नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो निर्वाचन क्षेत्र रौतहटमा मतदातासँगको भेटघाटमा व्यस्त छन्।
उनी प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट-१ मा उम्मेदवार हुन्। करिब ५५ वर्ष राजनीतिक जीवन बिताइसकेका उनी एक महिनायता मतदाताको मन जितेर चुनावी परिणाम हात पार्न जोडबलका साथ लागिपरेका छन्।
यस क्षेत्रमा पूर्वप्रधानमन्त्री नेपाललाई नेकपा एमालेका अजय गुप्ताले कडा टक्कर दिने देखिएको छ। नेपाली कांग्रेसका अनिल झा, जनता समाजवादी पार्टी (जसपा) नेपालका योगेन्द्र यादव पनि यहाँका प्रतिस्पर्धी उम्मेदवार हुन्।
केही दिनयता रौतहट–१ का उम्मेदवारहरू राम्रोसँग निदाउन सकेका छैनन्। साम्प्रदायिक दंगा भड्किन सक्ने सम्भावना बढेपछि सबै राजनीतिक दलका उम्मेदवारहरू गौरमा केन्द्रित भएका छन्।
पूर्वप्रधानमन्त्री नै उम्मेदवार भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यति मात्र होइन, धार्मिक सहिष्णुता कायम गर्न सबै दलले अपिलसमेत गरिसकेका छन्।
यस्तो परिस्थितिका बिचमा पनि प्रतिस्पर्धी सबै उम्मेदवार मतदाता फकाउन घरदैलो, भेटघाटलगायत कार्यक्रम गरिरहे पनि मतदाताहरूमा भने खासै उत्साह देखिएको छैन। चुनावी प्रचारको आखिरीतिर आइपुग्दा पनि मतदाताहरूलाई नेताहरूले खासै जगाउन सकेका छैनन्।
नेता नेपाल पछिल्ला दिनमा आफ्नो क्षेत्रमा पुरै समय खर्चिरहेका छन्। उनी यहाँका मतदाताहरूलाई आफूले विगतमा गरेका काम स्मरण गराउन जोडबल लगाइरहेका छन्।
उनको पहल तथा सक्रियतामा जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बागमती नदीको पुल, लालबकैया नदी टिकुलियाको पुल वर्षौंदेखि बन्ने प्रक्रियमा छन्।
यद्यपि यी परियोजना लामो समयदेखि रौतहटमा अलपत्र रहेको विषय मतदाताले उठाइरहेका छन्। चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता रिझाउन आश्वासनको पोको बाँडिरहेका छन्।
रौतहटमा पुराना दलका नेताहरूले आश्वासन मात्र दिएका छैनन्, विगतमा गरेको कामको फेहिरस्त पनि लिएर मतदाता रिझाउन कसरत गरिरहेका बेला नेपाल स्वयं ती अजेन्डाहरु लिएर जनतामाझ पुगिरेहका छन्। ‘नेताहरुले केही गरेनन्, दलहरूले पनि केही गरेनन् भन्ने भाष्य चिर्नु आवश्यक छ,’ चुनावी क्षेत्रमा भेटिएका नेपालले भने।
सडक र बिजुलीका साथै शिक्षा र स्वास्थ्यका नारा पुराना भइसके। स्थानीय सरकारले जताततै ढलान सडक निकालेको तथा प्रदेश र संघ सरकारले सडक र बिजुलीमा पर्याप्त लगानी गरेका बेला मतदाता रिझाउन उम्मेदवारहरूले मतदातासमक्ष केही नयाँ आश्वासन पनि लिएर आएका छन्।
विगतको तुलनामा अहिले रौतहटमा नयाँ मतदाता बढेका छन्। पुराना दलहरूले दिने आश्वासन एकातिर हुँदा नयाँ मतदाताले नयाँ सपना खोजिरहेका छन्। रौतहट–१ मा पूर्वप्रधानमन्त्री नेपालले पुलहरू निर्माण गरेको तथा राइस मिलको जमिन अधिग्रहणको निर्णय गरिसकेको अवस्थामा जनताको चाहनाअनुसार विकास र निर्माणका योजना अगाडि बढाउने बताइरहेका छन्।
नेता नेपालले कुनै ठोस योजनाको प्रतिबद्धता गर्नुभन्दा विगतमा जस्तै जनताकै चाहनाअनुसार जस्तोसुकै योजना पनि निर्माण गर्ने बताइरहेका छन्। अन्य उम्मेदवारहरूले सडक, बिजुली, शिक्षा र स्वास्थ्य पूर्वाधारका आश्वासन दिइरहेका छन्।
रौतहट–१ मा कांग्रेस उम्मेदवार झाको पक्षमा पनि मत आउन सक्ने कतिपयको आकलन छ। यस क्षेत्रमा कांग्रेसको संगठन बलियो नै छ।
कांग्रेसकै भोट पाएर २०७९ सालमा माधव नेपाल जित्न सफल भएका थिए। यहाँ मैथिली ब्राह्मण (बाहुन) को मत कता जाने हो, त्यो अन्तिमतिर टुंगो लाग्ने देखिन्छ।
ब्राह्मण, कायस्थ, भूमिहार, राजपूतको मत जता ढल्किन्छ, जित उतै हुने यहाँका बुद्धिजीवी बताउँछन्।
यी समुदायको मत विभाजन भयो भने त झालाई गाह्रो पर्ने पनि देखिन्छ। त्यसैमा कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रभावका कारण अनिल झाप्रति उनको दृष्टिकोण के हुन्छ भन्ने स्पष्ट छैन।
कांग्रेसमा देखिएको पछिल्लो अवस्थाबारे नेताहरू अझै अन्योलमा छन्। कांग्रेस नेताहरूमा देखिएको अन्योलको फाइदा नेता नेपाललाई हुने अवस्था देखिएको छ।
अनिल झा अचानक पार्टीमा आएर टिकट लिएपछि कांग्रेसमा टिकटका आकांक्षी रहेका राजेश्वर यादव अहिले रास्वपातिर ढल्किएका छन्। त्यसले पनि झालाई समस्या हुने देखिाएको छ।
यसपटक नेपालका प्रतिस्पर्धी एमालेका अजयकुमार गुप्ता, कांग्रेसका अनिलकुमार झा, जसपाका योगेन्द्र यादव र रास्वपाका राजेश चौधरीलगायत छन्।
अजयकुमार गुप्ता नेपालका पुरानै प्रतिस्पर्धी हुन्। यस्तै नयाँ पुराना उम्मेदवारहरू अहिले नेपालका लागि चुनौतीका रूपमा छन्। अहिले नेपालले विगतमा गरेका कामको फेहरिस्त गन्ती गराउँदै रणनीतिक रूपमै मतदाता फकाइरहेका छन्।
जानकारहरूका अनुसार रौतहट–१ मा जातीय प्रभाव रहे पनि व्यक्ति र कामको मूल्यांकनले मतदातालाई उम्मेदवार छान्ने निर्णयमा ठुलो भूमिका खेल्ने देखिन्छ।
नेपालले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सकारात्मक कदम चाल्दै आएका भए पनि गर्नुपर्ने जति नभएको मतदाताको गुनासो छ।
नेपालले डुबान समस्या, शिक्षा, स्वास्थ्य, सडक, पुल र गौर–रौतहट जोड्ने सडक सुधारमा पहल गरेको दाबी गरिरहे पनि आफैं प्रधानमन्त्री हुँदा शिलान्यास गरिएका केही योजनासमेत अलपत्र छन्। त्यसको एउटा उदाहरण हो बडहर्वा पुल ।त्यो पुल अहिले पनि अलपत्र अवस्थामा छ।
यो पुल बन्दै गर्दा बागमती नदीले धार नै परिवर्तन गरेपछि काम रोकिन पुगेको थियो। जिल्लाको मानव विकास सूचकांक र साक्षरता दरमा रौतहट मधेस प्रदेशकै पछाडि छ।
गरिबी दर अझै ३२.३३ प्रतिशत मात्र छ। नेपाल-भारत सीमामा क्षेत्रमा रौतहट रहेको छ। रौतहट–१ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाका ६-८ वडा रहेका छन्।
रौतहट–२ मा पुरानै प्रतिस्पर्धी र उनीहरूकै आश्वासन रहेका छन्। यस क्षेत्रमा कांग्रेस र नेकपाबिच नै मुख्य प्रतिस्पर्धा रहेको र दुवै उम्मेदवार मतदातामा परिचित रहेकाले खासै कुनै ठोस प्रतिबद्धता व्यक्त गरिरहेका छैनन्।
यस क्षेत्रका कांग्रेसबाट मोहम्मद फिरदोस आलम, एमालेबाट मोहम्मद अतिउल्लाह, नेकपाबाट किरणकुमार साह, रास्वपाबाट सेश सगिर, जसपाबाट रामआशिष राय यादवलगायत उम्मेदवार छन्।
रौतहट–३ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी पुनम यादवले निर्वाचित भएसँगै मेडिकल कलेज र क्यान्सर अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने आश्वासन दिएकी छन्।
उम्मेदवार यादवको पहुँच धेरै ठुलो रहेका कारण निर्वाचित भए वाचा पूरा गर्ने विश्वास लागेको स्थानीय मतदाताको भनाइ छ। कांग्रेसका रामकृपाल यादव, एमालेका कुन्दन कुशवाहा तथा रास्वपाका धिरज पटेलले पुरानै किसिमले विकास र सुशासनको नारा दिइरहेका छन्। चार पटक चुनाव जितिसकेका प्रभु साह पनि जेनजीसँग भिडिरहेका छन्। आम जनता पार्टीका साह देशका विभिन्न भागमा आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छन्।
यसैगरी रौतहट–४ मा आम जनता पार्टीबाट नयाँ उम्मेदवार बनेका पत्रकार ऋषि धमलाले पनि आफू निर्वाचित भएपछि रौतहटको चन्द्रपुरमा मेडिकल कलेज खोल्ने आश्वासन बाँडेका छन्।
रौतहटको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउन मरिहत्ते गर्ने बताउँदै रौतहटको समग्र गरिबी निवारणका लागि अहोरात्र काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। मौलापुरमा देखिएको विकासको मोडेल कम्तीमा क्षेत्रभर लागु गर्ने आश्वासन पनि पत्रकार धमलाले बाँडेका छन्।
उनी नयाँ उम्मेदवार भए पनि पुराना मुद्दामा केन्द्रित छन्। यस क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बनेका रामजी साहले गरुडामा आधा दशकदेखि बन्द रहेको चिनी मिल सञ्चालनमा ल्याउने र रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कांग्रेसका देवप्रसाद तिमल्सिना, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, रास्वपाका गणेश पौडेलले पनि विकास र सुशासनका आश्वासन बाँडिरहेका छन्।
अहिलेसम्म रौतहटमा उम्मेदवारहरूले मतदातालाई दुईवटा मेडिकल कलेजका साथै क्यान्सर अस्पतालको आश्वासन दिइरहेका छन्।
प्रकाशित: १० फाल्गुन २०८२ २१:५४ आइतबार
