प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार

एकैपटक दिइने खोपले रुघाखोकी, फ्लु, विभिन्न भाइरसजन्य सङ्क्रमण, ब्याक्टेरियाबाट हुने फोक्सोको सङ्क्रमण तथा केही प्रकारका एलर्जीसमेतबाट जोगाउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले जनावरमा परीक्षण गरेको उक्त “सार्वभौमिक खोप” (युनिभर्सल भ्याक्सिन) को मानवमा परीक्षण हुन भने अझै बाँकी छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो विधि विगत दुई सय वर्षदेखि अपनाइँदै आएको खोप विकास पद्धतिभन्दा पूर्णतः फरक र नयाँ धारणा हो। हाल प्रयोगमा रहेका खोपहरूले शरीरलाई कुनै एक निश्चित रोगविरुद्ध लड्न तालिम दिन्छन्। जस्तै: दादुराविरुद्धको खोपले दादुराबाट मात्र जोगाउँछ भने ठेउलाविरुद्धको खोपले ठेउलाबाट मात्र सुरक्षा दिन्छ। अठारौँ शताब्दीमा एडवर्ड जेनरले खोपको अवधारणा अघि सारेदेखि यही सिद्धान्त लागू हुँदै आएको छ।
तर ‘साइन्स’ नामक वैज्ञानिक पत्रिकामा प्रकाशित अध्ययनअनुसार, यो नयाँ खोपले प्रतिरक्षा प्रणालीलाई कुनै एक रोगसँग मात्र लड्न सिकाउँदैन; बरु यसले प्रतिरक्षा कोषहरूबीच हुने सञ्चार प्रक्रियाको नक्कल गर्छ। नाकमा स्प्रेका रूपमा दिइने यो खोपले फोक्सोमा रहेका सेता रक्तकोष (म्याक्रोफेज)लाई सधैँ सजग अवस्थामा राख्छ। यसले गर्दा जुनसुकै भाइरस वा ब्याक्टेरिया शरीरभित्र प्रवेश गर्न खोजे पनि शरीरले तुरुन्त प्रतिक्रिया दिन सक्छ।
जनावरमा गरिएको परीक्षणमा यसको प्रभाव करिब तीन महिनासम्म कायम रहेको देखिएको छ। अनुसन्धानकर्ताहरूले फोक्सोमार्फत शरीरभित्र प्रवेश गर्ने भाइरसको सङ्ख्या सयौँदेखि हजारौँ गुणासम्म घटेको पत्ता लगाएका छन्। शरीरभित्र छिर्न सफल भएका जीवाणु वा भाइरसविरुद्ध पनि प्रतिरक्षा प्रणाली तीव्र गतिमा सक्रिय भएको बताइएको छ। अध्ययनमा यस खोपले दुई प्रकारका ब्याक्टेरिया (स्टाफिलोकोकस ओरियस र एसिनेटोब्याक्टर बाउमानी) विरुद्ध पनि सुरक्षा प्रदान गरेको देखिएको छ।
अनुसन्धान टोलीका सदस्य प्राध्यापक बाली पुलेन्द्रनका अनुसार, यो खोपले फ्लु, कोभिड वा साधारण रुघाखोकी मात्र नभई परीक्षण गरिएका झन्डै सबै भाइरस तथा विभिन्न ब्याक्टेरियाविरुद्ध व्यापक सुरक्षात्मक प्रतिक्रिया उत्पन्न गरेको छ। साथै, घरायसी धुलोका कणबाट हुने एलर्जीजन्य दम कम गर्नसमेत यो सहयोगी देखिएको छ।
अक्सफोर्ड विश्वविद्यालयमा खोप विज्ञानकी प्राध्यापक डानिएला फेरेइराले यस अनुसन्धानलाई अत्यन्त उत्साहजनक भन्दै मानवमा नतिजा पुष्टि भए श्वासप्रश्वाससम्बन्धी सामान्य सङ्क्रमणबाट जोगिने तरिकामा ठूलो परिवर्तन आउन सक्ने बताएकी छन्।
यद्यपि, मानव फोक्सोको गहिराइसम्म खोप पुऱ्याउन स्प्रेभन्दा नेबुलाइजर उपकरण आवश्यक पर्न सक्ने सम्भावना छ। मुसा र मानिसको प्रतिरक्षा प्रणालीमा भिन्नता हुने भएकाले मानिसमा पनि उस्तै प्रभाव रहन्छ कि रहँदैन भन्ने निश्चित हुन बाँकी छ। साथै, प्रतिरक्षा प्रणालीलाई लामो समयसम्म उच्च सतर्क अवस्थामा राख्दा अन्य प्रतिरक्षा विकार उत्पन्न हुने जोखिम पनि हुन सक्छ।
अनुसन्धानकर्ताहरूले यो खोप स्थायी रूपमा प्रतिरक्षा प्रणालीलाई सक्रिय राख्न नभई हालका खोपहरूलाई पूरकका रूपमा प्रयोग गर्न सकिने बताएका छन्। महामारीको प्रारम्भिक चरणमा यस्तो सार्वभौमिक खोपले मृत्युदर घटाउने र विशेष खोप विकास नभएसम्म सुरक्षात्मक आधार तयार पार्ने अपेक्षा गरिएको छ। जाडो मौसम सुरु हुनासाथ फैलिने विभिन्न रुघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी रोगविरुद्ध मौसमी रूपमा यो खोप प्रयोग गर्न सकिने सम्भावना पनि अनुसन्धानकर्ताहरूले औँल्याएका छन्।