‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भइसकेका मुकेश काफ्ले उम्मेदवारी मनोनयन अघिसम्म पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउँथे । कांग्रेसमा भएको नेतृत्व परिवर्तन र महोत्तरीका जनताको आग्रहले पेसा छाडेर राजनीतिमा आएको बताउने उनले जनताको सवाललाई संसद्‍मा उठाउने बताउछन् । उनीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले महोत्तरीको खयरमारामा गरेको कुराकानीको सम्पादित अंश :  

करि १३ वर्ष प्राध्यापन अवधि बाँकी हुँदै चटक्क त्यसलाई छाडेर कसरी उम्मेदवार बन्ने निर्णय लिनुभयो ?

म प्राध्यापन पेसामै थिए । मैले केही समय विद्युत् प्राधिकरणमा सञ्चालक समिति सदस्य र कार्यकारी निर्देशक भूमिकामा रहेर काम गरे । र प्राध्यापन पेसामा रहदैका बखत म केही समाजसेवामा पनि संलग्न थिए ।

म पुल्चोक क्याम्पसमै २०५३ देखि २०५५ सालमा स्वतन्त्र विद्यार्थी युनियन सभापति भएर काम गरे । नेविसंघबाट मैले जितेको थिए । राजनीतिक पृष्ठभूमि थियो तर राजनीतिक गतिविधिलाई मैले सुषुप्त रूपमा नै राखेको थिए ।

कांग्रेस भित्रको परिस्थिति बदलिएपछि विशेष महाधिवेशनबाट राजनीतिक नेतृत्व परिवर्तन भएको सबैलाई थाह छ । विद्यार्थी राजनीतिमा गगन थापा त्रिचन्द्रमा रहँदा म पुल्चोक क्याम्पसमा थिए । गगन थापा पार्टी सभापति भैसकेपछि उहाले नै ‘हामी समकालीन राजनीतिमा थियौ, अब चुनाव लडिदिनुपर्‍यो’ भनेर अनुरोध गर्नुभयो ।

उहाँको अनुरोध र यहाँका जनताहरूको चाहनालाई सम्मान गर्दै मैले उम्मेदवारी दिएको हो । बाहिरबाट हेर्दा एकाएक राजीनामा दिएर उम्मेदवार बनेको भए पनि केही पृष्ठभूमि थियो । त्यसैको आधारमा जनताहरूको माग र पार्टी नेतृत्वको अनुरोध स्वीकार गरेर म निर्वाचनमा आएको हो ।

पेसाकर्मीहरू नै यसरी राजनीतिमा लाग्नुको कारण के होला ? पेसामा सक्रिय भएर पनि त समाजसेवा गर्न सकिन्थ्यो होला ?

पेसाबाट समाजसेवा गरियो । त्यसको क्षेत्र सिमित थियो । अब राजनीतिमा आउनुको चाहना पनि सेवा नै हो । अझ फराकिलो दायरा र फराकिलो भूमिकामा सेवा नै गर्ने चाहना हो ।

मेरो क्षेत्र उर्जा र जलस्रोत नै हो । मैले भोलि संसद्‍मा प्रतिनिधित्व गरिरहँदा यो क्षेत्रको विकासमा अझै गर्नुपर्ने धेरै कामहरू छ । नीतिगत सुधारका कामहरू छन् ।

राजनीति अलि गलत ट्रयाकमा गएकै छ । गलत ट्रयाकलाई सुधार्न पनि हाम्रो भूमिका हुन सक्छ भन्ने मलाई लाग्छ । जेन्जी आन्दोलनपछि युवा पुस्तामा आएको नैराश्यतालाई चिर्न आवश्यक छ । देशलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन जरुरी छ ।

तपाईका एजेन्डाहरू के-के छन् ?

हामीले राजनीतिक क्रान्तिका कुराहरू मात्रै गर्‍यौं । त्यसले मात्रै मुलुक अगाडि बढ्न सक्दैन । औद्योगिकरण र विश्वव्यापीकरणको युगमा मुलुकलाई अगाडि बढाउन स्पष्ट मार्गचित्र सहित एउटा आर्थिक विकासको खाका नकोरी हामीले जनताको चाहना सम्बोधन गर्न सक्दैनौं ।

हामीले मुलुकलाई कस्तो बनाउने भन्ने बहस चलिरहेको छ । मैले भन्ने गरेको छु, पाँच वर्षभित्र धेरै काम गरेर यहाँ रामराज्य बन्छ, कायापलट बन्छ भनेर जनतालाई झुटो आश्वासन दिन चाहदैनौं ।

हामी घरघरमा जाँदा थाह पायौं, जनतालाई नेता भन्ने शब्दसँग दिग्दारी र निराशा छ । उनीहरूलाई नेता भनेको केवल झुट बोल्ने एउटा प्राणी जस्तो लागिरहेको छ ।

अब नेता आउँदा जनताहरू घरभित्र लुक्ने होइन कि घरबाहिर आएर हाम्रो नेता आउनुभएछ भन्ने एउटा वातावरण सिर्जना गर्नुपर्छ । त्यसका लागि जनतालाई जनताप्रति एउटा विश्वास जगाउने र भरोसा गर्न लायक मुलुक बनाउने सोच हो ।

युवा पुस्ताले यो मुलुकमा भविष्यमा हामी केही गर्न सक्छौं । हाम्रो सन्ततिका लागि एउटा भरोसा गर्न लायक मुलुक बनाउन सकिन्छ भन्ने संकल्प र योजनाका साथ म राजनीतिमा आएको हुँ । मैले पढेको ज्ञान, सिपलाई अब फरक ढंगले देशको समृद्धिका निम्ति लगाउने मेरो सोच हो ।

नेपाल विद्युत् प्राधिकरणका दुई पूर्व नेतृत्व नै राजनीतिमा आउनुभयो । कुलमान घिसिङ आउनुभयो, तपाई आउनुभयो । संयोग मात्रै हो कि अरू केही कारण होला ?

अरुको कुरा थाहा भएन । म राजनीतिक पृष्ठभूमिकै मान्छे थिए, विद्यार्थी राजनीतिमा संलग्न थिएँ । तर मैले राजनीतिलाई सुसूप्त अवस्थामा राखेर म पेसागत रूपमा अगाडि बढेको थिएँ ।

किनभने एक चरणसम्म मैले आफ्नो ज्ञान सिपलाई पेसागत हिसाब लगाउनपर्छ र आफूलाई पेसागत रूपमा दक्ष बनाउन पर्छ भन्ने सोचका साथ अघि बढेँ । अब ५० वर्षको उमेर भइसक्यो र यो हिसाबमा जुन दक्षता हासिल गरे, जुन ज्ञान हासिल गरे, अब यसलाई फरक ढंगले मुलुकको विकासमा लगाउने मात्रै मेरो सोच हो ।

अरूले के सोच्नुभयो ?  अरूको विषय भयो । म अरूको चाहनालाई पनि सम्मान गर्न चाहन्छु । तर अब आफ्नो चाहिँ एउटा पृष्ठभूमिले पनि काम गरेको र मैले यो क्षेत्रमा त्यहाँरहँदै पनि धेरै विकास निर्माणका कामहरू गरेको थिए । जनताका समस्याहरूलाई सम्बोधन गर्ने काम गरेकै थिए ।

यहाँका जनताको अपेक्षा के-के रहेछ ?

यहाँ शिक्षा, स्वास्थ्य, कृषिका सवालहरू छन् । यी सबैहरूमा म संलग्न थिएँ । मेरो आफ्नो इच्छा भन्दा यहाँका जनताहरूको ठूलो चाहना थियो ‘राजनीतिमा आइदिनुपर्छ’ भन्ने । त्यो चाहनामा पार्टी नेतृत्वले पनि अनुरोधले मलाई यहाँ ल्याएको छ र अहिले मैले जनताबाट धेरै न्यानो माया पाएको छु ।

स्थानीय विकासको अपेक्षा पनि जनताहरूले राखेका छन् । मैले शिक्षाको सवाललाई मूलभूत रूपमा उठाउनेछु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अत्यन्त कमजोर छ, त्यसलाई सुधार्नु पहिलो आवश्यकता हो ।

जनताले केही अपेक्षा पनि गरेका छन् । यो क्षेत्र धेरै पछाडि पर्‍यो, विगतका जनप्रतिनिधिहरू अपेक्षाकृत विकासको अनुभूति दिलाउन सकेनन् । म कसैलाई दोषारोपण गर्न चाहन्न, तर अपेक्षाकृत गर्न सक्नुभएन । जनतालाई ‘आफ्नो नेता छ’ भन्ने अनुभूत हुन सकेन ।

अब त्यो खाडललाई मैले पुर्ने  प्रयत्न गर्नेछु । यहाँका नागरिकहरूलाई गर्व गर्न लायक एउटा नेता पठाएछौं भन्ने आभास दिलाउने प्रयासमा छु ।

यो क्षेत्रमा अरू पनि बलिया प्रतिस्पर्धी छन् । तपाईले आफूलाई कसरी फरक र एजेन्डा केन्द्रित देखाउनुहुन्छ ?

मेरो प्रतिस्पर्धी उम्मेदवारहरू प्रति सम्मान छ तर उहाँहरूले विगतमा धेरै पटक नेतृत्व गर्नुभयो । उहाँहरूको जनतामाझ जाने परिस्थिति नै छैन । किनभने तीन पटक जित्नुभएका मेरा उमेरका हिसाबले प्रतिस्पर्धी अग्रजहरू जनताको घर दैलोमा गएर मत माग्ने परिस्थिति छैन ।

मैले त्यो अनुभूत गरेको छु । म जनताको घरघरमा गएको छु । कार्यक्रमका आधारमा, विचारका आधारमा हामी अगाडि बढ्दा जनताबाट जुन उत्साह पाएका छौं, त्यसले उत्साहित बनाएको छ । निर्वाचन हो, जनताको मतको हामी कदर गर्छौं । जेनजी आन्दोलनपछि जनतामा देखिएको परिवर्तनको चाहनालाई पुराना प्रतिस्पर्धी उम्मेदवारहरूले पूरा गर्न सक्ने अवस्था छैन ।

तपाईंले पुराना भनिरहँदा नयाँ दल र उम्मेदवार पनि त आएका छन् । उनीहरू त झन् नयाँ छन् होइन र ?

नयाँ मात्रैको परिचय पर्याप्त छैन । दृष्टिकोणमा नयाँ हुनुपर्‍यो, पार्टीहरू आफैंमा नयाँ/पुरानो भन्दापनि नेतृत्व र विचार नयाँ हुनसक्छ । मैले त्यो आधारमा भनेको हो । अरू नयाँ भनिने दलहरुका उम्मेदवार साथीहरूप्रति म त्यति धेरै चाहिँ आकर्षण देख्दिन । यद्यपि कसैलाई पनि अब राजनीतिमा नजरअन्दाज गरेर हेर्ने कुरा स्वाभाविक नहोला ।

यी सबै परिवेशमा पुराना दलहरूले पुरानै नेतृत्वलाई चाही अगाडी सारेको अवस्था छ । त्यो नेतृत्वप्रति जनताको विकर्षण नै रहेको अवस्था छ । नयाँ भनिएका दलहरूले अगाडि सार्नु भएको उम्मेदवारहरूको विगतप्रति जनताहरुको त्यति अभिरुचि नभएको देखिन्छ ।

अहिले हाम्रो पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ । यस क्षेत्रमा विगतमा कांग्रेस निर्वाचित हुन नसक्नुमा पार्टी भित्रको आन्तरिक कलह पनि कारण थियो । किनभने कांग्रेसको संगठन यहाँ कमजोर थिएन तर आन्तरिक कलह थियो ।

अहिले त्यो कलह सबै मेटिएर अभूतपूर्व एकता छ । विगतमा अब हाम्रै बर्दिबास नगरपालिकामा स्वतन्त्र रूपमा उम्मेदवार हुनुभएका मेयर पनि पार्टीमा आइसकेपछि कांग्रेस एक ढिक्का भएको छ । त्यसले पनि हामीलाई निर्वाचित हुनेमा उन्मुख गराएको छ ।

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

अन्त्यमा यहाँले जनताका केके एजेन्डा चाहिँ संसद्‍मा पुर्‍याउनेछु भनेर बाचा गर्नुभएको छ ?

हामीले चार/पाँच वटा विषय चाहिँ राखेका छौं स्थानीय स्तरमा । कांग्रेसले प्रतिज्ञापत्र मार्फत ‘भिजन टेन’ सार्वजनिक गरिसकेको छ । त्यो एउटा राष्ट्रिय मुद्दा हो । यो संघीय संसद निर्वाचन भएको हुनाले अब संसदको काम राष्ट्रिय नीतिका सन्दर्भमा बहस गर्ने, कानुन निर्माण गर्ने हो ।

स्थानीय विकासको अपेक्षा पनि जनताहरूले राखेका छन् । मैले शिक्षाको सवाललाई मूलभूत रूपमा उठाउनेछु । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर अत्यन्त कमजोर छ, त्यसलाई सुधार्नु पहिलो आवश्यकता हो ।

कृषि यहाँको मूल आधार हो । उखु किसानले आफ्नो उत्पादनको मूल्य पाएका छैनन् । विद्युतीकरणमार्फत सिँचाइ व्यवस्था गरेर १२ महिना पानी उपलब्ध गराउनुपर्नेछ ।

यहाँ स्वास्थ्य सेवा सरल रूपमा उपलब्ध गराउनुपर्नेछ । बिरामी पर्नासाथ काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । बर्दिवासमा प्रस्तावित मेडिकल कलेजलाई पाँच वर्षसम्ममा सम्पन्न गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता छ ।

गौशालामा रहेको इन्जिनियरिङ कलेजलाई व्यवस्थित गरेर यहाँका नागरिक इन्जिनियर पढ्न अन्यत्र काठमाडौं जाने अवस्थाको अन्त्य गर्नुपर्छ । हामीले रातु खोला र मरिन खोला संरक्षण गर्ने अभियान चलाएका छौं ।

कृषि यहाँको मूल आधार हो । उखु किसानले आफ्नो उत्पादनको मूल्य पाएका छैनन् । विद्युतीकरणमार्फत सिँचाइ व्यवस्था गरेर १२ महिना पानी उपलब्ध गराउनुपर्नेछ ।

यी सबै विषयहरूलाई हामी संसद्‍मा उठाउने छौं र मूलभूत रूपमा तपाईंहरूले सुन्ने र बुझ्नेगरी मैले संसद्‍मा उठाउने छु, सरकारलाई झकझकाउनु छु । त्यही प्रतिज्ञाका साथ म निर्वाचनमा आएको छु ।





Source link

Leave a Comment