मधेसको राजनीतिलाई नजिकबाट निहाल्ने विश्लेषक चन्द्रकिशोर यस पटकको निर्वाचनलाई ‘अस्वाभाविक समयको स्वाभाविक प्रक्रिया’ मान्छन्। निर्वाचनको पूर्वसन्ध्यामा मधेसको फेरिँदो मनोविज्ञान, सेल्फी राजनीति र भीडको प्रभावका विषयमा उनले सूक्ष्म विश्लेषण गरेका छन्।
मधेस केन्द्रित दलहरूका लागि यो चुनाव ‘पतझरको मौसम’ भएको टिप्पणी गर्दै उनले मतदाताले यसपालि केवल निर्वाचित हुने नेता नभई वास्तविक ‘प्रतिनिधि’ खोजिरहेको बताएका छन्। मधेस प्रदेशको निर्वाचन रिपोटिङपछि राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग नागरिक टिमले गरेको कुराकानीको सम्पादित अंश:
चुनावी ज्वरोको तापक्रम विस्तारै घट्दै गइरहेको छ। एउटा हुरी यसरी आएको रहेछ कि एउटा हाँगा लाछ्यो या भाँच्यो, भुईँमा झर्ने प्रयास गर्यो। हुरी पछिको चुनावी माहोल हेर्दा केही सम्हालिएको देखिन्छ। यो चुनावमा मधेसको राजनीतिक र चुनावी परिस्थिति कस्तो हुन्छ ?
यो आवधिक निर्वाचन होइन। अस्वाभाविक समयको निर्वाचन हो। अस्वाभाविक समयको निर्वाचनमा स्वाभाविक रूपमा गरिने राजनीतिक प्रस्तुति न मतदाताको तर्फबाट हुनुपर्छ न राजनीति दलबाट हुनुपर्छ। मैले राजनीतिक दल किन भनिरहेको छु भने हामीले बहुदलीय व्यवस्था आत्मसात् गरिरहेका छौँ। कुनै एउटै दलको शासन पद्धति वा एउटै दल भएको परिकल्पना गरेका छैनौँ। बहुदलीयता भएपछि जनताप्रति जिम्मेवार हुनुपर्छ। जनता जितेको राजनीति हुनुपर्दछ।
निश्चित रूपमा एक प्रकारको ज्वरो थियो। ज्वरो के थियो भने जब मान्छेको देह(भौतिक शरीर)मा कुनै संरचनागत समस्याहरू आउँछन् त्यो ज्वरोको रूपमा प्रकट हुन्छ। ज्वरो आफैमा रोग होइन। रोग आउने संकेत हो सूचक हो। यहाँ पनि राजनीतिक बेथिति विसंगतिहरूका असन्तुष्टि र उकुसमुकुसको एक प्रकारको ज्वरो आएको थियो। ज्वरोको रूपमा संकेत दियो तर मानिसहरू त्यो ज्वरोप्रति नै सम्मोहित हुने अवस्था आयो। तर राजनीतिमा भीड र मतको मनोविज्ञान फरक विषय हुन।
भीडको मनोविज्ञान के हो भने नेताको क्यामेराको लेन्सभित्र म अटाउँछु कि अटाउँदिन। लेन्समा म परे कि परिन भन्ने कुरा हुन्छ भीडको मनोविज्ञान। र, नेताको लेन्समा परे भने सबै समस्याको समाधान हुन्छ भने एक खाले बुझाई हुन्छ। त्यसमै सन्तुष्टि महसुस गर्छन्, भीड। त्यसैकारण भीड छिचोलेर नेताको सेल्फीमा कैद हुन खोज्छन्, रमाउन खोज्छन्। केही समय अगाडि देखिएको भीड राजनीतिको मुड सेल्फी राजनीति थियो। तर, चुनाव भनेको केवल सेल्फी मुड मात्र होइन। जब तर्क, बहस र एजेन्डाको खोजी गर्न थालियो त्यसपछि दुई प्रवृत्ति देखा परे। एउटा प्रवृत्तिले केवल भन्छ कि म परिणाम दिन्छु, मेरो पार्टीलाई समर्थन गर। अर्को प्रवृत्तिले भन्छ मसँग प्रक्रिया छ र यो प्रक्रिया समायो भने परिणाम पुगिन्छ। त्यहाँ तर्कको कुरा हुन्छ, छलफलको कुरा हुन्छ , दोहोरो कुराकानी हुन्छ। त्यहाँ एकातर्फ मर्जी हुँदैन, केवल दर्शन दिने कुरा हुँदैन। म तफाईंको माझमा आए भनेर केवल दर्शन दिने कुरा हुँदैन। उनले जनताका कुरा सुन्छन्, दोहोरो संवाद हुन्छ। चुनाव भनेको राजनीति गाउँमा पुग्नु हो। ज्वरोको तापक्रम विस्तारै घट्दै गइरहेको छ।
अहिले पुस्तान्तरण भएको भनिएको दल, पुस्तान्तरण गर्छु भन्ने दल, मधेसको राजनीतिक विरासत बोकेको दल तथा डिजिटल पुस्ता बनाउँछु भन्ने दल सबै एकै ठाउँमा कसरी अटाउलान् ?
यसपालिको चुनावमा मधेस आधारित दलहरूको लहर छैन, मौसम छैन। यसपालि मधेस नेपालको अभिन्न हिस्सा हो र यसका सवाल, सरोकार र मुद्दाहरू राष्ट्रिय राजनीतिको मानचित्रमा अंकित हुनुपर्दछ। यसलाई हामीले काँध हाल्नुपर्छ, स्वर दिनुपर्छ आवाज बन्नुपर्छ भने एक प्रकारको बुझाई छ, यसपालि। यही बुझाइले गर्दा राष्ट्रिय डिस्कोर्सहरुमा मधेस आइरहेको छ।
भदौरे चट्याङ(जेन–जी मुभमेन्ट) पछिको राष्ट्रिय डिस्कोर्समा मधेस हराइराखेको थियो। तर, चुनावका बेला मधेस फेरी अगाडी आएको छ। मधेसका कुनै पनि मुद्दा यस्ता छैनन् कि गैर मधेस भूगोलका मानिसका लागि असहज अप्ठेरो महसुस होस्। उनीहरूलाई पनि के लागिरहेको छ भने यो हाम्रै मुद्दा हो। संघीयतालाई समावेशी, प्रभावकारी र जनताप्रति उदरदायीत्वको राजनीतिका कुरा, बक्सिसको राजनीति भन्दा पनि सहभागीताका कुरा, हिस्सेदारीका कुरामा गैर मधेस भूगोलका मानिसले पनि महसुस गरेका छन्। यस पटक चाहिँ मधेसका लागि मधेसी नै हुनुपर्ने मान्यता मत्थर भएको छ। त्यसको लहर छैन यसपालि।
सधैं मधेस भोट बैंकको रूपमा प्रयोग हुँदै आएको छ, यसपालिको निर्वाचनमा त्यही दोहरिन्छ कि दोहरिन्न ?
यस पटकको चुनावले नयाँ कुरा के उठाएको छ भने कसको प्रतिनिधित्व कसले गर्ने ? को निर्वाचित हुन को प्रतिनिधि हो भने कुराको बहसलाई उजागर गर्यो। यसभन्दा अघि के हुन्थ्यो भने यो समुदायको आवाज यसै समुदायले दिने हो। उ नै असली प्रतिनिधि हो। यो क्षेत्रमा यसै समुदायका मानिस प्रतिनिधि बन्ने भन्ने कुरा थियो। तर यसपालि यो भाष्य भत्किएको छ। नेपालका कुनै पनि नागरिक कुनै पनि क्षेत्र समुदायबाट चुनाव लड्न सक्छन् भने मान्यतालाई यसपालि स्थापित गरिदिएको छ। एक जना मानिस आफ्नै समुदाय र क्षेत्रबाट चुनाव लड्ने मान्यतालाई यस पटकको चुनावले हरण गरेको छ। लोकतन्त्रमा कुनै पनि नागरिक कहिबाट पनि लड्न सक्छन् र एजेन्डाका आधारमा स्वीकार्य हुनुपर्दछ।
अर्को मान्यता के स्थापित गरिदिएको छ भने निर्वाचित हुन र प्रतिनिधि हुनु दुई मौलिक रूपमा भिन्न कुरा हुन। निर्वाचित हुनु भनेको कोही मानिस कुनै नारा दिएर चुनाव जित्न त सक्छन् तर उनी त्यो समाजको प्रतिनिधित्व गरिराखेको नहुन सक्छन्। समाजको प्रतिनिधित्व गर्नका लागि भुईँ तहका आवाज कतिको बुझ्न सके। त्यहाँको भाषा, भेष र परिवेशलाई कतिको राष्ट्रिय रूपमा ल्याउन सके। र, त्यहाँको जनभावनालाई अन्य समुदाय र क्षेत्रका जनतामाझ जोड्ने काम कतिको गरे त्यो भनेको प्रतिनिधित्व हो। त्यो समुदायको नभए पनि मानिसलाई लागोस् कि हाम्रो समुदाय र समाजको नभए पनि हाम्रो आवाजलाई सदनमा ल्याइराखेको छ। यो हो प्रतिनिधि वा प्रतिनिधित्व। यी दुई मान्यताहरू बहरमा आउँदा स्वाभाविक रूपमा क्षेत्रीय राजनीतिक शक्तिहरू कमजोर देखिएका छन्।
मधेसबाट मत लिएर निर्वाचित भएका नेताहरूले मधेसले नेपाली नागरिकताका लागि गोली खाइराख्दा नेताले मधेसीको देशप्रेम देशलाई बताउन सकेन। मधेसका जनताले मधेस र राज्यबिचको सम्बन्धलाई पुनः परिभाषित गर्न खोजेका छन् भने बताउन सकेनन्। यसपालि मधेसले निर्वाचित नेता होइन आफ्ना प्रतिनिधि खोजेका छन्। यस पटकको चुनावमा निर्वाचित हुने कि प्रतिनिधि बन्नेबिच प्रतिस्पर्धा हो।
मधेस आश्रित दलको अवस्था यसपालिको चुनावमा कस्तो रहन्छ, उनीहरूको आश्रय स्थलको अवस्था के हुन्छ ?
नेपालको राजनीतिमा मधेसको भूमिका रहिरहन्छ। किनभने लोकतन्त्रलाई अझ बढी खुकुलो बनाउनु छ। गणतन्त्रलाई संस्थागत गर्नुपर्ने छ र राज्य पुनः संरचनासँग जोडिएका सवालहरू, संघीयता, समावेशिताजस्ता मुद्दाका लागि मधेस नै महत्त्वपूर्ण ठाउँ ओगटेर बस्छ।
मधेस आश्रित दलहरूका लागि यो चुनाव पतझरको मौसम हो। उनीहरूका लागि यो चुनावमा वसन्त आउने स्थिति छैन। यस पटक उनीहरूका पात झरेर जान्छ। तर, जसले म मधेसको बेटा हो भनेर चुनावमा आउनुभएको छ। मधेसको छौरा हुँ भनेर मधेसको मुद्दा उठाउँछु भन्नु भएको छ उहाँहरू देशसँग मधेसलाई कसरी जोड्नु हुन्छ त्यो महत्त्वपूर्ण छ। इतिहासले कुनै पनि समुदाय र भूगोलका लागि यस्तो समय बिरलै दिन्छ। यसर्थमा भन्ने हो भने मधेसका जनताहरू यस पटक बडो सुझबुझका साथ जुवा खोल्दै छन्।
जुवा खेल्दा कहिलेकाहीँ जोशमा कमाउँछ पनि हार्छ पनि त्यो सम्भावना कतिको देख्नुहुन्छ ?
भीडको मनोविज्ञान र भोटको मनोविज्ञान फरक हुन्छ। भीडमा मानिस साथीभाइ सँगै गएको हुन्छ। र, साथीभाइको सँगै निर्णय लिइराखेको हुन्छ। एउटाले जय गान गायो भने अर्कोले पनि गाउँछ, उ क्यामेरामा आयो भने अर्को पनि उछिनेर आफू पनि लेन्समा जाऊ भने सोच्छ। तर, भोटको मनोविज्ञान के हो भने। जब आफ्नो परिचय लिएर मतदान केन्द्रमा लाम लागेर भोट खसाल्न जान्छ त्यतिखेर उ एक्लो हुन्छ। उ सोच्छ कि मेरो बृहत्तर हित के मा हुन्छ। मेरो समुदायको बृहत्तर हित के मा हुन्छ। भोटको मनोविज्ञान सोचेर निर्णय लिने हुन्छ। अर्को कुरा जुवामा हारे पनि महाभारत हुन्छ।
प्रकाशित: १४ फाल्गुन २०८२ २०:४३ बिहीबार
