यस्तो छ कांग्रेसको प्रतिज्ञा कार्यान्वयन मोडल



नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि आफ्ना प्रतिबद्धतालाई घोषणा मात्र नभई प्रतिज्ञाको रूपमा प्रस्तुत गरेको छ । पार्टीले भनेको छ : हाम्रो प्रतिज्ञापत्र पाँच वर्षपछि मूल्याङ्कन गरिने परम्परागत दस्तावेज होइन, हरेक महिना जनताले जाँच्न सक्ने रिपोर्ट कार्ड सहितको संकल्प हो ।

यसअघिका दलीय घोषणापत्रहरु नाराका पुलिन्दा मात्रै बनेको, आधा त के एक चौथाई पनि पूरा नभएको भन्दै आलोचित हुने गर्थे । यसपल्ट पनि आशंका गर्ने ठाउँ नभएका होइनन् । २०० पृष्ठको चुनाव घोषणा गरेको कांग्रेसले यी प्रतिज्ञा पूरा गर्छ चाहिँ कसरी ? कार्यान्वयनका आधार के छन् ?  पार्टीको दस्तावेजबाट यी पंक्ति उद्धृत गरिएको छ–

हामीले अघि सारेका सुशासन र क्षेत्रगत विकासका लक्ष्य चमत्कारी चुनावी नारा होइनन्, बरू राज्य संरचना र कार्यशैलीमा आमूल परिवर्तनको दृढ निश्चय र कार्यान्वयन हुनसक्ने ठोस योजनाहरू हुन् । प्रतिज्ञापत्रमा हाम्रा जुन प्राथमिकताहरू छन्, ती लामो समयदेखि Project Government अभियानका क्रममा हामीले विभिन्न क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूसँग गरिएको गहन छलफलबाट आएका हुन् । त्यस अभियानको अनुभव, अनुसन्धान, ठोस तथ्य र उपलब्ध तथ्याङ्क (Evidence-based and Data-driven) का आधारमा गम्भीर गृहकार्य सहित तयार परिएको यो विस्तृत कार्ययोजना पनि हो । केवल प्राथमिकतामात्र नतोकी हाम्रा वाचाहरूको कार्यान्वयनका लागि आवश्यक थुप्रै नीतिगत, संस्थागत, संरचनागत र कतिपय संवैधानिक सुधारका विषयलाई समयसीमा सहित प्रस्तुत गरेका छौं ।

यति ठूलो सुधार कुनै एक व्यक्ति, एउटा दल वा संस्था मात्रले गरेर सम्भव छैन । हामी सबैलाई मिलाएर, सबैको सहयोग लिँदै, सबैका चिन्ता र सरोकारको सम्बोधन गर्दै, सबैका विचार र पहिचानको सम्मान गर्दै अगाडि बढ्नेछौं । मुलुकलाई निकास दिन ‘अहिले नै सबै दलहरूसँग सहकार्य गरौं’ भन्ने आग्रह गरिरहेको नेपाली कांग्रेसले आफ्ना सुधारहरूमा सरोकारवाला सबैको अपनत्व सुनिश्चित गर्नेछ । कांग्रेस सबैलाई जोडेर मुलुकलाई निकास दिने भरोसायोग्य राजनीतिक शक्ति हो भन्ने फेरि एकचोटि प्रमाणित गर्नेछौं ।

  • पहिलो वर्षभित्रै संवैधानिक सुधार

हामीले प्रतिज्ञापत्रमा गरेका प्रतिबद्धताहरू पुरा गर्नका लागि संविधानमा केही नयाँ बुँदाहरू थप्नुपर्ने छ भने कतिपय ठाउँमा समयसापेक्ष परिमार्जन जरूरी छ । उदाहरणका लागि, सुशासनको खण्डमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायहरूमा आमूल परिवर्तन ल्याउने वाचा गरेका छौं । तर संवैधानिक परिषदको अहिलेकै संरचना कायम राखेर त्यसो गर्न सम्भव छैन । त्यस्तै, न्याय परिषदको पुरानै संरचना कायम राखी न्यायालयमा भइरहेको दलीयकरण र अनुचित राजनीतिक हस्तक्षेप रोक्न सकिँदैन ।

त्यसैले प्रतिज्ञापत्रमा समेटिएका विभिन्न क्षेत्रको सुधारका लागि व्यक्त प्रतिबद्धताहरू पुरा गर्न संविधानका कुन कुन व्यवस्थाले कार्यसम्पादनमा अवरोध पुर्‍याएका छन्, शासकीय विसंगति निम्त्याएका छन् र कसरी सुधार गर्ने भन्नेबारे गम्भीर गृहकार्य गरेर हामीले एउटा सूची नै तयार पारिसकेका छौं ।

यद्यपि, संविधान संशोधन नेपाली कांग्रेस एक्लैले मात्र गर्न सम्भव हुँदैन । यसमा संसदभित्र र बाहिरका सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता र बृहत्तर राष्ट्रिय सहमति आवश्यक छ । यसका लागि संसद शूरु हुने बित्तिकै त्यहाँभित्रका दलहरूबीच सहकार्यका लागि एउटा अन्तर-दलीय सहकार्य संरचना निर्माण गरिनेछ र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । त्यो संरचनामा एउटा न्यूनतम समझदारी कायम गरी त्यही समिति मार्फत संसद बाहिरका अन्य धेरै राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला सबैसँग संवाद र सहमति गरेर छिटोभन्दा छिटो संविधान संशोधनको विषयलाई टुङ्ग्याउनेछौं, जसले हाम्रा प्रतिज्ञाहरूको कार्यान्वय सम्भव बनाउनेछ ।

  • पहिलो वर्षभित्रै संस्थागत सबलीकरण

हाम्रो प्रतिज्ञापत्रमा उल्लेख लोकतन्त्रलाई सुदृढ र जनमुखी बनाउँदै मुलुकको आमूल रुपान्तरण गर्ने प्रतिबद्धताहरू संघीय सरकारको कुनै एउटा निर्णय वा प्रधानमन्त्री एक्लैको इच्छाशक्तिले पनि पुरा गर्न सम्भव छैन । त्यसका लागि राज्यका हरेक संस्था आफैंमा स्वतन्त्र र सबल हुनुपर्छ । तिनमा दायित्वको गहनतालाई इमानदारीपूर्वक आत्मसात गर्ने प्रवृत्ति, पर्याप्त संस्थागत क्षमता र प्राविधिक ज्ञान समेत हुनुपर्छ ।

हाम्रा नियामक संस्थाहरू वा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू, शैक्षिक संस्थाहरू, विभिन्न सार्वजनिक संस्थानहरू आदि सबैलाई दलीयकरणबाट पूर्ण रुपमा मुक्त गरी व्यवसायिक र चुस्त बनाउनु पर्नेछ । तिनको नेतृत्वमा ‘राइट म्यान इन द राइट प्लेस’ को अवधारणा अनुरुप योग्य व्यक्तिहरू नियुक्त गर्नुपर्छ । यसका लागि हाम्रो ‘नियत’ सफा हुनुपर्छ ।

यद्यपि, राम्रो नियतसँगै हाम्रा ‘नीति’हरूले पनि ती संस्थाहरूलाई सबल बनाउन मद्दत गर्नुपर्छ । यसरी संस्थाहरूलाई सुधार र सुदृढ गर्ने विषयमा के-कस्ता कानूनहरू बदल्नु पर्नेछ, कहाँकहाँ नीतिगत हस्तक्षेप जरूरी छ, त्यसको पनि एउटा सूची नै तयार गरेका छौं ।

सबैसँग सहमति र सहकार्य गर्दै पहिलो वर्षभित्रै प्राथमिकताका आधारमा हामी तमाम संस्थागत र कानूनी जटिलतालाई फुकाउने छौं । यसरी आवश्यक सबै संस्थाहरूलाई यो प्रतिज्ञापत्र कार्यान्वयनका लागि सक्षम र सबल बनाउनेछौं ।

  • नीतिगत र शासकीय सुधार

हाम्रा वाचाहरू पुरा गर्ने क्रममा विद्यमान कतिपय कानून, कार्यविधि र निर्देशिकाहरु बाधक हुनेछन् । संविधान जारी हुनु अगाडिदेखिका आजसम्म क्रियाशील यस्ता असान्दर्भिक सयौं कानूनहरूको हामीले पहिचान गरिसकेका छौं । तिनलाई या त खारेज गर्नेछौं, या समयानुकूल बनाउन परिमार्जन गर्छौं । केही कानूनहरूलाई ‘सनसेट क्लज’ (निश्चित समयपछि आफैं निष्क्रिय हुने) मा राखेर संशोधन गरिनेछ । यसरी प्रतिज्ञापत्रको कार्यान्वयनमा देखिन सक्ने सबै कानूनी र नीतिगत जटिलताको पहिचान गरिसकेका छौं ।

त्यस्तै संसद वा संसदीय समितिहरूको कार्यशैली, क्षमता र प्रक्रियागत जटिलतासँग हामी परिचित छौं । अहिले कायम ढाँचालाई मात्र अवलम्बन गर्दा हामीले प्रस्ताव गर्ने कानूनहरूको निर्माण अपेक्षित गतिमा पुरा हुन सक्दैन । त्यसैले संसदको काम गर्ने शैलीमा परिवर्तन ल्याउने र संसदीय समितिहरूलाई स्पष्ट कार्यादेश र पर्याप्त स्रोत-साधनको प्रबन्ध गर्दै प्रभावकारी बनाउने प्रक्रियाको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नेछ । यसरी हाम्रा प्रतिज्ञाहरूलाई मूर्त रूप दिन आवश्यक सयौं कानूनहरूलाई द्रुत विधायन (फास्ट ट्रयाक लेजिस्लेसन) प्रकियामार्फत परित गर्छौं ।

  • स्रोतको व्यवस्थापन

हामीलाई थाहा छ, यहाँ घोषणा गरिएका लोककल्याणकारी संकल्पहरू, विकासका योजना र कार्यक्रमहरूलाई सफलतापूर्वक र तोकिएको समयमा लागू गर्न हामीसँग पर्याप्त स्रोत उपलब्ध छैन । तर त्यो अतिरिक्त स्रोत जुटाउने उपायहरूको हामीले पहिचान गरेका छौं । हामीले वाचा गरेका नीतिगत सुधारका कारण:

  • अर्थतन्त्रको आकार बढ्नेछ । त्यसबाट राज्यको राजस्व बढ्छ र खर्च गर्ने क्षमतामा पनि उल्लेखनीय वृद्धि हुनेछ । सार्वजनिक सम्पत्तिहरुको मौद्रिकीकरण हुनेछ ।
  • अनुत्पादक क्षेत्रमा हुने खर्च कटौतीबाट बचत हुनेछ ।
  • आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि हुनेछ । सार्वजनिक-निजी साझेदारीको अधिकतम उपयोगमात्र होइन, निजी स्रोतहरू पनि परिचालन हुनेछ ।
  • सबल कूटनीतिक परिचालनमार्फत सहुलितपूर्ण वैदेशिक ऋण र सहायता आकर्षित हुनेछ ।
  • नेपाली बैंकहरूमा रहेको ठूलो पुँजीको उत्पादनशील परिचालन गरिनेछ ।
  • रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा परिचालन गरिनेछ ।
  • आन्तरिक ऋण र पूँजी बजारको सदुपयोग हुनेछ ।
  • डायास्पोराको ज्ञान, पुँजी र प्रविधि आकर्षित हुनेछ ।
  • अन्य वैकल्पिक वित्तीय विधि अल्टरनेटिभ फाइनान्सिङ मेथड हरू जस्तै हरित ऋणपत्र, विशेष प्रयोजन कोष, कार्बन व्यापार, सार्वभौम ऋणपत्र आदि प्रयोग गरी सरकारी बजेट बाहिरका आधुनिक र नवप्रवर्तनकारी वित्तीय स्रोतहरूलाई आकर्षित गरिनेछ ।

यसरी हामी आवश्यक स्रोत जुटाउने र बढाउने नीति लिनेछौं र प्राथमिकता निर्धारण गरी ती स्रोतहरूको सदुपयोग गर्दै हाम्रा योजनाहरूलाई सम्पन्न गर्नेछौं ।

  • साझेदारी (टीम नेपाल)

हाम्रा प्रतिबद्धताहरूको कार्यान्वयन संघीय सरकार एक्लैले मात्रै गर्न सक्दैन । यी संकल्पहरू पुरा गर्न ‘पार्टनरसिप’ वा साझेदारीको नयाँ संस्कृति र सहकार्य चाहिन्छ । त्यसका लागि:

  • हामी सात वटै प्रदेश र संघीय सरकारका सबै संस्थाहरूलाई समान हैसियतका साझेदार मानेर व्यवहार गर्नेछौं । यो साझेदारीमा देशका सबै ७५३ पालिका र अझ ६७४३ वडाहरू नै हिस्सेदार हुनेछन् ।
  • संविधान र कानूनको संशोधनका लागि सबै राजनीतिक दलहरू, सरोकारवाला नागरिक समाज, संघ-संस्थाहरूसँग साझेदारी गर्नेछौं ।
  • सरकार बाहिरको सबैभन्दा ठूलो र समृद्धि निर्माणमा उल्लेखनीय योगदान दिइरहेको निजी क्षेत्रसँग साझेदारी नगरी हाम्रा पूर्वाधार र विकासका थुप्रै आयोजनाहरू अगाडि बढ्न सक्दैनन् । हामी निजी क्षेत्रका नीतिगत समस्या समाधान गरी यस्तो साझेदारी निर्माण गर्नेछौं ।
  • नेपाल संलग्न विभिन्न अन्तर्राष्ट्रिय बहुपक्षीय मञ्चमा हाम्रो उपस्थिति र संलग्नतालाई अझ सघन र प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय साझेदारी बलियो बनाउँछौं र त्यसबाट प्राप्त हुने सहयोग र अवसरहरूको अधिकतम उपयोग गर्छौं ।
  • संसारभरि छरिएर रहेका नेपाली समुदायको पनि कानूनी समस्या हल गरेर उनीहरूको भावना, ज्ञान, सिप र पुँजीलाई नेपाली माटोसँग जोड्दै मुलुकको समुन्नतिको ‘पार्टनर’ बनाउँछौं ।

यसरी नेपाली कांग्रेस मुलुकको हित, शान्ति र समुन्नतिका लागि एक्लै हिँड्ने छैन । कांग्रेस नेतृत्वको सरकारले ‘टीम नेपाल’को भावनालाई प्रवर्द्धन गर्दै सहमति र सहकार्यको संस्कृतिलाई अँगालेर, सबैसँग मिलेर, सबैलाई मिलाएर एउटै लयमा बाँध्दै, जिम्मेवारीलाई बाँड्दै, सबैलाई देश निर्माणको एउटै दिशामा डोर्‍याउनेछ ।

  • नागरिक सहभागिता र राष्ट्रिय पुनर्जागरण

हाम्रा प्रतिबद्धताहरू एवं हामीले चाहेको परिवर्तनलाई साकार र दिगो बनाउने अर्को महत्त्वपूर्ण आधार हाम्रा नागरिक हुन् । नागरिकको सक्रिय सहभागिता र परिवर्तनप्रतिको अपनत्व बिना हाम्रा संकल्पहरू पुरा हुन सक्दैनन् । विकास र समुन्नति निर्माणमा नागरिकको अपनत्व भएन र आफ्नो कर्तव्यप्रति जागरुक हुने अवस्था सृजना भएन भने सरकार एक्लैले समुन्नति निर्माण गर्न सक्दैन । यस तथ्यमा सचेत रहँदै नेपाली कांग्रेसले जागरूक नागरिक र गतिशील समाजका लागि ‘राष्ट्रिय पुनर्जागरण’ अभियान सञ्चालन गर्नेछ । यस अभियानले नागरिकलाई अधिकारका प्रति सचेत र कर्त्तव्य पालनाका लागि प्रेरित गर्नेछ ।

सामुदायिक संघसंस्थाहरू, स्थानीय क्लबहरू, विदेशमा बस्ने नेपालीहरूका संघसंस्थाहरू, नागरिक समाजहरूजस्ता आम नागरिकले आफ्नै पहलमा सञ्चालन गरेका संस्थाहरूलाई यो अभियानमा परिचालन गर्नेछौं ।

यो अभियानमा हामी हरेक पुस्तालाई समान रूपले सहभागी गराउँछौं, जसले युवाहरूको जोस र जेष्ठ नागरिकहरूको अनुभवलाई राष्ट्र निर्माणमा जोड्नेछ । कांग्रेसको नेतृत्वले सबैलाई प्रोत्साहन र उत्प्रेरणा दिनेछ ।

नेपाली कांग्रेसले नागरिकलाई मतदाता र करदाता मात्र नठानी नीति-निर्माण गर्न सल्लाह लिने र राज्य सञ्चालनमा आफ्नो कामको परीक्षण गर्ने सक्रिय सहभागी मान्नेछ ।

  • पारदर्शी र उत्तरदायी नेतृत्व

हाम्रो प्रतिज्ञा अब नेपालको अवस्था बदल्ने हो र यो प्रतिज्ञापत्रमा त्यही उद्देश्य मुखरित छ । नेपाली कांग्रेसले आफ्ना लोकतान्त्रिक मूल्य-मान्यता, मध्यमार्गी सिद्धान्त र चरित्रका आधारमा संवाद, सहमति र सहकार्यमार्फत देशको अवस्था बदल्नेछ । नेपाललाई समुन्नत र सम्मानित नेपालीको साझा घर बनाएरै छाड्ने आत्मविश्वासका साथ पुनर्जागृत भएर आएको पार्टीका योजना र तयारीलाई हामीले प्रतिज्ञापत्रमा प्रष्टसँग प्रस्तुत गरेका छौं ।

हामीलाई आजको नेपाली समाजमा भइरहेको परिवर्तनलाई आत्मसात गर्ने, युवा आवाज बुझ्ने र अग्रजहरूको भरोसा जित्ने, नागरिकको आलोचना र सुझावलाई उदारतापूर्वक ग्रहण गरेर सुधारिन सक्ने नेतृत्व चाहिएको छ । प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्न र सबैसँग सहकार्य गर्न सक्ने व्यक्तिको नेतृत्वमा मात्र पार्टीले नागरिकमाझ गरेका प्रतिज्ञाहरू पूरा गर्ने सामर्थ्य राख्छ । मुलुकको वर्तमान विशिष्ट परिस्थितिमा हामीलाई जोसमात्र नभई होस पनि भएको र आवेग मात्र नभई विवेक पनि भएको नेतृत्व चाहिएको छ ।

तसर्थ, नेपाली कांग्रेसले समयको मागलाई सम्बोधन गर्नसक्ने, देशभित्र र बाहिरका नेपालीको भावना बुझेको उदार नेतृत्वलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र जारी गरेकोछ ।

  • मासिक रिपोर्ट कार्डको जवाफदेही अभ्यास

नेपाली कांग्रेस सरकारको सञ्चालन सिंहदरबारका बन्द कोठामा बसेर होइन जनताको प्रश्न र निगरानीका बीचमा रहेर हुनेछ । हामी प्रतिबद्ध छौं- सरकारले पाँच वर्षपछि होइन प्रत्येक महिना जनतालाई जवाफ दिने नवीन लोकतान्त्रिक अभ्यासको शुरुआत गर्नेछ । नेपाली कांग्रेसले सरकार गठन भएकै महिनादेखि महिनाको पहिलो दिन आगामी महिनाको कार्ययोजना र महिनाको अन्त्यमा उपलब्धिहरू सार्वजनिक गर्नेछ । हामी प्रत्येक मन्त्रालयको नेतृत्वलाई यो प्रतिज्ञापत्र अनुरूप स्पष्ट कार्यदेश तोकेर हरेक महिना वस्तुगत ढङ्गले परीक्षण गर्नेछौं ।

यसरी महिनाभरि प्राप्त भएका उपलब्धिहरू समेटेको ‘मासिक रिपोर्ट कार्ड’ देखाउने पद्धतिलाई हामी केन्द्रदेखि स्थानीय तहसम्मै संस्थागत गर्नेछौं । हामी अबको पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता र जवाफदेहिताको यही पद्धति अँगालेको गतिशील नेतृत्व दिनेछौं । जनताको स्नेह र भरोसालाई कहिल्यै टुट्न दिने छैनौं ।





Source link

Leave a Comment