सैनिक कूटनीति कि राजनीतिक दाउपेच?: टुँडिखेलमा अमेरिकी सेनाको प्रस्तुतिमा राजनीतिक रङ



प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार

सैनिक कूटनीति कि राजनीतिक दाउपेच?: टुँडिखेलमा अमेरिकी सेनाको प्रस्तुतिमा राजनीतिक रङ

नेपालको सेना दिवस र महाशिवरात्रि उत्सवको अवसरमा टुँडिखेलमा आयोजित परेडमा अमेरिकी सेना ब्यान्डको सहभागितालाई लिएर विभिन्न क्षेत्रमा राजनीतिक तथा सामाजिक बहस उत्पन्न भएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले यसलाई नेपालको राष्ट्रिय सार्वभौमसत्तामा “गम्भीर आक्रमण” र सांस्कृतिक मूल्यमा हस्तक्षेप भनेका छन्।

यो घटना प्रतिनिधिसभा चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भाइरल भएपछि विवादास्पद बनेको छ, जसले सैनिक कूटनीति, जियोपोलिटिकल प्रभाव र मिसइन्फर्मेसनका मुद्दाहरू उजागर गरेको छ। नेपाली सेनाले भने यो नियमित सैनिक सहकार्यको हिस्सा भएको स्पष्ट गर्दै आएको छ, तर ओलीको वक्तव्यले आम मानिसमा अफवाह फैलाउन सहयोग गरेको छ।

सेना दिवसमा विदेशी सेनाको सहभागिता

नेपाली सेनाको २६३औँ सेना दिवस मनाइरहँदा महाशिवरात्रिसँगै टुँडिखेलमा भव्य कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा नेपाली सेनाको परम्परागत परेड, राइफल तथा तोप सलामी, सैनिक प्रदर्शन र सांस्कृतिक कार्यक्रमहरू आयोजित थिए।

विशेष रूपमा, मित्रराष्ट्रहरूका सैनिक ब्यान्डहरूले संगीत प्रस्तुति दिएका थिए; भारत, बेलायत र अमेरिकाका सेना ब्यान्डहरूले संयुक्त रूपमा प्रदर्शन गरेका थिए, जसमा अमेरिकी सेनाका दुई दर्जनभन्दा बढी सैनिकहरूले संगीत बजाएका थिए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, यो अभ्यास लामो समयदेखिको परम्परा हो। “यो सैनिक दिवसमा विदेशी सेनाहरूसँगको सांस्कृतिक आदानप्रदान र सैनिक कूटनीतिको हिस्सा हो,” उनले भनेका छन्। नेपाली सेनाले भारतसँग ‘सूर्य किरण’, चीनसँग ‘सगरमाथा फ्रेन्डसिप’ र अमेरिकासँग ‘ब्यालेन्स्ड नेल’ जस्ता संयुक्त अभ्यासहरू गर्दै आएको छ।

यसबाहेक, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गरेको छ – जस्तै बेलायतको क्यानाइन पेट्रोल प्रतियोगितामा स्वर्ण पदक र पाकिस्तानमा १७ देशका ३८ टिमबीच स्वर्ण पदक जितेको। संयुक्त राष्ट्र शान्ति मिसनहरूमा नेपालको योगदानले सेनालाई विश्वव्यापी रूपमा “विश्वसनीय र विश्वासयोग्य” बलको रूपमा स्थापित गरेको छ।

सैनिक कूटनीति कि राजनीतिक दाउपेच?: टुँडिखेलमा अमेरिकी सेनाको प्रस्तुतिमा राजनीतिक रङ

ओलीको वक्तव्य र विगतका तथ्यहरू

यो वर्षको कार्यक्रममा अमेरिकी सेनाको सहभागितालाई लिएर विवाद उत्पन्न भयो, तर नेपाली सेनाले यो “प्रायोजित” वा अतिरञ्जित नभई नियमित सहकार्य भएको स्पष्ट गरेको छ। “हामीले यसमा कुनै मूल्यांकन गरेका छैनौं, र हाम्रा क्रियाकलापहरू स्वाभाविक रूपमा निरन्तर छन्,” प्रवक्ताले भनेका छन्। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोट जारी गर्दै कार्यक्रमको बारेमा सत्य तथ्यहरू सार्वजनिक गरेको प्रवक्ताले बताएका छन्।

यसै सन्दर्भलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सांस्कृतिक मूल्य, परम्परा र चाडपर्वमा हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। “किन एउटा मात्र विदेशी सेनालाई निम्तो दिइयो? नेपालको भाषा, संगीत, नृत्य र चलनलाई कमजोर पार्नु हुँदैन,” उनले प्रश्न गरेका छन्।

उनले आफ्नो पार्टीको नीति कुनै विदेशी राष्ट्रको पक्षमा नभएको र यो घटना नेपालको विदेश नीतिविपरीत भएको समेत भनेका छन्, तर विगतमा ओलीकै कार्यकालमा पनि विदेशी सेना ब्यान्डहरूले टुन्डिखेलमा प्रदर्शन गरेको तथ्य उजागर भएको छ।

उदाहरणका लागि, ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा पनि भारत, चीन, अमेरिका, बेलायत र पाकिस्तानसँगका सैनिक सहकार्यहरू भएका थिए, जसमा विदेशी ब्यान्डहरूको सहभागिता थियो।

ओलीको यो वक्तव्य चुनावको पूर्वसन्ध्यामा लोकप्रियता र राष्ट्रवादी छवि बनाउन विवादित बनाउन खोजिएको जस्तो देखिन्छ। तीन पटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट देशको परराष्ट्र नीतिमा खलबल आउने खालको अभिव्यक्तिले भविष्यमा नेपालको परराष्ट्र नीतिलाई असर गर्न सक्ने अनुमान सुरक्षा विज्ञहरूले गरेका छन्।

सेना र विज्ञहरूको स्पष्टीकरण

नेपाली सेनाले यो विवादलाई मिसइन्फर्मेसनको रूपमा व्याख्या गर्दै आएको छ। प्रवक्ताले भने, “यो परम्परागत अभ्यास हो जसमा मित्रराष्ट्रहरूका सेनाहरूसँग सांस्कृतिक आदानप्रदान हुन्छ। नेपाली सेनाको ब्यान्डले पनि भारत, अमेरिका, बेलायत जस्ता देशहरूमा प्रदर्शन गरेको छ।” सेनाले सुरक्षा सम्बन्धहरूमा कुनै प्रभाव नपर्ने बताएको छ।

मिसइन्फर्मेसन नियन्त्रणका लागि सेनाले प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत जानकारी प्रसारण गर्दै आएको छ। “हाम्रो फोकस सत्य तथ्यहरू आम जनमानसलाई उपलब्ध गराउने हो,” प्रवक्ताले भनेका छन्। यस्तो अभ्यास हाम्रो सैनिक कूटनीति र पारदर्शितासँग जोडिएको कुरा प्रवक्ताले प्रस्ट पारेका छन्।

नेपाल प्रहरीका पूर्व डीआईजी नवराज सिलवालले यो विषयलाई सकारात्मक रूपमा व्याख्या गर्दै भने, “राष्ट्रिय उत्सवमा मित्रराष्ट्रहरूको सांस्कृतिक प्रदर्शन सांस्कृतिक कूटनीति हो, जसलाई सकारात्मक लिनुपर्छ।” उनले सामाजिक सञ्जालमा टीआरपी र चुनावी फाइदाका लागि यो प्रोपागान्डा फैलाइएको ठानेका छन्।

“अन्य देशहरू जस्तै भारत र बेलायत पनि थिए, तर अमेरिकालाई मात्र विवादित बनाइयो,” उनले भनेका छन्। सिलवालले मिसइन्फर्मेसन नियन्त्रणका लागि प्रहरीको भूमिका उल्लेख गर्दै भने, “यो फौजदारी मुद्दा होइन, तर स्पष्ट गरेर भ्रम हटाउनुपर्छ। परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ।” भविष्यमा यस्ता विवाद रोक्न जागरण फैलाउनुपर्ने उनको सुझाव छ।

नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल तथा रणनीतिक विश्लेषक बिनोज बस्न्यातले यो घटनालाई जियोपोलिटिकल सन्दर्भमा व्याख्या गरेका छन्। “साना देशहरूले ठूला शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ, जसलाई नेपालले गरेको छ,” उनले भनेका छन्। अमेरिका, बेलायत र भारतसँगको सैनिक कूटनीतिलाई सराहनीय ठहराउँदै, “अमेरिकाले संयुक्त राष्ट्रलाई समर्थन गर्दै २६ राज्यहरूबाट नेपाल आएका थिए,” उनले उल्लेख गरेका छन्।

बस्न्यातका अनुसार नेपालको अस्थिरताको कारण ठूला देशहरूलाई “कुनै समूहले नेपालमा अमेरिकी छाप राम्रो नहोस् भन्ने चाहन्छ,” साथै कुनै पनि देशको राजनीतिक पार्टीले कुनै देशको पार्टीसँग सम्बन्ध विस्तार गर्ने र राष्ट्रिय नीतिलाई वास्ता नगर्नुले पनि यस्तो कुरालाई बढावा दिन्छ। जसले गर्दा भविष्यमा पनि नेपालमा यस्ता कुरा आउने गर्छन्; त्यसैले यस्तो मिसइन्फर्मेसन न्यूनीकरणका लागि सरकारी तवरबाट नै आवश्यक प्रचार गर्न जरुरी भएको उनको मत छ। नेपालको विदेश नीति के र कस्तो भन्ने सामान्य कुराहरू पनि सर्वसाधारणमा जानकारी हुनु आजको आवश्यकता रहेको उनको तर्क छ।

सामाजिक सञ्जालमा फैलाइएका भ्रम र राष्ट्रवादी कार्ड

विगत दुई दिनदेखि सामाजिक सञ्जालमा यो विषयले तीव्र बहस जन्माएको छ। फेसबुक, इन्स्टाग्राम र युट्युबमा भाइरल भिडियोहरूले “विदेशी सेना नेपाल आएको” भन्दै भ्रम फैलाएका छन्। “अमेरिकी सेनाले टुन्डिखेलमा परेड गरेको छ, अब देशलाई खतरा छ,” जस्ता दाबीहरू छन्, तर नेपाली सेनाले यो भिडियो गलत व्याख्या भएको स्पष्ट गरेको छ। चुनावको समयमा यो मुद्दालाई राष्ट्रवादी कार्डको रूपमा प्रयोग गरिएको छ। सामाजिक सञ्जालमा टीआरपी बढाउन र फलोअर्स कमाउन यस्ता कन्टेन्टहरू फैलाइएका छन्। नेपालमा सामाजिक सञ्जाल नियमनको स्पष्ट कानुन नभएकाले यसको प्रभाव आगामी दिनहरूमा झन् बढ्ने खतरा छ।

परराष्ट्रविदहरुका अनुशार यो घटना जियोपोलिटिकल हो र विगतका प्रधानमन्त्रीहरूको कार्यकालमा पनि भएका थिए। यस्ता कार्यहरू हस्तक्षेप नभई मित्रताको प्रयास हुन्; नेपालले पनि धेरै देशहरूमा आफ्नो परेड देखाउँदै आएको छ। शान्ति मिसनमा अबल र राम्रो छवि बनाएको नेपालले सैनिक कूटनीतिलाई मुख्य कूटनीतिको रूपमा प्रयोग गर्दै आएको छ। सैनिक कूटनीति नेपालको परराष्ट्र नीतिकै एउटा भाग हो।

विज्ञहरूका अनुसार, यो विवादले नेपालको सैनिक कूटनीतिलाई मजबुत बनाउने अवसर दिन सक्छ, तर मिसइन्फर्मेसनले जियोपोलिटिकल तनाव निम्त्याउन सक्छ। सरकारले सकारात्मक वातावरण सिर्जना गर्नुपर्छ र राजनीतिक दलहरूले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ। नेपालको खुला समाजमा जागरण फैलाएर यस्ता मुद्दाहरू रोक्न सकिन्छ। यो घटनाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पारदर्शिता र सन्तुलनको महत्व उजागर गरेको छ।





Source link

Leave a Comment