News Summary
Generated by OK AI. Editorially reviewed.
- एमिली ब्रन्टेको उपन्यास वुदरिङ हाइटसमा विषाक्त र विनाशकारी प्रेम कथालाई देखाइएको छ, जुन २०१५ मा अंग्रेजी भाषाका उत्कृष्ट उपन्यासहरूमा समेटिएको थियो।
- नेटफ्लिक्सले मेरी शेलीको क्लासिक साइन्स फिक्सन फ्रान्केन्स्टाइनलाई करिब १२० मिलियन अमेरिकी डलरमा चलचित्र बनाएको छ, जुन २०२५ को उत्कृष्ट चलचित्रहरू मध्ये मानिन्छ।
- नेपाली साहित्यमा महिला लेखकहरूको कृतीमाथि आधारित चलचित्रहरू बनाइएका छैनन्, तर नेपाली सिनेमामा दिपा श्री निरौला, झरना थापा र रेनेसा वान्तवा राइहरूको नाम अग्रपंक्तीमा आउँछन्।
अघिल्लो साता क्यूएफएक्समा ‘वुदरिङ हाइटस’ सिनेमा हेर्ने मौका मिल्यो । यस उपन्यास पहिले नै पढिसकेको थिएँ । त्यसैले एमराल्ड फेनेल निर्देशित यो फिल्म हेर्न जाँदा मेरो मनमा एमिली ब्रन्टेको उपन्यास वुदरिङ हाइटसको त्यही गोथिक साहित्य प्रत्यक्ष अनुभव गर्ने उत्सुकता थियो । हुन पनि सन् १८४७ को भिक्टोरियन बेलायती समाजमा जन्मिएको यो कृति आफैंमा एक क्लासिक उपन्यास हो ।
यो एमिली ब्रन्टेको एक मात्र उपन्यास हो, ३० वर्षकै उमेरमा उनको मृत्यु भयो । तर यही एउटै कृतिले उनले भिक्टोरियन समाजको नैतिक र सामाजिक सीमालाई तोडिन।
हिथक्लिक र क्याथरिनको सम्बन्ध सामान्य प्रेमकथा होइन । त्यो विषाक्त छ, विनाशकारी छ, तर अत्यन्त गहिरो छ । यही कठोर र जटिल भावनाले यस उपन्यासलाई आफ्नो समयभन्दा अगाडि पुर्याएको हो । द गार्जियनले २०१५ मा अंग्रेजी भाषामा लेखिएका १०० उत्कृष्ट उपन्यासको सूचीमा यसलाई पनि समेटेको थियो ।
एमिलीले सुरुमा ‘एलिस बेल’ नाम राखेर वुदरिङ हाइटस प्रकाशित गरेकी थिइन । तत्कालीन समयमा महिलाको सिर्जनालाई उपेक्षा गर्ने संकीर्ण सोच व्याप्त थियो । प्राय महिला लेखकले आफनो नाम लुकाउँथे । त्यसैले उनले पनि पुरुषको नाम राखेकी थिइन् । तेस्रो संस्करणमा मात्र एमिली ब्रन्टेको वास्तविक नाम सार्वजनिक भयो ।
पछि पाठकले थाहा पाए, हिथक्लिफ र क्याथरिनको भयावह प्रेमकथा एक महिलाले लेखेकी थिइन् । उपन्यासले पाठकको चेतनामा पैदा गर्ने त्यो कम्पन सिनेमामा भने मिसिङ छ । जब कुनै निर्देशकले क्लासिक उपन्यासलाई आफनो सिनेम्याटिक सिग्नेचरमा राख्न सक्दैन तब साहित्यको मौलिकता मर्छ । वुदरिङ हाइटस सिनेमाको अनुभव मेरा लागि त्यही भयो ।
साहित्य र सिनेमाको अर्को अनुभवको कुरा गर्दा ग्युलेर्मो डेल टोरोले निर्देशन गरेको फ्रान्केन्स्टाइन पनि हेरेँ । अहिले यो चलचित्र ९ विधामा ओस्कार मनोनयनमा परेर चर्चामा छ । संयोग के छ भने वुदरिङ हाइटमा हिथक्लीफको भूमिका र फ्रङकास्टाइन सिनेमामा फ्रङकस्टाइनको भूमिका दुवै जेकब एर्लोडीले निभएका छन् ।
फ्रङकास्टाइन चलचित्र साहित्यकार मेरी शेलीले सन १८१८ मा लेखेको क्लासिक साइन्स फिक्सनमा आधारित छ । नेटफिलीक्सले यसलाई करिब १२० मिलियन अमेरिकी डलरमा बनाएको हो । धेरै क्रिटिक्स र दर्शकहरूले यसलाई २०२५ को उत्कृष्ट चलचित्रहरू मध्ये एक मानेका छन् ।
नेपाली साहित्यमा महिला लेखकहरूको कृतीमाथि आधारित चलचित्रहरू बनाइएका छैनन् । तर नेपाली सिनेमामा महिलाहरूको फेहरिस्त भने लामो देखिन्छ, जसमा दिपा श्री निरौला, झरना थापा र रेनेसा वान्तवा राइहरूको नाम अग्रपंक्तीमा आउँछन् ।
शेलीले फ्रान्केन्स्टाइन उपन्यास १८ वर्षको उमेरमा लेखेकी थिइन् । सन १८१८ मा यस्तो कथा सिर्जना गर्नु असाधारण कुरा हो । उनले विज्ञान, प्रकृति र मानवीय भावनालाई जोडेर एउटा यस्तो फ्रान्केन्स्टाइन बनाइन, जसले आजसम्म पनि मानिसलाई सोच्न बाध्य बनाउँछ । भिक्टर फ्रान्केन्स्टाइनको देवता बन्ने महत्वकांक्षा र त्यसको विनाशकारी परिणामले आजको एआई युगमा पनि समान रूपमा बहस उत्पन्न गर्छ ।
यता नेपालमा सन १८१८ मा भने आदिकवी भानुभक्त ४ वर्षका मात्र थिए । उनले रामायण लेखेर नेपाली भाषालाई एकताबद्ध बनाउनु भन्दा अझै २०–२५ वर्ष अघिको समय थियो त्यो । त्यतिबेला नेपाली भाषा त थियो, तर यसको साहित्यिक स्वरुप परिष्कृत भइसकेको थिएन ।
महिला लेखकहरूको उपन्यासलाई सिनेमा बनाएको सूची निकै लामो छ । त्यस्ता धेरैमध्ये मैले हेरेको अर्को फिल्म भर्जिनिया वुल्फको उपन्यास ओल्र्याडो ए बायोग्राफी पनि हो । भर्जिनिया वुल्फले यो सिनेमा सन १९२८ मा लेखेकी हुन् । फिल्म भने निर्देशक स्याली पोटरले सन १९९२ मा बनाएकी हुन् । फिल्मले उपन्यासको मुख्य कथा र पात्रको अनुभवलाई सरल र स्पष्ट तरिकाले पर्दामा देखाउँछ ।
अभिनेत्री टिल्डा स्विन्टनले निभाएको ओल्र्यान्डोको लिंग परिवर्तनको स्पष्ट व्याख्या छैन, सायद वुल्फले त्यसबेलाको समाजमा लैंगिक पहिचान सम्बन्धी विषय खुलेर उठाउन सकिनन् । तर फिल्ममले यसलाई १९९० को दशकको फेमिनिस्ट र क्वियर दृष्टिकोणबाट प्रस्तुत गरेको छ ।
अर्को रोचक पक्ष के छ भने, उपन्यासमा छोरा जन्माउने दृश्यको सट्टा फिल्ममा छोरी जन्माउँदा पितृसत्तात्मक समाजमा महिला अधिकार र लिंग समानताको विषय थप सशक्त रूपमा देखाइएको छ । फिल्मले ओल्र्यान्डोको ४०० वर्ष लामो जीवन यात्रा देखाउँछ, जहाँ उनी समय र समाजको परिवर्तनसँग जुध्दै अन्ततः लिंग, पहिचान वा सामाजिक वर्गको सीमाभन्दा परको पूर्ण मानव पहिचानमा पुग्छिन् ।
हामीले लामो समयदेखि साहित्य र सिनेमालाई समाजको ऐनाको रूपमा बुझदै आयौं । तर, महिला लेखकहरूको क्राफटलाई सूक्ष्म विश्लेषण गर्दा के स्पष्ट हुन्छ भने यी प्रतिबिम्ब मात्र होइनन् बरु स्थापित समाजलाई पुनः परिभाषित गर्ने एक प्रखर बौद्धिक दृष्टिकोण हुन् । महिला साहित्यकारहरूको समाज बुझाइ पुरुष लेखकहरूको तुलनामा प्रायः बढी व्यापक र मानवीय हुन्छ, किनकि यसमा किनारमा बसेर केन्द्रलाई नियाल्ने एक विशिष्ट अन्तरदृष्टि लुकेको हुन्छ ।
भर्जिनिया वुल्फको ए रुम अफ वन्स ओनदेखि जेन अस्टिनको बैठक कोठासम्म आइपुग्दा, उनीहरूले तत्कालीन लिमिटेड सोसल इन्गेजमेन्टका बाबजुद घरभित्रको निजी स्पेसलाई साहित्यको माध्यमबाट समाजको सार्वजनिक विमर्श मा परिणत गरिदिए ।
अलिकति चर्चा गरौँ जेन अस्टिनको उपन्यास प्राइड एन्ड प्रिजुडिसको मात्र मिस्टर डार्सीबारे । यो उपन्यास सन् १८१३ मा प्रकाशित भएको हो र यसले तत्कालीन इङल्याण्डको रिजेन्सी युगको चित्रण गर्छ । त्यो समय जर्जियन युगको अन्त्य र भिक्टोरियन युगको सुरुवात हुँदै थियो । समाज कडा वर्गीय संरचनामा आधारित थियो, जहाँ सम्पत्ति, विवाह र महिलाका सीमित अधिकारले मानिसहरूको जीवन निर्धारण गर्दथ्ये ।
अस्टिनले सिर्जना गरेको डार्सी पात्रको विकास साच्चिकै अद्भूत छ । एलिजाबेथ बेनेटले पहिलोपटक डार्सीलाई भेटदा उसमा जुन अहंकार देख्छिन त्यो वास्तवमा एउटा मेल डिफेन्स मात्र थियो भन्ने कुरा अस्टिनले बडो चलाखीपूर्ण ढङगले लुकाएर राखेकी छिन् । उनले डार्सीलाई प्रोटो हिरोको रूपमा होइन, बरु एउटा यस्तो पुरुषको रूपमा पोट्रेट गरेकी छिन, जो आफनो प्रिभिलेजको बोझले थिचिएर बोल्न समेत डराउँछ ।
अस्टिनले डार्सीलाई गल्ती गर्ने, वर्गीय बोझले दबिने र प्रेमका लागि आफनो अहंकार पार गर्न तयार एक मानवको रूपमा प्रस्तुत गरेकी छिन् । यो उपन्यासमाथि आधारित आइएमडिबीको सूचीमा मात्र १६ देखि २० वटा फिल्म भेटिन्छन, जुन कति त युटयुबमा पनि हेर्न सकिन्छ ।
अर्को मैले हेरेको फिल्म हो झुम्पा लाहिरीको सन् २००३ मा प्रकाशित चर्चित उपन्यास ‘द नेमसेक’ । जसलाई निर्देशक मीरा नायरले सन २००६ मा सिनेमाको रूप दिइन् । उपन्यास मुख्यतः इन्टरनल मोनोलोगमा आधारित छ, जहाँ पाात्रहहरूको मनभित्र चल्ने द्धन्द्ध पहिचानको खोजी र आफनो मूल संस्कृतिसँगको सम्बन्धलाई सूक्ष्म र गहिरो रूपमा चित्रण गरिएको छ । लाहिरीले शब्दमार्फत कोरेको डायस्पोरिक परिचयको जटिल नक्सामा मीरा नायरले पर्दामा रङग, संवेदना र मानवीय अनुभवको गहिराइ थपिन् ।
झुम्पा लाहिरीको उपन्यासको शक्ति यसको मौनता मा छ मीरा नायरले त्यो आन्तरिक मौनतालाई भिजुअल ल्याङग्वेजमा अनुवाद गरिन । जब अशोक (इरफान खान) र आशिमा (तब्बु) न्युयोर्कको एउटा सानो अपार्टमेन्टमा कलकत्तााको न्यास्रो मान्दै झालमुरी बनाउँछन् । त्यहाँ कुनै संवादको आवश्यकता पर्दैन । त्यो दृश्यले नै विस्थापनको पीडा र नयाँ संसारमा पुरानो पहिचान जोगाउने संघर्षलाई जीवन्त बनाउँछ ।
नायर आफैं पनि भारतबाट अमेरिका पुगेकी आप्रवासी महिला हुन् त्यसैले उनले लाहिरीको फिमेल लेन्सलाई पर्दामा उतार्दा त्यसमा आफ्नै भोगाइ र अनुभवको रङ पनि मिसाएकी छिन । यो फिल्म र उपन्यासको अन्तरसम्बन्ध यति प्रगाढ छ कि यसले एक आप्रवासी परिवारको तीन दशक लामो यात्रालाई जीवन्त बनाँउछ ।
रोचक पक्ष के छ भने, निर्देशक मीरा नायर न्युयोर्कका मेयर जोहरन ममदानीकी आमा हुन । तर मलाई मीरा नायरको फिल्महरूमध्ये सबैभन्दा मन परेको चाहिँ द रेलक्टेन्ट फन्डामेन्टालिस्ट हो, जुन मैले युटयुबमा हेरेको थिएँ । मोहसिन हमिदको उपन्यासमा आधारित यो फिल्मले सन २००१ सेप्टेम्बर ११ पछिको विश्वमा एक मुस्लिम हुनुको मनोवैज्ञानिक र सामाजिक मूल्यलाई सेन्टर स्टेजमा देखाउँछ ।
फिल्मको मुख्य पात्र चङगेज सुरुमा अमेरिकन ड्रिमको एक सफल नमुनाका रूपमा देखिन्छन् । जहाँ वाल स्ट्रिटको चम्किलो प्रतिष्ठा छ । तर वर्षौको योग्यता र व्यावसायिक सफलतालाई सेप्टेम्बर ११ को घटनापछि उनको दाह्री र धर्मले एकाएक ओझेलमा पारिदिन्छ । एक आप्रवासीको आन्तिरिक द्धन्द्ध र बाह्य जगतको शंकालु नजरबीचको त्यो खाडललाई चित्रण गर्न नायरले साँच्चिकै पर्फेक्ट काम गरेकी छिन् ।
कुरा गरौँ अमृता प्रितमको उपन्यास पिञ्जरको बारेमा । यो सन् १९५० मा प्रकाशित भएको हो । यसलाई निर्देशक चन्द्रप्रकाश द्धिवेदीले सन् २००३ मा सिनेमा बनाएका हुन । फिल्ममा मुख्य पात्र पुरोका भूमिका उर्मिला मातोंडकरले निभाएकी छिन भने रशिदको भूमिका मनोज बाजपेयीले निभाएका छन् ।
यो फिल्म युटयुबमा पनि हेर्न सकिन्छ । यो उपन्यासको कथाको पृष्ठभूमि सन १९४७ को भारत पाकिस्तान विभाजनको समयमा सेट गरिएको छ । अमृता प्रितमको उपन्यास पिञ्जरको केन्द्रीय पात्र पुरो हुन, जसलाई पारिवारिक प्रतिशोध र सामाजिक परिस्थितिका कारण रशिदले अपहरण गर्छ । रशिदले पुरोलाई आफनो धर्म इस्लाममा ल्याएर हमिदा नाम त दिए तर उनले पुरोभित्रको पुरोलाई भने कहिल्यै मर्न दिएनन् ।
साहित्यले शब्दहरूको माध्यमबाट हाम्रो दिमागलाई प्रश्न गर्छ, बहस गराँउछ, सोच्न बाध्य पार्छ । सिनेमाले भने त्यही शब्दहरूलाई जीवन्त बनाउछ, आँखाले देख्ने रङ, कानले सुन्ने ध्वनि, छातीले महसुस गर्ने भावना, र कहिलेकाहीँ आँसु वा मुस्कानसँगै शब्दहरूले बोकेको पीडा वा आनन्दलाई प्रत्यक्ष अनुभव गराँउछ । र जब यो दृष्टिकोण महिलाको हुन्छ, तब प्रेम प्रायः प्राप्ति, विजय वा स्वामित्वको रूपमा देखिन्छ । महिलाको दृष्टिले भने प्रेम सहानुभूति, साझेदारी त्याग र आन्तरिक स्वतन्त्रतासँग जोडिन्छ ।
नेपाली साहित्यमा महिला लेखकहरूको कृतीमाथि आधारित चलचित्रहरू बनाइएका छैनन् । तर नेपाली सिनेमामा महिलाहरूको फेहरिस्त भने लामो देखिन्छ, जसमा दिपा श्री निरौला, झरना थापा र रेनेसा वान्तवा राइहरूको नाम अग्रपंक्तीमा आउँछन् । सुक्ष्म ढंगले यी महिला निर्देशकहरूको सिनेमालाई समीक्षा गर्दा उनीहरूको निर्देशन शिल्पमा अझैपनि ‘मेल गेज’ देखिन्छ ।
समुद्र भट्टको फिल्म ‘गुन्यु चोलोः द ड्रेस’ ले एलजीविटी आइक्युको मुद्दालाई उठाएर नेपाली सिनेमामा एउटा महत्वपूर्ण सिनेम्याटिक डिस्कोर्स सुरुवात गरिदिएको छ । केही दिन अघि सुदिप्ता अधिकारीको फिल्म रमिताको पिरती हेर्दा एउटा भिन्न र मौलिक सिनेम्याटिक ल्याङवेजको अनुभव भयो । एक महिला निर्देशकको रूपमा सुदिप्ताले नेपाली चलचित्रको परम्परागत लयलाई भत्काएकी मात्र छैनन, यसको एस्थेटिक भ्यालुलाई पनि बढाएकी छिन् । उनको निर्देशनमा मैले बलिउडका महिला मास्टर स्टोरिटेलर जोया अख्तर र रिमा काग्तीको जस्तै नुआन्स्ड स्टोरिटेलीङ भेटे, जहाँ पात्रहरू ब्ल्याक एण्ड ह्वाइट भन्दा ग्रे सेड्समा बाचिरहेका हुन्छन् ।
फर्किउँ फेरि नेपाली साहित्य तर्फ, एक दर्शकका रूपमा मलाई पारिजातको मास्टपिस शिरीषको फूलमा आधारित चलचित्र हेर्ने इच्छा छ । शिरीषको फूलको मुख्य आकर्षण यसको अद्धितीय पात्र सुयोगवीर हो । उ अल्बर्ट कामु र जँ पाल सात्रका पात्रहरू जस्तै एब्सर्ड संसारको एउटा प्रतिनिधि हो ।
सुयोगवीरको व्यतित्वको जटिलता, उसको अतृप्त मनोविज्ञान र सकिन जस्ती रहस्यमयी पात्रसँगको उसको भवनात्मक टकराहटलाई पर्दामा उतार्न सकियो भने त्यो नेपाली सिनेमाका लागि एउटा वर्ल्ड क्लास उपलब्धि हुनेछ भन्ने मलाई लाग्छ । यसका लागि पाठकको मनमा सुयोगवीरले जुन गहिरो र केही हदसम्म अध्याँरो छाप छोडेको छ, त्यसलाई जीवन्त रूपमा अनुभव गर्न एउटा यस्तो निर्देशकको आवश्यकता पर्छ, जसले पारिजातको शून्यवादलाई बुझ्न सकोस् ।
सिनेमा एउटा दृश्य माध्यम हो । यदि निर्देशकले पात्रको सोचाइलाई दृश्यमा बदल्न सक्दैन भने त्यो फिल्म डिजास्टर हुनु स्वभाविक हो । नेपालमा बी.पी. कोइरालाको तीन घुम्ती उपन्यासमा पनि चलचित्र बनेको छ, जुन युटयुबमा हेर्न सकिन्छ । तर यस फिल्मका मेकर्सले उपन्यासकी इन्द्रमायालाई एउटा पात्रको रूपमा मात्रै हेरेका छन् ।
उनी नेपाली साहित्यकी पहिलो रेडिकल नारीवादी पात्र हुन भन्ने कुरा स्थापित गर्न कमजोरी भएको हो कि भन्ने भान हुन्छ । बी. पी. कोइराला पुरुष भए पनि उनले इन्द्रमायालाई जुन फिमेल लेन्स बाट हेरे, त्यो अद्भूत थियो । तर तीन घुम्ति फिल्मले बी.पी. को त्यो साइकोलोजिकल नुआन्सलाई समात्नै सकेन । यो एउटा साधारण मेलोड्रामा जस्तो मात्रै देखियो, जबकि यो एउटा अस्तित्ववादी संघर्षको कथा थियो ।
कृति निजी हुन्छ, तर सिनेमा सामूहिक प्रयासको उपज हो । तर जब यो सम्पूर्ण प्रक्रियालाई महिलाको दृष्टिले स्पर्श गर्छ, तब मात्र त्यो कला अमर बन्छ । किनकि दिमागले सोचेको कुरा ज्ञान हुन सक्छ, मुटुले महसुस गरेको कुरा स्मृति हुन सक्छ, तर महिलाको दृष्टिले सिकाएको प्रेम नै वास्तवमा एउटा सभ्य समाजको जग हो ।
