टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?



४ फागुन, काठमाडौं । ‘हाम्रा धेरै मित्रराष्ट्रहरू छन्। कुनै एउटा मात्र मित्रराष्ट्रको सेना किन ल्याइयो? सार्वभौम राष्ट्रमा विदेशी सैन्य गतिविधि किन? हाम्रा गौरवपूर्ण सांस्कृतिक महत्त्व झल्कने चाडपर्वहरू छन्। हाम्रा भाषा, बाजागाजा, नृत्य र रीतिरिवाजमाथि नराम्ररी हमला भएको छ।’

तीन पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार झापाको दमकस्थित आफ्नै निवासमा शिलापत्र सँग अमेरिकी सेना नेपाल आएको बारे आफ्नो धारणा राखे।

आइतबार मात्रै २६३औँ नेपाली सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा अमेरिकी सेनाले सैनिक मञ्च टुँडिखेलमा ब्यान्ड प्रस्तुति दिएको थियो। यही विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै भोलिपल्ट (आज) ओलीले आफ्नो धारणा राखेका हुन्।

ओलीकै शैलीमा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले आइतबार नै विज्ञप्ति निकालेर राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर खेलबाड भएको आरोप लगाए। ‘नेपाली जनताको जानकारी र सहमतिबिना यसरी रहस्यमय तरिकाले सैन्य परेड खेल्नु र खेलाउनु सार्वभौमिकता र स्वाधीनतामाथिको गम्भीर खेलबाड हो,’ विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ओली र विप्लव मात्रै नभएर यो विषयमा सामाजिक सञ्जालमा पनि टीकाटिप्पणीहरू भइरहेका छन्। कतिपयले यसलाई अस्वाभाविक रूपमा समेत लिएका छन्। अमेरिकी सेना मात्रै होइन, अन्य देशका सेनाको आवागमन, नेपाली सेनाको विदेश भ्रमण, सैनिक अभ्यास लगायतका विषयहरूमा केन्द्रित रहेर हामीले जानकारी दिने प्रयास गरेका छौँ।

आइतबार नै सैनिक मुख्यालय जङ्गी अड्डाले निकालेको विज्ञप्तिमा अमेरिकी सेना मात्रै नभएर अरू दुई देशका सेनाले पनि ब्यान्ड प्रस्तुति दिएका थिए। सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीबाट साङ्गीतिक प्रस्तुति गरिएको थियो।’

जङ्गी अड्डाले अमेरिकाका साथै बेलायत र भारतका सैनिक ब्यान्डले प्रस्तुति गरेको बताए पनि भारत र बेलायती सैनिकबारे भने कुनै टीकाटिप्पणी भएको देखिँदैन। अमेरिकी सेनाको विषयलाई मात्रै लिएर टीकाटिप्पणी गरिएको छ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले यो अभ्यास नियमित र पारस्परिक सम्बन्ध बुझाउने अर्थमा मात्रै बुझ्न आग्रह गरेका छन्। ‘नेपालमा सेना दिवसका बेला नियमित रूपमा आयोजना गरिने समारोहमा अरू देशका सेनाको ब्यान्ड टिमले मैत्री सहभागिता जनाउने गरेका छन्। हामी पनि अरू देशमा सैनिक टुकडी लिएर जाने गर्छौं,’ प्रवक्ता बस्नेतले अनलाइनखबर सँग भने।

अघिल्लो वर्ष आयोजित सेना दिवसको कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली । त्यतिबेला पनि अमेरिकी सेनाले ब्याण्ड प्रस्तुत गरेको थियो ।

प्रवक्ता बस्नेतले भनेजस्तै १४ फागुन २०८१ मा भएको सेना दिवसको अवसरमा पनि अहिले जस्तै भारत, बेलायत र अमेरिकी सेनाको ब्यान्ड टोलीले प्रस्तुति दिएका थिए। त्यतिबेला सैनिक मञ्च टुँडिखेलमा अहिले आलोचना गर्ने केपी शर्मा ओली आफैं पनि प्रधानमन्त्रीको जिम्मेवारीमा उपस्थिति थिए। जुन कुरा नेपाली सेनाको त्यतिबेलाको विज्ञप्तिमा समेत उल्लेख छ।

मित्रराष्ट्रहरूसँगको पारस्परिक सम्बन्ध, अनुभव आदानप्रदान, सैन्य कूटनीतिजस्ता विषयलाई जोड दिँदै नेपाली सेनाले संयुक्त अभ्यास गर्नेदेखि अन्य देशको सेना दिवसको अवसरमा बोलाएको बखत आफ्नो उपस्थिति जनाउँदै आएको छ।

एक महिनाअघि मात्रै १५ जनवरीमा भारतीय सेना दिवसको अवसरमा नेपाली सेनाको ३३ सदस्यीय टोलीले आफ्नो प्रस्तुति दिएको थियो। ‘मित्रराष्ट्रहरूले बोलाएको अवस्थामा हामी पनि जान्छौँ। उहाँहरू पनि आउनुहुन्छ। अमेरिका र बेलायतमा गएर पनि नेपाली सेनाले आफ्नो प्रस्तुति दिएको छ,’ सहायक रथी बस्नेत भन्छन्।

नेपाली सेना मात्रै नभएर शक्तिराष्ट्रका सेनाहरू आफ्नो सैन्य कूटनीतिलाई अब्बल बनाउन वर्षौं पहिलेदेखि यस्ता अभ्यासहरूमा निमन्त्रणा गर्ने चलन रहँदै आएको सैन्य मामिलाका जानकारहरूको बुझाइ छ।

‘अहिले जुन किसिमको टीकाटिप्पणी भइरहेको छ, यसले भूराजनीतिक विषयलाई दर्शाउँछ। भूराजनीतिक रूपमा हामी कति संवेदनशील ठाउँमा छौँ भन्ने हिजोको घटनाले बुझाउँछ। त्यहाँ अमेरिकी सेना मात्रै नभएर अन्य देशका सेनाले पनि प्रस्तुति दिएका थिए। तर विषय अमेरिकी सेनाको मात्रै उठ्यो,’ एक पूर्वउपरथी भन्छन्।

टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात भने आइतबारको घटनामा अनावश्यक टिप्पणी गरिएको रूपमा अर्थ्याउँछन्।

‘नेपालको परराष्ट्र नीतिलाई टेवा पुर्‍याउनेमध्येको एउटा महत्त्वपूर्ण अङ्ग हो नेपाली सेना। जसले आफ्नो डिफेन्स कूटनीतिमार्फत परराष्ट्र नीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ,’ उनी भन्छन्, ‘अमेरिका, बेलायत जस्ता शक्तिराष्ट्रका सेनालाई नेपालजस्तो मुलुकले निम्तो गरेर ल्याउन सक्नुलाई डिफेन्स कूटनीतिको सफलताको रूपमा हेर्नुपर्छ।’

डिफेन्स कूटनीतिको यो सम्बन्ध नौलो नरहेको र यसलाई राजनीतीकरण गर्नु आवश्यक नरहेको उनको बुझाइ छ।

‘डिफेन्स कूटनीतिमार्फत नेपाली सेनाले परराष्ट्र नीतिमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। अमेरिका, बेलायत जस्ता शक्तिराष्ट्रका सेनालाई नेपालजस्तो मुलुकले निम्तो गरेर ल्याउनुलाई डिफेन्स कूटनीतिको सफलताको रूपमा हेर्नुपर्छ।’

यसअघिका सेना दिवसमा पनि बाह्य मुलुकका सेनाको उपस्थिति नौलो होइन। २०७७ सालको सेना दिवसमा काठमाडौँस्थित अमेरिकी दूतावासका सैनिक सहचारी लेफ्टिनेन्ट कर्णेल म्याट शोभलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गरिएको थियो।

२०७८ सालको सेना दिवसमा बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’ ले प्रस्तुति दिएको थियो। २०७९ सालको सेना दिवसमा भारतीय सेनाको ‘इलेभेन्थ गुर्खाज् राइफल रेजिमेन्टल सेन्टर’ र बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’ ले ब्यान्ड डिस्प्ले गरेको जङ्गी अड्डाको रेकर्डमा छ। २०८० सालमा भारत, बेलायत र अमेरिकाका सेनाले प्रस्तुति दिएका थिए।

टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?
अमेरिकी र नेपाली सेनाको संयुक्त अभ्यास । ।

यति मात्रै होइन, सैनिक सहचारीहरू र युवा आदानप्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरूको पनि उपस्थिति थियो।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न भन्दै नेपाली सेनाको ब्यान्ड, बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज्’, सशस्त्र प्रहरीको ब्यान्ड र नेपाल प्रहरीको ब्यान्डले काठमाडौँ, भक्तपुर र ललितपुरमा प्रस्तुति दिएका थिए।

त्यतिबेला ९ फागुन २०७६ मा वसन्तपुरमा, २३ फागुनमा भक्तपुर दरबार स्क्वायरमा र २४ फागुनमा ललितपुर दरबार स्क्वायरमा सांस्कृतिक प्रस्तुति दिएका थिए।

संयुक्त सैन्य अभ्यास, ‘आर्मी डे’ मा हुने सेलिब्रेसनजस्ता विषयमा अन्य मुलुकका सैनिकहरूको सहभागिता सामान्य नै हुने जानकारहरूको बुझाइ छ। विगतमा हुने यस्ता निरन्तर अभ्यास तथा सम्बन्धहरू कतिपय सन्दर्भमा भने विवादित बन्ने गरेको सैन्य मामिलाका जानकार इन्द्र अधिकारीको बुझाइ छ।

‘यसअघिका सेना दिवसमा पनि बाह्य मुलुकका सेनाले ब्यान्ड प्रस्तुति दिने गरेका थिए। नेपाली सेनाले पनि बाह्य मुलुकमा गएर प्रस्तुति दिन्छ। यो विषय नौलो होइन। तर सन्दर्भमा अलिकति ध्यान नदिँदा आलोचना भएजस्तो लाग्छ,’ अधिकारीले अनलाइनखबर सँग भनिन्, ‘जेनजी घटनापछि नागरिकले सेनामाथि जुन प्रश्न गरे, त्यो सन्दर्भको पेरिफेरीमै अमेरिकी सेनाले प्रस्तुति दिँदा आशङ्का गर्नेहरूलाई मलजल पुगेको देखिन्छ।’

बाह्य सेनाले प्रस्तुति दिने हुँदा आम मानिसलाई यसबारे पहिल्यै सेनाले सुसूचित गर्नुपर्नेमा भने सेना चुकेको उनको बुझाइ छ।

‘अहिलेको सन्दर्भमा सेनाले निम्तो नदिन पनि सक्थ्यो। यदि बोलाउने नै हुँदा पब्लिकलाई सुसूचित गर्ने रणनीतिमा भने चुकेको देख्छु,’ अधिकारी भन्छिन्।

अधिकारीले भनेजस्तै अर्को चुनावी सन्दर्भलाई लिएर पनि विभिन्न आशङ्का गरिएपछि निर्वाचन आयोगले समेत प्रस्टीकरण दिनुपर्‍यो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा यसलाई विश्वव्यापी परम्परा र मित्रताको प्रतीकको रूपमा अर्थ्याए।

संयुक्त सैन्य अभ्यास परम्परा

सैनिक दिवसको अवसरमा मात्रै नभएर विभिन्न देशहरूको सेनासँग नेपाली सेनाले संयुक्त सैन्य अभ्यास पनि गर्दै आएको छ। भारत र नेपाली सेनाले संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ गर्दै आएका छन्।

यसअघि ९ मङ्सिर २०८२ मा भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा पनि नेपाली सेनाले भाग लिएको थियो। जहाँ विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला, मानवीय सहयोगलगायत विषय सहभागी गरी अभ्यास सम्पन्न गरिएको थियो। त्यतिबेला नेपाली सेनाको तर्फबाट उपरथी अनुपजङ्ग थापाले सहभागिता जनाएका थिए। ‘सूर्य किरण’ अभ्यास २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ।

बेलायती सेनासँग नेपाली सेनाले ‘क्याम्ब्रियन पेट्रोल’ गर्दै आएको छ। सन् २०२५ मा बेलायतमा भएको यो अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जितेको थियो। टोलीलाई ९ कात्तिक २०८२ मा प्रधानसेनापति अशोकराज सिग्देलले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए।

टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?
बेलायतमा सञ्चालित क्यामब्रेन पेट्रोलमा नेपाली सेनाकाे टाेली । जहाँ नेपाली सेनाको टोली सर्वोत्कृष्ट भएको थियो ।

अहिलेको सन्दर्भमा सेनाले निम्तो नदिन पनि सक्थ्यो। यदि बोलाउने नै हुँदा पब्लिकलाई सुसूचित गर्ने रणनीतिमा भने चुकेको देख्छु- इन्द्र अधिकारी, सैन्य मामिलाका जानकार

उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ टोली सहभागी थिए। सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा सन् २०१४ देखि नेपाली सेनाले भाग लिँदै आएको छ। यसअघि नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो।

त्यसैगरी अमेरिकी सेनासँग नेपाली सेनाले ज्वाइन्ट कम्बाइन्ड एक्सचेन्ज ट्रेनिङ ‘ब्यालेन्स्ड नेल’ अभ्यास गर्दै आएको छ। यसको ४०औँ संस्करण २०८० भदौमा नेपालमा भएको थियो। त्यतिबेला अमेरिकी वायुसेनाको विमान बन्दोबस्तीका सामानसहित काठमाडौँ आएको थियो। २१ भदौमा आएको अमेरिकी सेनाको विमान भोलिपल्ट २२ भदौमा फिर्ता भएको थियो।

सैन्य कूटनीतिअन्तर्गत नै अमेरिकी सेनाले १९ भदौ २०८२ मा एयर एम्बुलेन्स र स्काई ट्रक एक–एक वटा नेपाली सेनालाई पूर्ण अनुदानमा हस्तान्तरण गरेको थियो। त्यतिबेला तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा अमेरिकी राजदूत डीन आर थम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गरेका थिए।

चीनको जनमुक्ति सेनासँग भने नेपाली सेनाले ‘सगरमाथा फ्रेन्डसिप’ को नाममा संयुक्त अभ्यास गर्दै आएको छ। यो अभ्यास गत २२ भदौमा मात्रै काठमाडौँमा भएको थियो। २०७४ सालदेखि यो अभ्यास आलोपालो सञ्चालन हुँदै आएको छ। यस्ता अभ्यासहरूले क्षमता अभिवृद्धि गर्नुका साथै द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने सहायक रथी बस्नेत बताउँछन्।

भारतसँगको ऐतिहासिक सम्बन्ध

नेपाल र भारतीय सेनाबीच त निकै ऐतिहासिक सम्बन्ध छ। आजभन्दा करिब ७५ वर्षदेखि यी दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा दिने चलन समेत रहँदै आएको छ। सन् १९५० देखि मानार्थ महारथी दिने चलन रहेको सैनिक मुख्यालय जङ्गी अड्डाले बताएको छ।

नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। २७ मङ्सिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्।

यसअघि ६ मङ्सिर २०८१ मा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। उनी नेपाली सेनाको मानार्थ महारथी पाउने १९औँ भारतीय सेनाध्यक्ष हुन्। यसले सैनिक सहकार्यमा थप प्रगाढ सम्बन्ध बनाउने विश्वास गरिन्छ।

भारतीय सेनाका पूर्वसेनाध्यक्ष मनोज मुकुन्द नरवणेले समेत नेपाल–भारत सैन्य कूटनीतिको सम्बन्धबारे आफ्नो प्रकाशोन्मुख पुस्तक ‘फोर स्टार्स अफ डेस्टिनी’ मा उल्लेख गरेका छन्।

डिसेम्बर २०१९ देखि अप्रिल २०२२ सम्म भारतीय सेनाको सेनाध्यक्ष रहेका नरवणेले अवकाशपछि आफ्नो कार्यकालको संस्मरणको रूपमा यो पुस्तक लेखेका थिए। तर यसका केही विषयहरू विवादास्पद भन्दै कुरा उठेपछि भारतीय रक्षा मन्त्रालयले क्लियरेन्सका लागि भन्दै यसको पाण्डुलिपि मागेको थियो। अहिलेसम्म रक्षा मन्त्रालयले क्लियरेन्स नदिँदा सन् २०२४ को जनवरीमै प्रकाशित हुने भनिएको यो पुस्तक प्रकाशित हुन सकेको छैन।

यहीबारे भारतीय क्याराभान म्यागजिनमा ‘नरवणेज मोमेन्ट अफ ट्रुथ’ स्टोरी १ फेब्रुअरी २०२६ मा प्रकाशित छ। जहाँ नरवणेले नेपाल–भारतका सेनाबीच मानार्थ दिने चलन विश्वका अन्य मुलुकहरूमा कतै नरहेको उल्लेख गरेका छन्।

टुँडिखेलको ब्यान्ड बाजाले किन ल्यायो तरङ्ग ?

यति मात्रै होइन, नेपाल–भारतका सेनाबीच बहालवालाका साथै पूर्व आर्मी चिफहरूबीच समेत भेटघाट र छलफल हुन थालेको छ। यसको कन्सेप्ट समेत आफ्नो रहेको नरवणेले उल्लेख गरेका छन्। आफू भारतीय सेनाध्यक्ष रहेका बेला काठमाडौँ आउँदा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्व आर्मी चिफहरूसँग भेट गराएको र त्यही बेला यसको कन्सेप्ट जन्मिएको उल्लेख गरेका छन्।

त्यसपछि अहिले दुई–दुई वर्षमा चिफ कन्क्लेभ गर्न थालिएको बताएका छन्। लेखक तथा पत्रकार सुधीर शर्माले यसबारे आफ्नो युट्युब च्यानलमा यसबारे एक रिपोर्ट प्रकाशित गर्दै भनेका छन्, ‘नाकाबन्दी खोल्ने प्रयासमा नेपाल–भारतको सैन्य कूटनीतिले त्यतिबेला प्रमुख भूमिका खेलेको थियो।’

अहिले दुई–दुई वर्षको अन्तरमा पालैपालो दुई देशले चिफ कन्क्लेभ गर्दै आएका छन्। २०८१ सालको सेना दिवसको अवसरमा भारतीय सेनाका ६ जना पूर्वसेनाध्यक्षहरू काठमाडौँ आएका थिए।

उक्त सेना दिवसमा जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, दलवीर सिंह सुहाग, डा. मनोज मुकुन्द नरवणे र जनरल मनोज पाण्डे सहभागी थिए। यस्ता परम्परा र अभ्यासहरूले सैन्य कूटनीतिमार्फत महत्त्वपूर्ण भूमिका खेलेको बुझाइ पूर्वउपरथी बस्न्यातको छ।





Source link

Leave a Comment