नेपालीमा अचानक मृत्युको घटना : पहिलो कारण बन्यो मुटुरोग 



२६ माघ, काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा गत शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफूनिकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ लाई बिहानै उठाइदिन भनेका थिए । तर, विल्सनले सुनिलको त्यो इच्छा पूरा गर्न पाएनन् ।

सुनिललाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले हतार–हतार बिहान ७ बजे थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याए ।

आकस्मिक कक्षका चिकित्सकले तत्कालै ईसीजी गरे । मुटुको चाल भेटिएन । सँगसँगै सीपीआर पनि गरे । चिकित्सकले अथक प्रयास गरेपनि सफल हुन सकेन ।

चिकित्सकका अनुसार, सुनिलको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो ।

त्यसपछि उनको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरियो । त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागको रिर्पोट अनुसार मुटुको नसा ब्लक भएका कारण सुनिललाई हृदयघात भयो । हृदघयात भएको केही समयमै उनको मृत्यु भयो ।

Table of Contents

०००

दार्जिलिङ निवासी इन्डियन आइडल सिजन–३ का विजेता प्रशान्त तामाङले २७ पुसमा संसारबाट बिदा लिए । सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । आफन्तले अस्पताल पुर्‍याउँदा उनको मृत्युको कारण खुल्यो– कार्डियाक अरेस्ट ।

चिकित्सकका अनुसार मुटुले अचानक काम गर्न छोड्यो । जसको कारण तामाङको मृत्यु भएको थियो ।

०००

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भए । तत्कालै उनलाई नजिकै रहेको अछाम अस्पताल पुर्‍याइयो । त्यसबेला श्वाप्रश्वास थिएन । स्वास्थ्यकर्मीले निरन्तर ४५ मिनेट सीपीआर गरेपछि मुटुको चाल फर्कियो ।

उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरियो । उपचारमा समलग्न चिकित्सकका अनुसार, उनलाई सब–अरैक्नोइड हेमरेज भएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरियो । ४८ घण्टासम्म पनि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा नभएको र मस्तिष्कको कार्यक्षमतामा कुनै संकेत नदेखिएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरे ।

सब–अरैक्नोइड हेमरेज प्राय: मस्तिष्कको नसामा भएको एन्युरिज्म (नसा फुल्नु) फुट्दा हुनेगर्छ । जसकारण सिटौलाले १८ माघमा संसार छोडे । माथिल्ला यी तीन उदाहरण नेपालमा सबैभन्दा बढी मानिसको ज्यान लिइरहने ‘मुटु तथा रक्तनली सम्बन्धी रोग’ का कारण भएका हुन् ।

नेपाल ‘बर्डेन अफ् डिजिज’ को पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक १ लाख ९३ हजार ३३१ जनाको मृत्यु हुन्छ । त्यसमध्ये सबैभन्दा बढी मुटु तथा रक्तनली सम्बन्धी रोगबाट मानिसको मृत्यु हुन्छ । यस रोगका कारण वार्षिक ४६ हजार ३९९ नेपालीको मृत्यु हुन्छ । यसपछि क्रमश: दीर्घ श्वास–प्रश्वास रोग, ट्युमर र क्यान्सर, फोक्सो संक्रमण र क्षयरोग लगायत रोगका कारण मानिसले ज्यान गुमाउँछन् ।

जनस्वास्थ्यविद् र उपचारमा संलग्न चिकित्सकका अनुसार सरुवा रोगहरूबाट भन्दा अब नसर्ने रोगहरूले धेरै नेपालीको ज्यान लिन थालेका छन् । उक्त तथ्यांकले जनस्वास्थ्य प्रणालीलाई नै ठूलो चुनौती दिइरहेको छ । पछिल्लो समयमा खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगको जोखिम बढ्दै छ ।

केही समय अगाडिसम्म मृत्युको प्रमुख कारण सरुवा रोग हुने गर्थ्यो । जनस्वास्थ्यविद् भनाइमा अहिले मुटु, उच्च रक्तचाप, श्वास–प्रश्वास सम्बन्धी समस्या, मधुमेह, क्यान्सर तथा मिर्गौला रोगहरू प्रमुख कारण बन्न पुग्नु चिन्ताको विषय बनेको छ ।

धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार जीवनशैलीमा आएको खराबीका कारण मुटुरोगीको संख्या तीव्र रूपमा बढिरहेको छ ।

डा. कोजुको भनाइमा अत्यधिक धुम्रपान, निष्क्रिय जीवनशैली, मोटोपना, उच्च रक्तचाप, मधुमेह, शरीरमा खराब चिल्लोको मात्रा बढ्नु तथा मानसिक तनाव मुटुसम्बन्धी रोगका प्रमुख कारण हुन् ।

विशेषज्ञहरूका अनुसार मुटुसम्बन्धी रोगमध्ये हृदयघात नै मृत्युको मुख्य कारण बनेको छ । जसबाट करिब ७० प्रतिशत मानिसको ज्यान जाने गरेको छ ।

धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु

डा. कोजु भन्छन्, ‘आजभोलि युवावस्थामै हृदयघातका घटना बढिरहेका छन् । समाजमा धुम्रपान घटेको छैन, उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिहरूको संख्या बढ्दैछ । जनचेतना बढे पनि व्यवहारमा सुधार देखिएको छैन, यही कारण हृदयघात बढ्दो छ ।’

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका लागि आएका बिरामीमाथि गरिएको एक अध्ययनले पनि नेपालमा पछिल्ला वर्षहरूमा हृदयघातको जोखिम बढिरहेको पुष्टि गरेको छ ।

केन्द्रले सन् २०२० नोभेम्बरदेखि २०२१ फेब्रुअरीसम्म हृदयघात भएका ३४० जना बिरामीमा गरेको अध्ययनअनुसार ४० प्रतिशतमा उच्च रक्तचाप, ३९ प्रतिशतमा धुम्रपानको बानी, ३० प्रतिशतमा मोटोपना र २१ प्रतिशतमा मधुमेहको समस्या देखिएको थियो ।

उक्त अध्ययनमा ४५ वर्षभन्दा कम उमेरका ११ प्रतिशत बिरामीमा पनि हृदयघात देखिएको थियो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापतिका अनुसार पछिल्लो धुम्रपान सेवनका कारण २०–२२ वर्षका युवामा हदृयघात भइरहेको छ ।

चिकित्सकहरूका अनुसार, हृदयघातका लक्षणबारे जानकारी नहुँदा धेरै बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेका छन् ।  केन्द्रको अध्ययनमा  २४ प्रतिशत बिरामीले मुटुसम्बन्धी समस्या हुनसक्ने अनुमान गरेका थिए भने ८८ प्रतिशतले ग्यास्ट्रिकजस्ता अन्य कारण ठानेका थिए ।

डा. प्रजापति भन्छन्, ‘छाती दुख्दा धेरैले ग्यास्ट्रिक भएको ठान्छन् । हृदयघातका लक्षण नबुझ्दा धेरैले अकालमै ज्यान गुमाइरहेका छन् ।’

युवामा बढ्दो मानसिक तनाव पनि हृदयघातको अर्को प्रमुख कारण मानिएको छ ।  अत्यधिक तनावका कारण मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीले ‘कार्टिसोल’ नामक हर्मोन बढी उत्पादन गर्छ, जसलाई चिकित्सकहरूले ‘स्ट्रेस हर्मोन’ भन्छन् ।

यसले मुटुको धड्कन बढाउने, रक्तनली साँघुरो बनाउने र अन्तत: मुटुमा गम्भीर असर पार्नेगर्छ । चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना अत्यधिक बढी चिकित्सक बताउँछन् ।

गंगालाल अस्तालले अध्ययनले १८ देखि ३९ बर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट सेवन गर्ने मानिसलाई हृदयघातको सम्भावना १३ गुणा बढी हुने देखिएको छ  । यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने मानिसलाई हृदयघात हुने सम्भावना एकदमै बढी हुन्छ ।

अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार युवा अवस्थामा (स्कूल जाने उमेर समूहका) मानिसले चुरोट र खैनी खाने बानी रोकेमा धेरै हदसम्म हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ ।

मुटुरोग विशेषज्ञ डा. विराट तिमिल्सिना पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गरेको बताउँछन् ।

‘धुमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ,’ तिमिल्सना भन्छन्, ‘ कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी, तनाव, बाहिरी प्रदुषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुन्छ ।’

नेपालीमा अचानक मृत्युको घटना : पहिलो कारण बन्यो मुटुरोग 
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी

चिकित्सकका अनुसार, चुरोटमा हुने निकोटिनले नसाको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नसामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नसा साँघुरिंदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नसा बन्द हुँदा हृदयघात हुन्छ ।

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभर रक्त सञ्चालन गराउँछ । रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुनेगर्छ ।

जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।

यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगत प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिंदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।

त्यसैगरी मृत्युको प्रमुख नम्बरमा पर्ने रक्तनलीको समस्याले स्ट्रोक (मस्तिष्कघात) बढाइरहेको छ । वीर अस्पतालका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झाका अनुसार मस्तिष्कमा जाने नसा फुटेर वा साँघुरो भएर रगत प्रवाह बन्द हुने अवस्था नै मस्तिष्कघात हो ।

चिकित्सकका अनुसार मस्तिष्कघात दुई किसिमबाट हुन्छ । मस्तिष्कभित्र नसा फुटेर रक्तस्राव भई सयमा १०–१२ प्रतिशतलाई हुन्छ । यस्तै ८५ प्रतिशतलाई दिमागमा जाने नसा सुकेर मस्तिष्कघात हुन्छ ।

मस्तिष्कको कुनै भागमा रक्तसञ्चार रोकिँदा, मस्तिष्कमा रक्तनली फुट्दा मस्तिष्कघात हुन्छ ।

वीर अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. सुनिल कोइरालाका अनुसार मस्तिष्कघात गराउने प्रमुख जोखिम तत्वमा उच्च रक्तचापसहित मधुमेह, मादक पदार्थ, लागूपदार्थ सेवन र अस्वस्थ्यकर खानपान हुन् ।

‘मुटुले सामान्य रुपमा काम नगर्दा जमेका स–सना ढिक्का रगत फाल्छ । ती रगतका ढिक्काले मस्तिष्कमा जाने नसालाई बन्द गराउँछन् । जसका कारण मस्तिष्कघात हुन्छ,’ कोइराला भन्छन् ।

मटुको समस्या भएका मानिसलाई मस्तिष्कघात हुने सम्भावना चार गुणाले बढी हुने विज्ञ बताउँछन् ।

‘मुटुरोगको समस्याका कारण मस्तिष्कमा रगत लैजाने नसा बन्द हुन्छ । जसको कारण दिमागको भाग सुकेर जान्छ’ डा. झा भन्छन्, ‘मस्तिष्कघात भएपछि ४ घन्टाभित्र अस्पताल पुर्‍याउनुपर्छ । अस्पताल ढिला पुगेर नै ज्यान गइरहेको छ ।’

नेपालमा मस्तिष्कघात भएका ९० प्रतिशत बिरामी समयमै अस्पताल नपुग्दा कतिपयको मृत्यु नै हुन्छ । अधिंकाश दीर्घकालीन समस्या लिएर बाँच्नुपर्ने हुन्छ ।

नसर्ने रोग रोकथामका लागि बहुक्षेत्रीय कार्ययोजना ल्याउँदै

नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप बढ्नु चिन्ताको विषय बनेको स्वास्थ्य सचिव डा. विकास देवकोटा बताउँछन् ।

‘नसर्ने रोगको जोखिम बढ्दो छ ।  महामारी जसरी नै अगाडि बढिरहेको छ । सरुवा रोग नियन्त्रणमा काम गर्‍यौं, अब नसर्ने रोगमा केन्द्रित भएर काम गर्नुपर्ने छ,’ देवकोटाले भने ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१६ देखि २०१८ सम्म समुदायकेन्द्रित सर्वेक्षण गरेको थियो ।

सन् २०१९ मा प्रकाशित सो सर्वेक्षण अनुसार, नेपालमा ७१ प्रतिशत मृत्युको भार नसर्ने रोगले लिएको छ । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि नयाँ बहुक्षेत्रीय कार्ययोजना ल्याउने तयारी गरेको छ ।

डा. देवकोटाका अनुसार सन् २०२१ देखि २०२५ सम्म लागू गरिएको कार्ययोजनाको म्याद सकिएको छ ।  अब २०२६ देखि २०३० सम्मका लागि नयाँ रणनीति निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ ।

नेपालीमा अचानक मृत्युको घटना : पहिलो कारण बन्यो मुटुरोग 
डा. विकास देवकोटा

सचिव देवकोटाले नसर्ने रोगको मुख्य कारण स्वास्थ्य क्षेत्रभन्दा बाहिर रहेको उल्लेख गर्दै बहुक्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताए ।  ‘नसर्ने रोगका करिब ८० प्रतिशत कारण स्वास्थ्य क्षेत्रभन्दा बाहिरका तत्वसँग सम्बन्धित छन्,’ डा. देवकोटा भन्छन्, ‘वातावरणीय प्रदूषण, रासायनिक पदार्थ, फोहोर व्यवस्थापन, कीटनाशक वस्तु जस्ता विषयमा अन्य मन्त्रालय र निकायसँग जोडिएका छन् ।’

उनका अनुसार अघिल्लो कार्ययोजनाले बहुक्षेत्रीय अवधारणा समेट्ने प्रयास गरे पनि व्यवहारिक कार्यान्वयनमा पर्याप्त सफलता हासिल हुन सकेन । ‘स्वास्थ्य क्षेत्र मात्र जिम्मेवार ठानेर हुँदैन, अन्य क्षेत्रहरूले पनि आफ्ना नीति, लगानी र अभ्यासमार्फत स्वास्थ्यमा नकारात्मक असर पार्ने कारण न्यूनीकरण गर्नुपर्छ,’ उनले जोड दिए ।

आगामी कार्ययोजनामा दिगो विकास लक्ष्य (एसडीजी) र युनिभर्सल हेल्थ कभरेजलाई केन्द्रमा राखिने डा. देवकोटा बताउँछन् ।

साथै, विभिन्न मन्त्रालय र सरोकारवाला निकायलाई नीति, स्रोत र कार्यक्रममार्फत स्पष्ट योगदान गर्न सक्नेगरी रणनीति तयार गरिने उनको भनाइ छ ।

‘अघिल्लो अवधिबाट सिकेका पाठलाई नयाँ रणनीतिमा समेट्दै, कार्यान्वयनमा देखिएका कमजोरी र चुनौतीलाई समाधान गर्ने गरी योजना तयार गरिँदैछ,’ सचिव देवकोटाले भने, ‘नसर्ने रोग नियन्त्रणका लागि अब अझ प्रभावकारी र स्पष्ट बहुक्षेत्रीय दृष्टिकोण आवश्यक छ ।’





Source link

Leave a Comment