महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा प्रमाणपत्र तहमा भर्ना भएर पढ्न सुरु गरेको धेरै भएको थिएन। २०३५ साल साउनमा भर्ना भएको थिएँ, मानविकी संकायमा। भर्नाका लागि इन्ट्रान्स पास गर्नुपर्थ्याे। साउन अन्तिमतिरदेखि प्रारम्भिक कक्षाहरू हुन थालेका थिए। जनपथ टोलमा डेरा थियो। नजिकै महेन्द्र चोक, बजार अड्डामा पत्रपत्रिका पसलहरू थिए। साँझपख पत्रिका पसलमा गएर साप्ताहिक पत्रिका पढ्थेँ।
पसल अघिल्तिर उभिएर राष्ट्रपुकार, समीक्षा, नयाँ सन्देश, चक्षु आदि पत्रिका पढ्नेहरू दिनहुँ निकै हुन्थे। कसैकसैले किनेर लिएर जान्थे। तर नकिनी पढ्नेहरूको संख्या धेरै हुन्थ्यो। पत्रिका पसले भट्टराई थरका मानिस थिए। उनी कसैलाई उभिएर पत्रिका पढ्दा कुनै अप्ठ्यारो मान्दैनथे। कोही अलि छेउमा उभिएर राजनीतिक घटनाबारे बहस पनि गरिरहेका हुन्थे। त्यसबेला दैनिक पत्रिका गोरखापत्र पनि त्यहाँ पाइन्थ्यो। गोरखापत्रभन्दा साप्ताहिक पत्रिकाहरूमा छापिएका विषयवस्तुमा दोकानछेउ उभिएर बहस गरिरहेका स्थानीय बुद्धिजीवीहरू मनग्गै हुन्थे।
‘राष्ट्रपुकार’ ले छापेको खबरप्रति धेरैको ध्यानाकर्षण भएको म पाउँथेँ। राष्ट्रपुकारले तत्काल नेपाली कांग्रेस (प्र.) का खबर बढी छाप्थ्यो। म पनि स्वतः राष्ट्रपुकारको नियमित पाठक बनेँ। राष्ट्रपुकार बिहीबार छापिन्थ्यो। शुक्रबार पसलमा पढ्न पाइन्थ्यो। त्यो दिन पाठकहरूको विशेष जमघट हुन्थ्यो।
२०३५ को कार्तिक–मंसिरतिरको कुनै एक दिन मैले राष्ट्रपुकार किनेँ। मूल्य सायद दुई रुपैयाँ थियो। पत्रिका किन्ने कारण पत्रिकाको अन्तिम पेजमा छापिएको त्यसको ठेगाना थाहा पाउनु थियो। ‘राष्ट्रपुकार साप्ताहिक, फो. नं., शिवदुती छापाखाना, मैतीदेवी, काठमाडौं, नेपाल’ राष्ट्रपुकारको ठेगाना थियो।
डेरामा ल्याएपछि पत्रिका पढ्ने नै भएँ। त्यसमा साप्ताहिक रूपमा एक–दुईवटा कविता पनि छापिने कुराले पहिल्यैदेखि म बढी आकर्षित पनि भएको थिएँ। कविता लेख्न गाउँतिरै छँदा थालेको थिएँ। विराटनगर झरेपछि क्याम्पसमा कविता सुन्ने, लेख्ने वातावरणसँग म परिचित भइसकेको थिइनँ। म लयबद्ध कविता पनि लेख्थेँ।
एकदिन एउटा कविता राष्ट्रपुकारको ठेगानामा पठाएँ। काठमाडौंबाट छापिने पत्रिकाले छाप्छ कि छाप्दैन जस्तो लागेको थियो। हुलाकमार्फत चार–पाँच दिन पहिले पठाएको ‘अनुभूति’ शीर्षकको कविता मंसिरतिरको कुनै अंकमा छापिएछ। पत्रिका हेरेँ, बकाइदा आफ्नो नाम र कविता छापिएको! सायद त्यस अंकमा मेरो मात्र कविता छापिएको थियो। खुसीले दंग पर्दै हतारहतार पत्रिका किनेर ल्याएँ र डेरामा बसेर आफ्नै कविता पढेँ। निकै चोटि पढेँ।
मनभित्र अर्को खुलखुली उत्तिकै उम्लिन थाल्यो। मेरो कविता दोकानमा उभिएर पत्रिका पढ्नेले पनि पढे होलान्, कोहीकोही साथीहरूले पनि पढे होलान्, क्याम्पसमा पढाउने सरहरूले पनि पक्कै पढे होलान्। आइतबार क्याम्पस गएपछि अरूले पढेका भए ‘तिम्रो कविता पढेँ’ भन्लान्।
यस्तै कुरा मनमा खेलाई निकै बेर रोमाञ्चित भएँथेँ। फेरि मन अन्त गएन। विराटनगरका साहित्यिक व्यक्तिहरूसँग म परिचित भइसकेको थिइनँ। अब मलाई विराटनगरका साहित्यिक व्यक्तिहरूले पनि चिन्न थाल्छन् होला। यस्तैयस्तै तर्कना आउँदै बिलाउँदै गए।
नभन्दै आइतबार क्याम्पसमा नेपालीको कक्षामा भानुभक्त पोखरेल सरले ‘तिम्रो कविता मैले पढेँ’ भनेर सबै साथीका अगाडि भने। सबैले मतिर हेरे, म बडो प्रफुल्ल भएँ। गर्वले मेरो छाती फुलेथ्यो। अब मलाई ‘कविता’मा पाइला टेकेको अनुभूति भयो। कक्षामा म कविता लेख्ने विद्यार्थीमा दरिएँ। प्रथम पटक काठमाडौंबाट प्रकाशित हुने राष्ट्रपुकारमा कविता छापिएपछि म साधारण विद्यार्थी मात्र नरही क्याम्पसमा कविता लेख्ने विद्यार्थीका रूपमा समेत चिनिएँ।
मेरो कविता राष्ट्रपुकारमा छापिदिएर मलाई कवितातर्फ प्रेरणा र प्रोत्साहन दिने व्यक्ति थिए सम्पादक होमनाथ दाहाल। त्यसपछि विराटनगरका अग्रज साहित्यकारहरू थिए। म बिस्तारै क्याम्पसस्तरीय कवि गोष्ठी हुँदै नगरस्तरीय कविता प्रतियोगिताहरूमा सहभागी हुन थालेँ, सँगसँगै पुरस्कृत पनि हुँदै आएँ।
२०३८ सालमा शनिबार साहित्य समूह जन्मियो। म आरम्भदेखि नै त्यसमा आबद्ध भएँ। सिर्जना सुन्ने–सुनाउने क्रम बढ्दै गयो। राष्ट्रपुकारमा २०३५ सालदेखि २०३९ सालसम्म निकै कविता छापिए।
२०३९ साउन ६ गते शुक्रबार बिपी कोइरालाको देहान्त भयो। मैले तत्कालै उनको स्मृतिमा कविता लेखेर राष्ट्रपुकारको ठेगानामा पठाएँ।
शीर्षक थियो – ‘आमाको एउटा ढुकढुकी अब मुटुबाट छुट्टिएको छ’। १२ गते साउनमा राष्ट्रपुकारको बिपी विशेषांक छापियो। त्यस विशेषांकमा उक्त शीर्षकको मेरो श्रद्धाञ्जली कविता पनि छापियो।
त्यसबेला कविता लेख्न मात्र नभई मेरा लागि राजनीतिक चेतनाको प्रथम दियो बाल्ने अक्षरको माध्यम पनि राष्ट्रपुकार बन्यो।
मेरा कैयौं कविता राष्ट्रपुकारले छापिसकेको थियो। २०३६ सालको सडक कविता क्रान्तिमा मैले मेनरोडमा अरू कविहरूका साथ कविता सुनाएको थिएँ। त्यो कविता पनि केही हप्तापछि राष्ट्रपुकारले नै छापेको थियो।
मेरो सिर्जना यात्राका प्रारम्भिक पाइतालाहरूमा आत्मविश्वास जगाउँदै सुदूरको सपना देखाउने होमनाथ दाहालसँग मेरो भेट भने २०४३ सालतिर मात्र भयो। म विराटनगरबाट स्नातकको पढाइ सकेर कीर्तिपुरमा डिग्री पढ्न थालेको थिएँ। राष्ट्रपुकारसँग २०३५ सालदेखि नै कवितामार्फत जोडिएको मैले प्रधान सम्पादक होमनाथ दाइसँग प्रत्यक्ष भेट भएको थिएन।
म कान्ति छात्रावासमा बस्थेँ। कुनै दिन राष्ट्रपुकारको कार्यालय मैतीदेवीमा उनीसँग भेट भयो। मेरा कैयौं कविता छापिइसकेकाले उनीसँगको पहिलो भेट नै आत्मीय रह्यो। मैले राष्ट्रपुकारमा नियमित केही सामग्री पठाउँछु भनेँ। मैले साहित्यिक स्रष्टाहरूसँग अन्तर्वार्ता लिएर पत्रिकालाई दिन्छु भनेँ। उनले स्वीकृति दिए।
केही हप्तापछि त्यसबेलाका युवा कवि/साहित्यकारहरूसँग अन्तर्वार्ता लिएर त्यसको पुनर्लेखन गरी राष्ट्रपुकारको कार्यालयमा लगेर दिन थालेँ। प्रायः साप्ताहिक रूपमा ती छापिन थाले। झन्डै एक दर्जनभन्दा बढी कवि–लेखकहरूका अन्तर्वार्ता राष्ट्रपुकारमा छापिए। मलाई त्यसबापत केही पारिश्रमिक पनि प्राप्त हुन्थ्यो।
म स्तम्भकार नै त थिइनँ, तर साहित्यकारहरूसँगका साहित्यिक संवादहरूको प्रकाशनले मलाई काठमाडौंको साहित्यिक समाजमा चिनिन सघाउ पुगेको मैले त्यसबेला अनुभव गरेको हुँ। मैले मुलुककै प्रथम राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा प्रवेश गर्नुअघि पत्रिकामा आफ्नो उपस्थिति देखाउन थालेको राष्ट्रपुकारमै हो भन्दा म गर्व गर्छु।
मलाई स्रष्टा वा अन्य व्यक्तिहरूसँग जिज्ञासा राख्ने अभ्यास प्रथमतः राष्ट्रपुकारले नै गराउन थालेको हो। यसरी होमनाथ दाइ मेरो सिर्जनशीलताको पृष्ठभूमि निर्माणका एक प्रेरक व्यक्तित्वका रूपमा आदरणीय रहिरहे।
राष्ट्रिय स्तरमा राष्ट्र पुकार एक प्रजातन्त्रवादी धारको सशक्त सञ्चारमाध्यमका हैसियतमा प्रतिष्ठित रह्यो। प्रधान सम्पादक होमनाथ दाहाल एक निर्भीक पत्रकार, लेखक एवं प्रजातान्त्रिक विचारका सुदृढ आस्थावान् र विचार सम्प्रेषकका हैसियतमा रहे। उनले राष्ट्रपुकारमार्फत आमनेपाली जनमानसमा प्रजातान्त्रिक चेतना विस्तारका लागि त्यस कालखण्डमा शीर्ष भूमिका खेले।
बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत राजनेताका विचार र प्रजातन्त्रको पुनस्र्थापनाको अनिवार्यतालाई बोध गराउँदै २०४६ सालको जनआन्दोलनको वैचारिक पृष्ठभूमि निर्माण गर्न राष्ट्रपुकारले अग्रणी भूमिका खेलेको कुरालाई त्यसबेलाका र त्यसयताका बौद्धिक जगतले बिर्सन सक्दैन।
सिके प्रसाईंका लेख–रचनाहरूले प्रजातान्त्रिक चेतना अभिवृद्धि गर्न ठुलो भूमिका खेलेका छन्। राष्ट्रपुकार यसका लागि एउटा विश्वासिलो मञ्चका रूपमा रह्यो।
होमनाथ दाहाल २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाल पत्रकार महासंघका सभापति एवं केही समय मन्त्रीस्तरीय राष्ट्रिय जिम्मेवारीमा रहेर पनि मुलुकको सेवामा रहे। यद्यपि उनको व्यक्तित्व र कर्मको सुदीर्घ र अविस्मरणीय चिनारी भने एक निर्भीक, इमानदार र प्रजातन्त्रवादी अग्रज पत्रकारका हैसियतमा सम्मानित रहिरहने छ भन्ने मलाई लागेको छ।
आदरणीय अग्रज पत्रकार होमनाथ दाहालको देहावसान २०८२ पुस २५ गते भयो। २६ गते दस बजेतिर म आर्यघाट पुगेँ। केही समयको पर्खाइपछि उनको पार्थिव देहमा पुष्पार्पण गर्नेहरूको ताँतीमा मिसिएँ।
राजनीति र पत्रकारिता जगतका पुराना एवं नयाँ सबै पुस्ताका व्यक्तिहरूका अनुहारमा मुलुककै एक अग्रज पत्रकारको भौतिक चिरविश्रामबाट उत्पन्न मलिनता र शोकाकुलता हुने नै भयो। धेरैका आँखा रसाएका पनि देख्न सकिन्थ्यो। गृह जिल्ला ओखलढुंगा हुनेहरूको पनि बाक्लो उपस्थिति थियो। तर होमनाथ दाइको निस्प्राण अनुहारमा भने स्वस्थ जीवित अवस्थाको कान्ति यथावत् थियो। विश्वास लाग्दैनथ्यो, उनले देहत्याग गरिसकेका हुन्।
बिपी विचारबाट प्रेरित र दीक्षित बौद्धिक पत्रकार हुन् होमनाथ दाहाल। नेपाली पत्रकारिता जगत्ले निरंकुश पञ्चायत कालखण्डमा भोग्नुपरेका राजनीतिक र प्रशासनिक अवरोधहरूलाई बडो सजगता र साहसपूर्ण ढंगले सामना गर्दै उनले पत्रकारितामा प्रजातान्त्रिक धार र विचारको नेतृत्व गरे। अरू धेरै समकालीन पत्रकारहरूभन्दा उनी बढी प्रस्ट र निर्भीक थिए। पत्रकारितालाई प्रजातन्त्रप्राप्तिका लागि चेतना–सञ्चारको मिसन बनाएर अग्रपंक्तिमा उभिन सफल भए होमनाथ दाहाल। होमनाथ दाहालले ठुलो मान्छे हुन रोजेनन्, असल मान्छे हुन रोजे। उनी असल मान्छे भएरै बिदा भए।
प्रकाशित: ९ फाल्गुन २०८२ ११:१५ शनिबार
