प्रकाशित मिति : माघ २५, २०८२ आईतबार

अमेरिकामा लामो समय बसेर सामाजिक सेवा र राजनीतिमा सक्रिय रहेका आनन्द बिष्ट अहिले नयाँ मोडमा पुगेका छन्। अमेरिकाको ग्रिनकार्ड त्यागेर उनी नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। न्युयोर्कमा कोरोना महामारीदेखि अमेरिकामा नेपालीहरूलाई कुनै समस्या पर्दा अग्रपंक्तिमा रहेर सहयोग गरेका तथा नेपालका प्राकृतिक विपत्तिमा समेत सधैं अगाडि सर्दै आएका बिष्टको यो निर्णयले प्रवासदेखि गाउँसम्मको उनको यात्रा फेरि चर्चामा ल्याएको छ।
कोरोना महामारीमा न्युयोर्कका बेतलबी फ्रन्टलाइनर बनेर समुदायको सहयोगमा डट्नेदेखि विनाशकारी भूकम्पपछि अमेरिकाबाट सहयोग बोकेर नेपाल पुग्नेसम्मका सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका बिष्ट अहिले कैलालीका गाउँबस्तीमा मतदातासँग मत माग्न व्यस्त छन्।
न्युयोर्कमा बेतलबी फ्रन्टलाइनर
कोरोना महामारीको चरम बेला धेरैजना घरभित्रै थुनिएर डर, असुरक्षा र अनिश्चितताभित्र बाँचिरहेका थिए। त्यही बेला न्युयोर्कमा बस्ने आनन्द बिष्ट भने दिनरात नभनी मैदानमा खटिरहेका थिए। बिहान आँखा खुल्नासाथ उनको मोबाइलको इनबक्स अमेरिकामा बस्ने नेपालीका सहयोग याचनाका सन्देशले भरिन्थ्यो, फोन लगातार बजिरहन्थ्यो—कसैलाई औषधि चाहिएको थियो, कसैलाई मास्क, थर्मामिटर वा सेनिटाइजर; कसैले बेरोजगारी भत्ता भर्न सहयोग माग्थे।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रहेका बिष्टले त्यसबेला पार्टीभन्दा माथि उठेर “कोरोनाविरुद्ध सचेतना एवं सहयोग समूह” को संयोजन गरे। विभिन्न राजनीतिक धार, जाति, धर्म, पेशा र क्षेत्रका करिब तीन दर्जनभन्दा बढी संघसंस्था र व्यक्तिहरू त्यस समूहमा जोडिए। सुरुमा न्युयोर्कका फार्मेसीमै सेनिटाइजर, मास्क, ग्लोभ्स, टायलानल र थर्मामिटर अभाव भएको बेला बिष्टको समूहले ती सामग्री जुटाएर नेपाली समुदायमा वितरण गर्यो।
समूहले न्युयोर्कमा १४ वटा वितरण बिन्दु तोक्यो। आउन सक्नेले त्यहाँबाट सहायता लिए भने आउन नसक्ने वृद्धवृद्धा, बिरामी, परिवारसहित संक्रमित र उच्च जोखिम समूहका नेपालीहरूको घरघरमै पुगेर स्वयंसेवकहरूले औषधि र दैनिक उपभोग्य सामग्री राखिदिए। पछि खाद्य सामग्रीको संकट चर्किँदा दोस्रो चरणको अभियान खाद्यान्न वितरणमा केन्द्रित भयो। तेस्रो चरणमा एफ–१ स्टाटसका विद्यार्थीलाई लक्षित गरी सहयोग अभियान चलाइयो; विद्यार्थीको केवल आईडी हेरेर करिब सयौँ युवालाई राहत उपलब्ध गराइयो।
समयको खाँचो, परिवारको जोखिम र आफ्नै स्वास्थ्यको चिन्ताभन्दा पनि बिष्टलाई पीडा थियो—अस्पतालको शय्याबाट राति २ बजे फोन गर्ने ती एक्ला नेपाली युवा, श्वास फेर्न हम्मे परेको अवस्थामा बुबाआमालाई खबर गरिदिनुहोस् भन्दै रोएको स्वर। अस्पतालमा भर्ना हुनुअघि रोइरहेका युवालाई सान्त्वना दिनुपरेका क्षण वा कोठाभित्र मृत अवस्थामा भेटिएका नेपालीहरू बिष्टका लागि अझै अविस्मरणीय छन्।
हिरो बन्ने सपना, समाजसेवातिर मोडिएको जीवन
डोटीको गाउँमा जन्मिएका आनन्द बिष्टको बाल्यकालीन सपना सिनेमाको हिरो बन्ने थियो। उनमा फिल्मको यति धेरै प्रभाव परेको थियो कि हिरोको नक्कल गर्न थाले। लामो कपाल राख्न थाले र हिरोकै शैलीमा लुगा लगाउन थाले। अध्ययनका लागि भारतको देहरादुन पुगेपछि उनी जिम र क्लब जान थाले। जसरी भए पनि उनलाई सिनेमाको हिरो नै बन्नु थियो। तर २०४६ सालको जनआन्दोलनले उनको जीवनको स्क्रिप्ट नै बदलिदियो।
त्यो बेला उनी नेपाल विद्यार्थी संघको देहरादुन शाखामा काम गर्न थालेका थिए। २०४६ सालको जनआन्दोलनमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भारतस्थित नेपाली दूतावास घेराउ गरे, र आनन्द पनि दूतावास घेर्न दिल्ली पुगे। त्यसपछि उनको सपना मोडियो। हिरो बन्ने उद्देश्यले पालेको कपाल काटेर राजनीतिको बाटोतिर अघि बढे।
राजनीतिमार्फत समाजसेवा गर्ने सोच
त्यसयता राजनीति उनको लागि पेशा होइन, समाजसेवाको माध्यम बन्यो। अमेरिका बस्दा पनि बिष्टको मन डोटी र कैलालीका पहाड–तराईका गाउँघरमै अडियो। उनले विशेष गरी स्वास्थ्य र शिक्षालाई आफ्नो सामाजिक कामको केन्द्र बनाए। गर्भवती महिलाले एम्बुलेन्स नपाएर बाटैमा ज्यान गुमाउनुपरेको समाचारले उनलाई गहिरो रूपमा छोयो, र यही पीडाबाट प्रेरित भएर जोरायल र बडीकेदार गाउँपालिकालाई दुईवटा एम्बुलेन्स उपलब्ध गराउन पहल गरे। अमेरिकामा बस्ने नेपालीहरूको सहयोग संकलन गरेर किनेका ती एम्बुलेन्स गाउँपालिकामा हस्तान्तरण गरिए।
उनले बाल्यकालमा पढेको महेन्द्र आधारभूत विद्यालय गडसेरादेखि डोटीका विभिन्न विद्यालय, क्याम्पस र सामुदायिक भवनका लागि लाखौँ रुपैयाँ व्यक्तिगत तथा सामूहिक सहयोग गरे। जेहेन्दार तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था मिलाउनु, भूकम्पपीडित बालबालिकालाई कक्षा १२ देखि नै उच्च शिक्षासम्म पुर्याउने पहल गर्नु उनका उदाहरणीय काम हुन्।
विपत्तिमा सधैं अगाडि
देश र जनतालाई अप्ठ्यारो परेको बेला आफ्नो सबै काम छोडेर अमेरिकाबाट पटक–पटक सहयोग बोकेर नेपाल आउनेमा आनन्द अग्रपंक्तिमै रहे। विनाशकारी भूकम्पको पीडामा छटपटिएका जनताको घाउमा मलम लगाउन उनी अमेरिकाबाट सहयोग लिएर नेपाल पुगे। जनसम्पर्क समितिको पहलमा जम्मा भएको ७५ लाख रुपैयाँ राज्यको कोषमा जम्मा गरिदिए भने खाद्यान्न आफैं वितरण गरे।
“समाजले के दिन्छ भन्नेभन्दा आफूले समाजलाई के दिन सक्छु भन्ने सोचले काम गर्दै आएको छु,” बिष्ट भन्छन्।
गडसेराबाट अमेरिकासम्म
२०२९ सालमा डोटीको गडसेरा, धुपारीमा जन्मेका आनन्द स्वर्गीय पिता दानबहादुर विष्ट र कमलादेवी विष्टका सातौँ सन्तान हुन्। बाल्यकालका केही वर्ष डोटीमा बिताएका आनन्दको परिवार बसाइँसराइ गरेर २०३६ सालमा कैलाली आयो।
कैलालीमा पढाइका लागि यो उनका लागि सुनौलो अवसर बन्यो। धनगढीबाट एसएलसी पास गरेका आनन्दले ११ र १२ कक्षाको अध्ययन भारतको देहरादुनबाट पूरा गरे। बाँकी पढाइका लागि उनी काठमाडौं आए। काठमाडौंको शंकरदेव क्याम्पसबाट एमबीए गरेका उनी १९९८ मा अमेरिकातिर लागे। २७ वर्षसम्म अमेरिका बस्दा पनि उनले अमेरिकी नागरिकता लिएनन्।
“नेपाली नागरिकता बोकेरै देशको सेवा गर्छु,” भन्ने अठोट अहिले झन् प्रस्टिएको छ। अब त उनले अमेरिकाको ग्रिनकार्ड पनि त्यागेर पूर्ण समय नेपालकै राजनीति र जनसेवामा समर्पित हुने निर्णय लिएका छन्।
२०६२/०६३ को जनआन्दोलनको समर्थनमा संसारभर नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याउन जनता जागेका छन् भन्ने आवाज सुनाउन उनी अमेरिकास्थित नेपाली राजदूतावास घेराउ गर्न पुगेका थिए, जसका कारण उनको ग्रिनकार्ड प्रक्रियामै वर्षौँ विलम्ब भयो। उनले आफ्नो परिवारबाट ९ वर्षसम्म छुट्टिएर बस्नुपर्यो।
श्रीमती र छोरासँग छुट्टिएर बस्दाको पीडा सुनाउँदै उनले भने, “राज्यविरुद्ध बोल्यो भनेर नेपालबाट रातदिन श्रीमती र छोरालाई मार्ने धम्की बारम्बार आयो। नेपालबाट आउने ती फोनले मानसिक रूपमा ठूलो यातना सहनु परेको थियो। उनीहरूको जीवन रक्षाका लागि धेरै ठाउँमा सल्लाह लिएँ, तर उनीहरूलाई अमेरिका ल्याउने अवस्था थिएन।”
चुनावी मैदानमा नयाँ अध्याय
अमेरिकामा नेपाली जनसम्पर्क समिति नेतृत्व गर्दै र कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यका रूपमा काम गरेका बिष्ट अहिले देश फर्केर चुनावी मैदानमा उत्रिएका छन्।
समाजसेवा र राजनीतिलाई जोडेर अघि बढ्ने उनको पुरानो लक्ष्य अब संसदीय राजनीतिमार्फत परीक्षणमा जाँदैछ। प्रवासमा संकटका बेला सहयोगी हात बनेका बिष्टले मतदातासामु पनि त्यही सन्देश राखिरहेका छन्, “राजनीति व्यक्तिगत उन्नतिको बाटो होइन, सार्वजनिक सेवाको जिम्मेवारी हो।”
उनको अभियानको मूल सन्देश स्पष्ट छ, “राजनीति पदका लागि होइन, समाज परिवर्तनका लागि हो।” न्युयोर्कका संक्रमित नेपाली हुन् वा कैलाली–डोटीका दुर्गम बस्ती, संकट र आवश्यकता परेको बेला आफूलाई सम्झिने जनताको भरोसा नै आफ्नो वास्तविक पूँजी भएको उनी मान्छन्। बिष्ट भन्छन्, “जहाँ बसे पनि मेरो उद्देश्य राजनीतिमार्फत समाजसेवा नै हो।”