इलाम–२ : पुराना दललाई नयाँको चुनौती, नयाँलाई विरासतको डर


फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा जुटिरहेका बेला इलाम क्षेत्र २ धेरैको चासो बनिरहेको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले अढाई दशक निरन्तर जितेकाले मात्रै होइन, यस पटक उनकै पुत्र सुहाङ नेम्बाङ उम्मेदवार भएकाले पनि इलाम २ को निर्वाचन थप चर्चामा छ । सुवासको निधनपछि २०८१ को उपनिर्वाचनमा सुहाङ नै क्षेत्रबाट निर्वाचित भएका थिए ।  

इलाम २ मा नेकपा (एमाले)ले पार्टी केन्द्रीय सदस्य ३६ वर्षे सुहाङलाई उम्मेदवार बनाउँदा नेपाली कांग्रेसबाट महासमिति सदस्य ६१ वर्षे भेषराज आचार्य उम्मेदवार छन् । नेपाली कम्युनिस्ट पार्टीले ४७ वर्षे ओमबहादुर गुरुङलाई मैदान उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३२ वर्षे गोकुल राई छन् । रष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६४ वर्षे गणेशप्रसाद दुलाल, राष्ट्रिय परिवर्तन पार्टीबाट ३७ वर्षे दिवस राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट ५१ वर्षीया पवित्रा लिम्बू तुम्बाहाङ्फे, जनता समाजवादी पार्टीबाट ६४ वर्षे बलबहादुर आङ्देम्बे र नेपाल जनमुक्ति पार्टीबाट ४९ वर्षे यामबहादुर लिम्बू चुनावी मैदानमा छन् ।  

मंगोल नेसनल अर्गनाइजेसनबाट ३९ वर्षे श्यामबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ४९ वर्षे सादरसिंह लिङदेन, श्रम संस्कृति पार्टीबाट ३७ वर्षे सुदीप राई, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट ६८ वर्षे होमप्रसाद खतिवडा र ५८ वर्षे डाकप्रसाद गौतम स्वतन्त्र उम्मेदवार छन् ।  

हरेक निर्वाचनमा कुनै न कुनै नयाँ दल वा स्वतन्त्र उम्मेदवार ‘प्रभावशाली’ देखिनेगरेकाले इलाम २ को निर्वाचन सधैं रोचक बन्नेगरेको छ । २०७९ को निर्वाचनमा सुवास नेम्बाङले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ को झिनो मतान्तरले मात्रै पछि पार्नुले एमालेमा ‘खतराको साइरन’ बजेको थियो । २०८१ सालको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजारभन्दा बढी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार हाराहारी मत ल्याउँदा एमालेले फराकिलो मतान्तरले नै विजय हासिल गरेपनि ‘ढुक्क’ हुने अवस्था नरहेको पार्टी निष्कर्ष थियो ।

यस पटक नयाँ आएका श्रम संस्कृति पार्टी र राष्ट्रिय परिवर्तन पार्टीमा जानसक्ने मत र रास्वपाप्रतिको देशव्यापी ‘क्रेज’ले एमाले, कांग्रेसलगायत दलको पनि जित सहज देखिएको छैन । सुहाङ पार्टी पङ्तिलाई आफैं भन्दैछन्, ‘अवस्था सहज बनाउन हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’ एमाले विरासत बचाउने योजनामा छ भने कांग्रेस ‘लालकिल्ला’ तोड्न जुटेको छ । नयाँ दलहरू इतिहास बदल्ने रणनीतिमा देखिन्छन् ।

एमालेले सुहाङलाई यो क्षेत्रमा एकल नाम सिफारिस गरी उम्मेदवार बनाएको थियो । यसअघिका सबै निर्वाचनमा सुवासको निरन्तर विजय र उपनिर्वाचनमा सुहाङले पनि साढे ५ हजार हाराहारी मतान्तरले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई हराएपछि सुहाङको मात्रै नाम जिल्लाबाट सिफारिस भएको हो ।

अधिवक्तासमेत रहेका सुहाङले उपनिर्वाचनमा विजयी भएपछि प्रतिनिधिसभामा पटक–पटक इलामका समस्या र सम्भावना उजागर गरेकाले सुहाङ मतदातामाझ ‘प्रिय’ रहेको एमालेको दाबी छ । ‘नेम्बाङले इलामको विकासका लागि दर्जनौं पटक प्रतिनिधिसभमा कुरा उठाउनुभएको छ, विजयी भएको छोटो अवधिभित्र उहाँले करोडौं रुपैयाँका आयोजना जिल्लामा ल्याउन पहल गर्नुभएकाले पनि नेम्बाङ मतदाताको मुख्य आकर्षण हुनुभएको छ,’ एमालेका एक नेता दाबी गर्छन्, ‘जिल्लालाई संघीय सरकारसँग जोड्न यसअघि प्रभावकारी काम गरेकाले र युवा, ज्येष्ठ सबैका विश्वासपात्र रहेकाले पनि सुहाङको जित निश्चित छ ।’

गत भदौ २३ र २४ को आन्दोलनलगत्तै नेम्बाङले जेन–जेड आन्दोलनको माग पूरा गर्नुपर्ने र युवामाथि गोली वर्षाउनु उचित नभएको प्रतिक्रिया दिएपछि उनी युवामाझ चर्चामा थिए । त्यसपछि असोज १८ र १९ मा इलाममा ३९ जनाको मृत्यु र १२ अर्ब रुपैयाँको भौतिक क्षति हुनेगरी भएको विपद्मा सुहाङ सबैजसो पालिकाका पीडितका घर–घर पुगेका थिए । पीडितलाई उनले व्यक्तिगत रूपमा राहतसमेत वितरण गरेका थिए । ‘म उपनिर्वाचनपछि ७ महिनाको अवधि इलाम नै बसेको छु, इलामे नागरिकसँगै छु,’ सुहाङले भने, ‘बाँकी समय इलामको विकासका लागि संघीय सरकार र विभिन्न निकाय धाएको छु । मलाई मतदाताले विश्वास गर्नुभएको छ ।’ व्यक्तिगत हिसाबले सालिन र क्षमतावान् पिता सुवास नेम्बाङसँगको आत्मीयता र सम्बन्धले पनि सुहाङलाई मतदाताको भावना जित्न थप सजिलो हुने एमालेजनको विश्लेषण छ ।  

एमाले जिल्ला सचिव रवीन्द्र सुवेदी यो क्षेत्रमा एमालेको राम्रो जनाधार भएकाले जित हुने बताउँछन् । ‘हाम्रो उम्मेदवार युवा, सक्षम, सक्रिय र क्षमतावान् हुनुहुन्छ,’ सुवेदीले भने, ‘सबै उमेरसमूह, जाति, भाषा, धर्म, लिंग र क्षेत्रलाई समेट्ने उम्मेदवार हुनुभएकाले पनि एमालेलाई सहज छ ।’ विपद्बाट इलामलाई उठाउन नेम्बाङले गरेको योगदान, मतदातासँग सधैं सँगसँगै रहनु, मतदाता र जनप्रतिनिधिबीच यसअघि हुनेगरेको दूरी घटाउनुु र सुशासनका एजेन्डा सधैं सदनमा उठाइरहनुले पनि सुहाङ सबैको रोजाइमा पर्ने सुवेदीको दाबी छ ।  

कांग्रेस उम्मेदवार आचार्य जिल्लाका बुद्धिजीवी नेताका रूपमा चिनिन्छन् । अध्ययनशील, स्पष्टवक्ता, गाउँ–गाउँका मतदातासँगको वर्षाैंदेखिको सम्बन्ध र समाजसेवाले आचार्यलाई आउँदो फागुन २१ को वातावरण ‘सहज’ बनाएको कांगे्रसजनको बुझाइ छ । ‘यो क्षेत्रमा धेरै पटक उम्मेदवारलाई त जिताइयो, काम पनि गरेकै छ तर कतिपय गर्नसक्ने कामसमेत गर्न सकेको छैन,’ फाकफोकथुमका एक मतदाताले सुनाए, ‘हुन त म कांग्रेस होइन । तर, यसपटक भेषराज आचार्यलाई जिताउनुपर्छ भन्ने लाग्छ । उहाँले यो क्षेत्रका लागि धेरै योजना बनाउनुभएको छ, गाउँस्तरका मतदातासँग राम्रो सम्बन्ध पनि छ ।’

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका सुवास नेम्बाङ १४ हजार नौ सय ३० मत ल्याएर विजयी बन्दा कांग्रेसका आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए । तर, आचार्य निरन्तर आफ्नो निर्वाचन क्षेत्रमै खटिएकाले ‘मतदातासँग रुझेका’ नेताका रूपमा परिचित छन् । कांग्रेस महाधिवेशनअघि पार्टी ‘लाइन’मा पनि बलियो पकड भएका मानिने आचार्य महाधिवेशनपछि पनि बलियो उम्मेदवारका रूपमा चिनिएका छन् । आचार्य उम्मेदवार हुँदा तुलनात्मक रूपमा पहिलेभन्दा पार्टीको आन्तरिक एकता बलियो हुने र पार्टी एकमत हुने आशा कांग्रेसमा देखिएको छ ।

‘आचार्य निरन्तर आफ्नो क्षेत्रमा लाग्नुभएको छ, मतदाताले यो पटक भेषराज आचार्य खोजेका छन्,’ कांग्रेस जिल्ला सचिव निरोज खड्गी भन्छन्, ‘देशमा सुशासन, विकास, स्थायित्व र युवा नेतृत्वको सरकार बनाउन पनि इलाम २ का मतदाताले आचार्यलाई निर्वाचित गर्नेछन् ।’ उनले कांग्रेसभित्र अहिले कुनै विभाजन नभएकाले सबैकौ एकताका साथ आफ्ना उम्मेदवारलाई विजयी गराउन सबै उत्साहित भएको बताए ।

आचार्यले जेन–जेड आन्दोलनको मर्म र आम नागरिकको अपेक्षालाई मध्यनजर गरेर बदलिएको कांग्रेसले अब सम्पूर्ण नेपालीको समग्र विकासका लागि देश बदल्ने संकल्प गरेको बताए । ‘हरेक नागरिकले कुनै पनि झञ्झटबिना सहज रूपमा गर्वसाथ  सेवा पाउने वातावरण पाउनेछन्, गाउँदेखि सहरसम्मका बासिन्दाले विकासको अनुभूति गर्ने देश बन्नेछ,’ उम्मेदवार आचार्यले भने, ‘पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्नेदेखि शिक्षा, भौतिक पूर्वाधारलगायत सम्पूर्ण क्षेत्रको स्पष्ट मार्गचित्र हामी बनाउनेछौं ।’  

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गुरुङ पार्टीको प्रदेश सचिवालय सदस्य र पूर्वजनमुक्ति सेनाका बटालियन कमान्डर हुन् । जनयुद्ध घाइते योद्धा प्रतिष्ठानका केन्द्रीय सचिवसमेत रहेका गुरुङले व्यावसायिक कृषि एवं चिया सुदृढीकरण, प्राविधिक शिक्षा, रोजगारी विस्तार, स्वास्थ्य सेवा सुधार, कृषि तथा पर्यटन, सडक विस्तार, संस्कृति संरक्षण, डिजिटल नेपाल निर्माण र भ्रष्टाचार नियन्त्रणलाई एजेन्डा बनाएका छन् । ‘नागरिकका वास्तविक समस्या के छन्, हामीले नजिकबाट हेरेका छौं,’ उनी भन्छन्, ‘यस पटक इलाम २ ले हाम्रो पार्टीलाई पालो दिँदैछ, नागरिकको आशा नै अब नेपाली कम्युनिस्ट पार्टीसँगमात्रै छ ।’

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि इलाममा यो दलभित्र विशेषगरी यी नै दुई दल एक भएका छन् । पार्टी एकताले मतदाता र पार्टी पङ्तिमा उत्साह थपिएको नेकपाको प्रतिक्रिया छ ।  

स्पष्ट योजना, दृष्टिकोण तथा आगामी विकासको मोडल र अहिलेको व्यवस्था ल्याउन संघर्षको मैदानमा भिडेर घाइतेसमेत भएका गणतान्त्रिक योद्धा नै उम्मेदवार भएकाले पनि मतदाताले उनलाई मतदान गर्ने नेकपाका जिल्ला नेता प्रकाश परियार बताउँछन् । ‘यहाँभन्दा अघिका निर्वाचितले जनतालाई सधै धोका दिए, नागरिकले नयाँ, इमान्दार र विकासप्रेमी नेतृत्व खोजेका छन्,’ उनले भने, ‘विकास र समृद्धिलाई सपना देख्नेमात्रै होइन, पूरा गर्ने नेतृत्व मतदाताले खोजेका छन्, त्यो गुण गुरुङमा छ, नेकपामा छ ।’ उम्मेदवार गुरुङ भ्रष्टाचारविरुद्धका अभियन्ता, कृषिलाई आधुनिक र व्यावसायिक बनाउन आफैं लागेको अगुवा र नवपुस्ताको माग पूरा गर्ने नेतृत्व भएकाले पनि विजय सुनिश्चित भएको परियारले दाबी गरे ।  

तत्कालीन नेकपा (माओवादी केन्द्र)ले २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कांग्रेस उम्मेदवार डम्बर खड्कालाई सघाएको थियो । समानुपातिकतर्फ भने ५ हजार १ सय ५३ मत ल्याएको थियो । तत्कालीन नेकपा (एस)ले पनि पहिलो हुने निर्वाचित हुनेतर्फ कांग्रेसका खड्कालाई नै सघाएको थियो भने समानुपातिकमा ५ सय ८६ मत ल्याएको थियो ।  

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका गोकुल राई यो निर्वाचनमा उमेरका हिसाबले जिल्लाकै कान्छा हुन् । सामुदायिक वन उपभोक्ता महासंघको जिल्ला अध्यक्षको अनुभव गरिसकेका राई युवामाझ सरल, मिलनसार र सक्रिय युवाका रूपमा चिनिन्छन् । ‘सबै कुरा एकैचोटी बदलिँदैन । तर, सही दिशामा चालिएको एउटा सानो कदमले भोलिको ठूलो बाटो बनाउँछ,’ उम्मेदवार राई भन्छन्, ‘नागरिक अब पुरानै ढर्रामा हिँड्न सक्दैनन्, म र हाम्रो दलले समृद्ध नेपाल बनाउने योजना अघि सारेको छ, इलाम २ का मतदाता सचेत हुनुहुन्छ, यसपटक हामीलाई अवसर दिनुहुनेछ ।’  

पार्टी र पार्टीको नेतृत्वमा रहेको देश परिवर्तनको उत्कट चाहना र त्यही अनुरूप भविष्यमा काम हुने भएकाले रास्वपालाई जनताले अधिक विश्वास, आशा र भरोसा गरेको पार्टी जिल्ला सभापति टीका ओडारी बताउँछन् । ‘भूगोलमै बसेर हरप्रहर यही समाजसँग जोडिएर यहाँका विविध समस्यासँग परिचित उम्मेदवार पनि हुनु हाम्रा लागि थप सहज पक्ष हो,’ उनले भने, ‘उम्मेदवार स्वयं पनि पशुको प्राविधिक रहेकाले धेरै किसानका घर–गोठमा पुगेर आफैं सेवा दिइ नागरिकसँग प्रत्यक्ष जोडिनुभएको छ । सामुदायिक वन उपभोक्ता महासंघको नेतृत्वमा रहेर सीधा नागरिकसँग सम्पर्कमा रहनु अर्काे सबल पक्ष हो ।’ ०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र २ का रास्वपा उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत ल्याएका थिए । समानुपातिकमा रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।

राप्रपा उम्मेदवार गणेशप्रसाद दुलाल आफू मतदातालाई झुक्याउन नभई वास्तविक रूपमा नागरिकको सेवा गर्न उम्मेदवार बनेको बताउँछन् । ‘म जनतालाई सपना बाँडेर भोट झुक्याउन आएको होइन,’ उनले भने, ‘सक्नेमात्रै भन्छु, भ्रष्टाचार र कुशासन गर्दिनँ, अरू सकेको विकास गर्न लागिपर्नेछु ।’ उनले पनि यस पटक देशको रक्षा र सेवा गर्नकै लागि राप्रपालाई इलाम २ का मतदाताले जिताउने दाबी गरे ।

राप्रपाका जिल्ला नेता गोपाल पौड्यालले इलाम क्षेत्र २ मा पार्टीको जित निश्चित रहेको बताए । कुल १ लाख १९ हजार मतदाता रहेको इलाम २ मा ५५ देखि ७० हजार मत खस्ने, यसमा जित्न आवश्यक मत २४ देखि ३० हजार रहेको बताए । ‘राजसंस्था समर्थक ६ देखि ८ हजार छन्, अन्य दलको असन्तुष्ट (किसान÷ग्रामीण क्षेत्रको मत) ८ हजारसम्म हुन्छ,’ उनले अनुमानित अंक सुनाए, ‘जेन–जेड युवा आन्दोलनपछिको परिवेशमा ५ हजारजति मत हामीलाई थपिन्छ, अन्य दलबाट ७ हजारजति आउँछ ।’ उनले हालको संगठनात्मक र अंकगणितीय आधार हेर्दा पनि राप्रपा २५ देखि ३० हजार मत ल्याएर विजयी हुने दाबी गरे ।’ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ मा राप्रपाका उम्मेदवार उनै उम्मेदवार दुलालले ५ सय १० मत ल्याएका थिए । समानुपातिकमा राप्रपाको १ हजार १ सय ९१ मत आएको थियो ।  

इलामकै देउमाई नगरपालिका ३, सुर्केका  सुदीप राई श्रम संस्कृति पार्टीको प्रभावशाली र क्षमतावान् युवा नेताका रूपमा परिचित छन् । अग्रेजी साहित्य र मानवशास्त्र गरी २ विषयमा एमफिल गरेका सुदीपले युरोपका केही देशको अध्ययन भ्रमणसमेत गरेका थिए ।

प्रकृति पर्यावरणको अध्ययन, संरक्षण र रैथाने ज्ञान, सीपको प्रवर्धनमा रुचि भएको बताउने सुदीप परिवर्तन, समाज रुपान्तरण, न्याय र सुरक्षाका पक्षमा दृढ देखिएको मतादाताको प्रतिक्रिया छ । ‘सर्वहारा, सीमान्तकृत वर्ग र समुदायको न्याय, प्रकृति, पर्यावरण संरक्षणका पक्षमा सधैं प्रयास गरिरहेकाले पनि मतदाताले यसपटक मलाई अवसर दिनुहुनेछ,’ उनी भन्छन्, ‘म आफूले संकलन गरेको ज्ञान सीप र क्षमतालाई न्याय, शान्ति, सुरक्षा, समाज रुपान्तरण र प्रकृति पर्यावरण संरक्षणमा लागि लगानी गर्न चाहन्छु ।’  

उनले विशेषगरी ज्येष्ठ नागरिकको योगदानलाई सम्मान गर्दै राजनीतिक पुस्तान्तरणको पक्षमा नवयुवा पुस्ताको प्रतिनिधित्व गर्ने, विकासका आयामलाई भुइँ तहका नागरिकसम्म वितरण गर्दै नागरिक सहभागितामूलक विकासको वकालत गर्ने र ‘नेताको परिभाषा परिवर्तन’ गर्दै ‘छुन सक्ने, भेट्न सक्ने’ नेतृत्वको नमुना पेस गर्ने मुख्य एजेन्डा बनाएका छन् ।

‘समाज रुपान्तरण, समृद्धि र परिवर्तनको अभाव भएको इलाम २ का नागरिकको जनजीवन सहज बनाउन  यसपटक मतदाताले हामीलाई मतदान गरी मताधिकार सदुपयोग गर्नुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘मतदाताले छाप हान्दा सही ठाउँमा हाने सही नेतृत्व  सही ठाउँमा पुग्छ । नागरिकलाई पनि अनुभूत हुनेगरीको परिवर्तन आउँछ ।’  

क्षेत्र २ मा १३ दल र १ स्वतन्त्र उम्मेदवार रहेकामा सबैले आ–आफ्नै जित दाबी गरिरहेका छन् । जेन–जेड आन्दोलनपछिको परिदृश्य केही फरक भएका कारण पनि नयाँ दललाई मतदाताप्रति आशा जागेको देखिएको छ । ‘पुरानै दल र उम्मेदवारलाई धेरैपटक जिताइसकेका मतदाता यसपटक साँचो अर्थमा नयाँ जनप्रतिनिधि हेर्न चाहन्छन्,’ राष्ट्रिय परिवर्तन पार्टीका नेता छत्र राई भन्छन्, ‘हामी जेन–जेडको भावनाअनुसार जेन–जेड आन्दोलनका घाइतेकै नेतृत्वमा अघि बढेकाले पनि मतदाताले त्यो भावनाको कदर गर्नुहुनेछ ।

इलाम २ को २०८१ को उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका थिए भने कांग्रेसका जिल्ला सभापति खड्काले २२ हजार ९ सय ४२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ र रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका थिए ।  

एमाले निरन्तर विजय

इलाम क्षेत्र २ मा एमालेले २०५६ सालयताका सबै निर्वाचनमा झन्डा फहराइरहेको छ । २०४८ सालमा एमालेका सुवासचन्द्र नेम्बाङ पूर्वाञ्चल विकास क्षेत्रबाट निर्वाचित संसद् सदस्य बनेका थिए । एउटामात्रै निर्वाचन क्षेत्र रहेको इलाम २०५१ सालदेखि तीन क्षेत्रमा बाँडियो । २०५२ सालमा पनि नेम्बाङ प्रतिनिधिसभामा निर्वाचित भए ।  

२०७४ सालपछिका प्रदेशसभा निर्वाचनमा पनि एमालेले बलियो पकड कायमै राखेको छ । अझ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा (एस)लगायत दलको तत्कालीन सत्ता गठबन्धनसमेतलाई चक्मा दिँदै एमाले उम्मेदवार नेम्बाङ नै विजयी बनेका थिए ।

२०५६ सालको निर्वाचनमा नेम्बाङ नै यो क्षेत्रबाट विजयी बने । नेम्बाङले त्यो निर्वाचनमा तत्कालीन शिक्षामन्त्री कुलबहादुर (केबी) गुरुङलाई १ हजार ७ सय मतान्तरले पराजित गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङ १७ हजार सात सय ४८ मतसहित विजयी बनेका थिए । कांग्रेसका केशव थापाले १४ हजार ४४ मत ल्याएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि नेम्बाङ १४ हजार नौ सय ३० मत ल्याएर विजयी बन्दा कांग्रेसका भेषराज आचार्यले १२ हजार आठ सय २८ मत ल्याएका थिए ।

तीन निर्वाचन क्षेत्र रहेको इलाममा त्यसपछि २ क्षेत्रको संरचना बन्यो । भूगोल परिवर्तन भयो । देश संघीयतामा गएपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेम्बाङ नै विजयी बने । उनले ३६ हजार पाँच सय १७ मत ल्याए । कांग्रेसका केशव थापाको २६ हजार आठ सय ६५ मत आएको थियो । २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी बन्दा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए ।  

२०७४ सालको निर्वाचनमा यो क्षेत्रका दुवै प्रदेशसभामा एमाले र ऊ सहितको गठबन्धन विजयी बन्यो । क्षेत्र २ (१) मा रामबहादुर रानामगर र क्षेत्र २ (२)मा गठबन्धनका माओवादी उम्मेदवार धिरेन्द्र शर्मा रमण विजयी बनेका थिए । २०७९ सालको निर्वाचनमा क्षेत्र २(२)मा एमालेकै रामबहादुर रानामगर तत्कालीन गठबन्धनलाई समेत हराएर विजयी बनेका थिए ।  

 

……………………….

इलाम क्षेत्र २ का उम्मेदवारहरू क्रमसः एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका भेषराज आचार्य, नेकपाका ओम गुरुङ, रास्वपाका गोकुल राई र राप्रपाका गणेश दुलाल (माथि) । श्रम संस्कृति पार्टीका सुदीप राई, परिवर्तन पार्टीका दिवस राई, नेजमुपाका याम लिम्बू, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र नेकपा (माओवादी)का होम खतिवडा ।

 

प्रकाशित: ८ फाल्गुन २०८२ १५:३७ शुक्रबार





Source link

Leave a Comment