चुनावी परीक्षामा गगन


नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यतिबेला सर्लाही–४ मा घरदैलो अभियानमा छन्। जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट पार्टी सभापति भएलगत्तै प्रतिनिधिसभा निर्वाचनका लागि थापाले रोजेको सर्लाही–४ को चर्चा मधेस प्रदेशमा मात्र सीमित छैन, यसले सिंगो देशकै ध्यान तानेको छ। थापाको उम्मेदवारीले कांग्रेस कार्यकर्तामा पुनर्जागरणको काम गरेको छ।

सर्लाहीमा डेरा जमाएर बसेका थापा चुनावी प्रचारप्रसारमा केन्द्रित छन्। उनले चुनावअघि घरदैलोमा आफूसँग हिँडिदिन र चुनावपछि सबैका मुद्दा आफूलाई बोक्न दिन मतदातालाई अनुरोध गरिरहेका छन्। काठमाडौं–४ बाट सर्लाही–४ पुगेका थापाका लागि प्रतिस्पर्धा सहज भने छैन। सर्लाही–४ बाट लगातार चुनाव जित्दै आएका अमरेशकुमार सिंहले पनि थापालाई चुनौती दिने देखिएको छ।

विगतमा कांग्रेस रहेका सिंह हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छन्। सिंह मात्र होइन, थापाका लागि शिवपूजन राय यादवका छोरा अमनिशकुमार यादव थप भारी हुन सक्छन्। नेकपा एमालेबाट यही क्षेत्रबाट उम्मेदवार बनेका अमनिश थापा र सिंह दुवैका लागि टाउको दुखाइ बनेका छन्।

शिवपूजनलाई यो क्षेत्रमा भोट बैंक भएका नेताका रूपमा हेरिन्छ। उनको इसारामा चल्ने मत अहिले पनि करिब १४ हजार हाराहारी रहेको चर्चा छ। शिवपूजन आफैं उम्मेदवार बन्न पाउँदैनन्। २०६४ सालमा संविधानसभा सदस्य भएका बेला रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएपछि विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो। त्यसकारण २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले माओवादीबाट दिएको उम्मेदवारी सर्वाेच्च अदालतले खारेज गरिदिएका थियो। संसदीय राजनीतिमा आउने सिधा बाटो बन्द भएपछि यादवले आफ्नो विकल्पका रूपमा छोरा अमनिशलाई उभ्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको सिधा आदेशमा शिवपूजनका छोरा अमनिशले टिकट पाएको सर्लाही एमाले नेताहरूको दाबी छ। ओलीले अमनिशलाई बोलाएर सिधै टिकट थमाएको नेताहरू बताइन्छ। सर्लाहीबाट एमाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने एक जनाले शिवपुजनसँग यो विषयमा लामो कुराकानी गरेपछि ओलीले अमनिशलाई टिकट थमाएका हुन्।

सर्लाही–४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाका आठ वटा वडा (१ नम्बरदेखि ४ सम्म र १३ नम्बरदेखि १५ सम्म), विष्णु गाउँपालिकाका पाँच वटा वडा (१ नम्बरदेखि ४ सम्म) र बसबरिया गाउँपालिकाका तीन वटा वडा (१ नम्बरदेखि ३ सम्म) समेटिएका छन्।

एक लाख २५ हजार मतदाता रहेको यो क्षेत्रमा थापाका लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनौती बनेका छन्। कांग्रेसका वीरेन्द्र सिंह यही क्षेत्रबाट २०७४ र २०७९ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। पहिलेदेखिकै कांग्रेसको संगठनात्मक भोट र पछिल्लो समय पार्टी प्रवेश गरिसकेका विभिन्न वडाका उम्मेदवारहरूका कारण थापा कमजोर नरहेको देखिएको छ।

बलरा नगरपालिकाका ११ वटा वडामध्ये ६ वटामा कांग्रेसका वडाध्यक्ष छन्। त्यसैगरी गोडैता नगरपालिकामा वडा नम्बर ६ र ९ गरी दुई वटा वडाका अध्यक्ष कांग्रेसबाट निर्वाचित छन्। त्यसमा वडा नम्बर १ र २ मा तत्कालीन माओवादी केन्द्रबाट र ११ मा एमालेबाट चुनाव जितेका वडाध्यक्षहरू कांग्रेसमा प्रवेश गरिसकेका छन्। बलरा–७ र ८ मा वडाध्यक्ष (जसपा) का उम्मेदवार तथा वडा नम्बर ४ मा एमालेबाट प्रतिस्पर्धी रहेका उम्मेदवार पनि कांग्रेसमा प्रवेश गरेका छन्।

रामनगर गाउँपालिकामा शिवपूजनका छोरा राजाबाबु यादव अध्यक्ष भए पनि स्थानीय तह चुनावमा अमरेशकुमार सिंहका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राहुल बर्मासहित कांग्रेस प्रवेश गरेका छन्। सर्लाही–४ मा विष्णु गाउँपालिकाका चार वटा, गोडैता नगरपालिकाका १२ वटा, बलरा नगरपालिकाका ११ वटा, रामनगर गाउँपालिकाका सात वटा, धनकौल गाउँपालिकाका सात वटा, बसबरिया गाउँपालिकाका तीन वटा र बरहथवा नगरपालिकाका सात वटा गरी ५१ वटा वडा पर्छन्।

२०७९ सालको स्थानीय तह चुनावमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव कांग्रेसबाट निर्वाचित भएका हुन्। गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट निर्वाचित भएर हाल जसपा नेपालमा आबद्ध छन्।

बलरा नगरपालिकाका प्रमुख रामशंकरप्रसाद कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। उनी हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन्। रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु शिवपूजनका छोरा हुन्। शिवपूजनकै अर्का छोरा अमनिशकुमार एमालेबाट अहिले उम्मेदवार छन्। धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह नेपाली कांग्रेसका हुन्। बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन्।

अमरेशकुमारले यसपटक ‘मधेसका छोरा’ बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउने कुरा भएकाले आफ्नो जित सुनिश्चित भएको बताइरहेका छन्। सिंहले २०७० (संविधानसभा), २०७४ र २०७९ सालमा लगातार तीनपटक चुनाव जितिसकेका छन्।

२०७० र २०७४ मा कांग्रेसबाट र २०७९ मा कांग्रेसको बागी उम्मेदवार भएर उनले चुनाव जितेका थिए। २०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३ र शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत पाएका थिए। २०७९ मा स्वतन्त्र उठेर जितेको अवस्थामा यसपटक त रास्वपा र त्यसको संगठन सबै आफ्नो पक्षमा रहेकाले चुनाव जित्नेमा सिंह ढुक्क छन्।

सर्लाही–४ लाई कांग्रेसको परम्परागत गढ मानिन्छ। २०४८ देखि २०५६ सालसम्म भएका तीनवटा निर्वाचन कांग्रेसका महन्थ ठाकुरले जितेका थिए। उनले कांग्रेस छाडेसँगै यो क्षेत्रमा कांग्रेसबाट २०७० देखि सिंहले चुनाव लड्दै आएका थिए। अहिले सिंह रास्वपाबाट उम्मेदवार छन्। यस पटक कांगे्रस सभापति थापाले उम्मेदवारी दिएपछि सर्लाही–४ चर्चित बनेको छ।

अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं–४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए। थापाको यसपालिको उम्मेदवारीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा समग्र मधेसप्रतिको सम्मानका रूपमा अथ्र्याएका छन्। उनले थापालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भनेका थिए, ‘मधेसबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेस र मधेसका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेसको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो।’

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हालेका थापाका लागि यो निर्वाचन कडा परीक्षा हुनेछ। पार्टीले उनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेको सन्दर्भमा सर्लाही–४ को यो जटिल चुनावी गणित र त्यसबाट आउने नतिजाले नै उनको आगामी राजनीतिक भविष्य र उचाइ तय गर्ने छ। यसले कांग्रेस मात्र होइन, मुलुकमा स्थापित दलको नेतृत्वको पुस्तान्तरणमा समेत ठुलो प्रभाव पार्ने छ।

यो निर्वाचनमा मतदाताले सुझबुझ लगाएर मतदान गर्नुपर्ने मधेस राजनीतिका विश्लेषक चन्द्रकिशोर बताउँछन्। ‘यो निर्वाचन मध्यावधि होइन, अस्वाभाविक समयमा प्राप्त भएको विशेष अवसर हो। यसमा दल र मतदाताले स्वाभाविकभन्दा पनि अस्वाभाविक रूपमै सुझबुझ प्रदर्शन गर्नुपर्छ,’ विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘यो निर्वाचन मतदाता र उम्मेदवार दुवैका लागि परीक्षा हो। कुनै व्यक्तिलाई निर्वाचित गर्ने कि जनताको प्रतिनिधि रोज्ने भन्ने बल मतदाताको कोर्टमा छ। यस पटकको निर्वाचनमा मधेसका मतदातामा मधेसी चेहरा वा मधेस आश्रित दल नै हुनुपर्ने विगतका निर्वाचनको सोच/लहर छैन। यस पटकको निर्वाचनले विगतका सामुदायिक, जातीय उम्मेदवार बनाउने समीकरणलाई समेत भत्काइदिएको छ। त्यसैले यसपालि निर्वाचन परिणाम अस्वाभाविक देखिन सक्छ।

मधेसी मूलका मतदाता बाहुल्य सर्लाही–४ मा जातीय समीकरण, विकासका अपेक्षा र पुराना–नयाँ उम्मेदवारको बहस चुनावका मुख्य विषय बनेका छन्। यो क्षेत्रमा कांग्रेसका थापा, रास्वापाका सिंह, एमालेका अमनिश, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रजनिश राय, जसपा नेपालका रामेश्वर राय यादलगायत ३८ उम्मेदवार छन्। यो क्षेत्रमा विगतका चुनावमा जातीय समीकरणले जित हारमा ठुलो प्रभाव पारेको देखिन्छ। यहाँ यादव र दलित समुदायको जनसंख्या धेरै छ । सिंह (राजपूत), ब्राह्मण, कोइरी (कुशवाहा) र मुस्लिम समुदायको पनि राम्रो उपस्थिति छ । राष्ट्रिय जनगणना २०७८ अनुसार दुई लाख २० हजार ८७ जनसंख्या रहेको सर्लाही–४ मा ८.७ प्रतिशत मानिस मात्रै सहरी क्षेत्रका हुन्, बाँकी जनसंख्या (९१.३ प्रतिशत) अर्धसहरी क्षेत्रमा बस्छन्।



Source link

Leave a Comment