बंगलादेशमा पुरानै दलप्रति भरोसा


बंगलादेशमा बिहीबार सम्पन्न संसदीय निर्वाचनले फेरि एकपटक विश्वको ध्यानाकर्षण गरेको छ। निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई नाटकीय रूपमा परिवर्तन गरेको छ। बंगलादेश नेसनल पार्टी (बिएनपी) लाई करिब १७ वर्षपछि बहुमतसहित सत्तामा फर्किने जनादेश चुनवबाट मिलेको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार २९९ सिटका लागि भएको चुनावमा बिएनपीले आवश्यक बहुमतभन्दा धेरै २१२ जति सिटमा जित निकालेको छ। उसको मुख्य प्रतिद्वन्द्वी जमात–ए–इस्लामीले ७० सिट जितेको छ। विद्यार्थी (जेनजी) नेता नाहिद इस्लामको नेतृत्वको नेसनल सिटिजन पार्टी (एनसिपी) ले ६ सिट जितेको छ। एनसिपीको यो नतिजालाई धेरैले अनपेक्षित भनेका छन्। उसले ३० सिटका लागि उम्मेदवारी दिएको थियो। अन्य दलले लगभग ७ सिटमा जित निकालेका छन्। शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो।

बंगलादेशको यो निर्वाचन सन् २०२४ को विद्यार्थी (जेनजी) आन्दोलनपछि भएका कारण थप विशेष रह्यो। जेनजी आन्दोलनले अवामी लिगकी नेत्री शेख हसिना नेतृत्वको निरंकुश शासनलाई ढालिदिएको थियो। सोही कारण यस पटक निर्वाचनमा एनसिपीले राम्रो नतिजा पाउने अपेक्षा गरिएको थियो तर उसले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन। जेनजी आन्दोलनपछि पनि बंगलादेशका जनताले सत्ता फेरि पुरानै राजनीतिक शक्तिलाई सुम्पिएका छन्।

बंगलादेश निर्माण र राजनीतिक जग

बंगलादेशको आधुनिक इतिहास सन् १९७१ को मुक्तियुद्धबाट सुरु हुन्छ। यो युद्धले पूर्वी पाकिस्तानलाई पश्चिम पाकिस्तानबाट अलग गरेर नयाँ राष्ट्रको जन्म दियो। त्यो मुक्तियुद्धमा बंगलादेशका संस्थापक पिता शेख मुजिबुर रहमान (बंगबन्धु) को भूमिका निर्णायक थियो। उनको नेतृत्वमा अवामी लिगले भाषिक, सांस्कृतिक र आर्थिक असमानताको आधारमा पाकिस्तानविरुद्ध विद्रोह गरेको थियो।

मुक्तियुद्धमा करिब ३० लाख मानिसको ज्यान गएको बताइन्छ। उक्त युद्धका क्रममा लाखौं महिलामाथि यौन हिंसा भएको बताइन्छ। युद्धबाट करोडौं मानिस विस्थापित भएको अनुमान गरिएको थियो। इन्दिरा गान्धी नेतृत्वको भारतले हस्तक्षेप गरेपछि १९७१ डिसेम्बर १६ मा बंगलादेश स्वतन्त्र भएको थियो। स्वतन्त्रतापछि पनि बंगलादेशमा राजनीतिक अस्थिरता कायम रह्यो।

सन् १९७५ मा शेख मुजिबुर रहमान र उनका परिवारका अधिकांश सदस्यको हत्या भयो, जसले सैन्य शासनको युग सुरु गर्‍यो। जियाउर रहमानले सत्ता कब्जा गरे। उनैले सन् १९७८ मा बिएनपी स्थापना गरेका थिए। उनले राष्ट्रवादी र इस्लामिक शक्ति मिसाएर बिएनपी बनाएका थिए तर सन् १९८१ मा उनको पनि हत्या भयो। त्यसपछि उनकी पत्नी खालिदा जिया र छोरा तारिक रहमान बिएनपीको नेतृत्वमा आएका हुन्।

अर्कोतर्फ शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाले अवामी लिगलाई धर्म निरपेक्षता। प्रगतिशील नारा दिएर पुनर्जीवित गरिन्। यसरी बंगलादेशको राजनीति दुई प्रमुख परिवारहरू (शेख परिवार र जिया परिवार) बिचको प्रतिद्वन्द्विताबिच घुमिरह्यो। शेख हसिना र खालिदा जियाबिचको प्रतिद्वन्द्विता सत्ताका लागि मात्र नभई विरासतका लागि पनि थियो। दुवै पक्षले आफूलाई स्वतन्त्रताको सच्चा हकदार ठान्थे।

सन् १९८० देखि २००० सम्म दुवै दलले पालैपालो शासन गरे। १९९१ र २००१ मा प्रधानमन्त्री बनेकी खालिदा जियाले महिला सशक्तीकरण र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिइन्। उनको कार्यकालमा छोरी शिक्षालाई प्राथमिकतामा राखियो। उनले बंगलादेशको कपडा उद्योगलाई विश्वव्यापी बनाइन्। उनकै कदमले बंगलादेर्श कपडा निर्यातमा बलियो बन्यो। तर उनको शासन भ्रष्टाचार, इस्लामी अतिवादको उदय र विपक्षीमाथि दमनको आरोपबाट मुक्त भने रहन सकेन।

शेख हसिनाले सन् १९९६ मा सत्ता सम्हालिन्। उनले विशेषगरी २००९ देखि २०२४ सम्म निरन्तर शासन गरिन्। उनको कार्यकालमा बंगलादेशको जिडीपी दोब्बरभन्दा बढी भयो। उनले गरिबी दर घटाउन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय स्तरमा देशको छवि सुधार गर्ने कुरामा धेरै काम गरिन्। उनको कार्यकालमा बंगलादेश र भारतबिचको सम्बन्ध निकट रह्यो तर पाकिस्तानसँग उनको राम्रो सम्बन्ध भएन। उनी पनि खालिदा जियाले जस्तै निरंकुशता लादेर विपक्षीहरूमाथि दमन, चुनावमा धाँधली, भ्रष्टाचार र मानवअधिकार उल्लंघन गरेको जस्ता आरोपबाट मुक्त हुन सकिनन्।

यसरी हेर्दा यी दुई परिवारका दुई महिलाबिच चलेको विरासतको लडाइँले बंगलादेश दशकौंसम्म अस्थिर भयो। राजनीतिक हिंसा, जेल, निर्वासन र हत्या सामान्य घटना भए।

जेन-जी विद्रोह

बंगलादेशको राजनीतिक इतिहासमा २०२४ को जुलाई–अगस्टमा विद्यार्थी (जेनजी) नेतृत्वमा भएको आन्दोलन एक ऐतिहासिक मोड बन्यो। यो आन्दोलन सुरुमा सरकारी जागिरमा स्वतन्त्रता सेनानीहरूका सन्तानलाई ३० प्रतिशत आरक्षण दिने प्रणालीविरुद्ध भएको थियो। केही दिनमै यो आन्दोलन बेरोजगारी, व्यापक भ्रष्टाचार, आर्थिक असमानता र निरंकुश शासनविरुद्धको पूर्ण क्रान्तिमा परिणत भयो। जेनजी विद्यार्थीले सडकमा उत्रिएर शेख हसिना नेतृत्वको शासन अन्त्यको माग गर्न थाले। विद्यार्थीमाथि सरकारले पनि बल प्रयोग गर्‍यो। आन्दोलनकारीले न्यायिक स्वतन्त्रता, प्रधानमन्त्रीको कार्यकाल सीमा, महिलाको बढी राजनीतिक प्रतिनिधित्व, भ्रष्टाचारमुक्त शासन र युवाका लागि आर्थिक अवसरको माग गरेका थिए।

प्रधानमन्त्री शेख हसिनाले आन्दोलन साम्य पार्न प्रहरी, सेना र सत्ताधारी पार्टीका कार्यकर्ता परिचालन गरिन्। आन्दोलनकारीमाथि लाठीचार्जदेखि गोलीसमेत चलाइयो। उनको सरकारले हजारौंलाई गिरफ्तार गरेको थियो। आधिकारिक तथ्यांकअनुसार आन्दोलनका क्रममा १४ सयभन्दा बढीको मृत्यु भएको थियो। हजारौं घाइते भए भने लाखौं प्रभावित भए। यो हिंसाले विश्वव्यापी आक्रोश निम्त्यायो। अन्ततः प्रधानमन्त्रीबाट राजीनामा दिएर शेख हसिना भारतमा शरण लिन पुगिन्। उनी अहिले पनि भारतमा छिन्। हसिनालाई बंगलादेशको अदालतले मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजायसमेत सुनाइसकेको छ।

हसिना भारत भागेपछि बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा मे महिनामा आन्दोलनकारी विद्यार्थी नेतासहितको अन्तरिम सरकार गठन भयो। युनुसले समावेशी लोकतन्त्र, सुधार र स्थिरताको प्रतिज्ञा गरेर सत्ता सम्हालेका हुन्। उनले केही नीतिगत सुधार गरेका छन् तर समयमै निर्वाचन गर्न भने सकेनन्। यसकारण उनी आलोचित पनि भए। उनले सरकार गठन भएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने थियो। तर त्यसो भएन। उनीमाथि निर्वाचन गराउन आन्तिरक र बाह्य क्षेत्रबाट चर्को दबाब थियो। अन्ततः पटकपटक सरेको चुनाव बिहीबार भएको हो।

विद्यार्थीको अगुवाइमा भएको आन्दोलनले बंगलादेशलाई नयाँ आशाको किरण दियो। आन्दोलनमा युवा पुस्ता परिवर्तनका लागि होमिएको थियो। त्यसैलाई उदाहारण बनाएर गत भदौमा नेपालमा पनि दुई दिने जेनजी विद्रोह भयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली आन्दोलनकै कारण सत्ताच्युत भए। बंगलादेशमा जस्तै नेपालमा पनि सत्ता ढल्यो र सुशीला कार्की नेतृत्वमा अन्तिरम सरकार गठन भयो। कार्की सरकारले फागुन २१ मा निर्वाचन मिति तोक्यो। सोहीअनुसार अहिले नेपाल निर्वाचन तयारीमा छ। बंगलादेशको चुनावी नतिजाको असर नेपालमा पनि पर्न सक्ने आंकलन भइरहेको छ।

निर्वाचन परिणाम

बंगलदेशमा बिहीबार भएको निर्वाचनको प्रारम्भिक नतिजा घोषणा शुक्रबार भएको हो। यो निर्वाचन बंगलादेशमा निर्णायक हुने मानिएको थियो। सन् २०२४ को जेनजी आन्दोलनपछिको निर्वाचन भएकाले पनि यसलाई खास महत्त्वका साथ हेरिएको थियो। निर्वाचनमा शेख हसिना नेतृत्वको दल अवामी लिगलाई प्रतिबन्ध लगाइएको थियो। यसलाई हसिनाले ‘प्रहसन’ भनेकी थिइन्।

निर्वाचन परिणामअनुसार पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएकाले उनका छोरा तारिक रहमानको नेतृत्वमा बिएनपीले नयाँ सरकार बनाउने छ। सन् २००८ देखि बेलायत निर्वासनमा रहेका तारिक डिसेम्बर २०२५ मा बंगलादेश फर्किएका थिए। ‘सबैभन्दा पहिले बंगलादेश’ भन्ने नारासहित उनको पार्टी निर्वाचनमा होमिएको थियो। उनले चुनावी नारामा कानुन व्यवस्था सुधार, भ्रष्टाचार अन्त्य, आर्थिक अवसर, कपडा उद्योग पुनरुत्थान र विदेशी लगानी आकर्षणको वाचा गरेका थिए। बिएनपीको जितलाई १७ वर्षपछि सत्ता फिर्ता मानिएको छ। बिएनपी सन् २००६ यता सत्ताबाहिर थियो। जमात–ए–इस्लामी र एनसिपीसहितका विपक्षी दलले चुनावमा धाँधलीको आरोप लगाएका छन्। एनसिपीले जमातसँग गठबन्धन गरेको थियो। मतदानदर ५९ प्रतिशतभन्दा बढी थियो।

यो निर्वाचनपछि बंगलादेशको नयाँ राजनीतिक कोर्स स्पष्ट भएको छ। तारिकले राजनीतिक स्थिरता, आर्थिक पुनरुत्थान र समावेशी विकासलाई जोड दिएका छन्। उनकै नेतृत्वमा बन्ने नयाँ सरकारले कपडा उद्योगलाई पुनर्जीवित गर्ने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र क्षेत्रीय सम्बन्ध सुधार्ने चुनौती भने सामना गर्नुपर्ने छ। अन्तरिम सरकार र भारतबिचको सम्बन्ध बिग्रिएको छ।

निर्वाचनमा जित निकालेका तारिक रहमानलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन्। पाकिस्तानसँग बिएनपीको निकटता देखिन्छ। तर यो पुरानै राजवंशीय राजनीतिको पुनरागमन हो, यसले विद्यार्थीको सपनालाई धक्का दिएको छ। आन्दोलनकारी भन्छन्, ‘हामी प्रणाली परिवर्तन चाहन्थ्यौं न कि अनुहार।’ एनसिपीका युवा सांसदले संसद्मा नयाँ आवाज ल्याए पनि सानो उपस्थितिले उनीहरूको प्रभाव सीमित रहने देखिएको छ।

जेन- जी आन्दोलनको अपेक्षा र वास्तविकता

बंगलादेशमा सन् २०२४ को आन्दोलनले नयाँ पुस्तामा ठुलो भरोसा पलाएको थियो। विद्यर्थीसहितको नयाँ पुस्ता भ्रष्टाचारमुक्त, समावेशी र लोकतान्त्रिक बंगलादेश चाहन्थे। तर निर्वाचनमा उनीहरूको पक्षमा अपेक्षाकृत नतिजा आएन। एनसिपीको कमजोर प्रदर्शन र जमात–ए–इस्लामीसँगको गठबन्धनले विद्यार्थीहरूलाई निराश बनाएको छ। महिलाको प्रतिनिधित्वमा पनि कमी देखिन्छ। आन्दोलनकारी तन्जिना तम्मीम हाप्साले भनिन्, ‘हामी लुगा होइन, प्रणाली परिवर्तन चाहन्थ्यौं।’

यो निराशा बंगलादेशको इतिहाससँग जोडिएको छ। स्वतन्त्रतादेखि नै राजनीति राजवंशमा केन्द्रित छ, जसले युवालाई सधैं किनारामा राखेको छ। यसको राजनीतिक सन्देश नेपालसहितका देशहरूमा स्पष्ट छ। बंगलादेशले देखाउँछ कि आन्दोलनले सत्ता परिवर्तन गर्छ तर दिगो सुधारका लागि युवा नेतृत्व, नयाँ दल गठन र संस्थागत परिवर्तन आवश्यक छ। अन्यथा पुरानै शक्तिहरू फर्किन सक्छन्।

क्षेत्रीय रूपमा यो घटनाले भारत र पाकिस्तानसँगको सम्बन्धमा प्रभावित गर्छ। भारतले शेख हसिनालाई शरण दिएपछि दुई देशको सम्बन्ध बिग्रिएको छ तर भारतीय प्रधानमन्त्री मोदीले तारिक रहमानलाई बधाइ दिएर सम्बन्ध सुधारको बाटो देखाएका छन्। पाकिस्तानसँग बिएनपीको मित्रता छ।

बंगलादेशको सत्तामा बिएनपीको फिर्ताले छोटो अवधिको स्थिरता दिन सक्छ। तर विद्यार्थी निराशासँगै बलियो शक्तिका रुपमा रहेको अवामी लिगबाहिर भएका कारण फेरि अस्थिरता ननिम्तिएला भन्न सक्ने अवस्था छैन। लोकतन्त्रलाई युवा, समावेशी र संस्थागत रूपमा बलियो बनाउनुपर्छ भन्ने यसले देखाउँछ।

एजेन्सीको सहयोगमा



Source link

Leave a Comment