सिंगो देश यतिखेर निर्वाचनमय बनेको छ। दलहरू आफ्ना एजेन्डासहित मतदाताको दैलोमा पुगिरहेका छन्।
विशेषगरी जेन-जी आन्दोलनले नेपाली राजनीतिमा ल्याएको नयाँ चेतना र यस परिवेशमा महिला उम्मेदवारका चुनौतीहरूका विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौं।
नागरिककर्मी वीरबहादुर वलीले गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं-५ की उम्मेदवार नीशा अधिकारीसँग कुरा गरेका छन्। प्रस्तुत छ अधिकारीसँग गरिएको सोही संवादको सम्पादित अंश।
अहिले घरदैलो भेटघाट कार्यक्रममा एकदम व्यस्त हुनुहुन्छ। जनताले के भनिरहेका छन् ? कस्तो अपेक्षा राखेका छन् ?
-पर्दा पछाडि देखेको मान्छेलाई प्रत्यक्ष घरदैलोमा देखेर खुसी हुनुहुन्छ। आफ्ना समस्या सुनाउनुहुन्छ। अनि तपाईं पनि निर्वाचनमा उठ्नुभएको छ र ? के कस्तो छ ? भनेर सोध्नुहुन्छ। अनि अहिले तपाईंजस्तो (नीशा) मान्छे आउनुपर्छ भन्नुहुन्छ। अगाडि बढ्नुस्, सपोर्ट गर्छौं पनि भन्नुहुन्छ।
अपेक्षाको कुरा गर्दा, निर्वाचनपछि नहराउनु, निर्वाचन क्षेत्रमा आउनु भन्नुहुन्छ। जितेपछि संसदमा गएर हाम्रो लागि खबरदारी गर्नु, बोलिदिनु भनेर भन्नुहुन्छ। हिजो एउटा युथ ग्रुपलाई भेटेँ। उहाँहरूले खबरदारी गर्नुपर्यो, हाम्रो पक्षमा बोल्ने कोही भएनजस्ता कुरा गर्नुभयो। अनि त्यहाँ गएर राम्रो नीति नियम बनाउनु भन्नुहुन्छ। देश अन्योलमा छ, देशलाई बनाउनुपर्यो। सबै जनाको अहिले एकदम ‘युनिफर्म भ्वाइस’ (एउटै स्वर) छ- कसरी देश बनाउने भन्ने।
तपाईंले केही दिनअघि सामाजिक सञ्जालमा लेख्दै ‘म राजनीतिमा आएपछि तीन कुरा गर्दिनँ। पहिलो, सत्ता पाउन सिद्धान्त बेच्दिनँ। दोस्रो, भीडको तालीका लागि असम्भव बाचा गर्दिनँ। त्यसैगरी, मौन बस्ने सांसद बन्दिनँ’ भन्नुभयो। यसो हुँदा काठमाडौं-५ का जनतालाई चाहिँ के गर्छु भनेर भनिरहनुभएको छ ?
-क्षेत्रगत प्रतिबद्धतामा मैले काठमाडौं-५ का लागि पाँचवटा एजेन्डा राखेकी छु। पहिलो, ज्येष्ठ नागरिकको सम्मानजनक व्यवस्थापन। रिटायरमेन्टपछि बच्चाहरू बाहिर भएका बेला ज्येष्ठ नागरिकको स्वास्थ्य, सुसम्मान र व्यवस्थापन। दोस्रो, महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार। तेस्रो, वातावरणमैत्री विकास। किनकि हाम्रो सहरमा एकदम धेरै एयर पोलुसन छ, काठमाडौंका नदी फोहोर छन्।
चौथो, खेलकुद र कला। नेपाललाई ‘न्युट्रल भेन्यू’ बनाउन सकिन्छ भन्ने हो। पाँचौं, युवाहरूका लागि को-वर्किङ स्पेस। यो सहरी क्षेत्रमा एकदम महँगो भाडा छ। युवाहरूलाई रोजगार मात्र भनेर हुँदैन, नेटवर्क गर्ने ठाउँ चाहिन्छ। सस्तो तरिकाले आफ्नो व्यवसाय अगाडि बढाउने ठाउँ। अनि यदि राष्ट्रले माथिल्लो जिम्मेवारी (युवा) र तल्लो जिम्मेवारी (ज्येष्ठ नागरिक तथा बालबालिका) हेर्ने हो भने युवाहरूले मज्जाले आर्थिक रूपमा समृद्ध हुन सक्छन्। यसरी अर्थतन्त्रमा साँच्चिकै टेवा पुग्छ। सायद टेन्सन कम हुन्छ।
विदेश पलायन पनि केही हदसम्म घट्छ कि ? हामीले हेर्दा बच्चाकै लागि भए पनि बाहिर जाऔं भन्ने कति सुन्छौं। यहीँ बस्न सक्ने राम्रो वातावरण कसरी बनाउन सकिन्छ भन्ने हो। क्षेत्रगत कुरामा मतको सम्मान र जवाफदेहितामा मेरो जोड रहन्छ।
तर, त्यही कुरालाई सांसद भएर संसदीय प्रक्रियामा नीति निर्माण गर्दा देशव्यापी रूपमा लागु हुने कुराहरू उठाउन सक्नुपर्छ। सांसद भएर देशव्यापी रूपमा नै लागु हुनुपर्ने कुराहरू उठाउँदै नीति निर्माणका तहमा काम गर्नुपर्छ जस्तो लाग्छ।
तपाईंले आफ्नो घोषणापत्रमा महिला समावेशिताको कुरा पनि जोड दिएर भन्नुभएको छ। अर्थपूर्ण सहभागिता भनेको कस्तो हो ? कति सहभागिता हुनुपर्छ ? यस क्षेत्रमा कस्तो सुधार आउनुपर्छ ?
-अब ३३ प्रतिशत पनि हुन त ५१ प्रतिशत जनसंख्याको आधारमा हेर्ने हो भने पनि किन ३३ ? भन्ने आफैँमा प्रश्न उठ्छ। तर यो संख्यागत हिसाबमा भन्दा पनि मैले अर्थपूर्ण सहभागिता भनेकी छु। अर्थपूर्ण सहभागिता भनेको निर्णायक भूमिकामा, डिसिजन मेकिङमा, अथोरिटी फिगरहरूमा महिला आउनुपर्छ भन्ने हो। यसमा सुधारका लागि डेपुटीको रोलमा मात्र सीमित हुनु हुँदैन। हामीले दुई-तीन तहमा हेर्न सक्छौं। पहिलो, सामाजिक रूपमा कस्तो छ ? दोस्रो, पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा समावेशता कहाँ छ ? सहभागिता कत्तिको अर्थपूर्ण छ ? चुनावी मैदानमा अनुपात कत्तिको अर्थपूर्ण छ ?
अनि चुनावबाट जितेर गएपछि संख्यामा मात्र होइन, संसदमा महिलाको कस्तो प्रतिनिधित्व हुन्छ ? विभेद समाजबाटै सुरु हुने भएकाले समाजमा जुन स्रोतहरू हुन्छन्, त्यसमा समताको कुरा गर्दा महिला मात्र होइन, सीमान्तकृत वर्ग सबैलाई समतामूलक पहुँच हुनुपर्छ। शिक्षा, स्वास्थ्य, अर्थतन्त्र हरेक क्षेत्रमा निर्णायक तहमा सबैको उचित सहभागिता हुनुपर्छ। अनि बल्ल समानताको कुरा गर्न सकिन्छ।
मलाई जहाँसम्म लाग्छ, नम्बरभन्दा पनि क्षमतामा कुरा गर्न सक्छौं। तर अहिलेको लागि म त ह्वाई नट ५० प्रतिशत ? भन्छु। हामी बहुदलीय प्रणालीमा छौं। तर यहाँ आएर हामीले प्रणालीगत रूपमा महिलालाई त्यति पनि सक्षम बनाउन सक्दैनौं कि ५० प्रतिशत उहाँहरूको संख्या हुन्छ, दिऔं न त भन्नुपर्थ्यो। संख्या जति छ, सोही अनुसार भाग दिनलाई त हामी चुक्यौं। लोकतान्त्रिक प्रक्रियामा यो कसरी लोकतन्त्र भयो त भन्ने कुरा पनि हो।
अनि अहिले हजारौंको संख्यामा पुरुष उम्मेदवारहरू उठिरहँदा महिलाको सहभागिता ३८८ जनामा सीमित छ। मलाई कस्तो अचम्म लाग्छ, कुनै पनि पुरुषले एउटा क्षेत्रबाट हार्यो भने पटक-पटक त्यही क्षेत्रबाट टिकट दिइन्छ। उहाँलाई हटाएर अब्बल महिलालाई पठाउन किन हुँदैन ? सुशासन भयो भने यो कुरालाई समता र सुशासन हातेमालो गरेर जान्छ। सहभागिता पनि हातेमालो गरेर जान्छ जस्तो लाग्छ। महिलालाई मेन्स्ट्रुएसनदेखि मेनोपजसम्मका केही कुरा हेर्दियो भने पनि सहभागिता अर्थपूर्ण बनाउन सहयोग पुग्न सक्छ।
हामीले पहिलो महिला प्रधानन्यायाधीश पायौं र संयोगवश अहिले उहाँ नै देशको पहिलो महिला प्रधानमन्त्री हुनुभयो। त्यसैगरी राष्ट्रपति पनि पाएका छौं। तर पनि निर्णायक तहमा महिला सहभागिता कम भयो भन्ने प्रश्न रह्यो। अब अहिले उठिरहेको के छ भने जेनजी आन्दोलनपछि विशेष गरी युवाहरूको पनि सहभागिता त्यसरी हुनुपर्छ भन्ने छ। यसमा तपाईं के भन्नुहुन्छ ?
-युवाको सहभागिता पनि हुनुपर्छ। मलाई जहाँसम्म लाग्छ, स्वतः एउटा इकोसिस्टम बन्नुपर्छ जस्तो लाग्छ। हाम्रो पार्टी गतिशीलको स्ट्रक्चरमा १६ वर्षको राजनीतिक करियर छ। राजनीतिक रूपमा हामी १६ वर्ष मात्र सक्रिय हुन सक्छौं भने त्यो देश बनाउनको लागि पर्याप्त समय हो। यो समयमा पर्याप्त मात्रामा देश निर्माणमा योगदान गर्न सकिन्छ। त्यसो भए तपाईं १६ वर्षपछि स्वतः त्यो इकोसिस्टममा नयाँ-नयाँ मान्छे आउने, युवाहरू आउने, त्यो त एउटा सिस्टम बन्यो नि। मलाई जहाँसम्म लाग्छ, एउटा सिस्टमले नै यो कुरा बन्ने हो। अनि त्यो सिस्टम बनेपछि युवाहरूले पनि आफूलाई त्यो सिस्टममा आउन तयारी गर्न सक्छन्।
मेरो आर्थिक अवस्था यस्तो छ, मेरो काम यस्तो छ, मेरा सपना यस्ता छन्, मेरा एम्बिसन यस्ता छन् र म यो सिस्टममा गइरहँदा सुरुदेखि नै के-के हेर्नुपर्छ ? कसरी राम्ररी देशको लिडरसिप पोजिसनमा आएर देशलाई टेवा पुर्याउन सक्छु भन्ने महत्वपूर्ण छ। युवा पनि सक्षम र सबल हुनुपर्यो। युवालाई पनि थाहा हुनुपर्यो के भइरहेको छ र कसरी म जान सक्छु ? अनि एकै समयमा त्यो जाने ठाउँमा पनि भ्याकेन्सी हुनुपर्यो। पुरानाले आफैं छोडिदिनुपर्यो, समय सान्दर्भिक लिडरसिपका लागि ती पदहरू स्वतः युवाहरू आउने बनाइदिनुपर्यो। मलाई लाग्छ, एउटा सिस्टम हुने बित्तिकै सबै ठीक हुन्छ। यो देश वा सिस्टम कसैको पेवा हुनुहुँदैन। युवाहरूलाई कसरी आउने सिस्टम बनाइदिने हो।
अब यो प्रणाली बदल्न नीतिगत सुधारहरू गर्न सरकारमा जानुपर्छ। सरकारमा गएपछि नीतिहरू सुधार गर्न सक्नुहुन्छ। तपाईंको पार्टी चुनाव जितिसकेपछि गठबन्धन सरकारमा जाने हो कि अब यो पल्ट भएन, अर्को पल्ट हामी आफैंले सरकार बनाउँछौं भन्ने हो ? किनभने सरकार बनाउने गरी त तपाईंको दलले उम्मेदवार नै उठाएको अवस्था छैन।
-यो पटक मात्र होइन, हरेक पटक हाम्रो विधानमा पनि छ। हामीले २० प्रतिशत सिट पाएनौं र आम जनताले भोटमार्फत हामीलाई त्यति विश्वास गर्नुभएन भने हामी अपोजिसनमै बस्ने भन्ने छ। खबरदारीमै बस्ने हो। अहिलेसम्म हामीले नेपालको बहुदलीय प्रणालीमा कुनै पनि एकदम सशक्त अपोजिसन भेटेनौं। एउटा स्टेटमा सरकारमा जाने पार्टी जति पावरफुल हुनुपर्छ, त्यति नै विपक्षमा बस्ने पनि हुनुपर्छ भन्ने हो। हामी अपोजिसनमा बस्न एकदम रेडी छौं।
नेपालमा जस्तो ठूला पार्टीहरूले पहिला एक्लै-एक्लै चुनाव लडेर पछि मिलेर सरकार बनाएका उदाहरण पनि छन्। अब अहिले जस्तो रास्वपासहितका नयाँ दलहरू मिलेर चुनावमा गएको उदाहरण पनि छ। तर तपाईंको पार्टी नयाँ भएर पनि रास्वपासँग गएन। यसको पछाडिको कारण के हो ? विचार नमिलेको हो कि सिट बाँडफाँड नमिलेको हो ?
-मलाई लाग्छ, इलेक्शनभन्दा अगाडिको गठबन्धन भनेको कि त वैचारिक हुने भयो कि त नम्बरको। यदि एउटा विचार बोकेर पार्टी गठन हुन्छ र त्यो विचारको आधारमा यो देशको विकास हुन्छ भन्ने विश्वासले राजनीतिमा लागियो भने त्यो नम्बरको जोनमा पर्न सक्दैन।
यहाँ त लेफ्ट-राइट सबै मिलिरहेका हुन्छन् गठबन्धनमा। अनि हाम्रो पार्टीको स्ट्रक्चर अरू पार्टीहरूमा जस्तो छैन। यो स्ट्रक्चर निकालिएको नै एक किसिमले भ्रष्टाचार र दण्डहिनताप्रति पार्टीगत रूपमा इम्युनिटी बनाउन हो। सदनमा पुग्नुअगाडि नै यी कुरा कन्ट्रोल गर्न सकियोस् भन्ने हो। यी कुराहरूमा अलायन्स नभएको हो।
हामी एकदम म्याराथन कुद्न आएको पार्टी हो। हतार पनि छैन। अहिले हाम्रा उम्मेदवारहरू हेर्दा पुराना व्यवस्थाबाट मान्छेहरूको विश्वास उडिसकेको छ। नयाँहरूको पनि सबैलाई पत्याउन सक्ने अवस्था छैन। यस्तो बेलामा अर्को अल्टरनेटिभ फोर्स चाहिन्छ जसमा नागरिकहरूले साँच्चिकै विश्वास गर्न सक्छन्।
यो फर्स्ट, सेकेन्ड, थर्ड अप्सन होइन। यदि सबै कुरा फेल भयो भने हतोत्साहको माहोल बन्नु हुँदैन। कसरी हामीले त्यसलाई बचाउन सक्छौं र लिबरल डेमोक्रेटिक इन्स्टिट्युसन राम्ररी अगाडि बढ्न सक्छ भन्ने दुई-तीन स्टेप अहेड सोचेर नै आएका हौं। अहिले हङ पार्लियामेन्ट भन्ने सुनिरहेका छौं। छ महिनापछि नेपालको राजनीतिक मोड कता ढल्किन्छ र यदि नराम्रो भयो भने ‘वाट नेक्स्ट’ ? गतिशील छ, गतिशीलको टिम छ। गलत कुरालाई औंला ठड्याउन नै जाने हो। यो गतिशीलको आउटलुक फ्रेमिङ हो।
नेपालको राजनीतिमा महिलाहरूको सहभागिता लामो समयदेखि छ। सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति सम्म हुनुभएको छ। तर अहिले पनि समाजमा हेर्दा महिलाहरूले राजनीति गर्दा व्यक्तिगत आलोचना मात्र होइन, घृणित टिप्पणीहरू सहनु पर्छ। सामाजिक सञ्जाल आएपछि त्यसको दायरा अझ बढ्दो छ। तपाईंले पनि भोगिरहनुभएको छ। यसलाई कसरी रोक्न सकिन्छ ?
-मलाई हुँदैन। मेरो त एकदम थिक स्किन भइसक्यो। म यो किन गरिन्छ, कसले गर्छ, कसरी गरिरहेका छन् भन्ने बुझ्छु किनकि म गत २० वर्षदेखि मिडिया र मुभिजमा छु। तर एउटा दु:खद कुरा के भने सबै जनाको मेरो जस्तो थिक स्किन हुँदैन। म त इग्नोर गर्न च्याम्पियन हो। मलाई खासै फरक पर्दैन। तर त्यसले हाम्रो समाजको दर्पण देखाउँछ। समाज कस्तो छ, कस्तो मानसिकता छ भन्ने दर्साउँछ। त्यसैले गालीभन्दा पनि त्यो मानसिकतादेखि कता-कता के भइरहेको होला जस्तो लाग्छ।
मलाई त्यो मानसिकतादेखि अचम्म लाग्छ। अहिलेसम्म जे जस्ता शब्दहरू प्रयोग गरेर एउटा नारीलाई गिराउन सक्छु भन्ने सोच छ, त्यसप्रति पनि हैरानी लाग्छ। कहिलेकाहीँ उहाँहरू कुन दुनियाँमा हुनुहुन्छ जस्तो पनि लाग्छ। उहाँहरूले मलाई अपशब्द भनेर म हच्किन्छु, हतोत्साहित हुन्छु, राजनीतिबाट पछि हट्छु वा जीवनका पाइलाहरू पछि सर्छन् जस्तो लाग्छ भने त्यो ठूलो धोका र इलुजन हो। त्यस्तो हुँदैन। आजकल ती शब्दहरूले मलाई प्रभाव पार्दैन तर मैले पहिलादेखि नै यसको विरुद्ध आवाज उठाइरहेको छु र उठाइरहनेछु। राजनीतिमा होस् वा मिडियामा होस्, यो कुरा निरन्तर गर्नुपर्छ।
एउटा रिसर्चले पनि देखाएको थियो- महिला राजनीतिज्ञहरूलाई मेनस्ट्रिम मिडियामा कति स्पेस दिइन्छ, कस्ता विश्लेषणात्मक शब्द प्रयोग हुन्छन्। स्पेसै कम थियो। संख्यागत हिसाबमा कम भएकाले पनि कम देखियो होला तर कम्प्यारेटिभली पनि कम थियो। यी कुराले महिलाहरूलाई कुनै पनि अथोरिटी, लिडरसिप वा नेतृत्वको भूमिकामा अगाडि बढाउन ठूलो जरुरी छ।
काठमाडौं-५ मा जहाँबाट तपाईंले उम्मेदवारी दिनुभएको छ, त्यहाँ पुराना पार्टीका अनुभवी नेता पनि मैदानमा छन्, नयाँ दलका नयाँ अनुहार पनि छन्। तपाईंले आफ्ना प्रतिस्पर्धीहरूलाई कतिको चुनौती देख्नुहुन्छ ?
-म त देख्दिनँ। यो कुरा अनेस्टली नै भन्छु। जहाँ उहाँहरूको फाइट सुरु हुन्छ, त्यहाँसम्म महिला उम्मेदवार पुग्नै समय लाग्छ। जहाँबाट तपाईंको स्ट्रगल अन्त्य हुन्छ, त्यहाँबाट मेरो सुरु हुन्छ भन्ने उखान जस्तै हो। अर्को, पार्टीको ब्यागेज नभएको कारणले यो पार्टी जोइन गरेकी हुँ। सेन्ट्रिस्ट पार्टी हो, आइडियोलोजी मिलेर, स्ट्रक्चर मन परेर जोइन गरेकी हुँ। हाम्रो विचार र स्ट्रक्चर डिफरेन्ट छ। म जसरी पनि पुग्नुपर्छ भन्ने होइन, पुगेर काम गर्नुपर्छ भन्नेमा फोकस छु।
मेरो क्याम्पेन पनि एकदम प्रतिस्पर्धात्मक छैन। जे गर्नु छ, जे चाहिएको छ, त्यही गरिरहेकी छु। राम्ररी राम्रो खेल खेलेर हार्नु राम्रो हो, चिट गरेर जित्नुभन्दा। पारदर्शिता नअपनाउने, आचारसंहितामा नबस्ने क्याम्पेनबाट नै भ्रष्टाचारको बीउ रोपिन्छ। त्यसलाई बोकेर सदन जानु राम्रो होइन। अन्य उम्मेदवारहरू त अलरेडी लिडर हुनुहुन्छ, एजेन्डा र भिजन ल्याइसक्नुभएको छ। मेरो अर्जुन दृष्टि सदन नै हो। दायाँ-बायाँको कुराले सरोकार राख्दैन। मेरो सरोकार क्षेत्र, देश र नीति निर्माणमा नागरिकको आवाज उठाउने हो। लेजिस्लेसन प्रोसेसमा अब्बल हुन सक्छु कि सक्दिनँ भन्ने हो। अर्को १०-२०-३० जना उठे पनि मेरो मार्गमा खासै फरक पर्दैन।
नेपालमा संघीयताको मोडललाई अलिकति परिमार्जन गर्नुपर्छ भन्ने छ। कतिले त प्रदेश संरचना नै खारेज गर्नुपर्छ पनि भन्नुहुन्छ। अर्काथरीले प्रत्यक्ष कार्यकारी हुनुपर्यो, प्रधानमन्त्री जनताले नै चुन्न पाउनुपर्यो भन्नुहुन्छ। यसमा तपाईंको पार्टीको धारणा के छ ?
-हामी डेमोक्रेटिक प्रोसेसमा जाने पार्टी हौं। भोलि बहुमत आयो भने त्यसको एगेन्स्टमा आवाज उठाउँदैनौं। त्यो ‘पिपल वान्ट’ भन्ने भयो। तर अहिले संविधान मान्ने हो। संविधानमा पनि सुधार्नुपर्ने कुरा टन्नै छन्। संघीयताको हिसाबमा ‘सुधारिएको संघीयता’ भन्ने छ।
सुधार कहाँबाट सुरु हुन्छ ? संविधान संशोधन भएपछि तीन-चार वर्षभित्र बन्नुपर्ने नियमहरू बनेका छैनन्। निजामती कर्मचारी ऐन पनि पूर्ण भएको छैन। कानुन नै बाँकी छ। कानुनको स्पष्टता नभएको खण्डमा के राम्रो हो, के नराम्रो हो, खारेज गर्ने आधार के हो भन्ने ठूलो प्रश्न हो।
त्यसैले हामीले भएको कुरालाई कसरी सुधार्ने, राम्रो बनाउने भन्नेतिर जाऔं भन्ने पार्टीको स्ट्यान्ड हो। फेडरलिजम ल्याउने क्रममा र नाम घोषणा भएपछि पनि हामीले धेरै चुनौती बेहोरेका छौं। फेरि केही कुरा चलाउँदा आउने ब्याकल्याश बेहोर्न सक्छौं ? शान्तिपूर्ण प्रक्रियामा नेपाल अगाडि बढ्यो, सुशासन भयो, प्रदेश राम्ररी लागु भएको भए अहिले प्रदेशको प्रश्न उठ्दैन थियो। जे कुरा ल्याउनलाई यति मेहनत र कष्ट हुन्छ, त्यसलाई राम्ररी लागु नगर्ने अनि फेरि अर्को कुरा ल्याउने। यो राजनीति र देश अलग-अलग भएको स्थिति हो। त्यसैले हाम्रो पार्टीको स्ट्यान्ड यही हो।
यही आक्रोशका रूपमा दुई दिने जेन-जी आन्दोलन भयो। फ्रस्ट्रेसन निस्कियो। अहिले विशेष परिस्थितिमा चुनाव हुँदै छ। जेन-जी आन्दोलनपछि केही दलहरू सच्चिएर आएका छौं पनि भनिरहेका छन्। यसलाई कसरी हेर्नुहुन्छ ?
जेन-जी आन्दोलनलाई म डे वान र डे टु छुट्टाएर हेर्छु। डे वान र डे टु सेम भन्न मिल्दैन। डे वान जुन जेनजीकै नाममा आन्दोलन भयो भनेर भन्ने हो भने अहिले धेरै बोलिरहनुपर्ने जरुरी छैन। त्यो प्रतिवेदन चाहियो भन्ने कुरा हो। चुनावअगाडि नै सार्वजनिक भएन भन्ने छ। त्यो नहुनुलाई कसरी हेर्ने ? चुनावअगाडि नै सार्वजनिक हुनुपर्छ।
हामी जहिले पनि मान्छे मर्ने अनि कहिले आम माफी, कहिले के भनेर हुन्छ ? त्यो कुनै पनि कुरालाई कानुनी प्रक्रियामा तोकिएको समय होइन। उहाँहरू (सरकार) ले नै यति महिनामा निकाल्छौं भनिसकेपछि पुर्याउनुपर्यो नि। म त एकदम यो चुनावअगाडि नै निस्किनुपर्छ भन्छु। ‘जस्टिस डिले इज जस्टिस डिनाइड’ भन्छन् नि।
यो जेनजीहरूको लागि, हामी सबैको लागि, सेक्युरिटी फोर्सेस र पुलिसको लागि पनि हो। कम्युनिटी पुलिसको पार्टनरसिप राम्रो बनाउनुपर्छ। त्यसको सुरुवात प्रतिवेदनको स्पष्टताबाट हुन्छ।
जो-जो जानुपर्ने जानुपर्छ, जेल जानुपर्ने मान्छे सदन जानु भएन। यदि सदन गए भने के भयो ? क्रिमिनल्स आर पार्लियामेन्टेरियन भन्ने स्थिति आइसक्यो। जिरो टोलरेन्स हो। दण्डहिनता, भ्रष्टाचारमा जिरो टोलरेन्स हुनैपर्छ। प्रतिवेदन चुनावअगाडि नै निकाल्नुपर्छ। नत्र ठूलो धोका हुन्छ, हाँक्का हाँक्की धोका हो।
सरकारले यस्तो गर्दा चुनाव भाँडिन सक्छ वा बिथोलिन्छ भन्ने डरले गरेन भन्छन् नि ?
-स्पष्टता चाहियो नि। कसरी बिथोलिन्छ ? के तत्व छ ? हाम्रो जान्ने हक होइन र ? परिवारहरू, सहिदहरूका परिवारलाई जस्टिस भनेको यो प्रतिवेदन पनि हो नि। जेन-जीको मुद्दा, आन्दोलनमा टेकेर ‘फर्स्ट डे’ भन्दै राजनीति गर्ने हो भने हाम्रो सहिद, बालबालिकाको नाममा कसरी कन्टिन्यू गर्न दिन सक्छौं ? यो सत्तालाई, शासकलाई धोका हो। यो जेनेरेसनल घात हो। पहिला पनि भएको कुरा हो, अहिले पनि भएन भने पछिको जेनेरेसनको रगतको मूल्य छैन र ? यो देशमा मेरो छोरालाई किन राखौं? हरेक जेनेरेसनले न्याय नपाउने हो भने इलेक्सन छोडिदिनुस्। जेनजीलाई साँच्चिकै जस्टिस चाहिएको भनेको प्रतिवेदन निकाल्नु हो। प्रतिवेदनमा जो पनि छन्, सबैलाई न्यायिक प्रक्रियामा ल्याउनुपर्छ। म क्रिमिनल्सले जज गर्ने लिडर चाहन्नँ। चुनाव बिथोलिन्छ भनेर न्याय नदिने ? यस्तो महँगो चुनावमा अर्थतन्त्र कहाँ पुगेको छ ? रुल अफ ल भनिरहँदा कानुनी प्रक्रिया यति फितलो छ कि एउटा प्रतिवेदनले चुनाव बिथोलिन्छ भन्ने ठूलो प्रश्न हो। हामी कहाँ सेफ छौं त यो देशमा ?
हिजोका दिनमा तपाईं कलाकारितामा हुनुहुन्थ्यो, सबैले वाह भन्थे, ताली बजाउँथे। अहिले यस्तो क्षेत्रमा आउनुभयो जहाँ गाली गर्ने, सोसल मिडियादेखि बाहिर पनि राजनीतिक प्रतिद्वन्द्वीलाई सकेसम्म गिराउने चलन छ। यो अनुभव कस्तो हुँदो रहेछ- सिनेमामा र वास्तविक जीवनमा ?
-हाम्रो परराष्ट्र नीतिमा पञ्चशील छ नि, मेरोमा पनि पञ्चशीलै हो। गाली गरेर गिराउने कुरा जबसम्म ग्रहण गर्दैनौं, त्यो फिर्ता त्यहीँ जान्छ। ग्रहण गर्नु जरुरी छैन। यहाँले मलाई भरपुर गाली गर्न पाउनुहुन्छ तर त्यो मलाई लाग्दैन भन्ने बुझ्नुपर्यो। अर्को कुरा, गर्नुपर्ने कुरा गरेको छु र म ‘राइट साइड अफ द हिस्ट्री’ मा छु भन्ने लाग्छ। सही समयमा, सही ठाउँमा, सही काम गरिरहेको छु। यति ठूलो कुरा छ कि अरू कुनै कुराले हल्लाउन सक्दैन। न गिराउँछ, न टुटाउँछ, न पछि हटाउँछ। यो अहिले चाहिने कुरा हो। सहिदहरूले ज्यान गुमाए, अभिभावकहरूले बच्चा गुमाए। यी कुरा माइनर डिटेल्स हुन्। देशको लागि के चाहिन्छ, सही मार्गमा हिँड्ने हो र त्यही गर्ने हो। गालीगलौज भइराख्छ, यो ठूलो र नौलो कुरा होइन।
प्रकाशित: ९ फाल्गुन २०८२ २१:२५ शनिबार
