पछिल्लो समय राउटे बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्नु भनेको दुई‐तीन जनालाई मृत्युको निम्तो दिए सहर भएको छ । तीन‐तीन महिनामा भत्ता आउँछ । प्रतिव्यक्ति चार हजारका दरले एउटाले १२ हजार पाउँछ । ठूलो परिवार हुनेहरूको एउटै परिवारसँग ६० हजारदेखि १ लाख ५० हजारसम्म पैसा हुन्छ ।
राउटे बच्चादेखि वृद्धासम्म सबैले समान भत्ता पाउँछन् । उनीहरूले भत्ता आएको दिन खर्च गर्दैनन् । पैसा आएकै दिन खर्च गर्नुहुँदैन भन्ने मान्यता उनीहरूमा छ । त्यसको भोलिपल्टबाट ५० रुपैयाँ पर्ने लिच्ची नामको रक्सीको कार्टुनका कार्टुन बस्तीमा भित्रिन्छ । बस्तीका बालबालिका, महिला, ज्येष्ठ नागरिक सबैले रक्सी खान्छन् । त्यसपछि राउटेहरूले बस्तीमा कसैको मतलव गर्दैनन् ।
भत्ताको पैसा र रक्सी सकिएपछि मात्रै उनीहरू आम मान्छेको सम्पर्कमा आउँछन् । भत्ताको पैसाले दुई–तीन साता रक्सी खान पुग्छ । त्यसपछि फेरी बस्तीमा आउने मान्छेहरूसँग पैसा माग्न थाल्छन् । सबै परिवारले त्यसो गर्छन् भन्ने हैन, केही सीमित दुई वटा परिवार बाहेक अधिकांशले रक्सीमा नै पैसा खर्च गरेको भेटिन्छ ।
राउटे समुदायमा पछिल्लो एक, डेढ वर्षको तथ्यांक हेर्दा राउटेहरू भत्ता आएको एक–दुई महिनाको अन्तरालमा दुई–तीन जनाको ज्यान जाने गरेको देखिन्छ । त्यो लिच्ची नामको रक्सी खाली पेटमा लगातार दुई–तीन दिन सेवन गर्दा ज्यान जाने रहेछ ।
उनीहरू राहतको २० प्रतिशत पैसाले मात्रै चामल, नुन, तरकारी लगायका सामान किन्न खर्च गर्छन् । केहीले खसी, बाख्रा समेत किन्ने गरेका छन् ।
राहतका सामान चामल, पाल, खसी, नुन, तेल लगायत अन्य संघ संस्थाहरूले पनि दिने भएपछि उनीहरूले भत्ताको पैसाले ठूलो मात्रामा खाद्यान्न किन्न पर्दैन । त्रैमासिक रूपमा भत्ता वितरण गर्दा १६ देखि १८ लाख रुपैयाँ बस्तीमा जान्छ । त्यो पैसाले रक्सी किनेर खानु बाहेक अरू विकल्प राउटेहरू देख्दैनन् । सामाजिक सुरक्षा भत्ताको सबैभन्दा बढी दुरुपयोग राउटे बस्तीमै भएको देखिन्छ । यसमा सरकारी संयन्त्रले ध्यान दिनुपर्छ ।
राउटे बस्तीमा सरकारी तथा गैरसरकारी निकायबाट आउने पैसाको सबैभन्दा ठूलो दुरुपयोग भएको देखिन्छ । त्यो कुरा सबैलाई थाहा छ तर सबैले अनदेखा गरिरहेका छन् । राउटेहरूलाई दिने सामाजिक सुरक्षा भत्ता आवश्यकताको आधारमा मात्रै दिने नीति ल्याउन जरुरी छ ।
राउटे बस्तीमा कतिसम्म मनपरी छ भने, गत वर्ष भदौमा दैलेखको भैरवीमा राउटे बस्तीमा केही नेपाली र विदेशी सम्मिलित एउटा समूह आयो । राहत बाँड्नु अघि उनीहरूले राउटेलाई बाइबल पढेर सुनाए ।
क्यासमा दिने भत्ताको रकम घटाउने, बस्तीमा आवश्यकताको आधारमा खाद्यान्न दिने, एकद्वार प्रणालीबाट राहत वितरण र संचितीकरण तत्काल गर्नुपर्ने देखिन्छ । यसका लागि समयमै राज्यको ध्यान जावस् । सामाजिक सुरक्षा भत्ता र विभिन्न संघ संस्थाहरूको सहयोगबाट नै राउटेहरू असुरक्षित हुने अवस्था आएको छ । त्यसलाई तत्काल रोक्नुपर्छ नत्र राउटे सभ्यता नै संकटमा पर्ने देखिन्छ ।
बस्तीमा मृत्यु हुने राउटेहरूको केस स्टडी केलाउँदा पनि पछिल्लो २ वर्षयता भत्ता पाएको एक‐दुई महिनाको अन्तरालमा दुई‐तीन जनाको ज्यान गएको देखिन्छ । राउटेलाई बचाउन पनि राज्यले दिने भत्तालाई व्यवस्थित गर्नुपर्छ । राउटेलाई चाहिएको सामग्री खरिद गरेर दिउँ । तर नगद दिन तत्काल बन्द गरौं ।
अत्यधिक मदिरा सेवनकै कारण पछिल्लो दुई वर्षमा मात्रै राउटे समुदायका २० जनाको मृत्यु भइसकेको छ । राउटे युवक मयो शाही, दलबहादुर शाही, मानसिंह शाही, शिवराज शाही, कान्छाराम शाही र कपिल शाहीको मृत्यु मदिराकै कारणले भएको पाइन्छ ।
पछिल्लो समय राउटे महिलाहरूले समेत मदिरा सेवन गर्न थालेका छन् । जसको प्रत्यक्ष असर नवजात शिशु र बालबालिकामा पर्न थालेको छ ।
बस्तीमा राउटेको चाहना भन्दा पनि दाताको चाहना अनुसार सरकार र विभिन्न संघ संस्थाहरूले काम गर्ने गरेको देखिन्छ । राउटे के चाहन्छ कसैलाई चासो छैन । तर राउटेकै नाममा खुलेका संस्थाका प्रतिनिधिहरूलाई भने राउटेलाई घर बनाइदिनु छ । स्कुल पठाउनु छ, डोनरले जे गरे पैसा दिन्छ त्यही गर्नु छ ।
राउटे बस्तीमा कतिसम्म मनपरी छ भने, गत वर्ष भदौमा दैलेखको भैरवीमा राउटे बस्ती थियो । त्यहाँ केही नेपाली र विदेशी सम्मिलित एउटा समूह आयो । २० कट्टा चामललाई ४० प्याक बनाए । साथमा एक‐एक पोका तेल राखिदिए । राहत बाँड्नु अघि उनीहरूले राउटे सबैलाई उठाए । बाइबलको पाठ पढेर सुनाए । त्यो समूह बेला–बेला बस्तीमा आइरहन्छ । उनीहरूले राउटेहरूलाई क्रियश्चियन बनाउन धेरै प्रयास गरे । तर राउटेलाई जे पढाए पनि उनीहरूले आफ्नो अडान छोड्दैनन् ।
प्रत्येक वर्षमा एक पटक चाइनिजहरूको एउटा समूह आउँछ । दुई/तीन महिना बस्छ । त्यो समूह बिहान ७ देखि १२ बजे र २‐५ बजेसम्म राउटे बस्तीमा गएर उनीहरूलाई व्याकग्राउन्डमा राखेर अनलाइन व्यापार गर्छ । उनीहरू बिहानै बस्तीमा छिरेर मोबाइल ठड्याउँछन्, के–के भट्याउँछन्, भाषा बुझिँदैन । पछि मैले एक जनासँग सोधेँ उनीहरू राउटे बस्तीलाई व्याकग्राउन्डमा राखेर अनलाइन सामान बेच्दा रहेछन् ।
उनीहरूले राउटे बालबालिकाहरूलाई नियमित चकलेट बाँड्छन् । त्यसको असर उनीहरूको दाँतमा देखिन थालेको छ । राउटेहरू दाँत माझ्दैनन् । चकलेटले उनीहरू दाँतको बिरामी हुन थालेका छन् ।
बिहानैदेखि चाइनिजहरू बस्तीमा छिर्दा राउटेहरू समेत परेसान हुने गरेका छन् । एक दिन मुखियाले नै मसँग आएर उनीहरूलाई यसरी नआउन भन्देओ त दारीवाल (पौडेललाई राउटेले बोलाउने उपनाम) भन्नुभएको थियो । पछि अलि कम आउन थाले ।
गत साउनमा पत्रकार ऋषी धमलाको एउटा समूह राउटे बस्तीमा आयो । उनीहरूले चामल वितरणको गरेको भिडियो भाइरल बन्यो । त्यसलगत्तै एसबीआई बैंक र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टिमले पनि बस्तीमा पुगेर राहत वितरण गर्यो । दुई जनाको परिवार रहेको राउटेको घरमा एकैपटक पाँच बोरा चामल आयो ।
घरमा चाहिने भन्दा बढी चामल आएपछि उनीहरूले चार बोरा चामल नजिकैको बस्तीमा लगेर बेचिदिए । दुई हजार पर्ने चामलको बोरा एक हजारमा पाउँदा जो कोहीले किन्ने नै भए । त्यहाँबाट ल्याएको पैसाले उनीहरूले रक्सी किनेर खाए । राउटेको हातमा नगद परेपछि उनीहरूलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ ।
माथिकै उदाहरणबाट प्रस्ट हुन्छ । अव्यवस्थित र मनपरी तरिकाले राहत वितरण गर्दा कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने । कहिले राउटेहरूसँग खाने चामल हुँदैन, कहिले भने फालाफाल हुन्छ । एकीकृत राहत वितरण प्रणाली नहुँदा बस्तीमा समस्या हुने गरेको देखिन्छ ।
पछिल्लो समय राउटे समुदायको हरेक भिडियो क्लिपहरू अल्कोरिदमले तान्छ । उनीहरूको दैनिकीसँग जोडिएका सामान्य भिडियोहरू लाखौँ, करोडौँ भ्यूज पुग्छ । आफूलाई कन्टेन्ट क्रियटर भन्नेहरूको बस्तीमा भिड लाग्छ । समाजका अगुवा, पत्रकार, इफ्लुयन्सर भन्नेहरूले नै उनीहरूको संवेदनशीलतालाई ख्यालै नगरेर बस्तीमा विभिन्न गतिविधिहरू गर्छन् ।
राउटेहरू हाम्रो समस्या नभई पहिचान हुन् । राउटेहरूले चाहेको जीवन बाँच्न पाउने उनीहरूको मानवअधिकार हो ।
कोही बस्तीमा पुगेर पैसा बाँड्दै सामाजिक सञ्जालमा भ्यूज बटुल्छन् । बस्तीमा को आउने को नआउने कुनै रोकटोक छैन । राउटेको नाममा कसले कति सहयोग जुटाउँछ । कुन–कुन संघ संस्थाहरूले काम गर्न पाउँछन् । त्यसको कुनै लेखाजोखा, हिसाब किताब छैन । त्यसको जवाफदेही सरकार मौन छ । सरकारका प्रतिनिधिहरू पनि दाताहरूको निर्देशनअनुसार चलेको देखिन्छ ।
राउटे एकदमै संवेदनशील, शान्त, आफ्नै बोली र अडानमा अडिक रहने समुदाय हो । जो बाह्य समुदाय र उनीहरूको कुराले खासै प्रभाव पार्दैन । उनीहरू आफ्नै सामाजिक मूल्यमान्यता, देउता र मुखियालाई बढी विश्वास गर्छन् ।
राउटेहरू हाम्रो समस्या नभई पहिचान हुन् । राउटेहरूले चाहेको जीवन बाँच्न पाउने उनीहरूको मानवअधिकार हो । उनीहरूले प्राप्त गरेको जन्मसिद्ध अधिकार हो । राउटेहरूको मौलिक पहिचानलाई संरक्षण गर्दै उनीहरूको चाहाना अनुसार संरक्षण र प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । राउटे बस्तीमा जानलाई सम्बन्धित निकायको अनुमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
फिरन्ते जीवन राउटेहरूको बाध्यता नभई रहर हो । राउटे आम मान्छे जसरी घर, गृहस्थी चलाउन चाहँदैनन् । घुमफिरमै रमाउँछन् । उनीहरूको विशेषतालाई जोगाइराखौँ । विभिन्न बहानामा उनीहरूको सांस्कृतिक माथि आक्रमण नगरौँ । राउटेहरू माथिको मनपरी बन्द गरौँ ।
राउटेलाई कसैले र्यालीमा हिँडाउँछ, प्रदर्शनीका लागि मेला महोत्सवको स्टलमा बसाउँछ । यस्ता गतिविधि तत्कालै नरोके राउटे सभ्यता नै नरहने निश्चित छ ।
(पर्यावरणविज्ञ तथा टेक्सस ए एन्ड एम विश्वविद्यालयमा पीएचडी अध्ययनरत अमिर पौडेल अमेरिकाको वासिङ्टन डिसीस्थित जोन्स हप्किनस् विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । उनी पछिल्लो साढे २ वर्षदेखि राउटे बस्तीमा रहेर यो समुदायको अध्ययन गरिरहेका छन् । तीनै पौडेलसँग अनलाइनखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित )
