६ माघ, काठमाडौं । चुनावी अभियानमा व्यस्त नेताहरू यतिबेला मतदाताका घरदैलोमा छन्। नयाँ–पुराना सबै शक्तिहरू मतदातालाई आफूतिर तान्न कसरत गरिरहेका छन्। जसरी हुन्छ मतदातालाई आफू चोखो देखाएर मत माग्नु छ।
यतिसम्म कि, जनताबाट प्रश्नले घेरिएका नेताहरूले आफूलाई इमानदार देखाउन आफ्नो इमान नै दाउमा राखेका छन्। प्रविधि हाबी भएको यो समयमा एआई–एल्गोरिदमलाई दोष दिएर अबोध मतदाता झुक्क्याउने काम झन् सहज बनेको छ। असल गरे आफूले दाबी गर्ने नेताहरू कमसल गरे एआई वा एल्गोरिदमलाई दोष दिएर पन्छिने क्रम बढ्दो देखिन्छ।
जस्तो, एमाले अध्यक्ष केपी शर्मा ओलीकै मतदातासँगका केही संवाद हेरौँ। उनी अहिले झापामा घरदैलोमा व्यस्त छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा–५ बाट उम्मेदवार बनेपछि रक्षात्मक देखिएका ओलीले यसपटक घरदैलो छाडेका छैनन्। बरु मतदाताका प्रश्नमा जस्तै भए पनि जवाफ फर्काइरहेका छन्।
झापास्थित कमल गाउँपालिका–१ मा घरदैलोको क्रममा स्थानीय मोहनबाबु शेर्पाले जेनजी आन्दोलनका क्रममा नेताका घरबाट निस्किएका पैसाबारे सोधेका थिए। विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवालगायतका घरमा जलेको पैसाबारे सोधेका थिए। तर, ओलीले एआई निर्मित भनेर ती मतदाताका प्रश्नलाई पन्छाइदिए।
‘त्यो भिडियो र फोटोहरू एआई प्रविधि प्रयोग गरेर बनाइएका हुन्। विदेशतिर एआईको प्रयोग गरेर यस्ता नक्कली कुराहरू बनाइन्छन्। त्यो नेपाली फोटो नै होइन, दुष्प्रचार गर्न बनाइएको हो,’ ओलीको जवाफ थियो।
तर, मतदाताले त्यसै छाड्नेवाला थिएनन्। ‘त्यतिबेला (जेनजी आन्दोलन) पत्रकारहरूले जलेको ट्याङ्की र पैसा प्रत्यक्ष प्रसारणमै देखाएका थिए, त्यो पनि एआई हुन्छ र?’ भनेर सोधिहाले। ओलीले पनि बचाउ गर्दै भने, ‘अहिलेको जमानामा देखिने सबै कुरा सत्य हुँदैनन्। तर, यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित भयो भने हामी छानबिन गरेर कारबाही गर्छौँ।’
अहिलेको जमानामा देखिएका सबै कुरा सत्य हुँदैनन् भन्ने ओली तिनै हुन्, जुन पार्टीले यसअघि आफ्नो महाधिवेशनमा एआई–सिर्जित फोटो हालेर भ्रम फैलायो। एमाले नेता महेश बस्नेतलगायतका शीर्ष नेताहरूले नै महाधिवेशनको उद्घाटनसत्रमा ठूलो भिड जम्मा भएको देखाउन एआई निर्मित फोटो पोस्ट गरेका थिए।
एआईमात्र होइन, आफ्नो कमजोरी ढाकछोप गर्न एल्गोरिदमलाई दोष दिने पनि कम्ती छैनन्।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पनि आफ्नो घरमा जलेको भन्दै आएका भिडियो एआईबाट बनाइएको दाबी गरेका छन्। ‘यो फेक भिडिओ हो। बाहिरबाट ल्याइएको भिडिओ हो। मेरो घरमा २० लाख रे, ५० लाख रे! यो फेक भिडिओ हो,’ गत २८ असोजमा सानेपामा आयोजित तत्कालीन केन्द्रीय समिति बैठकमा देउवाले भनेका थिए, ‘यो धेरै पहिलाको भिडिओ, फेक भिडिओ बनाएर मेरो खिलाफमा षड्यन्त्र गर्ने कुरा अहिले सामाजिक सञ्जाल र विदेशी सबै आइसक्या छ।’
फोटो र भिडियोबाहेक अडियोका हकमा पनि नेतादेखि अभियन्ताका दाबी उस्तै छन्। आफ्नाबारे केही कुरा बाहिर आए एआईलाई दोष दिन पछि पर्दैनन्। जस्तो, केही समयअघि राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारी वेबसाइट ह्याक (डिफेस) गराउन भन्दै ह्याकरसँग कुराकानी गरेको एउटा अडियो टेकपाना मिडियामार्फत सार्वजनिक भयो। उक्त अडियोमा प्रसाईंले सरकारी वेबसाइट ह्याक गरेर राजावादी सन्देश छोड्न भनेका थिए। सोहीअनुसार ८/१० वटा वेबसाइट डिफेस पनि भयो।
तर, प्रसाईंले यसमा आफ्नो हात नरहेको बताए। सार्वजनिक अडियो पनि एआईबाट बनाइएको र चरित्रहत्या गरिएको दाबी गरे। तर, नेपाली फर नेपालका ह्याकर सन्देश अर्याल (जसले प्रसाईंसँग कुराकानी गरेका थिए) ले भने उक्त अडियो वास्तविक भएको र प्रसाईंकै सहयोग र निर्देशनमा काम गरेको स्वीकारिसकेका छन्।
एआईमात्र होइन, आफ्नो कमजोरी ढाकछोप गर्न एल्गोरिदमलाई दोष दिने पनि कम्ती छैनन्। जस्तो, पुराना दलका कार्यकर्ता समाज पहिलाभन्दा खस्कँदै गएको स्वीकार गर्छन्। सामाजिक चेत तुलनात्मक रूपमा तल झरेको आफैँ बताउँछन्। तर, समाज यस्तो हुनुका पछाडि आफू आबद्ध दलका यसअघिका कर्म कारक हुन् भनेर स्वीकार्न तयार देखिँदैनन्। बरु सिधै एल्गोरिदमले यो अवस्थामा पुर्याएको दोष देखाउँछन्।
‘यो व्यवस्था कुनै एल्गोरिदम र पपुलिस्टहरूले ल्याएको व्यवस्था होइन। यो त १७,००० मानिसको रगतसँग साटिएर ल्याएको व्यवस्था हो। त्यसैले अबको मिसन भनेको जसको नीति उसैको नेतृत्व,’ पछिल्लो समय नयाँ भनिएका दलप्रति देखिएको सञ्जालको क्रेजलाई कटाक्ष गर्दै नेकपा कार्यकर्ता खड्क थामी रापिलले सामाजिक सञ्जालमा लेखेका छन्।
यसरी एल्गोरिदमलाई दोष देखाएर विपक्षीप्रति कटाक्ष गर्नेमा पुराना मात्र होइन, नयाँ दलका नेता/कार्यकर्ता पनि कम छैनन्। धराने पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि फेसबुकमा विभिन्न आईडी बनाएका छन्।
‘श्रम संस्कृति पार्टी – हर्कवाद’ भन्ने एउटा ग्रुप पनि बनाइएको छ। उक्त ग्रुपमा श्रम संस्कृति पार्टी– हर्कवादकै ह्यान्डलबाट साइबर सेनाको माध्यमबाट रास्वपाले सामाजिक सञ्जालको एल्गोरिदम नै बदलेको आरोप लगाइएको छ।
‘लाखौँ साइबर सेना खटाएर घन्टी बजाउँदै फेसबुक–टिकटकको एल्गोरिदम बदल्दै जनता झुक्याउँदै चुनाव जितेर मात्र हुन्न। देश विकास गर्न त सिद्धान्त, इमानदारिता, अठोट र कडा परिश्रम चाहिन्छ। त्यसैले ‘माटो’ को विकल्प छैन,’ उक्त ग्रुपमा लेखिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यस्ता कुराप्रति लक्षित गर्दै बेलामौकामा टिप्पणी गरेका छन्। आमवृत्तबाट आह्वान गरिएको पब्लिक डिबेटमा सहभागी हुने इच्छा देखाउँदै गरेको पोस्टमा समेत उनले यसको सङ्केत गरेका थिए।
उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ।’
आमवृत्तमा एल्गोरिदमलाई यसरी प्रस्तुत गरिएको छ कि मानौँ सबै बिग्रन थालेको यसकै कारण हो। सामाजिक सञ्जालमा बालकृष्ण खत्री लेख्छन्, ‘फेरि नयाँ एल्गोरिदम? साँच्चिकै हाम्रो देशमा के हुँदै छ ? बुझिसक्नु भएन बा !’
यसरी आमनागरिकमा एल्गोरिदमका नाममा आवश्यक भन्दा ठूलो भय सिर्जना गर्न थालिएको देखिन्छ। जसलाई लिएर एआई विज्ञ दोभान राईले संस्थागत असफलतालाई एल्गोरिदमसँग जोडेर हेर्न नहुने टिप्पणी गरेकी छन्।
एक कार्यक्रममा बोल्दै उनले भनेकी छन्, ‘एल्गोरिदमको भाष्य कहिलेकाहीँ जे गर्यो त्यही दिन्छ भन्ने छ भने कहिलेकाहीँ एल्गोरिदमले नै सबै गर्यो भनेर बलिको बोको बनाइन्छ। तर, यो समस्या भनेको संस्थागत असफलता हो।’
यद्यपि, एल्गोरिदमले मतदाताहरू प्रभावित गर्ने अवस्था रहे पनि सबै दोष त्यसलाई लगाएर आफ्ना कमजोरी ढाकछोप गर्न नहुने तर्क डा. राईको थियो। लेखक युभल नोहा हरारी पनि एल्गोरिदमको प्रभावलाई कम आँक्न नहुने तर्क गर्छन्। यसले लोकतन्त्रलाई नै चुनौती थपिने उनले बताएका छन्।
‘एल्गोरिदमले नै न्युज फिड अध्यावधिक गरिदिने हुँदा फेसबुक र टिकटकमा आउने न्युजफिडहरूको नियन्त्रण एल्गोरिदममा छ। पाठकहरूले परम्परागत मिडिया र तिनका सम्पादकमाथि अविश्वास गर्दै आफ्नो सामाजिक सञ्जाल अध्यावधिक गरिदिने एल्गोरिदमप्रति बढी विश्वास गरिरहेका छन्,’ उनले रिचुला साहसँगको एक संवादमा भनेका छन्, ‘जब सार्वजनिक संवाद एल्गोरिदमको नियन्त्रणमा हुन्छ त्यसले लोकतन्त्रलाई चुनौती थपिदिन्छ।’
यसरी प्रविधि र सामाजिक सञ्जालका एल्गोरिदम नयाँ चुनौतीको रूपमा आएको सत्य भए पनि नेताहरूले आफ्ना कमजोरी ढाकछोप गर्ने पछिल्लो अस्त्र यसैलाई बनाइरहेको बताउँछन्, युवा विश्लेषक नवीन तिवारी।
तिवारीले नेपाली नेताहरूले आफ्ना विवादास्पद अभिव्यक्ति र कमजोरीलाई ढाकछोप गर्न एआई र सामाजिक सञ्जालको एल्गोरिदमलाई दोष दिने प्रवृत्ति बढेको बताए। उनले यो समस्या प्रविधिमा भन्दा बढी जनताको सोच, मानसिकता र ‘क्रिटिकल थिंकिङ’ को कमीमा रहेको जोड दिए।
तिवारीका अनुसार, कुनै भिडियो भाइरल भएपछि नेताहरूले तुरुन्तै ‘यो एआईले बनाएको डिपफेक हो’ भन्ने दाबी गर्छन्। उनीहरूका समर्थकहरूले यो कुरा पत्याउँछन् र फैलाउँछन्। यसले न्युट्रल जनतालाई पनि प्रभावित गर्छ, जसले ‘ए! एआई रहेछ’ भन्ने भ्रम सिर्जना गर्छ। यसरी नेताहरूले एआईको नाम जोडेर झुटा कुरा फैलाउन र जिम्मेवारीबाट पन्छिन सजिलो बनाएका छन्।
‘हामीले क्रिटिकल सोच्ने, फ्याक्ट चेक गर्ने बानी नबसालेसम्म यो समस्या रहिरहन्छ,’ तिवारीले थपे, ‘मानौँ, एल्गोरिदमले आम मतदातालाई बहकाइ पनि रहेको छ रे! तर, आज यो अवस्था कसको कारण आयो? दशकौँसम्म शासन गर्ने नेताहरूले सुसूचित जनता बनाउने प्रणाली विकास गर्न सकेनन्। शैक्षिक संस्थाले क्रिटिकल थिंकिङ र फ्याक्ट फाइन्डिङलाई प्रोत्साहन गरेनन्। मिडिया र सूचना संस्था बलियो बनाउन सकेनन्।’
त्यसैले अहिलेको समयमा एल्गोरिदममा खेल्ने स्पेस बनिरहेको छ भने त्यसको जिम्मेवारी पनि पुरानै नेतृत्वको रहेको तिवारीले बताए। यसअघि शासनसत्तामा रहेकाले डिजिटल साक्षरतामा काम नगर्दा यो समस्या उत्पन्न भएकोले उनीहरूले नै यो अवस्थाको जिम्मेवारी लिनुपर्ने तर्क तिवारीको छ।
