चुनाव घोषणयता मधेसमा ५६ जनाको हत्या


सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ एक सब-इन्जिनियर प्रमोद यादवको गोली हानी हत्या भएको घटनामा कसको संलग्न थियो भन्ने विषयमा प्रहरी अझै सुराकविहीन छ।

हत्याको विरोध गर्दै सर्लाही जिल्ला अदालतका कर्मचारीले दिनभर सेवा बन्द गरे। उनीहरूले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरे पनि प्रहरीले सुराकसमेत भेट्टाउन सकेको छैन। यादवको हत्यालाई जोड्दा चुनाव घोषणा भएयता मात्र मधेस प्रदेशमा ५६ जनाको हत्या भएको छ।

प्रमोद यादवको हत्याबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि सिसी क्यामराको फुटेजलगायत हेरिरहेको बताएका छन्। उनले छिट्टै हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेका छन्।

सिरहाको सुखीपुर नगरपालिका-६ बैसखागाउँ निवासी ३६ वर्षीय यादव सर्लाही जिल्ला मलंगवा नगरपालिका–१० देवीटोलस्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए।

आइतबार साँझ उनलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले घरबाहिर बोलाएर गोली प्रहार गरेका थिए। यादवको देब्रे छातीमा गोली लागेको थियो। उनी मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर पदमा कार्यरत थिए।

गोली प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर, अस्पताल पुर्‍याएलगत्तै (८ः३० बजे) चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी राईले जानकारी दिए।

घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट दुई किलोमिटर उत्तरतिर छ। रातिदेखि नै सर्लाही प्रहरीले दोषीको खोजी कार्यलाई तीव्र पारेको जनाएको छ।

सदरमुकाम मलंगवाका विभिन्न नाकाहरूमा सुरक्षा जाँच कडा पारिएको छ भने शंकास्पद क्षेत्रहरूमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

‘सब–इन्जिनियर यादवमाथि किन र कसले गोली प्रहार गर्‍यो भन्ने विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘अहिले हामीले विभिन्न कोणबाट अनुसन्धानलाई सूक्ष्म रूपमा हेरिरहेका छौं।’

यता, मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले आफ्नो मातहत कार्यालयका राष्ट्रसेवकको हत्यामा संलग्नको खोजी तथा अनुसन्धानमा सक्रियता बढाउन मधेस प्रदेश प्रमुख (डिआइजी) गोविन्द थपलियालाई ध्यानाकर्षण गराएको बताए।

‘यो घटना अत्यन्त दुःखद हो। निर्वाचनको अवधिमा मजबुत पारिएको भनिएको सुरक्षा व्यवस्थाबिचको यस घटनाले स्थानीयमा त्रास पैदा गरेको छ। सुरक्षा संयन्त्रलाई चुस्त पार्न प्रदेश प्रमुखलाई निर्देशन दिएको छु,’ मन्त्री गुप्ताले भने।

मृतक यादवको गाउँ रहेको सिरहा–२ का उम्मेदवार शिवशंकर यादवले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल पत्ता लगाई कानुनी दायरामा ल्याएर पीडित परिवारलाई राहत दिन माग गरेका छन्।

सर्लाहीमा यादवको हत्या लगत्तै सोमबार (फागुन ४ गते) रौतहटमा एक महिलाको बीभत्स हत्या भयो। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वाका महन्थ यादवको २८ वर्षीया श्रीमती आरती देवी यादवको बीभत्स हत्या भएको हो।

आरतीको आफ्नै सुत्ने कोठामा घाँटीमा धारिलो हतियार प्रहार गरी बीभत्स हत्या भएको आशंका गरिएको छ। आरतीका पति महन्थ यादव भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आइतबार अबेरसम्म मृतकको घर खुल्न नसकेपछि स्थानीयको आग्रहमा इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाको टोली पुगेर घरको ढोका खोलेपछि आफू सुत्ने खाटमै घाँटी काटिएको अवस्थामा आरतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए।

घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धानमा पति महन्थले नै आरतीको हत्या गरेको आशंका गरिएको छ।

दुई साताअघि सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनार छेउमा रहेको आफ्नै खेतमा ट्याक्टरले खेत जोतिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार यादवमाथि दुई राउन्ड गोली प्रहार गरिएको थियो। एक गोली छातीमा र अर्को पिठ्युँमा लागेको थियो।

घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकिएको र गोली प्रहारको कारण तथा अभियुक्तको पहिचान खुल्न नसकेको डिएसपी पालले जानकारी दिए। यो घटनापछि स्थानीय त्रसित छन्।

‘घटना भएको करिब डेढ घण्टापछि मात्र हामीलाई जानकारी आयो। दोषी पहिचानका लागि प्रयास जारी छ,’ उनले भने।

सोही दिन महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव घरनजिकैको उखुबारीमा फेला परेको थियो। निर्वस्त्र अवस्थामा मृत फेला परेकी उनी माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्।

परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घरअगाडिकै उखुबारीमा उनको शव फेला परेको थियो। माघ १४ गते मध्यराति करिब २ बजेतिर बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा जगरुक मण्डलको घरमा एक समूह प्रवेश गरी अन्धाधुन्ध हतियार प्रहार गर्‍यो। उक्त घटनामा आमा र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने बुबासहित तीन जना घाइते भएका थिए।

घटनामा जगरुक मण्डलकी पत्नी ४६ वर्षीया सुमित्रा देवी र ३१ वर्षीय छोरा रामईश्वर मण्डलको बीभत्स हत्या भएको थियो। हतियार प्रहारबाट जगरुक, २१ वर्षीया छोरी रिना कुमारी र २३ वर्षीया बुहारी मनिता घाइते भएका थिए।

बुहारी मनितालाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले मनितासहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। मनिता रामईश्वरकी पत्नी हुन्।

उनीसँगै बाराको प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पनि पक्राउ गरिएको छ। धानुकलाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ मुसहरवाबाट भारत जाँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक अनुसन्धानमा मनिता र धर्मेन्द्रबिचको विवाहेतर सम्बन्धका कारण घटना घटेको खुलेको छ। ‘घटनामा अहिलेसम्म मनिता र रामईश्वरको संलग्नता रहेको खुलेको छ। अनुसन्धानमा अहिलेसम्म यी दुई जनाबाहेक अन्यको संलग्नता देखिएको छैन। थप अनुसन्धान हुँदै छ,’ बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भने।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चुनाव अवधिभित्र शृंखलाबद्ध रूपमा भएका यी गम्भीर अपराधका घटनाले मधेसमा त्रासको वातावरण बनिरहेको छ।

यद्यपि यी घटना पारिवारिक र व्यक्तिगत रिसइबीको कारणले भएकाले राजनीति र चुनावसँग जोडेर हेर्न नमिल्ने भनाइ मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा मधेस प्रदेशमा ५६ वटा हत्याका घटना भएका छन्। तीमध्ये १४ वटा घटना साना र ठुला हतियार प्रयोगबाट भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०८२/८३ सुरु भएयता मधेसका आठ जिल्लामा ५६ जनाको हत्या भएको हो। मृतकमध्ये २६ पुरुष र १८ महिला छन्। यस्तै नौ बालक र तीन बालिका रहेको तथ्यांकमा उल्लेख छ।

जिल्लागत तथ्यांकअनुसार सबैभन्दा बढी हत्या सप्तरीमा १३ जनाको हत्या भएकोमा पाँच पुरुष, ६ महिला तथा एक/एक बालक र बालिका छन्।

सो अवधिमा धनुषा र सिरहामा नौ–नौ जनाको हत्या भएको छ। धनुषामा हत्या हुनेमा चार महिला, दुई पुरुष, दुई बालक र एक बालिका छन्।

सिरहामा चार पुरुष, तीन महिला तथा एक–एक जना बालक र बालिका छन्। रौतहटमा आठको हत्या भएकोमा चार पुरुष, दुई महिला र दुई बालक छन्।

पर्सामा ६ जनाको हत्या भएकोमा तीन पुरुष, दुई महिला र एक बालक छन्। महोत्तरी र सर्लाहीमा चारचार जनाको हत्या भएको छ। महोत्तरीमा तीन पुरुष र एक महिला तथा सर्लाहीमा चार पुरुषको हत्या भएको तथ्यांक छ। सोही अवधिमा सबैभन्दा कम बारामा तीन जनाको हत्या भएको थियो, जसमा एक पुरुष र दुई बालक छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशमा ९९ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। आव २०८०/८१ मा मधेसमा १२७ जनाको हत्या भएको थियो भने आव २०७९/८० मा १०९ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

चुनावी अवधिमा सिरहा र सर्लाहीमा गोली प्रहारबाट भएका दुई व्यक्तिको हत्या घटना सुरक्षा घेराभित्र भएका छन् तर प्रहरीले अझसम्म संलग्नबारे सुइँको समेत पाउन नसक्नुले मधेसको सुरक्षा व्यवस्थामाथि चुनौती देखिएको छ।

कुन जिल्लामा कतिको हत्या ?

सप्तरीमा १३

धनुषा ९

सिरहा ९

रौतहट ८

पर्सा ६

महोत्तरी ४

सर्लाही ४

बारा ३

प्रकाशित: ४ फाल्गुन २०८२ २१:०८ सोमबार





Source link

Leave a Comment