प्रतिनिधिसभा सदस्य निर्वाचनको रापताप देशैभर बढ्न थालेको छ।
निर्वाचनको रापतापबाट राजधानी काठमाडौं पनि अछुतो छैन। प्रतिनिधिसभामा काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुन्छ। यी क्षेत्रमा चुनावी रौनक बढ्दो छ। दल र स्वतन्त्र उम्मेदवार घरदैलोमा पुगेर आ-आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन्।
निर्वाचन क्षेत्र नम्बर ६ देखि १० सम्मका उम्मेदवारले पनि घरदैलो अभियानलाई चलाइरहेका छन्। उम्मेदवारहरू आ-आफ्ना प्रतिबद्धतासहित घरटोलमा पुगे पनि मतदाता भने खुलेका छैनन्।
विगतको निर्वाचन तुलनामा मतदाताहरूको मौनताले काठमाडौंका उम्मेदवार अलमलमा परेका छन्। प्रचारप्रसारमा उम्मेदवारले घरदैलो, भेला, बैठकसँगै सामाजिक सञ्जालको पनि भरपुर प्रयोग गरेका छन्।
मतदातालाई प्रभावित गर्न नयाँ-पुराना दल र उम्मेदवार लागिपरेका छन्। उनीहरू विरासत जोगाउन र भत्काउन सक्रिय छन्।
अघिल्लो निर्वाचन, २०७९ मा काठमाडौंका ६ देखि १० नम्बरसम्मका निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन वटा क्षेत्र तथा कांग्रेस र एमालेले एक/एक क्षेत्रमा जित निकालेका थिए।
काठमाडौंका १ देखि ५ क्षेत्रमध्ये दुई नम्बर क्षेत्रबाहेक चारवटामा कांग्रेस उम्मेदवार विजयी भएका थिए। निर्वाचन क्षेत्र नम्बर-२ मा रास्वपाले जित निकालेको थियो।
रास्वपा यस पटक काठमाडौंका ६, ७ र ८ नम्बर क्षेत्रको परिणाम आफ्नो पक्षमा पार्दै ९ र १० मा पनि जित निकाल्ने रणनीतिमा छ। त्यस्तै, कांग्रेस विगतमा आफूले जितेका क्षेत्र रक्ष गर्दै थप क्षेत्रमा जित निकाल्न चाहन्छ।
अघिल्लो निर्वाचनमा काठमाडौंबाट एक सिटमा मात्र जित निकालेको एमाले यस पटक धेरै सिटमा जित निकाल्न लागिपरेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी (उनेपा) सहितका दलका उम्मेदवार पनि राजधानीमा जित निकाल्ने रणनीतिमा जुटेका छन्।
यसैगरी, स्वतन्त्र उम्मेदवार पनि प्रचारप्रसारमा सक्रिय देखिन्छन्। सबै उम्मेदवारलाई चुनावी रापले छोपेको छ।
काठमाडौं-६ लाई उम्मेदवारहरूले सामान्य हारजित मात्र नभएर प्रतिष्ठासँग जोडेर हेरेका छन्। २०७९ को निर्वाचनमा रास्वपाका शिशिर खनालले जित निकालेको यो क्षेत्रमा यस पटक कांग्रेसले जिल्ला सभापति सबुजकृष्ण बानियाँलाई उम्मेदवार बनाएको छ।
एमालेले अमन मास्केलाई मैदानमा उतारेको छ। अघिल्लो निर्वाचनमा काठमाडौं–६ (ख) बाट मास्के बागमती प्रदेशसभामा निर्वाचित भएका थिए। प्रदेशसभाको कार्यकाल बाँकी छँदै उनी राजीनामा दिएर संघीय संसद्को यात्रमा लागेका हुन्।
नेकपाबाट हिमाल शर्मा, रास्वपाबाट शिशिर खनाल उम्मेदवार छन्। कांग्रेस पृष्ठभूमिका खनाल अघिल्लो चुनवामा रास्वपाबाट उम्मेदवार भई १४ हजार २२१ मत पाएर निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९१७ मत पाएका थिए। कांग्रेसका भिमसेनदास प्रधान ८ हजार ८१२ मतमा रोकिएका थिए।
राप्रपाका विष्णुप्रसाद आचार्यले २ हजार १८५ मत पाएका थिए। ६७ हजार ७ सय ५९ मतदाता रहेको यो क्षेत्रमा यस पटक राप्रपाले उद्धवराज भेटुवाललाई उम्मेदवार बनाएको छ।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका तीन वटा वडा तथा टोखा र तारकेश्वर नगरपालिकाका अधिकांश भाग पर्छन्।
काठमाडौं–७ मा रास्वपाका नेता गणेश पराजुली पुनः जित दोहोर्याउने रणनीतिमा छन्। आठ हजार ७४३ मतसहित अघिल्लो पटक संसद् छिरेका पराजुली पुनः जित सुनिश्चित गर्न सक्रिय छन्।
यो क्षेत्रमा कांग्रेसबाट प्रमोदहरि गुरागाईं र एमालेबाट प्रकाश श्रेष्ठ उम्मेदवार छन्। एमालेको प्रभाव रहेको मानिने यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा श्यामकुमार घिमिरे अघिल्लो निर्वाचनमा पराजित भएपछि उसले यस पटक श्रेष्ठलाई प्रदेशसभा सदस्यबाट राजीनामा गराएर संघीय संसद्को निर्वाचन मैदान उतारेको हो।
अघिल्लो निर्वाचनमा श्रेष्ठ काठमाडौं–७ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यो क्षेत्रमा राप्रपाले लालकुमार लामा, नेकपाले वसन्तप्रसाद मानन्धर, राष्ट्रिय जनमोर्चाले दीर्घकुमार श्रेष्ठ, नेकपा संयुक्तले गुणबहादुर बन्जारा क्षेत्री, नेपाल मजदुर किसान पार्टीले गणेशमाया डंगोल, उज्यालो नेपाल पार्टीले विमला लामालाई उम्मेदवार बनाएका छन्।
काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुनका १० वटा वडा यो क्षेत्रमा पर्छन्।
काठमाडौं–८ का उम्मेदवार पनि चुनावी प्रचारमा जुटेका छन्। मतदाताको घरदैलोमा उम्मेदवारहरू आ-आफ्ना अजेन्डासहित पुगेका छन्। यो क्षेत्रमा रास्वपाबाट विराजभक्त श्रेष्ठ, कांग्रेसबाट सपना राजभण्डारी, एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमीसहित २२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
काठमाडौं महानगरपालिकाका ६ वटा वडा तथा नागार्जुन नगरपालिकाका दुई वटा वडा समेटिएको यो क्षेत्रमा ५७ हजार ८११ मतदाता छन्। श्रेष्ठ जित दोहोर्याउने रणनीतिमा छन्।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका सायमी अहिले नेकपाबाट मैदानमा छन्। राजभण्डारीले कांग्रेस नेता एवं आफ्ना स्वर्गीय पति नविन्द्रराज जोशीको सपना पूरा गर्ने भन्दै घरघरमा पुगेर मत मागिरहेकी छन्।
काठमाडौं–९ मा जित दोहोर्याउने रणनीतिसहित एमाले चुनवी मैदानमा सक्रिय छ। अघिल्लो चुनावमा यो क्षेत्रबाट एमालेका कृष्णगोपाल श्रेष्ठले जित निकालेका थिए।
अहिले एमाललेले अजयक्रान्ति शाक्यलाई मैदानमा उतारेको छ। २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित शाक्यलाई एमालेले अहिले संघीय संसद्को निर्वाचनमा उतारेको हो।
यो क्षेत्रमा कांग्रेसले नानुमैया बास्तोलालाई उमेदवार बनाएको छ। २०७९ को निर्वाचनमा प्रदेशसभा चुनावमा पराजित उनी अहिले प्रतिनिधिसभा सदस्यमा जित निकाल्ने अभियानमा छन्।
यो क्षेत्रबाट २०७९ को निर्वाचनमा ११ हजार ९५६ मतसहित एमालेका श्रेष्ठ निर्वाचित हुँदा रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत पाएका थिए।
यो क्षेत्रमा अहिले रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई मैदानमा उतारेको छ। २०७९ को निर्वाचनमा उनी समानुपातिकबाट सांसद बनेका थिए।
नेकपाले राधाकृष्ण महर्जनलाई उमेदवार बनाएको यो क्षेत्रमा २४ जना प्रतिस्पर्धामा छन्। राप्रपाबाट दिलकुमार कार्की, जसपाबाट रणवीर क्षेत्री सिंह, नेमकिपाबाट शान्त महर्जन, राष्ट्रिय जनमोर्चाबाट रोशन दानी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रोक्कासहितका उम्मेदवार काठमाडौं–९ मा छन्।
त्यस्तै, काठमाडौं–१० पनि चर्चा र चासोमा छ। काठमाडौं–१० मा कांग्रेसले हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ। एमालेले विनोद श्रेष्ठ र नेकपाले रुपा महर्जनलाई मैदानमा उतारेका छन्।
त्यस्तै, रास्वपाले प्रदीप विष्टलाई र राप्रपाले बलराम थापालाई उम्मेदवार बनाएका छन्। २५ जना उमेदवार प्रतिस्पर्धामा रहेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका थिए।
उनले १४ हजार ६६३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७९१ मत पाएका थिए। त्यस्तै, रास्वपाका प्रदीप विष्टले ८ हजार ७३९ र राप्रपाका बलराम थापाले ६ हजार ९५९ र तत्कालीन माओवादी केन्द्रकी अञ्जना विशंखेले ५ हजार २६५ मत पाएका थिए।
प्रकाशित: २८ माघ २०८२ २१:४२ बुधबार
