काठमाडौं । फागुन २१ को निर्वाचनमा परम्परागत दलहरुलाई चुनौती दिनेगरी केही नयाँ राजनीतिक शक्तिहरूले आफूलाई प्रस्तुत गरिरहेका छन् । जेनजी आन्दोलनको म्याण्डेट परिवर्तन भएकाले नयाँ दल र तिनका उम्मेदवारहरुले जित्नुपर्ने उनीहरुको तर्क छ ।
यस्तै तर्क गर्ने मध्ये एक हुन्– कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकका रुपमा चर्चा कमाएका घिसिङले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी खोलेर चुनावमा होमिएका छन् । उनले आगामी चुनावपछि मुलधारको वैकल्पिक पार्टी बनाउने दाबी गरिरहेका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार घिसिङसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः
मन्त्री हुनुहुन्थ्यो, मन्त्री छाडेर सांसद बन्न दौडिरहनुभएको छ । किन ?
मन्त्री बन्नु मेरो व्यक्तिगत रुचि वा महत्वाकांक्षा थिएन । जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा देशलाई एउटा निकास र डेलिभरी चाहिएको थियो । त्यतिबेला सम्माननीय प्रधानमन्त्रीज्यू र आन्दोलनका साथीहरूले तपाईं जस्तो क्रेडिबल फेस आइदिनुपर्यो भनेर आग्रह गर्नुभयो । एउटा जिम्मेवार नागरिकको नाताले अप्ठ्यारो परेका बेला देशलाई सघाउनु कर्तव्य ठानेर सरकारमा गएको हुँ ।
मन्त्री बन्ने रुचि थिएन ?
सुरुमै प्रधानमन्त्रीज्यूलाई भनेको थिएँ– म पार्टी खोलेर चुनावमा जान्छु । उहाँले पार्टी खोल्नुस्, चुनावमा जाने छुट छँदैछ, केही समय मन्त्री हुनुस् भन्नुभयो । फेरि त्यसबेला एउटा भ्याकुम पनि थियो । त्यही भएर मैले जिम्मेवारी पनि लिएको हो ।
प्रधानमन्त्रीले पछि कुरा बदल्नु भयो, अप्ठ्यारो पार्नुभयो ?
होइन, होइन । राजीनामा दिएर निर्वाचनमा जाने भनेकै थियौ । एक दुई दिनको तलमाथि मात्र भएको हो । पार्टीमा जोडिएपछि राजीनामा दिएर जाने भन्ने हाम्रो अन्डरस्ट्यान्डिङ नै थियो ।
सरकारलाई बीचैमा छोडेर राजनीतिमा जाने अन्डरस्ट्यान्डिङ थियो ?
त्यो थियो, र हामीले मन्त्रिमण्डलमा गएर एउटा डेलिभरी पनि दियौं । तीनवटा मन्त्रालय सम्हालेर जनताले महसुस गर्नेगरी काम गर्यौं । चुनाव हुने वातावरण पनि बनायौं ।
मन्त्रीबाट विदाइ चाहिँ सुखद् हुन सकेन नि ?
टिप्पणी गर्नेले गर्नुभयो । अरु मन्त्रीको कुरा म जान्दिनँ । तर मसँग प्रधानमन्त्रीको प्रस्ट कुरा थियो– अहिले आइदिनुपर्यो, र चुनावमा राजीनामा दिएर जानुस् ।
र चुनाव हुने निश्चित भएपछि राजीनामा दिन्छु भनेकै थिएँ । बाहिर अर्कै ढङ्गले प्रचार भयो, तर हामी राजीनामाकै चरणमा थियौँ ।
दल बनाउने निश्चित थियो भने मन्त्री हुन किन जानुभयो ?
त्यतिबेला पोलिटिकल व्यक्तिहरु मन्त्री बन्ने अवस्था थिएन । समाजमा क्रेडिबिलिटी भएका फेसहरु समेटेर मन्त्रिपरिषद् बनाउने भन्ने थियो । तर सुरुमा धेरै साथीहरू मानिरहनुभएको थिएन । पहिलो व्यक्ति मै थिएँ, जसले यो चुनौती स्वीकार गरेँ । म गएपछि अरू साथीहरू पनि आउनुभयो ।
र अप्ठ्यारो स्थितिबाट देश चुनाव हुने स्थितिमा आयो । यसमा हाम्रो पनि ठूलो कन्ट्रिब्यूसन छ । तर व्यक्तिगत रूपमा मलाई बेफाइदा भएको छ । त्यही बेला पार्टी खोलेर चुनावमा जान्छु भनेको भए, पार्टी खोलेर आएको भए यो राष्ट्रिय स्वतन्त्र पार्टी र अरु कुनैपनि पार्टी हाम्रो पार्टी भन्दा अगाडि आउनेवाला थिएन । धेरै अगाडि जान्थ्यो हाम्रो पार्टी ।
तर पनि हामी असाध्यै राम्रो कम्पोजिसनमा छौं । तर सरकारमा नगइकन सिधै पार्टी खोलेर चुनावमा होमिएको भए, आज पार्टीको उचाइ अर्कै हुन्थ्यो ।
हो, त्यही भनिदैछ कि राजनीतिक गर्ने रहर भएको मान्छे मन्त्रीतिर किन ?
हामीले त समानुपातिक उम्मेदवारहरूको सूची समेत फिर्ता लिएर गरेको सहमति थियो । एउटा राजनीतिक दलका लागि त्यो कति ठूलो जोखिम हो, तपाईं आफैँ बुझ्नुहुन्छ ।
मेरो इच्छाले गएको होइन । देशको अप्ठ्यारो परिस्थितिमा गएको हो । जेनजीका प्रतिनिधि साथीहरुलाई सोधे पनि हुन्छ ।
तर सरकारमा गएपछि अर्काको पार्टीमा मिसिनुभयो, फेरि केही दिनमै फर्कनुभयो । उतारचढाब अलि संगतिपूर्ण देखिएन नि ?
उज्यालो नेपाल पार्टी हाम्रै संरक्षकत्वमा साथीहरूले खोल्नुभएको हो । मन्त्रिमण्डल छाडेपछि म यसकै नेतृत्वमा आउने कुरा प्रस्टै थियो । तर परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्छ भन्ने जनभावना र चाहना देखिएपछि हामी एकताको प्रक्रियामा गएका हौँ ।
तर त्यहाँ बस्नुभएन । भागबण्डा नमिलेर निस्किएको भन्ने सन्देश छ । के भएको हो ?
भागबण्डाको कुरै होइन । त्यहाँ त दुई जनाले पहिले नै पद बाँडिसक्नुभएको थियो– एकजना प्रधानमन्त्री, अर्को सभापति । मैले त साधारण सदस्य भएर बस्छु भन्दा पनि उहाँहरूलाई मेरो उपस्थिति थ्रेट जस्तो महसुस भयो होला ।
हामीले त समानुपातिक उम्मेदवारहरूको सूची समेत फिर्ता लिएर गरेको सहमति थियो । एउटा राजनीतिक दलका लागि त्यो कति ठूलो जोखिम हो, तपाईं आफैँ बुझ्नुहुन्छ ।
रास्वपासँगको त्यही एकता र फिर्ताले तपाईंप्रतिको आकर्षण असाध्यै तल झर्यो नि ?
हामी अहिले पनि उत्तिकै सशक्त पार्टीका रुपमा छौं । चुनावपछि हाम्रो पार्टी नै मुख्यधार पार्टी हुन्छ, विकल्पको रूपमा उदाउँछ ।
राजनीतिमा आउनुअघि तपाईंलाई जनताले हिरो मानेका थिए । राजनीतिमा आउनु किन परेको हो ?
मैलै आफ्नो क्षेत्रमा जुन परिवर्तन गरेँ, योगदान गरेँ, र जन विषयमा विज्ञता हासिल गरेँ । त्यसले एउटा क्षेत्रमा मात्र बसेर देशको समग्र रूपान्तरण सम्भव छैन भन्ने अनुभव गरेँ । राजनीतिक नेतृत्वमा परिवर्तन भएन भने देशमा आर्थिक रुपान्तरण हुन र सुशासन संभव छैन भन्ने मेरो बुझाइ हो ।
मैले धेरै प्रधानमन्त्री र मन्त्रीहरूसँग काम गरेको छु । अप्ठ्यारा निर्णयहरू लिएको छु, बर्खास्तीमा पनि परियो । सबै अनुभवबाट समग्र परिवर्तनका लागि राजनीतिक नेतृत्वमा जानुपर्छ, तब मात्र आर्थिक रूपान्तरण र सुशासन सम्भव छ भन्ने हो ।

त्यही तपाईँ जुन राजनीतिक नेतृत्वबाट निकास देख्नुभएन । त्यही नेतृत्व मुनि रहेर हिजो उर्जा क्षेत्रमा परिवर्तन गर्नुभएको होइन र ?
काम त गरियो, तर त्यसलाई टिकाउन कति गाह्रो हुन्छ भन्ने तपाईंले देख्नुभएकै छ । पटक–पटकको राजनीतिक हस्तक्षेपले सिस्टम भताभुङ्ग पारिदिन्छ । म पदमा रहँदा धेरै हस्तक्षेप रोकेँ, यस म्यान भएर कहिल्यै काम गरिनँ । तर म हट्नासाथ फेरि सिस्टम ब्याक हुने अवस्था आयो । राइट म्यान इन राइट प्लेस एउटा संस्थामा भएर पुग्दैन, सिङ्गो देशको संरचनामै हुनुपर्छ । त्यसको लागि पोलिटिकल विलपावर चाहिन्छ ।
यदि पोलिटिकल लिडरसीप सही भयो भने मात्र ओभरअल सिस्टम राम्रो हुन्छ । ब्यूरोक्रेसी पनि राम्रो हुनुपर्छ, तर ओभरअल पोलिटकल लिडरसीप नै हो ।
तपाईं एमडी हुँदा एउटा राजनीतिक धारले प्रष्टै साथ दिएको देखिन्थ्यो । त्यही दल, माओवादीका नेताहरुले पनि मन्त्री त बनाउने भनेको सुनिन्थ्यो । किन छुट्टै दल खोल्नुभएको ?
उहाँहरुको पालामा ल्याउनुभयो, मैले सधैं धन्यवाद दिएको छु । सम्मान गरेको छु । तर मलाई कसैले नियुक्त गर्यो वा फेभर गर्यो भन्दैमा म त्यो पार्टीको कार्यकर्ता होइन नि । म सुरुदेखि नै एउटा स्वतन्त्र र व्यावसायिक मान्छे हुँ ।
सबै किसिमको अँध्यारो र लोडसेडिङ हटाउनुपर्छ । सबभन्दा ठूलो अध्यारो राजनीतिमै छ । यो अँध्यारो हटाउनुपर्छ ।
कसैले मलाई यो पार्टीको भन्छ भने त्यो गलत हो । मैले विभिन्न सरकार र मन्त्रीहरूसँग काम गरेको छु । काम गर्ने सिलसिलामा धेरैपटक कन्फ्रन्टेसन पनि भएको छ । उहाँहरूको स्वार्थ अनुसार काम गर भन्दा मैले मानिनँ । गलत काम नगर्ने र आफ्नो निष्ठामा अडिग रहने मेरो स्वभाव छ । अब कुनै कालखण्डमा नियुक्ति पाएकै भरमा त्यही पार्टीको मान्छे हो भन्नु गलत हो ।
एउटा क्षेत्रमा सफल मान्छे, अर्को क्षेत्रमा पनि सफल हुन्छ भन्ने लाग्छ ?
विद्युतको लोडसेडिङ त हट्यो । तर देशमा धेरै किसिमको लोडसेडिङ छ, अँध्यारो छ । सबै किसिमको अँध्यारो र लोडसेडिङ हटाउनुपर्छ । सबभन्दा ठूलो अध्यारो राजनीतिमै छ । यो अँध्यारो हटाउनुपर्छ ।
३० वर्ष उर्जा क्षेत्रमा काम गरेँ, मन्त्रीसम्म भएँ । मैले यो देशको समस्या बुझेको छु । त्यो समस्या हल गर्न एउटा रोडम्याप तयार पारेका छौं । रोडम्याप त अरुले पनि तयार पार्छन् । हामीले रोडम्याप कसरी कार्यान्वयन गर्ने भन्ने पनि तयार पारेका छौं ।
अरुले दलहरुले पनि देशलाई सिंगापुर बनाउने रोडम्याप ल्याएकै हुन् विगतमा । तपाईंलाई विश्वास गर्छन् भने चुनौती किन लिनु भएको ?
मेरो जीवन चुनौतीहरूको शृङ्खला हो । म त्यहाँ मात्र जान्छु जहाँ ठूलो चुनौती हुन्छ, किनकी चुनौतीभित्रै अवसर र सफलता लुकेको हुन्छ । विद्युत प्राधिकरणमा जाँदा पनि अवस्था यस्तै थियो । तर परिणाम निकालेकै छु । राजनीतिमा आउनु मेरो लागि सबैभन्दा ठूलो रिस्क हो, तर देश परिवर्तनको लागि भिजन सहित आएको छु ।
हामीले द्रुत विकास दशक घोषणा गरेका छौँ । यो यतिकै सफल हुँदैन । यहाँका धेरै नियम कानुन अवरोध सिर्जना गर्ने खालका छन् । तिनलाई संशोधन गर्ने, खारेज गर्ने र कतिलाई फास्ट ट्रयाकमा लैजाने भन्ने नहेरीकन काम गर्छौं भन्यो भने संभव छैन ।
तर तपाईँले भनेका कुरा गर्न सरकारमा जानुपर्यो, बहुमत ल्याउनु पर्यो । त्यो असंभव छ नि ?
राजनीतिमा असम्भव भन्ने केही छैन । संभव छ भनेरै चुनावी मैदानमा उत्रिएका हौँ । तर केवल एउटा मन्त्री पद पड्काउन वा यो असफल प्रणालीको हिस्सा बन्न मात्र आएका होइनौं । यदि सरकारको नेतृत्व गर्ने जनमत पायौँ भने हाम्रा प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्छौँ । सरकारमा जान सकेनौँ भने पनि संसद्मा एउटा सशक्त प्रतिपक्षको रूपमा जनताको आवाज उठाउनेछौँ र हाम्रा एजेन्डाहरूलाई स्थापित गर्नेछौ ।
हङ पार्लियामेन्टको संभावना देखिन्छ । जतिखेर पनि मन्त्री बन्ने संभावना भोलि बन्न सक्छ । त्यस्तो सरकारमा नजाने ?
संसदमा सधैं जनताका तर्फबाट सशक्त आवाज उठाएर बस्छौँ ।
हामी न उग्र–वामपन्थी हौँ, न त दक्षिणपन्थी । मध्यमार्गीमा बसेर काम गर्छौं । आर्थिक हिसाबले उदार अर्थतन्त्र नै हो ।
देश बनाउछु, जनताको आवाज उठाउँछु भनिरहँदा तपाईँको विचाराधाराको पनि प्रश्न उठ्छ । तपाईँहरु उभिने ठाउँ कहाँ हो ?
नेपालमा सात सालदेखि धेरै दर्शन र विचारधारा आए । तर हरेक दश/बाह्र वर्षपछि जनताले परिवर्तन खोजिरहेका छन् । जनताले सधैँ परिवर्तन खोज्नुको कारण नेतृत्वको असफलता हो ।
राजनीतिक परिवर्तनमा नेताहरू सफल हुनुभयो । तर विकासका एजेन्डा जनताले सोचे जस्तो भएन ।
तर पनि विचारधाराको प्रश्न उठ्छ । हामी न उग्र–वामपन्थी हौँ, न त दक्षिणपन्थी । मध्यमार्गीमा बसेर काम गर्छौं । आर्थिक हिसाबले उदार अर्थतन्त्र नै हो । तर निश्चित क्षेत्रमा राज्यको संरक्षण हुनुपर्छ ।
उदाहरणका लागि, हाम्रा किसानले उत्पादन गरेका तरकारी र फलफूल सडकमा फाल्नुपर्ने तर विदेशबाट अर्बौँको आयात गरेर खानुपर्ने अवस्था छ । यस्तोमा राज्यले कृषि र स्वदेशी लगानीलाई संरक्षण गर्नैपर्छ । आइटी र नलेज बेस्ड उद्योगहरूलाई पनि राज्यले सुरक्षा दिनुपर्छ । अमेरिका जस्तो विकसित देशले त आफ्नो उत्पादन जोगाउन ट्याक्स लगाएर संरक्षण गर्छ भने नेपाल जस्तो देशमा टोटल्ली मार्केट बेस्ड भएर मात्र पुग्दैन । हामी संरक्षित उदारवादको बाटोमा हिँड्छौँ ।
संविधान, संघीयता, समानुपातिक समावेशिता जस्ता कुराहरुमा नि ?
घोषणापत्रमा यसबारे प्रष्ट लेखेका छौ । स्थानीय तहको संख्या घटाउनुपर्छ भनेका छौं, र त्यसलाई पार्टीविहीन प्रणाली बनाउनुपर्छ भनेका छौं । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ । यसले संघमा सरकार फेरिँदा पनि प्रदेशमा स्थिर सरकार बनाउन सकिन्छ ।
संघमा पनि सुधार हुनुपर्छ भनेका छौं । विज्ञहरुबाट मन्त्री बनाउँदा धेरै विकृति अन्त्य हुन सक्छ ।
चुनावी नतिजाबारे अनुमान के गर्नुभएको छ ?
पार्टी दर्ता भएको तीन महिनाभित्र १२१ ठाउँमा उम्मेदवारी दिएर समानुपातिक अर्को चिन्हमा लड्नुपर्ने अवस्था छ । पार्टी दर्ता भएको यति छोटो अवधिमा यति गर्नु भनेको धेरै ठूलो सफलता हो । धेरै ठाउँमा प्रतिस्पर्धामा छौं, र धेरै ठाउँमा जित्छौं पनि ।
तर हाम्रो प्रत्यक्षतर्फ चिम चिन्ह र समानुपातिकमा बासुरी चिन्ह छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्ने भएपछि समानुपातिकको उम्मेदवारी नै फिर्ता लिंयौ । किनभने रास्वपाकै समानुपातिक लिष्टमा हाम्रा केही साथीहरु परेपछि त्यो फिर्ता लिएका थियौं । पछि उहाँहरुले ब्रेक गर्नुभयो, र १२ दिनपछि हाम्रो छुट्टै पार्टी आएपछि समानुपातिक उम्मेदवार रहेन ।
अब प्रत्यक्ष तर्फ मात्र लड्नुपर्ने स्थिति आयो । तर जेन्जी आन्दोलनका घाइते र सहिद परिवारका साथीहरूले नेतृत्व गरेको राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरियो । राजेश पोर्तेल त्यसको सभापति हुनुहुन्थ्यो । उहाँहरुसँग एकता गरेपछि निर्वाचन चिह्न बासुरीमा हाम्रो पनि समानुपातिक नामहरु राख्यौं । र चिमलाई प्रत्यक्ष तर्फको चिन्ह बनायौं । तर पूर्वका पाँचथर, संखुवासभा, खोटाङमा बाँसुरी चिन्हमा पनि हाम्रो प्रत्यक्ष उम्मेदवार छन् ।
आगामी ५ वा १० वर्षमा तपाईंको नेतृत्वले नेपाललाई कहाँ पुर्याउँछ ? कुनै ठोस लक्ष्य छ ?
हामीसँग हावा गफ होइन, तथ्यांकमा आधारित रोडम्याप छ । ५ वर्षभित्र नेपालको जीडीपी ७० बिलियन डलर र १० वर्षभित्र १११ बिलियन डलर पुर्याउने ।
५ वर्षमा १२ हजार र १० वर्षमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने । १० वर्षमा १० हजार मेगावाट भन्दा बढी निर्यात गर्ने लक्ष्य छ ।
वार्षिक ९ लाख रोजगारी सिर्जना गर्ने र युवाहरूलाई कृषि स्टार्टअपमा आकर्षण गर्न बजार र नाफाको सुनिश्चितता गर्ने कुरा ल्याएका छौं ।
कृषिमा निश्चित संरक्षणको नीति लिन्छौँ ताकि नेपाली किसानले दूध र तरकारी सडकमा फाल्नु नपरोस् । युवाहरूले स्वदेशमै ५० हजार कमाउन सक्ने वातावरण नबनेसम्म उनीहरू विदेश जान रोकिँदैनन् । हामी त्यही सुनिश्चितताका लागि चुनावी मैदानमा छौँ । वार्षिक ३५ लाख पयर्टक भित्र्याउँछौं भनेका छौं । पर्यटनको हब बन्न सक्छ नेपाल । सवभन्दा धेरै रोजगार सिर्जना गर्न सकिने क्षेत्र आईटी हो ।
काठमाडौं–३ मा चाहिँ छुट्टै प्रतिबद्धता ल्याउनुभएको छ ? कि घोषणापत्रले नै पुग्छ ?
काठमाडौं–३ को अवस्था बत्तीमुनिको अँध्यारो जस्तै छ । मेलम्ची र सुन्दरीजल जस्ता पानीका मुख्य स्रोतहरू यहीँ छन्, तर सबैभन्दा बढी खानेपानीको समस्या यही छ । मेरो पहिलो प्रतिबद्धता भनेको यहाँका जनतालाई स्वच्छ र निरन्तर खानेपानीको व्यवस्था गर्नु हो ।
दोस्रो, बागमतीको पुनर्जीवन हो । सुन्दरीजलदेखि बग्ने बागमतीलाई नुहाउन सक्ने बागमती बनाउनुपर्छ । नदीका दुवै किनारमा बोटिङ गर्न मिल्ने र सुन्दर करिडोर बनाउने हाम्रो योजना छ । विदेशतिर कस्तो राम्रो सिटी हुन्छ । त्यहाँ बोटिङ गर्न मिल्छ । ठाउँठाउँमा चेक ड्याम बनाएर क्लिन वाटर बनायो भने ढल मिसिनै पाउँदैन । म सहरी विकास मन्त्री हुँदा ट्रिटमेन्ट प्लान्टहरू सुरु गरेका छौं ।
यहाँ बगेको खोला र किनार सफा हुँदा मात्रै काठमाडौं सफा हुन्छ । पशुपतिदेखि गोकर्णेश्वरसम्मको करिडोरलाई व्यवस्थित गरेर स्मार्ट सिटी र टुरिजम हबको रूपमा विकास गर्नुपर्नेछ ।
बौद्ध, पशुपतिनाथ, गोकर्णेश्वर, कागेश्वर, मनोहरा यो धार्मिक पर्यटक हुने ठाउँ भएकाले पर्यटकीय हबका रुपमा विकास गर्न सकिन्छ । खाली जग्गा पनि भएकाले सिटीको प्लानिङ गरेर स्मार्ट सिटीका रुपमा विकास गर्न सकिन्छ ।
चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
काठमाडौंका जनताले मात्र होइन, हामीलाई देशभरका जनताले विश्वास गर्नु हुनेछ । हामीले तीनवटा विषयलाई राखेर भोट मागिरहेका छौं ।
पहिलो– हामीले हिजो केही काम गरेर नतिजा देखाइसकेका छौँ । देश र जनताका लागि सेवा गरेका छौं । केही रिजल्ट दिइसकेका छौं, परीक्षित छौं । लोडसेडिङ अन्त्य गरेर अँध्यारो हटाएको इतिहास साक्षी छ ।
दोस्रो– यो जेनजीहरु संलग्न भएको र उनीहरुको माग सम्बोधन गर्ने पार्टी हो । यो पार्टीमा घाइते जेनजी र शहीद परिवारका सदस्यहरु हुनुहुन्छ । हाम्रो उपाध्यक्षले खुट्टा गुमाउनु भएको छ । जेनजीको माग सम्बोधन गर्न बनेको यो पार्टीले बलिदान र रगत दिएको छ ।
तेस्रो– देश बनाउने प्रष्ट रोडम्याप छ । यो देश ५ वर्षपछि कहाँ पुग्छ, दश वर्षपछि कहाँ पुग्छ, र २० वर्षमा कहाँ पुग्छौ भन्ने रोडम्याप ल्याएका छौं । रोडम्याप मात्र होइन, कार्यान्वयन कसरी गर्नुपर्छ भन्ने पनि ल्याएका छौं ।
सँगै, सुकुम्बासी, मिटरब्याजी, लघुवित्त र सहकारी पीडितका समस्या समाधान गर्न प्रतिबद्ध छौं ।
तर उज्यालो नेपाल पार्टी भन्नासाथ कुलमान घिसिङको सम्झना हुन्छ । एक्लो प्रयास मात्र देश बनाउन सकिन्छ त ?
कुलमान घिसिङ एउटा परिचय भएको मान्छे भएकाले त्यस्तो देख्नु भएको होला । तर हाम्रो पार्टीभित्र अनुभवी विज्ञहरू, ऊर्जावान् युवाहरू र जेन्जी आन्दोलनका वास्तविक सिपाहीहरू छन् । चुनाव उठेका धेरै उम्मेदवार आ–आफ्नो क्षेत्रमा विज्ञहरु हुनुहुन्छ । धेरै इन्जिनियर हुनुहुन्छ, धेरै डाक्टर र म्यानेजमेन्टका लिडरहरु हुनुहुन्छ । व्यवसाय र सामाजिक सेवामा राम्रो काम गरिरहेका मानिसहरु हुनुहुन्छ । म मिडियाका साथीहरुलाई पनि आग्रह गर्छु– हाम्रो उम्मेदवारहरुको पनि प्रचार गरिदिनुस्, छलफलमा ल्याइदिनुस् ।
फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर
