जेनजी आन्दोलनले राप्रपामा कमल थापा र राजेन्द्र लिङ्देनलाई एकै ठाउँमा उभिने अवस्थामा ल्याइदियो । सबै खाले सत्तालाई आन्दोलनले हल्लाइदिंदा थापा र लिङ्देनलाई जम्मा १६ शब्दमा सहमति गरे । बीचमा हिन्दु गणतन्त्रतिर लागेका भनेका थापा पुनः राजसंस्थाको मुद्दासँग लय मिलाउन आइपुगेका छन् ।
यो अवस्था कसरी आयो ? जेनजी आन्दोलनलाई राप्रपाले कसरी हेर्छ ? रास्वपाको उदयलाई कसरी हेरिरहेको छ ? अनि पार्टीभित्र कमल थापाको अबको महत्वाकांक्षा के छ ? उनी आगामी महाधिवेशनमा फेरि अध्यक्षमा प्रतिस्पर्धा गर्नेछन् ?
यिनै विषयमा अनलाइनखबरका बसन्त बस्नेतले राप्रपा नेता कमल थापासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
राप्रपामा तपाईंको पुनरागमन र अहिलेको भूमिकाबारे स्पष्ट पारिदिनुस् न । तपाईं नेता त हुनुहुन्छ तर जिम्मेवारी अझै तोकिएको छैन, खासमा के भूमिकामा हुनुहुन्छ ?
पार्टी एकीकरण भएको भर्खरै मात्र हो, त्यसैले जिम्मेवारीको औपचारिक बाँडफाँट हुन बाँकी छ । तर अहिले हाम्रो अगाडि मुख्य जिम्मेवारी भनेकै आसन्न निर्वाचन हो । त्यसैले म अहिले चुनावलाई एउटा आन्दोलनको रूपमा लिएर अगाडि बढिरहेको छु र म यसमा अभिभावकीय भूमिकामा रहनेछु ।
तपाईंले यो चुनावी समयमा ‘संवर्धनवाद‘ भन्ने पुस्तक सार्वजनिक गर्दै हुनुहुन्छ । यसको मूल विचार के हो ?
‘संवर्धनवाद‘ भनेको सनातन धर्म, संस्कृति, परम्परा, मूल्य मान्यता र संस्थाहरूलाई जगेर्ना गर्दै राष्ट्र निर्माण गर्ने विचार हो । यो किताब ८४ सालको चुनावलाई लक्षित गरी लेख्न सुरु गरिएको थियो, तर अहिले मध्यावधि चुनावको माहोलले गर्दा मैले यसलाई चाँडै टुङ्ग्याएको छु ।
यसमा नेपालको प्रजातन्त्रको उदयदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासम्मको वैचारिक अवधारणाबारे चर्चा गरिएको छ । अहिले कांग्रेस र एमाले जस्ता पुराना दलहरूभित्र यो विचारका पक्षधरहरू भए पनि कसैले पनि यसलाई आफ्नो मुख्य एजेन्डा बनाएका छैनन् । यद्यपि, अहिले सबै पार्टीभित्र ‘संवर्धनवादी सोच भएका व्यक्तिको हाबी भइरहेको देखिन्छ । तर, उनीहरुकै पार्टीले भने यसलाई अपनाएको छैन । यसलाई बोकेर हिँड्ने सम्भावना पनि म देख्दिनँ ।
तपाईँ र राजेन्द्र लिङ्देनबीचको एकता केवल १६ शब्दको सहमतिमा कसरी सम्भव भयो ? हिजो किन फुट्नुभयो र आज किन जुट्नुभयो ?
त्यो १६ शब्दको पत्र त सहमतिको एउटा सुरुवाती बिन्दु मात्र थियो । पछि हामीले विस्तृत वैचारिक र सांगठनिक सम्झौता गरेका छौँ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, विशेष गरी ‘जेनजी युवाहरूको आन्दोलनपछि राष्ट्रवादी शक्तिहरू एक हुनु अनिवार्य देखियो । हामीले विगतका तिता अनुभवहरू बिर्सेर नि:शर्त एकता गरेका हौँ । यदि यो एकता अघिल्लो वर्ष नै भएको भए सायद युवाहरूले त्यसरी सडकमा आउनुपर्ने अवस्था नै आउँदैनथ्यो ।
तपाईँ बीचमा हिन्दु गणतन्त्रतिर लागेको चर्चा थियो । फेरि अहिले राजतन्त्रमै फर्किनुभयो नि ?
म गणतन्त्रको पक्षमा कहिल्यै थिइनँ । राप्रपा नेपाल पुनर्जागृत गर्दा केही समयका लागि राजसंस्थालाई ‘कार्यनीतिक एजेन्डा‘ मात्र नबनाएको हो । तर हाम्रो विधानमा संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रप्रति प्रतिबद्धता सधैँ थियो । मेरो राजनीतिक विरासत नै हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? उनीहरूले पनि त नयाँ विकल्पको कुरा गरेका छन् ?
रास्वपा ‘स्प्लिट मेन्टालिट’ (द्वैध मानसिकता) मा छ । सुरुमा सङ्घीयताको विरोध गरे पनि अहिले त्यसैलाई उपलब्धि मान्छन् । यसबाट उनीहरु बिचलित भएको देखिन्छन् । धर्मनिरपेक्षतामा पनि उनीहरू प्रस्ट छैनन् । राजसंस्थाको पक्षको कुरा गर्दा पनि उहाँहरु प्रस्टै गणतन्त्र नै बोकेर अघि बढ्ने सोच राख्नुभएको देखिन्छ ।
राजनीतिमा विकल्प भनेको व्यक्तिको परिवर्तन मात्र होइन, विचारधारा र मार्गचित्रकै परिवर्तन हुनुपर्छ । रास्वपाले कांग्रेस र कम्युनिस्टकै संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र बोकेको हुनाले उनीहरूले मुलुकको भविष्य परिवर्तन गर्न सक्ने सम्भावना म देख्दिनँ ।
अहिले पुराना पार्टीहरुमा वितृष्णा रहेकाले उहाँहरुले व्यक्ति र दल परिवर्तन गर्नुहोला तर मुलुककै भविष्य परिवर्तन गर्ने सम्भावना म देख्दिनँ ।
चुनावी तालमेलको विषयमा तपाईंको धारणा के छ ? तपाईंले विगतमा कांग्रेस र एमालेसँग तालमेल गर्दा हार बेहोर्नुभयो नि ?
७४ मा कांग्रेस र ७९ मा एमालेसँगको तालमेल हाम्रा लागि प्रत्युत्पादक भयो, म आफैँले पनि चुनाव हारेँ । मेरो विचारमा चुनावपछिको लेनदेनको अपवित्र गठबन्धनभन्दा चुनाव अगाडिको न्यूनतम साझा एजेन्डामा आधारित तालमेल स्वस्थकर हुन्छ, जस्तो भारतमा छ।
तर यसपाली जेनजी आन्दोलनको प्रभावले कुनै पनि दलले गठबन्धन गर्ने हिम्मत गरेका छैनन् र राप्रपा पनि वैचारिक रूपमा फरक भएकोले एक्लै लड्दै छ ।
0६२/0६३ को आन्दोलनमा तपाईँ गृहमन्त्री हुँदा दमन भएको थियो भन्ने आरोप छ । अहिलेको सरकारलाई दमनकारी भन्न सुहाउँछ ?
६२।६३ मा सरकारको नीति दमन गर्ने थिएन । राजाले मलाई प्रस्ट भन्नुभएको थियो, कुनै पनि मानवीय क्षति हुनु हुँदैन । मैले असल नियतले देशमा शान्ति स्थापना गर्नेछु भन्ने सोचेको थिएँ । तीन वर्षभित्र चुनाव गरेर जनताको नासो प्रजातन्त्र जनतालाई नै हस्तान्तरण गर्न चाहेको थिएँ ।
तर, सहयोग पाउन सकिनँ । दलहरुबाट पनि सहयोग प्राप्त हुनसकेन । त्यसकारण अब म केही दिनभित्र नै राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरिरहेको छु । केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
त्यसकारण तिमीहरुले परिस्थितिलाई होल्ड मात्र गरेर राख भन्नुभएको थियो । र, सरकारले १९ दिनको आन्दोलनमा प्रहरीले आत्मरक्षाका लागि एकाध ठाउँमा बाहेक गोली चलाएको थिएन । तर अहिलेको सरकारले त भदौ २३ मा संसद् भवन अगाडि चरालाई गोली हानेझैँ गरेर युवाहरूको ज्यान लियो, जुन अत्यन्तै आपत्तिजनक र दमनकारी छ ।
नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव कत्तिको देख्नुहुन्छ ?
२०६२/०६३ पछि राजसंस्थालाई पाखा लगाएपछि बाह्य शक्तिहरूको सक्रियता र हस्तक्षेप ह्वात्तै बढेको छ । धेरै दलहरूले चुनाव लड्न र सरकार बनाउन विदेशीको आर्थिक सहयोग लिने गरेका छन्, जसले गर्दा नेताहरूमा ‘आत्मसमर्पणवादी‘ प्रवृत्ति हावी भएको छ ।
तर राप्रपा र व्यक्तिगत रूपमा कमल थापा ‘नट फर सेल‘ छ । जबकी हामीसँग अर्बौँ रुपैयाँ छैन, हामी चन्दा मागेर चुनाव लड्दै छौँ ।
तपाईँले आफ्नो पुरानो क्षेत्र मकवानपुर छोडेर काठमाडौं–५ रोज्नुको कारण के हो ?
मकवानपुरमा अघिल्लो पटक दीपक बहादुर सिंहले जित्नुभयो र सिटिङ एमपीको पहिलो हक हुन्छ, त्यसैले उहाँको टिकट खोस्नु अनैतिक हुन्थ्यो । काठमाडौं-५ मेरो जन्मथलो र वर्षौंदेखि बसिरहेको क्षेत्र हो । यो क्षेत्र (हाडिगाउँ, टोखा, विशालनगर) को ऐतिहासिक र सांस्कृतिक महत्त्व छ । म यसलाई एउटा ‘सांस्कृतिक सहर’ को रूपमा विकास गर्न चाहन्छु, किनकी हाडिगाउँ सातौँ शताब्दीमा लिच्छवि राजाहरूको राजधानी थियो ।
अबको राप्रपाको मुख्य रणनीति के हुन्छ ? के फेरि सत्ताकै लागि आन्दोलन हो ?
राजसंस्था र हिन्दु राष्ट्र पुनस्स्थापना नहुन्जेल राप्रपा सत्ता केन्द्रित राजनीतिमा जाँदैन, यो हाम्रो महाधिवेशनको म्यान्डेट हो । विगतमा सरकारमा गएर हामीले गल्ती गर्यौँ, जुन अब दोहोरिँदैन ।
हामी चुनावलाई एउटा आन्दोलनको रूपमा प्रयोग गरेर सदन र सडकबाट दबाब दिन्छौँ र राष्ट्रिय सहमतिको आधारमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउँछौँ । म अब कुनै पदको लोभ नगरी एउटा बलियो नेतृत्व तयार होस् भन्ने चाहन्छु । अब मेरो पार्टीभित्र कति हैकम चल्छ थाहा छैन । तर, कमसेकम म सत्तामा नजान बल लगाउँछु भन्ने अठोट व्यक्त गर्न चाहन्छु ।
फेरि अध्यक्ष बन्ने तपाईं अब ?
अहिले मेरो त्यतापटी सोचाइ नै छैन । म त अभिभावकको रुपमा रहन चाहन्छु । यो विचारको मुल सम्बाहक भएकोले गर्दा एउटा बलियो नेतृत्व तयार होस्, जसलाई मैले पनि सहयोग गर्न सकुँ भन्ने चाहना छ । अहिले महाधिवेशन त मेरो सोचाइमै छैन ।
पूरा भिडियोमा हेर्नुहोस्…
