News Summary
Generated by OK AI. Editorially reviewed.
- राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाहले सुदूरपश्चिम र कर्णालीमा नयाँ पर्यटकीय गन्तव्य स्थापना गर्ने र नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण केन्द्र बनाउने योजना प्रस्तुत गर्नुभएको छ।
- नेपाली कांग्रेसले वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आध्यात्मिक राजधानीका रूपमा नेपाललाई ब्रान्डिङ गर्ने र सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ।
- एमालेले आगामी पाँच वर्षमा पर्यटक संख्या दोब्बर पार्ने, सुरक्षामा जोड दिने र नयाँ गन्तव्य विकास गर्ने योजना सार्वजनिक गरेको छ।
१४ फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले विभिन्न प्रदेशमा पुगेर स्थानीय पर्यटकीय गन्तब्यलाई विश्वचर्चित गन्तव्यसँग तुलना गरी सपना बाँडिरहेका छन् ।
उनका सपना सामाजिक सञ्जालमा भाइरल पनि बनेका छन् । फागुन पहिलो साता धनगढी पुगेर बालेनले बडिमालिका, रामारोशन, खप्तड ‘स्वीट्जरल्यान्डको बाउ’ भएको अभिव्यक्ति दिए ।
‘देशलाई स्वीट्जरल्याण्ड बनाउनुपर्छ भन्छन् । स्वीट्जरल्याण्डको बाउ बडिमालिका यही छ, किन बनाउनुपर्यो ? रामारोशन यहीँ छ, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ । किन बनाउन पर्यो स्वीट्जरल्यान्ड ?’ उनले भनेका थिए, ‘माल भाको चाल नपाको पर्यौं । भएको चिज देखाउनै सकेको छैन, सुदूरपश्चिमलाई जोड्नै सकेको छैन ।’
उता, मंगलबार मात्र सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभामा उनले पर्यटनमा अर्को सपना देखाए । उनले इन्डोनेसियाको बाली र माल्दिभ्सजस्तै नेपालको बराह क्षेत्रलाई विकास गर्न सकिने बताए ।
उनले भने, ‘विश्वको पहिलो तीर्थस्थल कुन हो, थाहा छ तपाईहरूलाई ?, हाम्रै बराहक्षेत्र । यो हामी नेपालीलाई पनि कतिलाई थाहा छैन, त्यो थाहा दिन चाहन्छौँ । त्यो थाहा दिने मान्छे बनौँ, त्यो थाहा दिन सिस्टम बनाउन चाहन्छौँ,’ उनले थपे ‘बराहको कोस्टल क्षेत्र इन्डोनेसियाको बाली, मालदिभ्स जस्तो विकास गर्न सकिन्छ । त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’
भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेका बालेनले प्रतिनिधिमूलक रुपमा रहेर गरेका यी बाचा र सपना रास्वपाले कसरी पूरा गर्दैछ त ? रास्वपाले कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने बाचा गरेको छ ।
घोषणा पत्रमा रास्वपाले नेपाल भित्रने पर्यटक संख्या र उनीहरूले नेपालमा प्रतिदिन गर्ने खर्च ५ वर्षभित्र दोब्बर बनाउने लक्ष्य सार्वजनिक गरेको छ । पदयात्रामा केन्द्रित पर्यटनलाई विविधिकरण गर्न प्रकृति, संस्कृति र समुदाय जोड्दै नयाँ इकोसिस्टम स्थापनामा ध्यान दिने बाचा रास्वपाले गरेको छ । सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट छुट्याउने बाचा रास्वपाको छ ।
त्यस्तै पर्वतीय पर्यटनमा व्यापक सुधार र सुरक्षाको प्रत्याभूति दिने भनेको छ । हिमाललाई ६ हजार मिटरदेखि ८ हजार मिटरसम्म तीन श्रेणीमा विभाजन गर्ने, ८ हजारमाथिका हिमाल चढ्न तलको उचाइका हिमाल चढेको अनुभव अनिवार्य गर्ने भनिएको छ । नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत–नेपाल सीमाबाट १.५ घण्टाको दूरीमा रहेका पहाडी क्षेत्रमा हिल स्टेसन विकास नीति कार्यान्वयन गर्ने भनिएको छ ।
पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमी जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रुपमा प्रवद्र्धन गर्न विशेष पूर्वाधार बनाउने बाचा गरिएको छ ।
यसबाहेक अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाको प्रवद्र्धनमा जोड दिने समेत रास्वपाको घोषणा पत्रमा उल्लेख छ । नेपाल पर्यटन बोर्ड पुनर्गठन हुने र नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने रास्वपाले भनेको छ ।
नेपाल वायुसेवा निगममा व्यवस्थापन करारका माध्यमबाट निजी क्षेत्र भित्र्याउने र थप जहाज ल्याउने बाचा रास्वपाको छ । पोखरा–भैरहवा विमानस्थल पूर्ण सञ्चालनमा ल्याउने, काठमाडौं विमानस्थलको नयाँ टर्मिनल भवन द्रुत गतिमा बनाउने र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना समेत रास्वपाले बाचा पत्रमा राखेको छ ।
कांग्रेसको लक्ष्य वार्षिक ३० लाख पर्यटक
नेपाली कांग्रेसले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउने भन्दै वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । नेपाललाई आध्यात्मिक राजधानीका रुपमा ब्रान्डिङ गर्ने योजना बनाइएको छ । कांग्रेसले सांस्कृतिक र आध्यात्मिक अनुसन्धानका लागि काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने भनेको छ ।
जनकपुर–मिथिला, लुम्बिनी, काठमाडौं उपत्यका, हिमाली, किराँत, कर्णाली तथा सुदूरपश्चिमका संस्कृति अनुसार क्षेत्रीय सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने घोषणा गरिएको छ ।
‘जनकपुर–लुम्बिनी–काठमाडौं’ आध्यात्मिक र ‘बुद्ध–टु–शिव’ जस्ता डिजिटल करिडोर लगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई तथा सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउने भनिएको छ ।
प्रदेशमा विषयगत पर्यटकीय गन्तव्यहरू बनाउँदै सम्पदा जीर्णोद्वारमा मौलिक शैली अनिवार्य गर्ने घोषणा गरिएको छ । कला–संस्कृतिको डिजिटल ब्रान्डिङमा युवा प्रोत्साहन गर्न विशेष कोष स्थापना गर्ने भनिएको छ ।
सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराई नेपाललाई आकर्षक गन्तव्यको रुपमा स्थापित गर्न नेपाल आउने विदेशी पर्यटक र आन्तरिक यात्रुका लागि हवाई भाडा सस्तो बनाउने भनिएको छ । एयर ट्राफिक व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको होल्डिङ समय घटाउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।
आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने भनिएको छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा चलाउन र विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्ने बाचा गरिएको छ ।
पर्यटन क्षेत्रको हिस्सा कुल गार्हस्थ उत्पादनमा १५ देखि २० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । नेपाल वायुसेवा निगमको ६ महिना भित्र व्यवस्थापन सुदृढीकरण मार्फत ‘जनताको ध्वजाबाहक’मा रुपान्तरण गर्ने कांग्रेसको योजना छ । पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम सिधै हिमताल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा खर्च गर्ने बाचा गरिएको छ ।
एमालेको लक्ष्य : पर्यटक वृद्धि, लामो बसाई–गाउँ शहरमा काम र कमाई
एमालेले नेपाललाई रहस्यमय हिमाली आश्चर्ययजनक प्रकृृति, धार्मिक र सांंस्कृृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्ययटनको अनुभव दिने पर्यटकीय गन्तव्य बनाउने भनेको छ । पूर्वाधार विकास, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्य विकासमार्फत आगामी पाँँच वर्षमा पर्यटक आगमन दोब्बर बनाउने एमालेको घोषणा छ ।
एमालेले पर्यटकको सुरक्षालाई पहिलो प्रााथमिकता दिने भनेको छ । नेपालसम्मको अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउने एमालेको बाचा छ । भिसा र आन्तरिक उडानको भाडा दरमा पुनरावलोकन गर्ने भनिएको छ । लक्जरी रिसोर्ट, इकोेलज, वेलनेस सेन्टर निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहनको नीति ल्याउने भनिएको छ ।
त्यस्तै नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)ले नेपाललाई आकर्षक, सुरक्षित र पहुँचयोग्य पर्यटन गन्तव्य बनाइने भन्दै घोषणा पत्र ल्याएको छ । हरेक जिल्ला/नगरपालिकामा टुरिज्म प्रोफाइल तयार गरिने नेकपाको योजना छ । भैरहवा र पोखरा विमानस्थलबाट उडान विस्तार तथा नेपाल एयरलाइन्सको प्राविधिक सुधारको योजना नेकपाले ल्याएको छ । नेपालमा १५ भन्दा धेरै हिल स्टेसन बनाएर भारतीय पर्यटक आकर्षण गर्ने भनिएको छ ।
कम चिनिएका हिमाली क्षेत्रका हिमाल खुला गरी आरोहण प्रवर्द्धनको योजना राखिएको छ । खप्तड, बडिमालिका, पाथिभरा लगायत हरेक प्रदेशका विशिष्ट पर्यटकीय क्षेत्रको विकासमा विशेष पहल गर्ने समेत नेकपाले भनेको छ । पर्यटनमा सार्वजनिक–निजी–साझेदारीको रुपमा लगानी भित्र्याउने भनिएको छ । आक्रामक पर्यटकीय प्रवर्द्धनमार्फत संख्या वृद्धिको योजना राखिएको छ । नेकपाले समेत निजगढ विमानस्थल निर्माण गर्ने विषयलाई प्राथमिकता दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्यटनलाई वैदेशिक मुद्रा आर्जन र रोजगारी सिर्जनाको एक अंगका रुपमा संरक्षण र विकास गर्ने भनेको छ । लोकप्रिय पदमार्ग विस्थापित हुँदै गएको भन्दै वैकल्पिक पदमार्ग बनाउने राप्रपाको योजना छ ।
