‘अस्कर’ मा बदलिँदो हावाले विश्व फिल्म र नेपाललाई के सन्देश दिन्छ ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अस्कर १६ विधामा सबैभन्दा धेरै मनोनित फिल्म \’सिनर्स\’ प्राविधिक उत्कृष्टताका कारण बलियो दाबेदार छ भने \\\’वान ब्याटल आफ्टर एनदर\\\’ भावनात्मक कनेक्शनका कारण उत्कृष्ट फिल्म बन्न सक्ने सम्भावना छ।
  • यस वर्ष अस्करले प्राविधिक उत्कृष्टता, निर्देशकको व्यक्तिगत शैली, अन्तर्राष्ट्रिय कथा र मानवीय भावना केन्द्रित फिल्मलाई महत्व दिएको छ जुन विश्व सिनेमा प्रवृत्तिलाई संकेत गर्छ।
  • नेपालले अस्करबाट कथा स्थानीय र भावना विश्वव्यापी बनाउने, प्राविधिक पक्षमा लगानी गर्ने, बलियो स्क्रिप्ट लेख्ने, निर्देशकको मौलिक आवाज खोज्ने र अन्तर्राष्ट्रिय सहकार्य बढाउने सिक्नुपर्छ।

‘अस्कर’ मनोनित १० वटै फिल्म हेरिसकेपछि मसँग ३ प्रश्न छन् । पहिलो- कुनले जित्ला ? दोस्रो- विश्व फिल्मको हावा कता बग्दैछ ? तेस्रो- नेपालले ती फिल्मबाट के सिक्ने ?

अस्कर भन्नेबित्तिकै ‘अब्सोल्यूट’ भन्ने हुँदैन । त्यहाँ कला राजनीतिदेखि हलिउडको कर्पोरेट स्वार्थ अनि बाँकी विश्व फिल्म निर्माणको ‘इको-सिस्टम’ मा त्यसले ल्याउने विमर्शका आयाम लुकेका हुन्छन् ।

चाहे त्यो १६ विधामा मनोनित भएर कीर्तिमान रचेको ‘सिनर्स’ होस् या लियोनार्दो डिकाप्रियो स्टारर ‘वान ब्याटल आफ्टर एनदर’ । मनोनयन सार्वजनिक भएपछि प्रतिस्पर्धा रोचक मोडमा छ । लगभग सबैजसो विधामा यी दुई फिल्मको नाम छ । तर, अस्करको इतिहास सँधै भन्छ- धेरै नोमिनेसन हुनु भनेको पक्का जित्नु होइन ।’

लस-एन्जलस शहर उसै त मरुभूमि र प्रशान्त महासागरको हावाले ल्याउने गर्मी शहर हो । चिसो सकिएर गर्मी सुरु हुनै लाग्दा अहिले यो हलिउड नगरीमा अस्करको उष्णता उकालो लाग्दो छ । त्यो मौसर्मी गर्मीले अस्करको नतिजामा कस्तो प्रभाव पार्ला ?

सुरुमा दशैवटा मनोनित फिल्मको चर्चा गरौं : सिनर्स र वान ब्याटल आफ्टर एनदरसहित फ्रान्केस्टेइन, बुगोनिया, ह्यामनेट, मार्टी सुप्रिम, द सेक्रेट एजेन्ट, सेन्टिमेन्टल भ्यालू, ट्रेन ड्रीम्स र एफ वान ‘उत्कृष्ट फिल्म विधा’ मा मनोनित छन् ।

यी सबै फरक शैली, भावना र प्रस्तुतीका फिल्म हुन् । त्यसैले यो वर्ष कसले बाजी मार्छ भन्ने अनुमान गर्न सजिलो छैन । अघि नै भनियो- अस्कर भनेको ‘अब्सोल्यूट’ कहिल्यै हुँदैन । त्यहाँ मतदातालाई रिझाउन क्याम्पेन चल्छ र वर्तमान अमेरिकी राजनीतिको भाष्य कसरी बनिरहेको छ भन्ने कुराले प्रभावित तुल्याउँछ ।

सुरुमा कुन फिल्मले जित्न सक्छ र किन भन्ने कुरा गरौं । सुरुवात १६ विधामा मनोनित फिल्म ‘सिनर्स’ बाट गरौं । इतिहासमा यति धेरै मनोनयन पाउनु आफैंमा ठूलो उपलब्धि हो । यसले प्राविधिक पक्ष, निर्देशन, संगीत, अभिनय र लेखन सबै क्षेत्रमा बलियो उपस्थिति देखाएको छ ।

अस्करमा मत हाल्ने सदस्य विभिन्न विधाबाट आउँछन् । कसैले अभिनय हेर्छन्, कसैले सिनेमाटोग्राफी, कसैले सम्पादन । जब एउटा फिल्मले हरेक विधामा प्रशंसा पाउँछ, त्यसले समग्र रूपमा बलियो समर्थन बटुल्छ । त्यसैले ‘सिनर्स’ अहिले कागजी रूपमा सबैभन्दा शक्तिशाली दाबेदार हो ।

यद्यपि, यहाँ एउटा ‘तर’ छ ।

अस्करमा कहिलेकाहीँ यस्तै हुन्छ- सबैभन्दा धेरै नोमिनेसन पाएको फिल्मले प्राविधिक विधामा धेरै अवार्ड जित्छ, तर ठूला विधाको पुरस्कार अर्कै फिल्मको हातमा जान्छ । मतदातालाई प्रायः यस्तो फिल्म मनपर्छ, जसले भावनात्मक रूपमा धेरैलाई जोड्छ, त्यो ‘सबैको रोजाइ’ जस्तो महसुस हुन्छ ।

त्यस हिसाबले हेर्दा ‘वान ब्याटल आफ्टर एनदर’ बलियो प्रतिस्पर्धी देखिन्छ । समीक्षकले रुचाएको यो फिल्मको निर्देशन, अभिनय र कथावाचनमा प्रस्तुति परिपक्व र गहिरो छ । यो फिल्म नै उत्कृष्ट फिल्मको बलियो दाबेदार बन्न सक्ने देखिन्छ । अन्तर्राष्ट्रिय समीक्षकको यो अनुमानमा त्यो लजिक पनि छ ।

किनभने, यसको कथा मानवीय द्वन्द्व, सम्बन्ध र भावनामा केन्द्रित भएकाले अस्कर मतदातासँग ‘भावनात्मक कनेक्सन’ बन्ने सम्भावना धेरै छ । अस्करमा प्रायः यस्तो फिल्मले जित्छ, जुन धेरै मतदाताको पहिलो नभए पनि दोस्रो वा तेस्रो रोजाइमा पर्छ ।

मतगणना प्रणालीकै कारण ‘सबैले मन पराएको’ फिल्मले जित्ने सम्भावना धेरै हुन्छ । यही कारणले ‘वान ब्याटल आफ्टर एनदर’ अहिले शान्त तर बलियो दाबेदार बनेको छ।
अब अरू फिल्मतर्फ हेरौं ।

‘ह्यामनेट’ ऐतिहासिक र संवेदनशील कथामा बनेको फिल्म हो । यसको अभिनय पक्ष चर्चामा छ । यदि अभिनय विधामा यसले ठूलो जित्यो ‘उत्कृष्ट फिल्म’ विधामा बलियो धक्का दिन सक्छ । तर सामान्यतया यस्तो प्रकारको गम्भीर ऐतिहासिक ड्रामा प्रायः अभिनय अवार्डमा सीमित हुने सम्भावना धेरै हुन्छ ।

‘मार्टी सुप्रिम’ यसका शीर्ष कलाकारको अभिनयका कारण चर्चित छ । ‘उत्कृष्ट अभिनेता’ विधामा यसले बाजी मार्ने सम्भावना छ । तर समग्र फिल्मका रूपमा ‘उत्कृष्ट फिल्म’ जित्न यसले बलियो समर्थन जुटाउनुपर्ने हुन्छ ।

‘फ्रान्केस्टेइन’ प्राविधिक रूपमा शक्तिशाली फिल्म हो । प्रडक्सन डिजाइन, मेकअप, कस्ट्युमजस्ता विधामा यसले धेरै अवार्ड जित्ने सम्भावना छ । तर ‘उत्कृष्ट फिल्म’ विधा जित्न आवश्यक भावनात्मक गहिराइ र समग्र प्रभाव यसमा कति छ भन्ने कुरा मुख्य प्रश्न हो ।

‘द सेक्रेट एजेन्ट’ अन्तर्राष्ट्रिय पृष्ठभूमिको तर ‘अस्कर’ को बदलिँदो सोचको उदाहरण हो । गैर-अमेरिकी कथा र प्रस्तुतीलाई पनि अस्करले महत्व दिइरहेको संकेत यसले दिन्छ । ‘उत्कृष्ट फिल्म’ को दौडमा यो अझै अलि पछाडि देखिन्छ ।

ट्रेन ड्रीम्स, सेन्टिमेन्टल भ्यालु, बुगोनिया, एफ-वान यी सबै फिल्म आ-आफ्नै शैलीमा बलिया छन् । तर अहिलेसम्मको ट्रेन्ड हेर्दा यीमध्ये कुनैले ‘ठूलो उलटफेर’ नगरेसम्म ‘उत्कृष्ट फिल्म’ को विधा जित्ने सम्भावना अलि कम देखिन्छ ।

अहिलेसम्म देखिएको मतदाताको रुझान, मिडिया चर्चा र क्याम्पेन हेर्दा ‘वान ब्याटल आफ्टर एनदर’ फिल्म विधामा उत्कृृष्ट बन्ने बलियो सम्भावना देखिन्छ । ‘सिनर्स’ ले सबैभन्दा धेरै विधा जित्न सक्छ । ‘फ्रान्केस्टेइन’ ले प्राविधिक विधामा धेरै अवार्ड ल्याउन सक्छ । ‘मार्टी सुप्रिम’ र ‘ह्यामनेट’ अभिनयका विधामा उत्कृष्ट हुन सक्छन् ।

यो अन्तिम नतिजा होइन, तर अहिलेको ट्रेन्डले यस्तै दिशातर्फ संकेत गरिरहेको छ । अस्करको यस संस्करणले हलिउड र विश्व सिनेमा कतातर्फ गइरहेको छ भन्ने धेरै कुरा देखाएको छ ।

यसवर्ष देखिएका प्रमुख ट्रेन्ड

प्राविधिक उत्कृष्टतालाई ठूलो सम्मान मिलेको छ । ‘सिनर्स’ जस्तो फिल्मले १६ नोमिनेसन पाउनुको अर्थ ‘एकेडेमी’ अब ‘कथा मात्र राम्रो भएर पुग्दैन’ भन्ने सोचमा पुगेको देखिन्छ । साउन्ड डिजाइन, एडिटिङ, सिनेमाटोग्राफी, प्रोडक्सन डिजाइन- यी सबै पक्ष अब उति नै महत्वपूर्ण छन् । राम्रो फिल्म भनेको सम्पूर्ण विधाको सामूहिक मेहनत हो भन्ने सोच बलियो छ ।

निर्देशकको स्पष्ट भिजन खोजिएको छ । यस वर्षका धेरै मनोनित फिल्म ‘अउटर सिनेमा’ अर्थात् निर्देशक-केन्द्रित फिल्म हुन् । अस्करले अब ठूला स्टुडियोको फर्मुला फिल्मभन्दा, निर्देशकको व्यक्तिगत शैली र आवाज झल्किने फिल्मलाई महत्व दिइरहेको छ ।

अन्तर्राष्ट्रिय सिनेमा झन् नजिक देखिन्छ । ‘द सेक्रेट एजेन्ट’ जस्ता फिल्मको उपस्थिति देखाउँछ- अस्कर अब अमेरिकी कथा मात्र होइन । विश्वभरका कथालाई सम्मान गर्न तयार छ । यो नेपालजस्ता देशका फिल्ममेकरका लागि निकै उत्साहजनक संकेत हो ।

भावना र मानवीय कथा नै केन्द्रमा । जति नै ठूलो बजेट र भव्य प्रस्तुति भए पनि अन्ततः अस्करमा जित्ने फिल्मले प्रायः मानवीय संवेदना बोकेका हुन्छन् । ‘वान ब्याटल आफ्टर एनदर’ जस्ता फिल्म अघि देखिनुको कारण यही हो ।

‘सिनर्स’ र ‘वान ब्याटल आफ्टर एनदर’ को चर्चाको अर्थ

किन यी दुई फिल्म धेरै चर्चित छन् भन्ने बुझ्न अलग-अलग दृष्टिले हेर्नुपर्छ । दुवै चर्चित छन्, तर कारण भिन्न छन् । ‘सिनर्स’ मुख्य रूपमा ३ कारणले विश्वब्यापी बनेको छ । प्राविधिक रुपमा उत्कृष्ट भएपनि ‘सिनर्स’ को चर्चा भब्य छ । यो फिल्मले १६ मनोनयन पाउनुको मुख्य कारण नै यसको प्राविधिक उत्कृष्टता हो । छायांकन, साउन्ड डिजाइन, संगीत, प्रोडक्सन डिजाइन, सम्पादनजस्ता विधामा यसले नयाँ स्तर कायम गरेको छ ।

आजको विश्व फिल्म कथामा मात्र होइन, ‘अनुभव’ मा केन्द्रित हुँदै गएको छ । ‘सिनर्स’ ले दर्शकलाई हलमा बस्दा पूरै नयाँ संसारभित्र पुर्‍याउने काम गर्छ । त्यसैले यसलाई ‘टेक्निकल मास्टरपिस’ भनिन्छ ।

यो फिल्मले आजको समाज, हिंसा, नैतिकता, शक्ति संरचना जस्ता जटिल विषयलाई आधुनिक शैलीमा उठाएको छ । कथा काल्पनिक भए पनि त्यसले उठाउने प्रश्न आजको वास्तविक संसारसँग सिधै जोडिन्छन् । त्यसैले समीक्षक यसलाई मनोरञ्जन मात्र होइन, सामाजिक-राजनीतिक टिप्पणी गर्ने फिल्मका रूपमा हेर्छन् ।

‘सिनर्स’ पुरानो फर्मुला सिनेमा होइन । यसले भिजुअल स्टोरीटेलिङ, म्युजिक र एडिटिङको प्रयोग नयाँ ढंगले गरेको छ । आजको नेटफ्ल्क्सि स्ट्रिमिङ, छोटो तर चाँडो चाहने दर्शकीय रुचिको युगमा पनि दर्शकलाई बाँधिराख्न सक्ने शैली यसमा छ । यसैले यो फिल्म युवा पुस्तादेखि अनुभवी फिल्ममेकरसम्म सबैको बीच चर्चित बनेको हो ।

‘अस्कर’ मा बदलिँदो हावाले विश्व फिल्म र नेपाललाई के सन्देश दिन्छ ?

‘वान ब्याटल आफ्टर एनदर’ भने भिन्न रुपमा चर्चित बनिरहेको छ । यो फिल्म कुनै भब्य होइन । यो मूलतः मानिसको भित्री संघर्ष, सम्बन्ध, पीडा र आशाको कथा हो । आजको विश्व सिनेमा बहसमा एउटा ठूलो ट्रेन्ड छ– जति ठूलो बजेटको फिल्म आए पनि, अन्ततः दर्शकलाई छुने फिल्म नै टिक्छ ।

यो फिल्मले त्यही काम गर्छ । साधारण मान्छेको कथा, तर असाधारण गहिराइका साथ । यो फिल्मलाई ‘अउटर सिनेमा’ को उत्कृष्ट उदाहरण मानिन्छ । निर्देशकको व्यक्तिगत दृष्टिकोण, शैली र संवेदनशीलता स्पष्ट देखिन्छ ।

समकालीन विश्व फिल्ममा पछिल्लो समय निर्देशक केन्द्रित फिल्मले जित्दैछन् । ‘वान ब्याटल आफ्टर एनदर’ ठ्याक्कै त्यही धारको प्रतिनिधि फिल्म हो । अर्कोतर्फ, यस फिल्ममा अभिनयलाई अत्यन्तै स्वाभाविक र जीवन्त मानिएको छ । कुनै पनि चरित्र बनावटी लाग्दैन । संवाद, दृश्य संरचना र चरित्र विकास यति बलियो छ कि दर्शकले फिल्म हेर्दा पात्रसँग जोडिएको महसुस गर्छन् ।

त्यसैले समीक्षक भन्छन्- ‘सिनर्स’ दिमागले प्रशंसा गर्ने फिल्म हो । ‘वान ब्याटल आफ्टर एनदर’ मनले महसुस गर्ने फिल्म हो ।

यी दुई फिल्मको लोकप्रियताले आजको विश्व सिनेमा दुई धारमा अगाडि बढिरहेको देखाउँछ । ठूलो स्केल, प्राविधिक रूपमा साहसी सिनेमा तथा सानो, तर गहिरो मानवीय सिनेमा ।

रोचक कुरा के भने, अस्करजस्ता मञ्चमा यी दुवै प्रकारका फिल्मले सँगसँगै प्रतिस्पर्धा गरिरहेका छन् । यसैले यी दुई फिल्म केवल आफ्नो गुणका कारण मात्र होइन, आजको विश्व फिल्मको दुई फरक प्रवृत्तिको प्रतिनिधि भएकाले पनि चर्चित बनेका हुन् ।

नेपालले के सिक्न सक्छ ?

अब सबैभन्दा महत्वपूर्ण प्रश्न- यी फिल्मबाट नेपाली सिनेमा उद्योगले के सिक्ने ? हामी यो संक्षिप्त आलेखको महत्वपूर्ण चरणमा छौं । पहिलो- कथा स्थानीय, भावना विश्वव्यापी हुनुपर्छ ।

अस्करमा पुगेका धेरै फिल्म आफ्नै देश, संस्कृति र समाजको कथा हुन् । तर ती कथाभित्रको भावना विश्वव्यापी हुन्छ । नेपालले पनि आफ्नै कथा भन्नुपर्छ तर प्रस्तुति यस्तो हुनुपर्छ कि जुनसुकै देशको दर्शक पनि त्यससँग जोडिन सकोस् ।

‘अस्कर’ मा बदलिँदो हावाले विश्व फिल्म र नेपाललाई के सन्देश दिन्छ ?

दोस्रो, प्राविधिक पक्षमा लगानी । नेपाली फिल्ममा अझै पनि ध्वनि, सम्पादन र रङ संयोजनजस्ता पक्षलाई दोस्रो प्राथमिकतामा राखिन्छ । तर विश्वस्तरको सिनेमा बनाउन यी नै आधारभूत कुरा हुन् । अहिलेको अस्करले स्पष्ट देखाउँछ- प्राविधिक रूपमा कमजोर फिल्म अब अन्तर्राष्ट्रियस्तरमा टिक्न सक्दैन ।

तेस्रो, स्क्रिप्टमा सबैभन्दा ठूलो ध्यान । हरेक अस्कर मनोनित फिल्मको पहिलो शक्ति स्क्रिप्ट हो । नेपालमा अझै पनि छायांकन सुरु भएपछि मात्र कथा मिलाउने चलन छ । तर राम्रो फिल्म सधैं बलियो लेखनबाट सुरु हुन्छ ।

चौंथो, निर्देशकको आफ्नै आवाज । अस्करमा सफल फिल्मले प्रायः निर्देशकको व्यक्तिगत शैली बोकेका हुन्छन् । नेपाली फिल्म पनि ‘सबैलाई मन पर्ने’ बनाउने दबाबभन्दा, इमानदार र मौलिक आवाज खोज्नेतर्फ जानुपर्छ ।

पाँचौ, अन्तर्राष्ट्रिय सहकार्य । आज विश्व सिनेमा ग्लोबल भइसकेको छ । नेपालले सह-निर्माण, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, स्क्रिप्ट ल्याब जस्ता माध्यमलाई गम्भीर रूपमा प्रयोग गर्नुपर्छ ।

अन्त्यमा, यसवर्षको अस्कर एउटा रोमाञ्चक लडाइँ बनेको छ । कागजी रूपमा ‘सिनर्स’ सबैभन्दा शक्तिशाली देखिन्छ । तर भावनात्मक प्रभाव र समग्र समर्थनका आधारमा ‘वान ब्याटल आफ्टर एनदर’ ले उत्कृष्ट फिल्मको विधा जित्ने सम्भावना अहिले सबैभन्दा धेरै देखिन्छ ।

‘अस्कर’ सधैं गणित मात्र होइन, भावना र समयको पनि खेल हो । कुन फिल्मले त्यो समयको आवाज समात्छ, अन्ततः जित उसैको हुन्छ । नेपाली फिल्ममेकरका लागि यो वर्षको अस्कर एउटा ठूलो पाठशाला हो । राम्रो कथा, बलियो प्राविधिक पक्ष, इमानदार प्रस्तुति र विश्वव्यापी सोच- यिनै कुरा अपनाउन सके, भोलि यस्तै मञ्चमा नेपाली फिल्मको नाम पनि सुन्न धेरै टाढाको सपना हुनेछैन।





Source link

Leave a Comment