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।  

कैलालीमा प्रत्येक निर्वाचनमा नतिजा फेरबदल हुँदै आएको छ । २०७४ सालमा एमाले र तत्कालिन माओवादी केन्द्रले २-२ स्थान र राजपाले १ स्थानमा निर्वाचन जितेका थिए । कैलाली १ मा राजपाबाट रेशम चौधरी निर्वाचित भएपनि उनी फरार सुचिमा भएकाले संसद् प्रवेश गर्न पाएनन् । एमालेले कैलाली २ र कैलाली ५ मा र तत्कालिन माओवादी केन्द्रले कैलाली ३ र ४ मा जित हासिल गरेको थियो ।  

कैलालीमा ०७४ को निर्वाचनमा शुन्य बनेपनि कांग्रेसले २०७९ को निर्वाचनमा २ स्थानमा जित निकाल्यो । बाँकी तीन स्थानमा भने नागरिक उन्मुक्ती पार्टीले बाजी मार्यो । ०७९ मा एमाले र माओवादी केन्द्र शुन्यमा रहे ।  

तीन वर्षमै भैरहेको यो पटकको निर्वाचनमा पुराना राजनीतिक दललाई रास्वपाले चुनौती दिएको छ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलाली प्रदेशको अस्थायी र स्थायी राजधानी पनि हो । सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रमध्ये पाँचवटा निर्वाचन क्षेत्र रहेको यो जिल्लाको नतिजाले प्रदेशमै कुन दल ठूलो हुने समेत निर्धारण गर्न सक्छ ।  

सवै दलका उम्मेदवारहरु आफ्ना ऐजेण्डासहित मतदातालाई फकाउन घरदैलो अभियानमा व्यस्त छन् । सुदूरपश्चिमका नौ जिल्लामा १७ लाख १६ हजार ६६० मतदाता रहेको कैलालीमा मात्र पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।  

कैलाली- १

कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस २०५६ र नेकपा (एमाले) २०५१ सालको बिरासत फर्काउने दाउमा छन् । यहाँ त्यसयताका संसदीय चुनावमा दुई दलले जितेका छैनन्। टीकापुर हत्या घटनाको दोषीको रुपमा जेलमा रहेकै अवस्थामा रेशम चौधरीले आफू संरक्षक र पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टी गठन गरे । २०७९ मा यो पार्टी बाट रञ्जिता श्रेष्ठ निर्वाचित भईन् । अहिले नगारिक उन्मुक्ती पार्टी छिन्नभिन्न बनेको छ ।

नागरिक उन्मुक्ति नेकपामा समाहित भएको छ भने उसका केही नेता राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीमा गएका छन् । रेशमले छुट्टै दल नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले बिरासत फर्काउने दाउमा छन्। यस क्षेत्रमा नेकपा वलियो प्रतिस्पर्धी रुपमा रहेको स्थानिय बताउँछन्।  

कांग्रेसबाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका जनकराज चौधरी र एमालेबाट द्वारिकाप्रसाद न्यौपाने चुनावी मैदानमा छन्। नेकपाबाट नाउपाकै पूर्वनेता रामलाल डगौरा प्रतिस्पर्धामा छन्। यो क्षेत्रबाट उम्मेदवारी दिएका रेशम चौधरीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको छ । रेशमको पार्टीले स्वतन्त्र उम्मेदवार फागुराम डगौरालाई समर्थन गरेको छ । रास्वपाबाट पनि तत्कालीन नाउपाका कोषाध्यक्ष कोमल ज्ञवाली उठेका छन्।  

त्यसबेलाका नागरिक उन्मुक्ती पार्टीका जिल्ला अध्यक्ष प्रदिप चौधरी उज्यालो नेपाल पार्टी, नाउपामै आवद्ध बिमलकुमार डगौरा श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ जना प्रतिस्पर्धामा छन् ।

गतनिर्वाचनमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादी केन्द्रको समर्थनमा कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत र एमालेका तपेन्द्रबहादुर रावलले पाँच हजार ९१० मत पाएका थिए । समानुपातिकतर्फ नाउपाले २७ हजार ४०६, कांग्रेसले ११ हजार ३९५, तत्कालीन माओवादी केन्द्रले सात हजार ९९२, एमालेले पाँच हजार २१५ र एकीकृत समाजवादीले ७३३ मत पाएका थिए ।

कैलाली- २  

कांग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सूर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउँद चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै रास्वपाले युवा अभियान्ता केपी खनाल र रेशमको नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

२०७४ सालमा नेकपा एमालेका झपट रावल र २०७९ मा नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी निर्वाचित भएको कैलाली निर्वाचन क्षेत्र २ मा नेकपा एमाले, नागरिक उन्मुक्ती पार्टी नेपाल, नेपाली कांग्रेस, रास्वपा र नेकपाबीच नै प्रतिस्पर्धा देखिएको छ। एमालेका सूर्यबहादुर थापा, नागरिक उन्मुक्ती पार्टी नेपालका पतिराम चौधरी र रास्वपाका केपी खनालबीच मुख्य प्रतिस्पर्धा रहको स्थानीय मतदाताको बुझाई छ।

गतनिर्वाचनमा अरुण चौधरी २१ हजार ८७१ मत ल्याएर निर्वाचित हुँदा एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका थिए । कांग्रेसको समर्थन पाएका तत्कालीन माओवादी केन्द्रका भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका थिए ।  

समानुपातिकतर्फ नागरिक उन्मुक्तिले १९ हजार ५९७ मत, एमालेले १२ हजार ८१८, कांग्रेसले १० हजार १७९ र माओवादीले सात हजार १६९ मत पाएको थियो । 

कैलाली- ३

कैलाली क्षेत्र नम्बर ३ मा नेकपा, रास्वपा, नेकपा एमाले र नेपाली काग्रेसबीच प्रतिस्पर्धा देखिन्छ । रास्वपाका जगतप्रसाद जोशी वलियो प्रतिस्पर्धीको रुपमा देखिरहेको स्थानिय मतदाता बताउँछन् । थारु मतदाताको बाहुल्यता रहेको यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारलाई पनि चासोको साथ हेरिएको छ।  

२०७० र २०७४ मा यो क्षेत्रमा माओवादीबाट निर्वाचित भएका गौरीशंकर चौधरी यो निर्वाचनमा एमालेबाट चुनावी मैदानमा छन् । चौधरी गत चुनावमा एमालेबाट उम्मेदवार बनेर पराजित भएका थिए । कांग्रेसबाट जिल्ला उपसभापति भीमबहादुर बडुवाल, नेकपाबाट पूर्वप्रदेश सभा सदस्य वीरमान चौधरी पनि मैदानमा छन्। नागरिक उन्मुक्ति नेपालले भने यो निर्वाचनमा बिक्रम चौधरीलाई प्रतिस्पर्धामा उतारेको छ।

गतनिर्वाचनमा ७ हजार ४५ मत ल्याएका राप्रपाका वीरेन्द्रबहादुर बम यो पटक पनि मैदानमा छन्। कैलाली क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार छन् ।  

२०७९ मा नागरिक उन्मुक्ति पार्टी गंगाराम चौधरी २३ हजार १२० मत ल्याएर जितेका थिए।  माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ र एमालेका चौधरीले नौ हजार ८७४ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नागरिक उन्मुक्तिले २१ हजार ५४९, कांग्रेसले १० हजार ७, माओवादीले ८ हजार ४१६ र एमालेले सात हजार ५३१ मत पाएको थियो ।

कैलाली- ४  

कैलाली निर्वाचन क्षेत्र नं ४ मा एमालेका उपमहासचिव लेखराज भट्ट चुनावी मैदानमा रहेकाले चासोका साथ हेरिएको छ । २०६४ सालदेखि यस निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका भट्टले यस क्षेत्रमा २ पटक जितहात पारेका छन् भने २ पटक पराजय भोगेका छन्। गतनिर्वाचनमा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको नेपाली कांग्रेसका वीरबहादुर वलायरसँग गत चुनावमा पराजय भोगेका भट्ट यस पटक विरासत फर्काउने दाउमा छन्। घरदैलोमा व्यस्त भट्ट वलियो प्रतिस्पर्धीको रुपमा देखिएका छन्।  

२०६४ र २०७४ चुनावमा जित हासिल गरेका पूर्वमाओवादी नेता भट्ट २०७० कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका थिए । कैलाली ४ मा एमाले, काग्रेस, नेकपा र रास्वपाबीच प्रतिस्पर्धा रहेको छ ।  

नेपाली कांग्रेसबाट वीरबहादुर वलायरले चुनावी प्रतिस्पर्धा अस्विकार गरेकाले अमेरिका बस्दै आएका गोरखबहादुर बिष्टलाई सभापति गगन थापाले टिकट दिएका छन्। नेकपाबाट राष्ट्रिय सभाका पूर्वसदस्य हरिराम चौधरी, रास्वपाबाट खेमराज कोइराला सहित यो क्षेत्रमा एक स्वतन्त्र र १५ जना दलीय उम्मेदवार मैदानमा छन्।

२०७९ को चुनावमा कांग्रेसका वीरबहादुर बलायर २६ हजार २७५ मत ल्याएर विजयी भएका थिए । भट्टले २२ हजार ६६३ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले १९ हजार १७५, कांग्रेसले १६ हजार ७२७, नागरिक उन्मुक्तिले पाँच हजार ८५५ र माओवादीले पाँच हजार ३४२ पाएका थिए ।  

कैलाली- ५

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र ५ मा २०१५ यताको संसदीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले समेत जित हात पारेका छन् । सागंठनिक रुपमा बलियो रहेका कांग्रेस, एमाले र नेकपालाई नयाँ दल रास्वपाका उम्मेदवारले कडा चुनौती दिएका छन् ।  

चार दलका उम्मेदवारबीच यहाँ रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । कैलाली–५ मा अहिले मुख्य प्रतिस्पर्धामा रहेका ४ वटै दलका उम्मेदवार नयाँ अनुहार हुन् । काग्रेसबाट नरनारायण शाह(मनु), नेकपाबाट यज्ञराज ढुंगाना, नेकपाबाट प्रेम आले र रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी मैदानमा छन्।

शाह, ढुंगाना र चन्द संसदीय निर्वाचनमै पहिलो पटक उम्मेदवार बनेका हुन । डोटीबाट तीनपटक लगातार निर्वाचित भएका आले पनि यस क्षेत्रका लागि नयाँ अनुहार हुन् ।

१ लाख १० हजार ६ सय मतदाता रहेको यो निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको वडा नम्ब ६ र ९ पर्छन्। यस क्षेत्रमा बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १५ जनाचुनावी मैदानमा छन् ।

यस क्षेत्रमा प्रत्येक निर्वाचनमा चुनावी नतिजा फेरबदल हुँदै आएको छ । २०१५ सालयता भएका प्रजातान्त्रिक निर्वाचनमा (उपनिर्वाचनसहित) ९ पटक जनताले मतदान गर्ने अवसर पाएका छन्। कांग्रेसले ६ पटक, एमालेले २ पटक र नेकपा माओवादीले एक पटक याहाँ निर्वाचनमा जितहात पारेका छन्। नेपालमा पहिलो पटक प्रजातान्त्रिक निर्वाचन भएको २०१५ सालमा यस क्षेत्र बाट नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रजातन्त्र पुनस्र्थापना पछि वि.सं.२०४८ सालको निर्वाचनमा कांग्रेसका टेकबहादुर चोख्यालले जितेका थिए ।

२०५१ सालमा एमालेका महेश्वर पाठक, २०५६ मा कांग्रेसका टेकबहादुर चोख्याल निर्वाचित भएका थिए । २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा नेकपा माओवादीका लिला भण्डारी र २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा कांग्रेसका शेरबहादुर देउवा निर्वाचित भएका थिए । डडेल्धुरा र साविक कैलाली–६ बाट निर्वाचित भएका देउवाले छोडेपछि भएको उपनिर्वाचनमा काग्रेसकै पुष्करनाथ ओझाले बाजी मारेका थिए । २०७४ सालमा भने देउवा पत्नी आरजु देउवालाई हराउँदै नेकपा माओवादीसँग गठबन्धन रहेको नेकपा एमालेका नारदमुनी राना निर्वाचित भएका थिए । २०७९ सालमा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका थिए ।

०७९ सालको निर्वाचनमा नेकपा माओवादी र एकिकृत समाजवादीसँगको गठबन्धनमा चुनाव लडेका नेपाली कांग्रेसका पन्त २१ हजार ३ सय २ मत पाएर विजयी भएका थिए । एमालेका रानाले २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा समानुपातिकमा कांग्रेसले १५ हजार १ सय १७, एमालेले १४ हजार ३ सय २१, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय ३६ र रास्वपाले ४ हजार ४ सय ५५ मत प्राप्त गरेका थिए । 

प्रकाशित: १६ फाल्गुन २०८२ १७:३५ शनिबार





Source link

Leave a Comment