७ फागुन, दाङ । शंकर पोखरेल यस्तो संघारमा चुनाव लड्दैछन्, जहाँ दुई महिना अघिमात्र उनी नेकपा एमालेको दोस्रो पटक महासचिव बने । पहिलो पटक महासचिव बन्दा पनि उनी दाङ क्षेत्र २ बाट चुनाव नै लडथे । तर त्यसबेला उनले माओवादी नेतृ रेखा शर्मासँग झिनो मतले पराजय भोगे ।
संयोग कस्तो भने उनी दोस्रो पटक महासचिव हुँदा पनि चुनाव लड्न आइपुगेका छन् । राष्ट्रिय राजनीति र पार्टीभित्र एक खालको प्रभाव जमाएका पोखरेलसामु यो निर्वाचन मार्फत जनताबाट अनुमोदन भएर ३० वर्षपछि संसदीय राजनीतिमा फर्कने अवसर जुरेको छ ।
त्यसैले ३ दशक बढी लामो राजनीतिक यात्रामा पोखरेल त्यस्तो मोडमा आइपुगेका छन्, जहाँ यो पटक चुनाव जित्नैपर्ने दबाब छ । किनभने यो चुनाव उनका लागि दुई दशकपछि संसदीय राजनीतिमा फर्किन्छन् की विश्राम लिन्छन् भन्ने सवालमा निर्णायक हुनेछ । साथै राष्ट्रिय राजनीतिमा उनको सामर्थ्यको पनि परीक्षा हुनेछ ।
स्वयं पोखरेलले पनि यसलाई आफ्नो राजनीतिक जीवनको निर्णायक चुनावका रुपमा लिएका छन् । पार्टीका निकटका नेताहरु समक्ष उनले यो पटक पनि जनताबाट अनुमोदन नभए संसदीय राजनीतिबाट बिदा लिने बताइरहेका छन् । ‘यसपालि पनि जनताले विश्वास नगरे मलाई नैतिक रुपमा अब चुनाव लड्न अफ्ठ्यारो हुनेछ,’ उनले आफू निकटका नेताहरुलाई भन्ने गरेका छन् ।
त्यसैले फागुन २१ गतेको चुनावलाई पोखरेलको राजनीतिक परीक्षाको रुपमा हेरिएको छ ।
सिंगो एमालेपंक्तिले झापा ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि पोखरेलको यो निर्वाचनलाई गम्भिरताका साथ लिएको छ । राजनीतिक वृत्तमा पनि महासचिव पोखरेल प्रतिस्पर्धामा उत्रिएको दाङ क्षेत्र नम्बर २ लाई चासोका साथ हेरिएको छ ।
शंकरको राजनीतिक उतार चढाव
माध्यमिक तहको अध्ययनकै क्रममा विद्यार्थी राजनीतिमा लागेका पोखरेल ०५१ सालदेखि नै चुनावमा होमिए । त्यसबेला कांग्रेस नेता खुमबहादुर खड्काको दबदबा रहेको दाङ क्षेत्र नं २ मा दीपक गिरीलाई हराएर पोखरेलले जित निकालेका थिए ।
पहिलो चुनावमा नै जित निकालेपछि पोखरेलको राष्ट्रिय राजनीतिमा चर्चा चुलियो । त्यसपछि भने उनीसँग चुनाव जितेको अनुभव भएन । २०५६, २०७०, २०७९ सालको चुनावमा उनले लगातार हार व्यहोरे ।
०६४ को संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट सांसद बने । माधव नेपाल नेतृत्वको सरकारमा उनी सञ्चारमन्त्री समेत बने ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने फेरि चुनाव लडे । दाङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका उनी कांग्रस नेता बुद्धिराम भण्डारीसँग पराजित भए ।
०७४ को निर्वाचनमा भने उनी संघबाट प्रदेशमा झरे । त्यतिबेला एमाले र माओवादीको एकता हुँदा उनी क्षेत्र नं. २ ‘क’ बाट उम्मेदवार बने । क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा कृष्णबहादुर महरा चुनाव लडे । त्यसबेला पोखरेलले नेकपाको बलमा कांग्रेसका कमल किशोर घिमिरेलाई हराउँदै लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बने । महरा प्रतिनिधि सभामा चुनिए ।
०७९ सालको निर्वाचनमा उनको प्रतिस्पर्धा माओवादी नेता रेखा शर्मासँग भयो । कांग्रेससँगको साझा गठबन्धनकी उम्मेदवार शर्माले पोख्रेललाई १९३ मत अन्तरले हराइन् ।
पोखरेललाई नफापेको ‘मास पोलिटिक्स’
३० वर्षयता उनले चुनाव जितेर संसद छिर्न पाएका छैनन् । ०६४ सालमा समानुपातिक सांसद बनेबाहेक उनले संसद बाहिरै रहेर राष्ट्रिय राजनीतिमा प्रभाव जमाइरहेका छन् ।
आफूलाई सम्भावित पार्टी नेतृत्वका रुपमा अघि बढाइरहँदा पोखरेलले किन चुनाव जित्न सकेका छैनन् त ? एमाले नेताहरु नै भन्छन्, ‘राष्ट्रिय राजनीति र पार्टीभित्र शंकर पोखरेल जति प्रभावशाली हुनुहुन्छ, उहाँको मास पोलिटिक्स उति नै कमजोर छ ।’
अन्तरमुखी स्वभाव नै चुनावमा उनको कमजोरी बन्ने गरेको छ । एमालेका पुराना नेता छविलाल वली भन्छन्, ‘शंकर पोख्रेल विचार निर्माण, तर्क, विश्लेषण गर्ने वैचारिक नेता हुनुहुन्छ । तर स्वभावले उहाँ राजनीतिक अध्ययन, चिन्तन गर्न रुचाउने नेता हो, जसले गर्दा जनताबीच जाने र घुलमिल हुने गतिविधि कम भयो ।’
‘विद्यार्थीकालपछि उहाँ सिधै राजनीतिमा आउनु भयो,’ वली भन्छन्, ‘पार्टीभित्र पनि उहाँले आफूलाई वैचारिक नेताका रुपमा अघि बढाउनु भयो ।’
मतदाताले पोखरेललाई धेरै नबोल्ने, नखुल्ने नेताका रुपमा चिन्ने गरेको उनले बताए । जबकी पोखरेल ०५१ सालदेखि नै यही क्षेत्रबाट चुनाव लड्दै आइरहेका पुराना नेता हुन् ।
‘मतदाताले पार्टी भित्रको नेता कस्तो भनेर हेर्दैनन्’ उनी भन्छन्, ‘जनताबीचमा पुग्ने, घुलमिल हुने । दु:ख सुख बुझ्ने सरल, स्वभावका नेता खोज्छन् । हेर्दा सामान्य तर जनतासँग जोडिने यो गम्भिर भावनात्मक पक्ष हो । यस्ता पक्ष पोखरेलको चुनावी हारको कारण बनिरहेको छ ।’
शैली फेरेका शंकर
यस पटक भने आफ्नो यही कमजोर पक्षलाई बुझेर महासचिव पोखरेलले चुनावी रणनीति बदलेको एमाले नेताहरु बताउँछन् । ‘महासचिव आफैं जनता माझ घरदैलोमा पुगेर भोट मागिरहनु भएको छ,’ एमाले नेता भुवन चौधरी भन्छन्, ‘जनतासँग घुलमिल नभएको गुनासोलाई अहिले चिर्नु भएको छ ।’
एमालेका नेताले भनेजस्तै पोखरेलको चुनाव घरदैलो र समुदाय केन्द्रित देखिन्छ । कहिले उनी थारु बस्तीमा पुगेर नाच्दै गरेको देखिन्छन् त कहिले समुदायस्तरीय भेलाहरुमा पुगेर विनम्र शैलीमा भोट मागिरहेको देखिन्छ ।
प्रतिष्ठाको लडाइँ

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा चुनावी मैदानमा रहेका एमाले महासचिव पोख्रेललाई प्रतिस्पर्धा सहज भने छैन ।
यो पटक नयाँ उम्मेदवारप्रतिको आकर्षणले चुनावी माहोल बदलिएको छ । खासगरी रास्वपा उम्मेदवार विपिनकुमार आचार्यको इन्ट्रीले दाङ २ को निर्वाचन पेचिलो छ ।
आचार्य रास्वपाका संस्थापक नेता र पार्टी अध्यक्ष रवि लामिछाने निकटका व्यक्ति हुन् । अर्कोतर्फ एमाले महासचिव जस्तो हेभीवेट उम्मेदवार पनि रहेकाले दाङ २ मा रास्वपाले आफ्नो शक्ति केन्द्रित गरेको छ । आचार्यको पक्षमा चुनावी माहोल बनाउन फागुन ८ गते पार्टी अध्यक्ष रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह दाङ घोराही आउँदैछन् ।
०७९ सालकै चुनावमा रास्वपा उम्मेदवार विशाल अधिकारीले दाङ २ बाट १५ हजार ८ सय मत प्राप्त गरेका थिए । यसपटक रास्वपाको अझै भोट बढ्ने दाबी सो पार्टीका नेताहरुको छ ।
दाङ २ नेपाली कांग्रेस पनि बलियो शक्ति हो । कांग्रेसले किरणकिशोर घिमिरेलाई प्रतिस्पर्धामा उतारेको छ । समाजसेवी र व्यवसायिक छवीका घिमिरे पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अर्कोतर्फ अघिल्लो निर्वाचनको जितको विरासत बोकेको नेकपाका उम्मेदवार निर्मल आचार्य पनि प्रतिस्पर्धामा रहेकाले दाङ २ को निर्वाचन नतिजा कसको पक्षमा हुन्छ भनेर अनुमान गर्न गाह्रो छ ।
एमाले भने विगतको चुनावी अंकगणित देखाउँदै यसपटक महासचिव पोख्रेलको जित सुनिश्चित भएको दाबी गरेको छ । अघिल्लो पटक कांग्रेस–माओवादीको गठबन्धन हुँदा पनि झिनो मतलेमात्र हार्नु परेको र यसपटक चुनावी गठबन्धन नभएकाले परिस्थिति पोख्रेल अनुकूल रहेको एमाले नेताहरुको बुझाइ छ ।
संगठनिक हिसाबले एमाले दाङको बलियो शक्ति हो । जिल्लाका दुई वटा स्थानीय तहमध्ये सबैभन्दा ठूलो घोराही उपमहानगरपालिकाको नेतृत्व एमालेले गरेको छ ।
०७९ सालको चुनावी मत हेर्दा पनि एमालेको बलियो देखिन्छ । सत्ता गठबन्धनबाट उठेकी माओवादी नेता रेखा शर्माले २६ हजार ८८० मत पाएर विजयी हुँदा पोखरेल १९३ झिनो मतले मात्रै पराजित भएका थिए ।
तर बदलिएको राजनीतिक परिस्थितिमा विगतको अंकगणितले काम नगर्ने एमालेको आन्तरिक विश्लेषण छ । खासगरी जेनजी आन्दोलनको घटनालाई लिएर मतदाता चिढिएको कुरा एमालेले बुझेको छ । ‘भदौ २३ र २४ गतेको घटनाको आक्रोश पुरै मत्थर भइसकेको छैन,’ एमाले लुम्बिनी प्रदेश कमिटीकी एक नेता भन्छिन्, ‘पार्टीको माहोल अघिल्लो पटक जस्तो सजिलो छैन । जेनजी आन्दोलनको घटनाको आक्रोश अध्यक्ष केपी ओलीपछि महासचिव पोखरेलमाथि छ ।’ तर विगतको मत जोगाउन सकेमा जित एमालेको पक्षमा आउने उनी बताउँछिन् ।
एमालेका नेता छविलाल वली यसपालिको चुनावी हार–जितले महासचिव पोखरेलको भावी राजनीति तय गर्ने भन्दै हार्ने छुट नभएको बताउँछन् । ‘उहाँ पार्टी र देशकै नेतृत्व गर्नसक्ने व्यक्ति हो,’ वलीले भने, ‘यस्तोमा जनताबाट अनुमोदन हुने सके राष्ट्रिय राजनीतिमा बलियोरुपमा प्रभाव जमाउन नैतिक बल मिल्छ । त्यसैले उहाँ राजनीतिक परीक्षामा हुनुहुन्छ ।’
