सुनसान चलिरहेको राष्ट्रिय लिग फुटबल


अखिल नेपाल फुटबल संघ (एन्फा) नै आन्तरिक विवाद र समस्यामा फसिरहँदा अहिले भइरहेको राष्ट्रिय लिगमा खासै कसैको चासो देखिएको छैन ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रिय लिग फुटबल खेल हुँदा दर्शकको उपस्थिति न्यून छ र टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुँदैन।
  • अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व अहिले अर्ली इलेक्सनमा व्यस्त छ र राष्ट्रिय लिगको प्रचारप्रसारमा ध्यान दिइरहेको छैन।
  • राष्ट्रिय लिगमा स्टार खेलाडीहरूको कमी, कम पुरस्कार र रेलिगेसन नहुँदा दर्शक र चासो कम भएको छ।

१५ फागुन, काठमाडौं । यही बुधबार र बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा राष्ट्रिय लिगको खेल बिहान १० बजे नै सुरु भयो । तर बिहानै खेल हुँदा दर्शक औंलामा गन्न सकिने खालको थियो ।

बुधबार लालिगुराँस एसोसिएसन र कांक्रेविहारबीचको खेलमा साधारण प्याफिटमा दर्शक नै थिएनन् । उक्त खेलमा लालिगुराँसले कांक्रेविहारलाई ४-१ ले हरायो ।

यस्तै बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले नव जनजागृति युवा क्लबलाई ७-० को फराकिलो अन्तरले हरायो । राष्ट्रिय लिगकै सबैभन्दा ठूलो जितको साक्षी हुने दर्शक खासै थिएनन् ।

यति ठुलो जितको पनि खासै चर्चा भने भएन ।

***

बिहीबारै राष्ट्रिय खेलकुद परिषद नेपाल परिसरमा भेटिएका एक कर्मचारी भन्दै थिए, ‘बेलुका केही सेकेन्ड बत्ती जाँदा रंगशालमा फ्लडलाइट चलाएको रहेछ भन्ने थाहा हुन्छ।’

त्यसैले त्यहाँ फुटबल भएको रहेछ भन्ने थाहा हुने उनले बताए । अरु बेला फुटबल हुन्छ कि हुँदैन खासै थाहा हुँदैन ।

न दर्शकहरूले नै राष्ट्रिय लिगलाई पछ्याएका छन् । न टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुन्छ, न कतै राम्रोसँग प्रचार प्रसार छ ।

***

नेपालको राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टले बिहीबार राष्ट्रिय लिगमा एनआरटीका लागि लगातार दोस्रो खेल खेले ।

उनले दशरथ रंगशालमा प्लानिङ ब्वाइज विरुद्ध पहिलो रोजाइमा खेल्दै टिमको कप्तानी नै गरे । यसअघि एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी विरुद्ध दोस्रो हाफमा मैदान उत्रेका थिए ।

तर अन्जन विष्ट खेलेको धेरैलाई जानकारी नै छैन । अन्जन आफू भने खेलअघि पनि निकै उत्साहित थिए दशरथ रंगशालमा खेल्नका लागि । एक फुटबल खेलाडीका लागि दशरथ रंगशालमा खेल्नुको अर्थ छुट्टै हुन्छ ।

खेलमा अन्जनले पूरा समय मैदानमा बिताए । तर टिमले जित हात पार्न भने सकेन । प्लानिङ ब्वाइजसँग एक गोलले पछि परेपनि एनआरटीले गोल फर्काउँदै बराबरी खेल्यो ।

खेलपछि रंगशाला परिसरमा भेटिएका अन्जन फिट भएर मैदान फर्कंदा खुशी त थिए तर उत्साह बनाउने खालको थिएन । राष्ट्रिय टिमको खेल हुँदा दर्शक र समर्थकको उपस्थिति धेरै हुन्थ्यो । त्यस्तो बेला खेलाडीलाई खेल्न पनि जोश हुन्छ । तर अहिले भने दर्शक नहुँदा दशरथ रंगशालमै खेल्दा पनि खेलाडीलाई त्यति उत्साह देखिएन ।

एनआरटीबाटै खेल्ने मनिष डाँगी भने चोटका कारण बिहीबार दर्शकदीर्घामा थिए । राष्ट्रिय लिगमा एनआरटीले ८ खेल खेल्दा मनिषले जम्मा ३ खेल मात्रै खेलेका छन् ।

सुनसान चलिरहेको राष्ट्रिय लिग फुटबल

***

१५ माघमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा विरुद्धको खेलपछि एनआरटीका मुख्य प्रशिक्षक जीवन सिन्केमानले अहिले दर्शकबिना खेल्ने बानी ने परिसकेको प्रतिक्रिया दिए ।

एनआरटी र संकटाबीचको न्युरोड डर्बीमा पनि खासै दर्शक नदेखिएको विषयमा जिज्ञासा राख्दा उनले यस्तो भनेका थिए । ‘साँच्दै भन्दा दर्शकबिना खेल्न बानी नै परिसकेको छ । किनभने हाम्रो त्यो खालको वातावरण ने क्रिएट गर्न सकेको छैन’ उनले भनेका थिए ।

***

कुनै बेला फुटबल मज्जाले फलो गर्ने दर्शकहरूले पनि ‘ए फुटबल भइरहेको छ र !’ भनेर आश्चर्य जनाइरहेका छन् । ‘पहिले ए डिभिजन लिग हुँदा दर्शकहरूको लाइन लाग्थ्यो । बेन्चमा बस्ने खेलाडीहरू समेत मज्जाले चिनिन्थ्यो । अहिले त मैदान उत्रेको एक खेलाडी पनि चिन्न मुस्किल रहेछ’ मनाङ मर्स्याङ्दी क्लबका डाईहर्ट समर्थकले एक दिन रंगशालमा हालैको राष्ट्रिय लिग खेल हेरेपछि भने ।

***

यी केही उदाहरण मात्र हुन् । अहिले विश्वकै सबैभन्दा चर्चित खेल फुटबल हो । नेपालमा पनि फुटबल सदाबाहर खेल नै हो । तर राष्ट्रिय लिग भइरहँदा पनि यसको खासै चर्चा हुन सकेको छैन । न लिग को चर्चा न खेलाडीहरूको चर्चा ।

न दर्शकहरूले नै राष्ट्रिय लिगलाई पछ्याएका छन् । न टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुन्छ, न कतै राम्रोसँग प्रचार प्रसार छ ।

भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकपको सुपर एट चरणको खेलहरू भइरहँदा प्रतिस्पर्धा र रोमाञ्चकता बढिरहेको छ भने कुन टिमले टी-२० विश्वकप जित्ला? भन्ने चासो र कौतुहलता सबैलाई छ । तर नेपालमै भइरहेको राष्ट्रिय लिग फुटबलको उपाधि कसले जित्ला भनेर कसैलाई चासो छैन ।

नेपालमा अहिले खेलकुदको सिजन जस्तै हो । विभिन्न खेलको प्रतियोगिताहरू चलिरहेकै छ । तर समग्र देश नै अहिले फागुन २१ मा हुने आम निर्वाचनको माहोलमा रहेकोले खेलकुदमा धेरैको खासै ध्यान जान सकेको छैन ।

त्यसमाथि अहिले नेपाली फुटबल ओरालो लागिरहेको छ र यस्तोमा राष्ट्रिय टिमको नतिजा पनि राम्रो आउन सकिरहेको छैन । त्यसमा पनि घरेलु फुटबलको बारेमा त धेरैलाई जानकारी पनि नहोला ।

अहिले भइरहेको राष्ट्रिय लिगमा १७ क्लबले प्रतिस्पर्धा गरिरहेको छन् ।

नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिग नभएको तीन सिजन भइसक्यो । त्यसैले धेरैले नेपालका अब फुटबलको लिग हुन्छ भन्ने कुरा नै बिर्सन लागिसकेका छन् ।

चुनावी माहोल अनि कमजोर बन्दै गरेको फुटबल संरचना र फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नै आन्तरिक विवाद र समस्यामा फसिरहँदा अहिले भइरहेको राष्ट्रिय लिगमा खासै कसैको चासो देखिएको छैन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फुटबल खेल चलिरहँदा त्यसको बाहिर हिँड्नेहरूलाई पनि खासै थाहा छैन । आज कुन टिमको खेल हुन्छ/भइरहेको छ भनेर उनीहरू नै प्रश्न गर्छन् ।

फुटबलमा भन्दा अर्ली इलेक्सनमा ध्यान

सुनसान चलिरहेको राष्ट्रिय लिग फुटबल

रंगशालामा खेल भइरहँदा एन्फाका पदाधिकारीहरू पनि खासै देखिँदैनन् । एन्फा नेतृत्वलाई अहिले एन्फाकै अर्ली इलेक्सन मज्जैले लागिरहेको छ ।

एन्फाको नेतृत्वलाई मैदनानमै भइरहेको फुटबलकझो खासै चासो देखिँदैन । अहिलेको नेतृत्व पेरि कसरी अर्को कार्यकाल हत्याउने र एन्फामा राज गर्ने भन्ने ध्यानमा छन् ।

एन्फाको केन्द्रिय समितमा रहेका केही पदाधिकारी तथा सदस्यहरू आफ्नो टिमको खेल हुँदा आक्कलझुक्कल मैदान वरपर देखिन्छन् । अझ विशेषगरी सातदोबाटोमै एन्फा मुख्यालय रहेकोले त्यहाँ खेल हुँदा देखिन्छन् । मैदानमा उपस्थित भएर एन्फा पदाधिकारीले विरलै खेल हेर्छन् । एन्फा प्रवक्ता सुरेश शाह बेला-बेला मात्र खेलको समयमा मैदानमा देखिन्छन् ।

एन्फा अध्यक्ष, महासचिवलगायत पदाधिकारीहरूलाई भने एन्फाको अर्ली इलेक्सनको समय मिलाउँदैमा व्यस्त देखिन्छ । २१ फागुनमा आम निर्वाचन तय भएकोले एन्फा केन्द्रिय कार्यसमितिको अर्ली इलेक्सनको मिति दुईपटक तोकिए पनि स्थगित भएको छ ।

तर २१ फागुनको निर्वाचन भएपछि कसरी हुन्छ एन्फाको निर्वाचन गर्ने ध्यानतिरै एन्फा नेतृत्व लागिरहेको देखिन्छ ।

‘ए डिभिजन लिग आयोजना गर्नुपर्ने बेला उहाँहरू अर्ली इलेक्सन भन्दै हिँडिरहनु भएकोछ । यसले फुटबलको विकासमा केही सहयोग पुग्दैन । देखाउनको लागि मात्र राष्ट्रिय लिग गरेजस्तो गर्नुभएको छ’ एन्फा फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले केही समयअघि अनलाइनखबरसँगको कुराकानीमा भनेका थिए ।

अहिले अर्ली इलेक्सनको विषयमा एन्फा पदाधिकारी देखि कार्यसमिति बाहिरका व्यक्तिहरू पनि बोलिरहेका छन्, यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ भने र । तर त्यही आवाज खेलाडी र लिगको विषयमा भने सानो सुनिन्छ । अहिले भइरहेको राष्ट्रिय लिगको बारेमा पनि कसैले खासै चर्चा गरेको देखिँदेन ।

एन्फाको ध्यान मैदानमा फुटबल खेल गराउने भन्दा मैदान बाहिरको चुनावी खेलमा छ । चुनावी खेलमा बाजी मार्दै फेरि अर्को कार्यकाल कुर्चीमा कसरी पुग्ने भन्ने चिन्ता छ । खेलाडीको चिन्ता पटक्कै छैन ।

किन छैनन् दर्शक?

राष्ट्रिय लिगमा काठमाडौंकै क्लबहरू छन् । एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलिस्ट चार क्लबबाहेक बाँकी १३ क्लब काठमाडौं र ललितपुरकै छन् । अझ न्युरोड आसपासमा एक भन्दा धेरै क्लबहरू छन् । डर्बी खेलमा पनि दर्शक खासै छैनन् ।

संकटा र एनआरटीबीच एन्फा कम्प्लेक्समा खेल हुँदा पनि केही सय दर्शक मात्र थिए । त्यसबेला एनआरटीका मुख्य प्रशिक्षक जीवन सिन्केमानले दर्शकका लागि तान्ने कुनै माध्यम नभएको बताएका थिए । ‘हाम्रो त्यो खालको वातावरण ने क्रिएट गर्न सकेको छैन, जिल्लाहरूमा छुट्टै माहोल छ । काठमाडौंमा फ्यानहरूमा इन्थुजियाजम छैन । फ्यानहरूमा त्यो खालको संस्कार देखाउन सकेको छैन’ संकटाविरुद्धको खेलपछि उनको प्रतिक्रिया हो यो ।

फ्यानहरूलाई आकर्षिक गर्नका लागि ग्रासरुटमा जानेदेखि मर्चन्डाइज बनाउनेसम्मको काम गर्नुपर्ने सिन्केमानले बताएका थिए। ‘ग्रासरूटमा युथमा कम्युनिटीमा कसरी इनगज गराउने मर्चेन्डाइजिङ कुरा आउँछ । त्यसले गर्दा फ्यान इनगेजमेन्ट हुने हो । पहिला थ्यो भनेर अहिले हुनै पर्छ भन्ने छैन । किनभने पहिला भएको चिजलाई काम गर्दै जानुपर्‍यो । त्यसमा मेनटेन गर्न सक्नुपर्छ’ उनले भने ।

यस्तै दशरथ रंगशालमा पनि दर्शकको उपस्थिति कम हुँदा त्रिभुवन आर्मी एफसीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दु:ख व्यक्त गरेका थिए । महर्जनले दर्शक नहुनुमा विभिन्न कारणहरू रहेको बताएका थिए ।

उनले टिकटको मूल्य धेरै भएको देखि प्रचार रसार नहुँदा दर्शक कम उपस्थित भएको प्रतिक्रिया दिएका थिए । ‘टिकट प्राइस पनि हाई जस्तो लाग्छ । टिभी च्यानलमा लाइभ छैन । पैसा तिरेर हेर्नुपर्छ’ महर्जनले भने, ‘क्लबहरूलाई पनि बोनस टिकट दिएर हुन्छ कि त्यसमा पहल गर्नुपर्ने ध्यान दिनुपर्ने हो ।’

प्रशिक्षक महर्जनले दर्शक कम हुँदा खेल्नलाई पनि नरमाइलो लाग्ने बताएका थिए । ‘थोरै दर्शक हुनु नरमाइलो नमज्जा हो’ आर्मीले श्री भगवतीलाई हराएपछि आर्मीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए ।

उनले दर्शकहरूलाई मैदानसम्म तान्नका लागि आकर्षक योजनाहरू ल्याउनुपर्ने बताएका थिए । ‘प्रचार प्रसारमा ध्यान दिनुपर्‍यो । दर्शकलाई उपस्थित गराउँन के गर्दा राम्रो हुन्छ, पुरस्कार वा गिफ्टहरू दिने हो । मोफसलमा त्यस किसिमले दर्शक आएको देख्छौं’ महर्जनले भने ।

यस्तै सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले दर्शक नहुँदा खेल्न पनि रमाइलो नहुने बताएका थिए । ‘दर्शक बिना त रमाइलो हुँदैन’ दशरथ रंगशालमा मनाङ मर्स्याङ्दीसँगको खेलपछि सातदोबाटोका साहुखलले भनेका थिए, ‘हाम्रो पार्ट गेम खेल्ने हो र गेमको क्वालिटी बढाउनपर्‍यो । दर्शककले खोजेको कुरा दिन सक्न पर्‍यो।’

सुनसान चलिरहेको राष्ट्रिय लिग फुटबल

आर्मीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेजस्तै अहिले भइरहेको लिगको प्रचार प्रसार त कतै छैन नै दर्शकहरूले प्रत्यक्ष प्रशारणमा हेर्नका लागि पनि सास्ती नै छ ।

यस्तै यसको प्रत्यक्ष प्रसारण पनि कुनै टेलिभिजन र युट्युबमा छैन । खेल हेर्न चाहने दर्शकल एमएसएम ओटीटी प्ल्टफर्ममा पैसा तिरेर हेर्नुपर्छ । लिगको कूल १३६ खेल हेर्नका लागि एक दर्शकले ९०० रुपैयाँ तिर्नुपर्छ । तर त्यहाँ प्रत्यक्ष प्रसारणको क्वालिटी पनि त्यति उत्कृष्ट छैन ।

फुटबलको खासै माहोल र चर्चा नभएको बेलामा टिकटको मुल्य पनि समयअनुकुल छैन । त्यसैले दर्शक पनि पैसा नै तिरेर खेल हेर्न जाने अवस्था छैन ।

राष्ट्रिय लिगमा स्टार खेलाडीहरू नहुनु, रेलिगेसन नहुनु अनि पुरस्कार कम हुनुले पनि यसको खासै आकर्षण देखिन सकेको छैन ।

कम पुरस्कार, छैनन् स्टार खेलाडी

यसअघि राष्ट्रिय लिग आयोजना हुँदा विजेताले पाउने पुरस्कार १ करोड थियो । दश वर्षपछि राष्ट्रिय लिग हुँदा पुरस्कार बढ्नुको साटो घटेर ५० लाखमा आइपुगेको छ ।

खासमा १० टिमले खेल्ने राष्ट्रिय लिगमा यस पटक टिम बढेर १७ भएको छ । रेलिगेसन पनि नहुने अनि पुरस्कार पनि थोरै र लगानी पनि नउठ्ने अवस्थामा भइरहेको अहिलेको राष्ट्रिय लिग खेल्नका लागि मात्र खेलेको जस्तो देखिएको छ ।

एन्फाका पदाधिकारी नै अहिले जुन हिसाबले राष्ट्रिय लिग भइरहेको छ त्यसमा खासै खुसी छैनन् । यस्तै राष्ट्रिय लिगमा त्यस्तो चमत्कार नै गर्न सक्ने स्टार खेलाडीहरू पनि छैनन् ।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ माल्दिभ्सको लिग खेल्न गएका छन् । इन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द हाल नेपालमै रहेपनि उनी राष्ट्रिय लिगमा कुनै टिममा अनुबन्ध छैनन् । मोफसलका केही प्रतियोगिता भने उनले चर्च ब्वाइजबाट खेलेका थिए ।

यस्तै राष्ट्रिय टिमका पहिलो रोजाइका डिफेन्डर अनन्त तामाङ, विंगर आयुष घलान बंगलादेशको लिग नै खेलिरहेका छन् । बंगलादेश गएका अन्जन सँगै एरिक विष्ट, योगेश गुरुङ, सनिश श्रेष्ठ लगायत राष्ट्रिय टिमका खेलाडीहरू राष्ट्रिय लिग खेल्न फर्किएपनि खासै प्रभाव देखाउन सकेका छैनन् ।

सुनसान चलिरहेको राष्ट्रिय लिग फुटबल

लिगमा स्टार खेलाडीहरू छैनन् । यस्तै यस पटक एक टिमले तीन विदेशी खेलाडी टिममा राख्न पाउने व्यवस्था अनुसार विदेशी खेलाडीहरू पनि खेलिरहेका छन् । तर उनीहरू पनि स्टार खेलाडी होइनन् अनि खासै प्रभाव देखाउन सकेका छैनन् ।

राष्ट्रिय टिममै रहेका अन्य दर्जन बढी खेलाडीहरू पनि लिगमा खेलिरहेका छैनन् । तर तीन खेलाडीको बारेमा धेरैलाई जानकारी नै छैन ।

नेपालमा नियमित लिग नहुँदा केही राम्रा खेलाडी पलायन भइसके भने भएका केही खेलाडी पनि यो लिगमा देखिएका छैनन् । नेपालका लागि पछिल्लो स्टार अन्जन विष्ट भर्खर मैदान फर्कँदैछन् ।

ए डिभिजन लिग नियमित नहुँदा खेलाडीहरू विदेश पलायन भइरहेका छन् । यस्तोमा राष्ट्रिय लिग हुँदा कम्तीमा खेलाडीले खेल्न त पाएका छन् भन्ने केही सकारात्मक पाटो रहेपनि अन्य कुनै उपलब्धि भने छैन ।

राष्ट्रिय लिग चलिरहेकै बेला बुधबार श्री भगवती क्लबका पहिलो रोजाइका गोलकिपर कृशल मोक्तानसहित डिफेन्डर दिपेश धिमाल र निर्मल बम अस्ट्रेलिया हानिए । राष्ट्रिय लिग भइरहँदा समेत खेलाडी विदेशिने क्रम रोकिएको छैन ।

ए डिभिजन लिगको छैन टुङ्गो

गत वैशाखमा धुलिखेलमा भएको एन्फाको साधारण सभाले ए डिभिजन लिग २०८२ पुसमा सुरु गर्ने निर्णय नै गरेको थियो । पछि एन्फाले होम एण्ड अवे फर्म्यटमा ए डिभिजन लिग गर्ने भनेर क्लबहरूसँग छलफल गर्‍यो ।

क्लबहरूले तत्काल यो सम्भव नभएको भन्दै एन्फालाई नै सुझाव दियो । एन्फा पनि राम्रो बाहना बनाएर यस बाट पछि हट्यो । ए डिभिजन लिग नहुने अवस्थामा एन्फाले क्लबसँग मिलेर राष्ट्रिय लिग गर्ने सहमति गर्‍यो । ए डिभिजनका हिमालयन शेर्पाबाहेक अहिले सबै १३ क्लबले राष्ट्रिय लिग खेलिरहेका छन् । यसमा एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चार टोली ले पनि खेलिरहेका छन् ।

क्लबहरूले ए डिभिजन लिग नै खेल्न चाहेपनि त्यो पूरा हुन सकेको छैन । एन्फाले राष्ट्रिय लिग सकाएको एक महिनापछि नै ए डिभिजन लिग गर्ने भनेर बाचा त गरेको छ तर त्यो पूरा हुने नहुने टङ्गो भने छैन ।

अहिले भइरहेको राष्ट्रिय लिग नै अर्को वर्ष २०८३ सम्म चल्ने अवस्था छ । यस्तोमा लिग सकाएर एक महिनापछि ए डिभिजन लिग गर्ने बेला वर्षा लागिसक्छ । यस्तै जेठ असारमा उत्तर अमेरिकामा फिफा विश्वकप भएकोले धेरैको ध्यान त्यता छ ।

असारमा हुनुपर्ने निर्वाचन नै अर्ली इलेक्सन भन्दै माघमा गर्ने एन्फाले निर्णय गरेको थियो । अदालत र सरकारको रोकका कारण निर्वाचनको मिति दुई पटक तय भएपनि तोकिएको समयमा नहुने भएको छ । आमनिर्वाचनपछि चैतमा एन्फा निर्वाचन गर्ने तयारीमा छ ।

एन्फाको ध्यान मैदानमा फुटबल खेल गराउने भन्दा मैदान बाहिरको चुनावी खेलमा छ । चुनावी खेलमा बाजी मार्दै फेरि अर्को कार्यकाल कुर्चीमा कसरी पुग्ने भन्ने चिन्ता छ । खेलाडीको चिन्ता पटक्कै छैन ।





Source link

Leave a Comment