News Summary
Generated by OK AI. Editorially reviewed.
- इटलीका लेगस्पिनर क्रिसन कालुगामागेले नेपाल विरुद्ध ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर टी-२० विश्वकप २०२६ मा प्लेअर अफ दि म्याच बने।
- इटलीका मस्का दाजुभाइले अविजित १२४ रनको साझेदारी गर्दै नेपाल विरुद्ध १० विकेटले ऐतिहासिक जित दिलाए।
- क्रिसनले फुटबलर लाउतारो मार्टिनेजको शैलीमा विकेट लिएर सेलेब्रेसन गरेका थिए र उनले क्रिकेट खेल्नका लागि धेरै जागिर गुमाएको बताएका छन्।
२९ माघ, मुम्बई । क्रिसन कालुगामागे, उनको नाम उच्चारण गर्नै अफ्ठ्यारो छ । तर बिहीबार उनै क्रिसनले नेपाल विरुद्ध गरेको बलिङ नै सायदै नेपाली क्रिकेट समर्थकले बिर्सेलान् ।
उनले प्लेअर अफ दि म्याच प्रदर्शन गर्दै पहिलो इनिङ्समै इटलीका लागि जितको आधार तयार पारेका थिए । दोस्रो इनिङ्समा मस्का दाजुभाइ (एन्थोनी र जस्टिन) ले शतकिय साझेदारी गर्दै नेपाल विरुद्ध ऐतिहासिक जित निकाल्यो ।
मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल र इटली दुवै आफ्नो दोस्रो खेल खेल्दै थिए । दुवै टोली पहिलो खेलमा हारपछि पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रेका थिए । त्यसमा इटली आफ्नो रणनीतिमा सफल भयो र क्रिकेट विश्वकप इतिहासमै पहिलो जित निकाल्यो ।
अर्कोतर्फ इंग्ल्याण्डला२ पहिलो खेलमा टक्कर दिएर आच्छु आच्छु बनाएर प्रशंसा कमाएको नेपाल भने टी-२० विश्वकपमै पहिलो पटक १० विकेटले पराजित भयो । नेपाली बलर सन्दीप लामिछानेले नेपालको यो हारलाई ‘ब्याड डे’ को रुपमा चित्रण गरे ।
एक दिन विश्व विजेता टिमलाई कठा टक्कर दिएको नेपालले अर्को दिन वरियतामा पनि नेपाल भन्दा १० स्थान तल रहेको अनी पहिलो पटक विश्वकप खेल्दै गरेको इटलीसँग लज्जासपद हार नै व्यहोर्यो ।
नेपालको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा इटलीका ३४ वर्षीय लेगस्पीनर क्रिसन चम्किए । उनको पुरा नाम क्रिसन जर्ज प्रियन्था फर्नान्डो कालुगामागे हो ।
वानखेडे मैदानमा उनले नेपाल विरुद्ध आफ्नो नाम सधैँ सम्झन लायक बनाउने गरी बलिङ गरे । उनले ४ ओभरमा १८ रन मात्र खर्चेर नेपालको ३ विकेट लिएका थिए । जसमा कप्तान रोहित कुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र लोहर अर्डरमा हार्ड हिट हान्ने गुल्सन थिए । यी तीन नेपालका यस्ता खेलाडी हुन् जसले कुनै पनि बेला ब्याटिङमा महत्वपूर्ण योगदान दिन सक्थे ।
त्यसमा पनि क्रिसनले एकदमै महत्वपूर्ण बेलामा ती खेलाडीको विकेट झारे । नेपालका लागि रोहित र आसिफ शेखले राम्रो साझेदारी गरिरहेका बेला क्रिसनले कप्तान रोहितलाई सातौं ओभरमा आउट गर्दै विकेटको खातो खोलेका थिए । यसअघि भन्दा छिटो खेलिरहेका रोहितको विकेट गुम्नु नेपालका लागि घाटा बन्न पुग्यो । लगत्तै अर्को ओभरमा ओपनर आसिफ पनि आउट हुँदा नेपाल ४९-३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि उपकप्तान दीपेन्द्र र आरिफ शेखले साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए । तर यो साझेदारी पनि उनै क्रिसनले तोडिदिए । उनले १४औं ओभरको पाँचौ बलमा दीपेन्द्रलाई बोल्ड गरिदिएपछि नेपालले चौथो विकेट गुमायो ।
नियमित अन्तरालमा विकेट गुमाइरहेको नेपालका लागि त्यसपछि क्रिसमा पुगेका लोकेश बम पनि ३ रनमै पभेलियन फर्किए । एक छेउ आरिफ शेखले सम्हालिरहेका थिए । तर नेपालको इनिङ्समा सर्वाधिक २७ रन बनाएका आरिफ पनि नेपालको १०० रन पुगेपछि जेजे स्मट्सको बलमा आउट भए ।
आरिफ आउट हुँदा क्रिसजमा गुल्सन झा दिए । उनलाई साथ दिन नन्दन यादव पुगे । तर अपेक्षा गरिएका गुल्सन झाले पनि निराश पारे । गुल्सनलाई उनै क्रिसनले क्याम्पापियानोबाट क्याचआउट गराउँदै खेल इटलीको पक्षतिर मोडेका थिए ।
नेपालले लगातार विकेट गुमायो र १२३ रनमै अलआउट भयो । क्रिसनसँगै बेन मानेन्टीले पनि कसिलो बलिङ गर्दै ४ ओभरमा जम्मा ८ रन मात्र खर्चेर २ विकेट लिए ।
त्यसपछि मस्का दाजुभाइले पहिलो विकेटका लागि अविजित १२४ रनको साझेदारी गर्दै ४४ बल अगावै इटलीलाई १० विकेटको जित दिलाए ।
क्रिसनको सेलेब्रेसन
इटलीका क्रिसनले नेपाली ब्याटरको विकेट लिँदा फुटबलर लाउतारो मार्टिनेजको शैलीमा सेलेब्रेसन गरेका थिए ।
इटालियन क्लब इन्टर मिलानबाट खेल्ने अर्जेन्टाइन फरवार्ड लाउतारो मार्टिनेजले विपक्षी टिम विरुद्ध गोल गरेपछि दुई हातलाई अगाडी क्रस साइन बनाएर सेलेब्रेसन गर्ने गर्छन् । क्रिसनले पनि नेपालको विकेट लिएपछि ठ्याक्कै त्यही शैलीमा सेलेब्रेसन गरे ।
इटलीमा हरेक पटक खेलकुदको कुरा गर्दा त्यो फुटबलकै वरीपरी घुम्छ । त्यसैले क्रिसनका लागि पनि इटालियन फुटबलका ठूला नामबाट प्रभावित हुनु कुनै आश्चर्य रहेन ।
इटालियन लेजेण्ड क्रिस्टियन भिएरी देखि आन्द्रे पिर्लोसम्म साथै जेनोअ फुटबल क्लबले पनि क्रिकेटका लागि सन्देश दिएका थिए ।
क्रिसन कालुगामागेको मन पर्ने खेलाडी पनि इन्टरका लाउतारो मार्टिनेज हुन् । उनले टी-२० विश्वकपमा विकेट लिँदा लाउटारो मार्टिनेजकै ट्रेडमार्क आर्म-क्रस्ड सेलेब्रेसन गर्ने बताएका थिए र नेपालको खेलमा विकेट लिँदा त्यही गरेर देखाए ।
दक्षिण एसियामा भइरहेको टी-२० विश्वकप खेल्न आएका क्रिसन आफ्नो करियरको उच्च लयमा छन् । उनी अहिले इटलीका लागि खेल्ने मात्र नभई भविष्यमा युवा पुस्ताका लागि पनि इन्सपायर गर्न चाहन्छन् ।
‘म यो निरन्तर अघि बढोस् भन्ने चाहन्छु । म यस स्तरबाट एउटा लेगेसी छोड्न चाहन्छु र भविष्यको पुस्ताका लागि बाटो सजिलो बनाउन चाहन्छु’ उनले भनेका छन् ।
पिज्जा पनि बनाउँछन् क्रिसन
क्रिसन श्रीलंकामा जन्मेका हुन् । जुन देशमा अहिले संयुक्त रुपमा टी-२० विश्वकप चलिरहेको छ । तर अहिले उनी इटलीका लागि विश्वकप खेलिरहेका छन् । कुनै बेला उनले श्रीलंकाकै लागि खेल्ने सपना पनि देखेका थिए । तर त्यो पूरा नभएपनि उनले फरक राष्ट्रबाट खेले ।
क्रिसन पिज्जा पनि बनाउन सक्छन् । त्यसै पनि इटली भनेपछि पिज्जा फेमस हुने भैहाल्यो । पिज्जा बनाउन र स्पीन बलिङ दुवैका लागि हातको कला महत्वपूर्ण हुन्छ । क्रिसन अहिले दुवैमा उत्कृष्ट छन् ।
क्रिसन कुनै बेला इटलीको फ्लोरेन्सस्थित लुक्काको एक पिज्जेरियामा व्यस्त सिफ्टका बीच अर्डर सम्हाल्दै पिज्जाको आटा बनाइरहेका हुन्थे । तर बिहीबार उनले नेपालको ३ विकेट लिएर इटलीको जितमा ठूलो भूमिका खेले ।
उनले क्रिकेट खेल्ने चक्करमा धेरै जागिर पनि गुमाए । ‘मैले धेरै जागिर गुमाएँ । आइतबार निकै व्यस्त दिन हुन्छ । क्रिकेट खेल्ने भएकोले धेरै मालिकहरू तपाईलाई काममा लगाउन रुचाउँदैनन् ।’ उनले बीबीसीसँग भनेका थिए ।
यसले क्रिकेटजस्तो खेल खासै लोकप्रिय नभएको देशमा आफ्नो सपनाका लागि गर्नुपरेको त्याग पनि देखाउँछ ।
सन् २००७ मा उनको परिवारसहित उनी युरोपियन राष्ट्र इटलीमा सरे । त्यसबेला उनी १६ वर्षका मात्र थिए । उनको लागि त्यो क्षण धेरै कारण दु:खदायी थियो ।
उनी सानोमा हजुरबुबासँग रेडियोमा क्रिकेट कमेन्ट्री सुन्थे । यस्तै स्कुलमा हुँदा साथीहरुसँग क्रिकेट पनि खेले । उनी आफ्नो स्कुलमा यू-१३ र यू-१५ लेभलमा टिममा पनि थिए ।
तर इटली सरेपछि नयाँ संस्कृति र वातावरणमा घुलमिल हुनका लागि उनलाई केही कठिन भयो भने उनले क्रिकेटर बन्ने सपनामा धक्का लाग्यो ।
पछि उनी एथ्लेटिक्स स्कुलमा भर्ना भए । त्यसपछि उनले इटलीमा रहेका अरु श्रीलंकनसँग टेनिस बल क्रिकेट खेल्न थाले ।
विस्तारै उनले प्रतिस्पर्धात्मक क्रिकेट पनि खेल्न थाले । सानो क्लब लुक्काको लागि उनीसहित केही खेलाडीले खेले ।
सन् २०१५-१६ मा उनले रोमा क्रिकेट क्लबमा खेल्ने अवसर पाए । जुन उनको लागि ब्रेक थ्रु बन्यो । सन् २०१९ मा उनले श्रीलंकन डोमेस्टिक क्लब क्यान्डी कस्टम्स क्रिकेट क्लबमा खेल्ने अवसर पाए । सुरुमा उनी फास्ट बलर थिए । तर धेरै घाइते हुने भएकोले सन् २०२१ मा उनले लेगस्पीन गर्न थाले ।
अरबिन्दा डे शिल्भा, सनथ जयासूर्यालाई हिरो मान्ने क्रिसन लेगस्पीनरको रुपमा शेन वार्न, वानिन्दु हसरंगा, रासिफद खानलाई इन्सपिरेसनको रुपमा हेर्छन् ।
टी-२० विश्वकपअघि उनले श्रीलंकाको लागि कोलोम्बोमा एक महिना नेट बलरको रुपमा बिताए । इटलीमा विन्टरमा आउटडोर एक्टिभिटी नहुँदा उनले त्यो समय श्रीलंकामा प्रयोग गरेका थिए ।
त्यही समयमा उनले हसरंगालाई भेटेर बलिङ टिप्स समेत लिए ।
दुबईमा भएको आयरल्याण्ड विरुद्धको सिरिजका बेला उनले रासिदलाई भेटे । जहाँ रासिदले क्रिसनलाई गुग्लीको बारेमा टिप्स दिए । त्यही सिरिजमा क्रिसनले पनि राम्रो प्रदर्शन गरे । ३ खेलमा ४ विकेट लिए । आयरल्याण्ड विरुद्ध इटलीको पहिलो टी-२० आई जितमा क्रिसनले ३ विकेट लिएका थिए ।
सन् २०२२ मा ग्रीस विरुद्ध टी-२०आईमा डेब्यु गरेका उनले २० खेलमा २३ विकेट लिएका छन् ।

ब्याटिङमा मोस्का दाजुभाइले पहिलो विकेटका लागि अविजित १२४ रनको साझेदारी गरेर जिताए । टी-२० विश्वकपमा यसअघि पनि धेरै दुजभाईले एकसाथ ब्याटिङ गरिसकेका छन् भनेर यो जोडीले पहिलो खेलमा पनि स्कटल्याण्ड विरुद्ध ब्याटिङ सुरुवात गरेका थिए । तर जस्टिन पहिलो बलमै आउट भए ।
तर नेपालविरुद्ध भने दुवैले अर्धशतक प्रहार गरे । शतकिय साझेदारी गरे अनी जितमा नायक बने । यो जोडीले टी२० विश्वकपमा कमरान अकमल र उमर अकमलले सन् २०१४ मा अष्ट्रेलिया विरुद्ध बनाएको ९६ रनको सर्वाधिक साझेदारीको कीर्तिमान पनि तोडे ।
३४ वर्षीय एन्थोनीले ३२ बल खेल्दै ३ चौका र ६ छक्का मदतमा अविजित ६२ रन बनाए । ३१ वर्षीय भाई जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरी अविजित ६० रन जोडे ।
एन्थोनीभन्दा तीन वर्षले कान्छा जस्टिन पेशाले शारीरिक शिक्षाको शिक्षक हुन् । आफ्नो दाजुसँगै सिड्नीमा हुर्केका जस्टिनले पनि पनि क्रिकेटलाई व्यावसायिक रुपमा सोचेका थिएनन् ।
यस्तै एन्थोनीले कुनै बेला कारपेन्टरको ट्रेनिङ गरेका थिए ।
