News Summary
Generated by OK AI. Editorially reviewed.
- अर्जेन्टिनाकी प्राध्यापक रैक्वेलले २०१० मा स्तनको आकार घटाउन ब्रेस्ट रिडक्सन सर्जरी गराएकी थिइन्, जसले उनलाई स्वतन्त्रताको अनुभव गरायो।
- इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार २०२४ मा विश्वभर ६ लाख ५२ हजार ६७६ स्तन घटाउने सर्जरी भएका छन्।
- ब्रिटेनकी विशेषज्ञ जोआना वेकफील्ड स्करले सही ब्रा नलगाउँदा हुने चार नकारात्मक प्रभावहरू पहिचान गरिन् र महिला एथ्लेटिस्टका लागि नयाँ ब्रा विकास गरिरहेकी छिन्।
‘म सधैं काँध झुकाएर हिँड्थें, मेरा स्तन धेरै ठूला छन् भन्ने कुरा नदेखियोस् भनेर । मलाई यो कुरा आज पनि याद छ, किनकि मलाई धेरै लाज लाग्थ्यो’ अर्जेन्टिनाको एक विश्वविद्यालयकी प्राध्यापक रैक्वेल भन्छिन्।
हाल ५२ वर्ष पुगेकी उनले २०१० मा स्तनको आकार घटाउनका लागि ‘ब्रेस्ट रिडक्सन सर्जरी’ गर्ने निर्णय गरिन् । यो सर्जरीको नतिजाले उनलाई ‘स्वतन्त्रताको अनुभव’ गरायो, जुन उनले पहिले कहिल्यै महसुस गरेकी थिइनन् ।
संसारका धेरै ठाउँमा ठूला स्तनलाई आकर्षक मानिन्छ, तर वास्तविकतामा ठूला स्तनले महिलाहरूको स्वास्थ्य र जीवनको गुणस्तरमा धेरै कठिनाइहरू खडा गर्न सक्छ । ठूला स्तनले विभिन्न समस्या निम्त्याउन सक्छन् । जस्तै: निरन्तर ढाड दुखाइ, टाउको दुखाइ, गलत पोस्चर, निद्रामा समस्या र मानसिक स्वास्थ्यसँग सम्बन्धित आदि । यससँगै खेलकुद र व्यायाम पनि प्रभावित हुन्छ ।
इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीको ताजा तथ्यांक अनुसार, २०२४ ६ लाख ५२ हजार ६७६ ब्रेस्ट रिडक्सन सर्जरी भए । यीमध्ये सबैभन्दा धेरै ब्राजिलमा १ लाख १५ हजार ६४७ स्तन घटाउने सर्जरी भयो । त्यसपछि अमेरिरका अमेरिकामा ६७ हजार ४७८, फ्रान्समा ३८ हजार ७८०, जर्मनीमा ३२ हजार ४७८, टर्कीमा २५ हजार ३३४ र भारतमा २२ हजार ४४ ब्रेस्ट रिडक्सन सर्जरी भए ।
किशोरावस्थादेखि नै ठूला स्तनका कारण निरन्तर ढाड दुखाइ भोग्नुपरेको अर्जेन्टिनाकी प्राध्यापक रैक्वेलले सुनाछिन् ।
उनका अनुसार अर्जेन्टिनामा ठूला स्तनहरूलाई प्रायः एक प्रकारको वरदान मानिन्छ । ‘धेरैजसो मानिसहरू, विशेष गरी महिलाहरू भन्थे तपाईं धेरै भाग्यमानी हुनुहुन्छ’ रैक्वेल भन्छिन्, ‘तर उनीहरूले भनेजस्तो म भाग्यमानी थिइनँ । मैले धेरै पीडा भोगें । मैले किशोरीको रूपमा दुःख भोगें, महिलाको रूपमा र आमाको रूपमा पनि ।’
वास्तवमा आफ्नो शरीर लुकाउनका लागि उनी जसरी हिँड्थिन्, त्यसैका कारण आज पनि उनलाई ढाड दुखाइको समस्या भइरहन्छ ।
एक सक्रिय व्यक्ति भएको नाताले, रैक्वेललाई योगा, पिलाटेस र जिम जान मन पर्थ्यो । तर ठूला स्तनको बोझले उनलाई आफ्ना मनपर्ने गतिविधिहरूमा भाग लिनबाट वञ्चित हुन बाध्य पार्थ्यो ।
ब्रिटिश एसोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जन्सकी अध्यक्ष डाक्टर नोरा न्यूजेन्टका अनुसार स्तन रिडक्सन सर्जरी गराउने आउने महिलाहरूमध्ये सबैजसोले ठूला स्तन हुँदा आफूलाई हिँड्न, चल्न र व्यायाम गर्न समस्या भएको बताउने गर्छन् ।
डाक्टर न्यूजेन्ट भन्छिन्, ‘व्यावहारिक दृष्टिकोणबाट हेर्दा ठूला स्तन भारी हुन्छन्, त्यसैले तिनले शरीरलाई अगाडि तान्छन् । यसले ढाड र घाँटीमा निरन्तर दबाब बढाउँछ । व्यायाम गर्न असहज बनाउँछ, र सही सपोर्ट दिने गरी फिट ब्रा खोज्न पनि धेरै गाह्रो हुन्छ ।’
रैक्वेललाई आफ्नो छाती सम्हाल्नका लागि ‘दुई वा तीन’ ब्रा एकैसाथ लगाउनुपर्थ्यो र आफ्नो साइजको ब्रा खोज्नु उनका लागि अलग प्रकारको आर्थिक बोझ पनि बनेको थियो।
‘अर्जेन्टिनामा ठूला स्तनका लागि मिल्ने ब्रा धेरै महँगो हुन्छन्’ उनी भन्छिन्, ‘ब्रेस्ट रिडक्सन सर्जरी पछि मलाई स्वतन्त्रता महसुस भयो ।’
डाक्टर न्यूजेन्टका अनुसार उनीकहाँ आउने अधिकांश महिलाहरूको प्रत्येक स्तनबाट ३०० ग्रामदेखि १ किलोग्रामसम्म तौल कम गरिन्छ । ‘कहिलेकाहीं शरीरको कुल तौलको हिसाबले यो धेरै लाग्दैन, तर शरीरको एक सानो भागका लागि यो धेरै ठूलो मात्रा हुन्छ ’ उनी भन्छिन् ।
प्राध्यापम रैक्वेलको केसमा भने चिकित्सकहरूले उनको स्तनबाट २.५ किलो तौल कम गरे ।
सर्जरीपछिको अनुभव रैक्वेल यसरी सुनाउँछिन् ‘मलाई याद छ, सर्जरीपछि जब मैले भुइँबाट केही वस्तु उठाउने काम गरेँ त्यसमा निकै सहज भयो र मलाई लाग्यो वाह ! यो त पूरै फरक शरीर हो । मलाई साँच्चै, धेरै स्वतन्त्रता महसुस भयो ।’
राम्रो ब्राको शक्ति
निरन्तर स्तन दुखाइको समस्या भएपछि प्रोफेसर जोआना वेकफील्ड स्कर चिकित्सककहाँ परामर्श लिन गइन् । उनले आफ्नो समस्या सुनाइन् । यो समस्याबाट छुटकारा पाउनका लागि सही साइजको फिट ब्रा लगाउनुपर्ने सुझाव उनले पाइन् । बायोमेकानिक्सको विशेषज्ञ हुनुका नाताले उनले एक अनुसन्धान गर्ने निर्णय गरिन्- आखिर सही ब्रा कस्तो हुन्छ ?
स्कर भन्छिन्, ‘यसपछि मैले महसुस गरेँ यसबारे हामीलाई एकदमै कम मात्रै जानकारी छ कि– वास्तवमा हामीलाई ब्रा किन चाहिन्छ, ब्राको फाइदा के हुन् र ब्रा ले कसरी काम गर्नुपर्छ ?’
ब्रालाई धेरैजसो फेसन आइटमको रूपमा हेरिन्छ, तर यो स्वास्थ्यसँग पनि जोडिएको कुरा हो । यसबारे खासै चसो र जानकारी नराख्नु साँच्चै निराशाजनक कुरा भएको उनले महसुस गरिन् ।
यस कुराले उनलाई २०१८ मा ब्रिटेनको युनिभर्सिटी अफ पोट्र्समाउथमा ब्रेस्ट हेल्थबारे एक अनुसन्धान समूह निर्माण गर्न गर्न प्रेरित गर्यो ।
उनको टोलीले गरेको अनुसन्धानले फिट नहुने खालको गलत ब्रा लगाउँदा हुने चार ठूला नकारात्मक प्रभावहरू पहिचान गर्यो ।
१.दुखाइ हुने र छाला तान्ने
२.तन्तुहरूमा क्षति पुग्ने
३.श्वासप्रश्वासको ढाँचा र मुटुको गतिमा परिवर्तन हुने
४.शारीरिक गतिविधिमा अवरोध हुने
‘यदि तपाईंको स्तन भारी छन् र ती माथि-तल उफ्रिरहेका छन् भने, यसले तपाईंको सास फेर्ने तरिकामा साँच्चै परिवर्तन ल्याउन सक्छ’ स्कर भन्छिन्, यसले तपाईंले जमिनमा कति बल लगाउनुहुन्छ भन्ने कुरा पनि परिवर्तन गर्छ । यसको अर्थ यसले तपाईंको सम्पूर्ण शरीरले कसरी काम गर्छ भन्ने कुरालाई असर गर्छ ।’
अध्ययन पछि उनीहरूले निष्कर्ष निकाले– स्तन धेरै पटक हल्लिन्छ कि कम भन्ने कुराले स्तनको दुखाइ निर्धारण गर्दैन, बरू स्तन कुन गतिमा हल्लिन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । यसको मतलब स्तनको हल्लिने गति कम गर्दा दुखाइ कम हुने निष्कर्ष यो टोलीको रह्यो ।
अहिले यो टिम इङ्ल्यान्डको महिला फुटबल टिम ‘लाइयोनेसेस’ जस्ता एलिट एथ्लेटिस्ट र विश्वका केही टप गल्फरहरूसँग मिलेर उनीहरूका लागि सबैभन्दा राम्रो ब्रा तयार पार्ने काममा जुटिसकेको छ ।
वेकफील्ड–स्कर भन्छिन्, ‘हामी देखिरहेका छौं एफए, वर्ल्ड रग्बी जस्ता संस्थाहरूले महिला एथ्लेटिस्टको स्वास्थ्यसँग सम्बन्धित विषयमा पैसा लगाइरहेका छन् । र, यो परिवर्तन वास्तवमा विगत पाँच वर्षमा मात्र देखिएको छ । यो सबै अझै नयाँ छ, तर यो राम्रो कुरा हो र परिवर्तन देखिन थालेको छ ।’
महिलाहरू राम्रो जीवन जिउन चाहन्छन्
समाजले ठूला स्तनको बोझलाई कसरी हेर्छ र बुझ्छ, यो कुरा रैक्वेलले आफैं भोगिन् । ब्रेस्ट रिडक्सन सर्जरी गर्ने निर्णयमा उनले आफ्ना वरपरका मानिसहरूबाट भेदभावको सामना गर्नुपर्यो । धेरैजसो मानिसहरूलाई लाग्यो– स्तन घटाउने सर्जरी गर्नु कुनै स्वास्थ्यसँग जोडिएको विषय होइन्, यो केबल सौन्दर्यसँग मात्रै सम्बन्धित छ ।
स्तन घटाउने सर्जरी गरेपछि कसैकसैले उनलाई व्यंग्य पनि गरे । ‘जब मैले यो सर्जरी गराएँ, तब एक महिलाले मलाई भनिन्, अब तिमीले पेट पनि निकाल्नुपर्यो’ रैक्वेलले भनिन् । यसको मतलब अब ‘लिपोसक्शन’ अर्थात पेटको बोसो निकाल्ने सर्जरी गर भनेर व्यंग्यात्मक सुझाव दिइएको थियो ।

यस्ता प्रतिक्रियाले कुनै असर नपरेको र आफ्नो निर्णयमा कुनै पछुतो नभएको उनी बताउँछन् । ‘म धेरै खुसी छु र अब जब म मेनोपोजको चरणमा छु, मलाई बुझ्दैन कि ठूला स्तनसँग म कसरी जिउन सक्थें । म आफूलाई त्यो शरीरसँग जुधिरहेको कल्पना पनि गर्न सक्दिनँ ।’
ब्रेस्ट रिडक्सन सर्जरी गराउने बढ्दो संख्याले महिलहरूको ‘सेल्फ केयर’मा बढ्दो रुचिलाई देखाउने डाक्टर न्यूजेन्ट बताउँछिन् ।
‘महिलाहरू मात्र होइनन्, सबै व्यक्तिहरू अब राम्रो जीवन जिउन चाहन्छन्’ उनी भन्छिन्, ‘यो पूर्वणताको खोजी होइन, बरू स्वास्थ्य र निरोगीपनाको खोजी हो ।’
बीबीसीबाट
