पूर्वसहकर्मीबिच प्रतिस्पर्धाले कांग्रेस र एमालेलाई फाइदा


पूर्वसहकर्मीबिचको प्रतिस्पर्धाले कालीकोट जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसलाई फाइदा हुने देखिएको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्वमाओवादीका दुई सहकर्मी नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्मा संसदीय चुनावको प्रतिस्पर्धामा रहँदा कालीकोटमा एमाले र कांग्रेसलाई फाइदा हुने देखिएको हो।

प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) बाट खड्गबहादुर विश्वकर्मा १८ वर्षपछि पुनः ब्यालेट यात्रामा फर्किएका छन्। महेन्द्रबहादुर शाही चौथोपटक संसदीय यात्राको दाउमा छन् तर उनीहरूलाई कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन्।

पूर्वमाओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कालीकोटबाट २७ हजार ६ सय २९ मत ल्याएर खड्गबहादुर विश्वकर्मा विजयी भए। उनी २०६५ सालमा महिला, बालबालिका तथा समाज कल्याण र २०६७ मा पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बने तर पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि २०६९ असारमा पूर्वमाओवादी विभाजन भयो। विभाजनपछि विश्वकर्मा मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीतिर लागे।

संविधानसभाको दोस्रो निर्वाचन २०७० मा उक्त पार्टीले निर्वाचन बहिस्कार गरेपछि विश्वकर्माको संसदीय यात्रा टुंगियो। लगत्तै २०७१ मंसिरमा वैद्य समूह पनि फुटेपछि विश्वकर्मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रवक्ता बने। उक्त पार्टीले यसबिचमा भएका सबै निर्वाचन बहिस्कार ग¥यो।

विश्वकर्माले पार्टी छाडेपछि दोस्रो संविधानसभा निर्वाचनमा पूर्वमाओवादीबाट महेन्द्रबहादुर शाही विजयी भए। उनी ऊर्जामन्त्रीसमेत बने। शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा (१) बाट १२ हजार एक सय ५३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको पहिलो मुख्यमन्त्री बने। त्यतिबेला पूर्वमाओवादी र एमालेबिच गठबन्धन थियो। फेरि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा २३ हजार सात सय २७ मतसहित विजयी भए। त्यतिबेला भने कांग्रेस र पूर्व माओवादीले गठबन्धन गरेको थियो।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले २०७० देखि निर्वाचन बहिस्कार गरेपछि यसबिचमा पूर्वमाओवादीका महेन्द्रबहादुर शाहीलाई सहज भएको थियो। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मतदाताले पनि भोट पूर्वमाओवादीलाई जाने गरेको थियो।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा विश्वकर्मा १८ वर्षपछि पुनः ‘ब्यालेट’ यात्रामा फर्किएका छन्। भने शाही चौथोपल्ट संसदीय यात्राको दाउमा छन् तर उनीहरूलाई कांग्रेसका हर्षबहादुर बम र एमालेका नगिन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेलगायतले चुनौती दिँदैछन्। पूर्वमाओवादीलाई विरासत जोगाउन मुस्किल पर्ने एमालेका नेता जसिप्रसाद पाण्डेले बताए। उनले  जिल्लामा अहिले एमालेको पक्षमा मत राम्रो आउने उनको भनाइ छ।

आगामि फागनु २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। कालीकोट जिल्लामा अहिले स्वतन्त्र र दलगत उमेदवार गरी १० जना चुनावी मैदानमा कसिएर लागेका छन्।

चुनावी मैदानमा रहेका उम्मेदवारहरूमा कांग्रेसबाट हर्षबहादुर बम, एमालेबाट नगीन्द्र शाही,  नेकपाबाट महेन्द्रबहादुर शाही, रास्वपाबाट प्रकाश न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट अजबहादुर गिरी, रास्वपाबाट सूर्यबहादुर शाही, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट नन्दबहादुर शाही, नेकपा (माओवादी) बाट खड्गबहादुर विश्वकर्मा र मानबहादुर तिरुवा चुनावी मैदानमा होमिएका हुन्।

कालीकोट जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको सबै दलको समानुपातिक भोट हेर्ने हो भने सबैभन्दा बढी मत तत्कालीन नेकपा (माओवादी केन्द्र) अहिलेको नेकपाको देखिन्छ। नेकपाको प्रतिनिधिसभातर्फ समानुपातिक भोट १४ हजार २२९ रहेको छ।

एमालेको १२ हजार पाँच सय ६५ रहेको छ। कांग्रेसको १० हजार पाँच सय ८५ रहेको छ। नेकपा एकीकृत समाजवादीको दुई हजार ५३ मात्र रहेको छ। अहिले विभिन्न घटक एक हुँदा समाजवादी भने नेकपा भइसकेको छ। नेमकिपाको १३ सय ४० र राप्रपाको १२ सय ७३ मात्र रहेको छ।

यो निर्वाचनमा महेन्द्र, खड्गबहादुर, स्वतन्त्रबाट उम्मेदवारी दिएका रास्कोटका मानबहादुर तिरुवा र नरहरिनाथका अस्मिन विष्टसहित चारजना उम्मेदवार पूर्वमाओवादी पृष्ठभूमिका छन्; जसका कारण चुनाव रोचक बनेको छ।

सुरुमा नेकपाले संयोजक पुष्पकमल दाहालको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा एकल सिफारिस गरेको थियो तर उनले रुकुमपूर्व रोजेपछि पार्टीले ११ जनालाई सिफारिस गर्‍यो। अन्ततः महेन्द्रबहादुर शाहीले नै टिकट पाए।

एमाले उम्मेदवार नगीन्द्र शाहीले गत निर्वाचनमा नेकपा उम्मेदवार शाहीसँग पराजित भएका थिए। उनले १६ हजार सात सय १८ मतमा चित्त बुझाए। रास्कोट नगरपालिका– ५ का स्थायी बासिन्दा शाही एमालेका पूर्वजिल्ला अध्यक्ष हुन् भने एघारौं महाधिवेशनमा दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका विकासलाई प्राथमिकतामा राखेको र संसदभित्र नीति निर्माण तथा कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्ने उनले बताए। जिल्लाका सबैखाले समस्याप्रति संघीय सरकारको ध्यानाकर्षण गराउन जरुरी छ’, उनले भने, ‘जिल्लाको समृद्धि र सुखारी कालीकोटवासी मेरो मूल एजेन्डा हो।’

कांग्रेसबाट हर्षबहादुर बम पूर्वजिल्ला सभापति हुन्। उनले दलित, जनजातिलगायत पिछडिएका समुदायमैत्री कानुन निर्माणमा जोड दिने र जिल्लालाई विकासको मूलधारमा ल्याउने आफ्नो एजेन्डा रहेको बताए।

लामो समयदेखि बन्द रहेको सुनथराली विमानस्थलमा नियमित उडान, कर्णाली करिडोरको स्तरोन्नति, फुकोट–कर्णाली जलविद्युत् आयोजनालगायतको पूर्वाधार निर्माणमा आफ्नो पहल हुने उनको भनाइ छ।

रास्वपाले उम्मेदवार बनाएका प्रकाश न्यौपाने चार्टर एकाउन्टेन्ट (सिए) अध्यरत छन्। युवापुस्ताको मत आफूले तान्ने उनको दाबी छ। उनले जनताको आवश्यकता, विकास र सुशासनलाई आफूले प्रमुख एजेन्डा बनाएको बताए। मानव विकास सूचकांकमा कर्णालीमा सबैभन्दा कमजोर रहेको कालीकोट अझै विकासको मूलधारमा आउन नसकेको उनको भनाइ छ।

कुनै पार्टीबिच गठबन्धन नभएकाले यस निर्वाचनबाट पार्टीहरूको वास्तविक अवस्था थाहा हुने स्थानीयको भनाइ छ। ८४ हजार ६ सय ४६ मतदाता रहेको कालीकोटमा धेरै दलित समुदायको भोट छ, जहाँ २९.१५ प्रतिशत दलित समुदायको बसोवास रहेको राष्ट्रिय जनगणना– २०७८ को तथ्यांक छ।

नेकपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाहीले आफूले कार्यकाल पूरा गर्न नपाएकाले अधुरा एजेन्डा पनि कार्यान्वयन गर्न बाँकी रहेको बताए। ‘यहाँका सबैखाले समस्याप्रति म जानकार छु नै, धेरै काम पनि मेरै कार्यकालमा पूरा भएका छन्’, उनले भने, ‘असन्तुलित विकासका कारण जनता आधारभूत आवश्यकताबाट वञ्चित छन्, जनतालाई अधिकारसम्पन्न बनाउने र मतदातालाई सबै सरकारी सेवा प्रवाह उपलब्ध गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ।’

नेकपा (माओवादी) बाट खड्गबहादुर विश्वकर्माले सहिदका सपना पूरा गर्न र कालीकोटको समृद्धिका लागि राष्ट्रियस्तरमा पहल लिन, संविधानमा रहेका अपूरा र अधुरा सवाललाई पूर्णता दिएर जनपक्षीय कानुन बनाउन आफ्नो उम्मेदवारी रहेको जानकारी दिए।

प्रकाशित: ३ फाल्गुन २०८२ १२:५३ आइतबार





Source link

Leave a Comment